अध्याय २
अब्राहामले कनान जानका लागि ऊर छोड्छन्—यहोवा हारानमा उनीकहाँ देखा पर्नुहुन्छ—सबै सुसमाचारका आशीर्वादहरू उनको सन्ततिलाई प्रतिज्ञा गरिएको छ र उनको सन्ततिद्वारा सबैलाई—उनी कनान अनि मिश्रदेश जान्छन् ।
१ अब परमप्रभु परमेश्वरले ऊरको भूमिमा अनिकाल गम्भीर बनाउनुभयो, यतिसम्म कि मेरो भाइ हारानको मृत्यु भयो; परन्तु मेरा पिता तेरेह कल्दीहरूको ऊरको भूमिमा अझै बस्नुहुन्थ्यो ।
२ अनि यस्तो हुन गयो कि म, अब्राहामले सराईलाई पत्नी बनाएँ र मेरो भाइ नाहोरले मिल्काहलाई पत्नी बनाए, जो हारानकी छोरी थिइन् ।
३ अब परमप्रभुले मलाई भन्नुभएको थियो: अब्राहाम, तिमी तिम्रो देश, तिम्रा आफन्त र तिम्रा पिताको घरबाट टाढा जाऊ, मैले तिमीलाई देखाउने भूमिमा जाऊ ।
४ यसकारण मैले कनान देशमा जान कल्दीहरूको भूमि ऊर छोडेँ; अनि मैले मेरो भाइको छोरा लोत र उनकी पत्नी र मेरी पत्नी सराईलाई लिएँ; र मेरा पिता पनि मेरो पछि लाग्नुभयो, हामीले हारान भनी सम्बोधन गरेको भूमिमा ।
५ अनि अनिकाल कम भयो; र मेरो पिता हारानमा बस्नु भयो र त्यहीँ बसोबास गर्न प्रारम्भ गर्नुभयो, किनकि त्यहाँ हारानमा धेरै गाईवस्तुहरू थिए; अनि मेरो पिता आफ्नो मूर्तिपूजामा पुनः फर्कनुभयो, त्यसैले उहाँले हारानमा बस्न प्रारम्भ गर्नुभयो ।
६ परन्तु म, अब्राहाम र मेरो भाइको छोरा लोतले परमप्रभुलाई प्रार्थना गर्यौँ र परमप्रभु मेरासामु प्रकट हुनुभयो र मलाई भन्नुभयो: उठ र लोतलाई साथमा लैजाऊ; किनकि मैले तिमीलाई हारानबाट बाहिर लैजाने योजना बनाएको छु र तिमीलाई अपरिचित भूमिमा मेरो नामको गवाही दिन तिमीलाई सेवक बनाउने योजना बनाएको छु, जुन म तिम्रो सन्तानलाई अनन्त अधिकारका लागि दिने छु, जब तिनीहरूले मेरो वाणी सुन्ने छन् ।
७ किनकि म परमप्रभु तिमीहरूका परमेश्वर हुँ; म स्वर्गमा बस्छु; पृथ्वी मेरो पाउदान हो; म समुद्रमाथि मेरो हात तन्काउँछु र यसले मेरो वाणीको पालना गर्छ; म हावा र आगोलाई मेरो रथ बनाउँछु; म पहाडहरूलाई भन्छु—यहाँबाट जाओ—अनि हेर, तिनीहरूलाई आँधीबेरीले, एकै क्षणमा, अचानक लगिन्छ ।
८ मेरो नाम यहोवा हो र मलाई प्रारम्भदेखि अन्त्यको जानकारी छ; त्यसकारण मेरो हात तिमीमाथि हुने छ ।
९ अनि म तिमीबाट एउटा विशाल राष्ट्र निर्माण गर्ने छु र म तिमीलाई अनगिन्ती आशीर्वाद दिने छु र सबै राष्ट्रहरूमा तिम्रो नाम महान् बनाउने छु र तिमी पछि तिम्रा सन्ततिका लागि तिमी आशीर्वाद हुने छौ, कि तिनीहरूको हातमा तिनीहरूले सबै राष्ट्रहरूका लागि यो सेवा र पादरित्व बहन गर्ने छन्;
१० अनि म तिनीहरूलाई तिम्रो नामद्वारा आशीर्वाद दिने छु; किनकि जतिले यो सुसमाचार ग्रहण गर्ने छन्, तिम्रा नाममा बोलाइने छन् र तिम्रा सन्ततिहरूमा गनिने छन् र तिनीहरूका पिताको रूपमा उभिएर तिमीलाई आशीर्वाद दिने छन्;
११ अनि म तिनीहरूलाई आशीर्वाद दिने छु जसले तिमीलाई आशीर्वाद दिन्छ; अनि तिनीहरूलाई श्राप दिने छु जसले तिमीलाई श्राप दिने छ; अनि तिमीद्वारा (अर्थात्, तिम्रो पादरित्वद्वारा) र तिम्रा सन्ततिद्वारा (अर्थात्, तिम्रो पादरित्वद्वारा), किनकि म तिमीलाई प्रतिज्ञा गर्छु कि यो अधिकार तिमीद्वारा जारी रहने छ र तिमी पछि तिम्रा सन्ततिद्वारा (अर्थात्, वास्तविक सन्तति वा आफूबाट जन्मेका सन्तान) पृथ्वीका सबै परिवारहरूलाई आशीर्वाद दिइने छ, अर्थात् सुसमाचारका आशीर्वादले, जुन मुक्तिका आशीर्वादहरू हुन्, विशेषत: अनन्त जीवनको ।
