अध्याय ५
परमेश्वरहरूले सबै विषयहरूको सृष्टिको आफ्नो योजना पूरा गर्नुहुन्छ—उहाँहरूले आफ्नो योजनाअनुसार सृष्टिलाई पूरा गर्नुहुन्छ—आदमले हरेक जीवित प्राणीको नाम राख्छन् ।
१ अनि तसर्थ हामी ब्रम्हाण्ड र पृथ्वी र तिनमा भएका सबै वस्तुहरूको निर्माण कार्य समाप्त गर्ने छौँ ।
२ अनि परमेश्वरहरूले एकआपसमा भन्नुभयो: सातौँ दिनमा हामी हाम्रो कार्य समाप्त गर्ने छौँ, जुन हामीले सल्लाह गरेका छौँ; र हामीले सल्लाह गरेअनुसार हामी हाम्रा सबै कामहरूबाट सातौँ दिनमा विश्राम लिने छौँ ।
३ अनि सातौँ दिनमा परमेश्वरहरूले समापन गर्नुभयो किनभने सातौँ दिनमा उहाँहरूले उहाँहरूका सबै कार्यहरूबाट विश्राम लिनुहुने छ जुन उहाँहरू (परमेश्वरहरू)ले बनाउन एकआपसमा सल्लाह गर्नुभयो; र यसलाई पवित्र बनाउनुभयो । अनि तसर्थ उहाँहरूका निर्णयहरू थिए जुन त्यस समयमा उहाँहरूले ब्रह्माण्ड र पृथ्वीको निर्माण गर्न एकआपसमा सल्लाह गर्नुभयो ।
४ अनि परमेश्वरहरू तल आउनुभयो अनि ब्रह्माण्डहरू र पृथ्वीका यी विभिन्न चरणहरू बनाउनुभयो, जुन दिनमा तिनीहरूको सृष्टि गरिएको थियो जब परमेश्वरहरूले पृथ्वी र ब्रह्माण्डहरू सृष्टि गर्नुभयो,
५ पृथ्वीमा हुनुपूर्व खेतका हरेक बोटविरुवा र बढ्नुपूर्व खेतका हरेक बाली उहाँहरूले भन्नुभएका सबै विषयअनुसार; किनभने परमेश्वरहरूले यसो गर्ने सल्लाह गर्नुहुँदा पृथ्वीमा पानी पर्न लगाउनु भएको थिएन र जमिन जोत्नका लागि मानिस बनाउनु भएको थिएन ।
६ परन्तु पृथ्वीबाट कुहिरो उठ्यो र जमिनको सम्पूर्ण सतहमा पानी भरियो ।
७ अनि परमेश्वरहरूले जमिनको धूलोबाट मानिस बनाउनुभयो र उसको आत्मा (अर्थात्, मानिसको आत्मा) लिनुभयो र यसलाई उसमा हाल्नुभयो; अनि उसको नाकमा जीवनको सास फुक्नुभयो र मानिस जीवित आत्मा भयो ।
८ अनि परमेश्वरहरूले अदनमा पूर्वतिर एउटा बगैँचा रोप्नुभयो र त्यहाँ उहाँहरूले त्यस मानिसलाई राख्नुभयो, जसको आत्मा उहाँहरूले बनाउनुभएको शरीरमा उहाँहरूले राख्नुभएको थियो ।
९ अनि जमिनबाट परमेश्वरहरूले हरेक वृक्षलाई उमार्नुभयो जुन हेर्दा सुखद र खानाका लागि असल छ; जीवनको वृक्ष समेत, बगैँचाको बीचमा अनि असल र खराबको ज्ञानको वृक्ष ।
१० बगैँचालाई पानी हाल्नका लागि अदनबाट एउटा नदी बगेको थियो र त्यहाँबाट यो विभाजित भयो र चारवटा मुहानहरू बन्यो ।
११ अनि परमेश्वरहरूले त्यो मानिसलाई लैजानुभयो र अदनको बगैँचामा त्यसको गोडमेल र हेरचाह गर्न राख्नुभयो ।
१२ अनि परमेश्वरहरूले मानिसलाई आज्ञा दिनुभयो, यसो भन्दै: बगैँचाका हरेक रूखको फल तिमीले स्वतन्त्र रूपमा खान सक्छौ,
१३ परन्तु असल र खराबको ज्ञानको रूखको फल, तिमीले यसबाट खानु हुँदैन; किनकि जुन दिन तिमीले यो खान्छौ तिमी निश्चय नै मर्ने छौ । अब म, अब्राहामले देखेँ कि यो परमप्रभुको समयअनुसार थियो, जुन कोलोबको समयअनुसार थियो; किनकि अहिलेसम्म परमेश्वरहरूले आदमलाई आफ्नो समयको गणना दिनुभएको थिएन ।
१४ अनि परमेश्वरहरूले भन्नुभयो: हामी मानिसको लागि उपयुक्त सहयोगी बनाऔँ, किनकि त्यो मानिस एक्लै हुनु राम्रो होइन, त्यसैले हामी उसका लागि उपयुक्त सहयोगी बनाउने छौँ ।
१५ अनि परमेश्वरहरूले आदमलाई गहिरो निद्रामा पारीदिनुभयो; अनि उनी सुते र उहाँहरूले उनको करङहरू मध्येको एउटा करङ निकाल्नुभयो र त्यसको स्थानमा मासु भरिदिनुभयो;
१६ अनि त्यो करङ जुन परमेश्वरहरूले मानिसबाट निकाल्नुभएको थियो, त्यसबाट उहाँहरूले स्त्री बनाउनुभयो र उनलाई ती मानिसकहाँ ल्याउनुभयो ।
१७ अनि आदमले भन्नुभयो: यो त मेरै हाडको हाड र मेरै मासुको मासु हो; अब तिनलाई स्त्री भनिने छ किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्;
१८ त्यसकारण मानिसले आफ्ना पिता र आफ्नी मातालाई छोड्ने छ र आफ्नी पत्नीमा समर्पित हुने छ र तिनीहरू एउटै शरीर हुने छन् ।
१९ अनि तिनीहरू दुबै नाङ्गै थिए, पुरुष र तिनकी पत्नी र लज्जित भएनन् ।
२० अनि जमिनबाट परमेश्वरहरूले मैदानका हरेक जनावर र हावाका हरेक पक्षीहरू बनाउनुभयो र तिनीहरूलाई आदमसामु ल्याउनुभयो कि उनले तिनीहरूलाई के नामले बोलाउने छ; अनि जे आदमले हरेक जीवित प्राणीलाई बोलाए, त्यो नै त्यसको नाम हुनु पर्छ ।
२१ अनि आदमले सबै गाईवस्तुहरू, हावाका पक्षीहरू र मैदानका हरेक जनावरहरूलाई नाम दिए; अनि आदमका लागि त्यहाँ उनका लागि एक उपयुक्त सहयोगी भेटियो ।