१२ अब, परमप्रभुले मसँग वार्तालाप गर्न छोड्नु भएपछि र मेरो उपस्थितिबाट जानुभएपछि, मैले मेरो हृदयमा भनेँ: हजुरको सेवकले हजुरलाई दृढतापूर्वक खोजेको छ; अब मैले हजुरलाई भेट्टाएको छु;
१३ एल्केनाका देवताहरूबाट मलाई छुटकारा दिन तपाईंले आफ्नो स्वर्गदूत पठाउनुभयो र हजुरको वाणीको पालना गर्नु मेरो लागि उत्तम हुन्छ, त्यसैले हजुरको सेवकलाई उठ्न दिनुहोस् र शान्तिपूर्वक प्रस्थान गर्न दिनुहोस् ।
१४ यसकारण म, अब्राहाम, परमप्रभुले मलाई भन्नुभएअनुसार टाढा गएँ र लोत मसँग गयो; अनि म, अब्राहाम, जब म हारानबाट टाढा गएँ, म बैसट्ठी वर्षको थिएँ ।
१५ अनि मैले सराईलाई लिएँ, जसलाई म कल्दियाको ऊरमा छँदा पत्नी बनाएको थिएँ र मेरो भाइको छोरा लोत र हामीले जम्मा गरेका सबै सम्पत्तिहरू र हामीले हारानमा परिवर्तन गरेका व्यक्तिहरू लियौँ अनि कनानको भूमिको बाटोमा आयौँ र हामी आफ्नो बाटोमा आउँदा पालमा बस्यौँ;
१६ त्यसकारण, अनन्तता हाम्रो आवरण र हाम्रो चट्टान र हाम्रो मुक्ति थियो, जब हामी हारानबाट कनान देशमा आउन यर्शोनको बाटो हुँदै यात्रा गर्यौँ ।
१७ अब म, अब्राहामले यर्शोनको भूमिमा वेदी बनाएँ र परमप्रभुलाई भेटी अर्पण गरेँ र प्रार्थना गरेँ कि मेरो पिताको घरबाट अनिकाल हट्ने छ ताकि तिनीहरूको विनाश हुने छैन ।
१८ अनि त्यसपछि हामी यर्शोनको भूमि हुँदै सेकेममा गयौं; यो मोरेको मैदानमा अवस्थित थियो र हामी पहिले नै कनानीहरूको भूमिको सिमानामा आइसकेका थियौँ र मैले त्यहाँ मोरेको मैदानमा बलिदान अर्पण गरेँ र परमप्रभुलाई भक्तिपूर्वक प्रार्थना गरेँ किनभने हामी यो मूर्तिपूजक राष्ट्रको भूमिमा पहिले नै आइसकेका थियौँ ।
१९ अनि परमप्रभु मेरो प्रार्थनाको जवाफमा मेरासामु प्रकट हुनुभयो र मलाई भन्नुभयो: तिम्रा सन्ततिलाई म यो भूमि दिने छु ।
२० अनि म, अब्राहाम, मैले परमप्रभुका लागि निर्माण गरेको वेदीको स्थानबाट उठें र त्यहाँबाट बेथेलको पूर्वमा रहेको पहाडमा गएँ र त्यहाँ मेरो पाल टाँगेँ, पश्चिममा बेथेल र पूर्वमा हाइ; अनि त्यहाँ मैले परमप्रभुको लागि अर्को वेदी बनाएँ र पुनः परमप्रभुको नाम पुकारेँ ।
२१ अनि म, अब्राहाम, अझैपनि दक्षिणतर्फ जाँदै यात्रा गरेँ; अनि त्यो भूमिमा अनिकालको निरन्तरता थियो; अनि म, अब्राहाम, मिश्रदेशमा गएर त्यहाँ बस्नको लागि रोकिएँ किनकि अनिकाल साह्रै डरलाग्दो भयो ।
२२ अनि यस्तो हुन गयो जब म मिश्रदेशमा प्रवेश गर्न नजिक आइपुगेको थिएँ, परमप्रभुले मलाई भन्नुभयो: हेर, तिम्री पत्नी सराई हेर्नमा धेरै सुन्दर महिला छिन्;
२३ त्यसकारण यस्तो हुने छ, जब मिश्रीहरूले तिनलाई देख्ने छन्, तिनीहरूले भन्ने छन्—उनी तिनकी पत्नी हुन्; अनि तिनीहरूले तिमीलाई मार्ने छन् तर तिनीहरूले उनलाई जीवित राख्ने छन्; त्यसकारण हेर कि तिमीले यसप्रकार गर्नु पर्छ:
२४ उनले मिश्रीहरूलाई भन्नु पर्छ, तिनी तिम्री बहिनी हुन् र तिम्रो प्राण जोगिने छ ।
२५ अनि यस्तो हुन गयो कि म, अब्राहामले, मेरी पत्नी सराईलाई परमप्रभुले मलाई भन्नुभएका सबै बताएँ—त्यसैले उनीहरूसामु भन, म बिन्ती गर्छु, तिमी मेरी बहिनी हौ, कि तिम्रो लागि मेरो लाभ हुन सक्छ, अनि तिम्रो कारण मेरो प्राण जीवित रहने छ ।