अध्याय २
(जुन–अक्टोबर १८३०)
परमेश्वरले स्वर्ग र पृथ्वीको सृष्टि गर्नुहुन्छ—जीवनका सबै स्वरूपहरू सृष्टि गरिएका छन्—परमेश्वरले मानिसलाई बनाउनुहुन्छ र उसलाई सम्पूर्णमा आधिपत्य दिनुहुन्छ ।
१ अनि यस्तो हुन गयो कि परमप्रभुले मोशासँग बोल्नुभयो, यसो भन्दै: हेर, म तिमीलाई यो स्वर्ग र यो पृथ्वीका सम्बन्धमा प्रकट गर्छु; मैले बोलेका वचनहरू लेख । म प्रारम्भ र अन्त्य, सर्वशक्तिमान् परमेश्वर हुँ; मैले जन्माइएका एकमात्रद्वारा यी वस्तुहरूको सृष्टि गरेँ; हो, प्रारम्भमा मैले स्वर्ग र पृथ्वी सृष्टि गरेँ जसमा तिमी खडा छौ ।
२ अनि पृथ्वी आकारविहीन र शून्य थियो; अनि मैले गहिराइको सतहमा अँध्यारो ल्याएँ; र मेरो आत्मा पानीको सतहमा सर्यो; किनकि म परमेश्वर हुँ ।
३ अनि म, परमेश्वरले भनेँ: त्यहाँ प्रकाश होस्; र त्यहाँ प्रकाश अवस्थित भयो ।
४ अनि म, परमेश्वरले प्रकाश देखेँ; र त्यो प्रकाश सन्तोषजनक थियो । अनि म, परमेश्वरले, उज्यालोलाई अन्धकारबाट विभाजित गरेँ ।
५ अनि म, परमेश्वरले, उज्यालोलाई दिन भनेँ; अनि अँध्यारोलाई मैले रात भनेँ; अनि मैले यो मेरो शक्तिको वचनद्वारा गरेँ र यो मैले भनेको जस्तै भयो; अनि साँझ र बिहान पहिलो दिन थियो ।
६ अनि पुनः, म, परमेश्वरले भनेँ: पानीको बीचमा एउटा आकाश होस् र यो त्यस्तै भयो, जसरी मैले भनेको थिएँ; अनि मैले भनेँ: यसले पानीबाट पानीलाई विभाजित गरोस्; र त्यो गरियो;
७ अनि म, परमेश्वरले आकाश बनाएँ र पानीहरू विभाजित गरेँ, हो, आकाशमुनिका विशाल पानीहरूलाई आकाशभन्दा माथिका पानीहरूबाट र यो मैले भनेको जस्तै भयो ।
८ अनि म, परमेश्वरले, आकाशलाई स्वर्ग भनेर नाम दिएँ; अनि साँझ र बिहान दोस्रो दिन थियो ।
९ अनि म, परमेश्वरले भनेँ: आकाश मुनिको पानी एक स्थानमा जम्मा होस् र यो त्यस्तै भयो; अनि म, परमेश्वरले भनेँ: त्यहाँ सुख्खा जमिन होस्; र यो त्यस्तै भयो ।
१० अनि म, परमेश्वरले सुख्खा भूमिलाई पृथ्वी भनेर नाम दिएँ र पानीको सङ्कलनलाई, समुद्र भनेर नाम दिएँ; अनि म, परमेश्वरले देखेँ कि मैले बनाएका सबै वस्तुहरू सन्तोषजनक थिए ।
११ अनि म, परमेश्वरले भनेँ: पृथ्वीले घाँस, बिरुवा दिने बीऊ, आ-आफ्नो जातअनुसार फल दिने फलको वृक्ष र फल दिने वृक्ष, जसको बीऊ यसैमा हुनु पर्छ यस पृथ्वीमा र यो मैले भने जस्तै भयो ।
१२ अनि पृथ्वीले घाँस, बिरुवा दिने आ-आफ्नो जातअनुसारको बीऊ फलाउने र फल दिने हरेक वृक्ष, जसको बीउ आ-आफ्नो जातअनुसार यसैमा हुनु पर्छ; अनि मैले बनाएका सबै वस्तुहरू सन्तोषजनक थिए भनेर म, परमेश्वरले देखेँ;
१३ अनि साँझ र बिहान तेस्रो दिन थियो ।
१४ अनि म, परमेश्वरले भनेँ: स्वर्गको आकाशमा प्रकाशहरू होस्, दिनलाई रातबाट विभाजित गर्न र ती मौसमहरू, दिनहरू र वर्षहरूका लागि चिन्हहरू हऊन्;
१५ अनि पृथ्वीमा उज्यालो दिनका लागि तिनीहरूलाई स्वर्गको आकाशमा प्रकाशहरू बनोस्; र यो त्यस्तै भयो ।
१६ अनि म, परमेश्वरले दुईवटा ठूला ज्योतिहरू बनाएँ; दिनमा शासन गर्नका लागि ठूलो प्रकाश र रातमा शासन गर्नका लागि कम प्रकाश र ठूलो प्रकाश सूर्य थियो र कम प्रकाश चन्द्रमा थियो; अनि ताराहरू पनि मेरो वचनअनुसार बनेका थिए ।
१७ अनि म, परमेश्वरले तिनीहरूलाई पृथ्वीमा उज्यालो दिनका लागि स्वर्गको आकाशमा राखेँ,
१८ अनि सूर्यले दिनमा शासन गर्न र चन्द्रमाले रातमा शासन गर्न र उज्यालोलाई अन्धकारबाट विभाजित गर्न; र म, परमेश्वरले देखेँ कि मैले बनाएका सबै वस्तुहरू सन्तोषजनक थिए;
१९ अनि साँझ र बिहान चौथो दिन थियो ।
२० अनि म, परमेश्वरले भनेँ: पानीले जीवन भएको चल्ने प्राणीलाई प्रशस्त मात्रामा बाहिर ल्याओस् र पक्षी जो स्वर्गको खुला आकाशमा पृथ्वी माथि उड्न सक्छ ।
२१ अनि म, परमेश्वरले ठूला ह्वेलहरू र चल्ने हरेक जीवित प्राणीहरू सृष्टि गरेँ, जुन पानीले प्रशस्त मात्रामा ल्यायो, तिनीहरूको जातअनुसार र प्रत्येक पखेटा भएका पक्षीहरू तिनीहरूको जातअनुसार; अनि म, परमेश्वरले मैले सृष्टि गरेका सबै वस्तुहरू सन्तोषजनक थिए भनी मैले देखेँ ।
२२ अनि म, परमेश्वरले तिनीहरूलाई आशीर्वाद दिएँ, यसो भन्दै: फलदायी होओ र वृद्धि होओ अनि समुद्रमा पानी भर; अनि पक्षीहरूले पृथ्वीमा वृद्धि गरून्;
२३ अनि साँझ र बिहान पाँचौँ दिन थियो ।
२४ अनि म, परमेश्वरले भनेँ: पृथ्वीले जीवित प्राणीहरूलाई तिनीहरूको जातअनुसार, गाईवस्तुहरू, घस्रने प्राणीहरू र पृथ्वीका जनावरहरूलाई तिनीहरूको जातअनुसार ल्याओस् र यो त्यस्तै भयो;
२५ अनि म, परमेश्वरले पृथ्वीका जनावरहरूलाई तिनीहरूको जातअनुसार र गाईवस्तुहरूलाई तिनीहरूको जातअनुसार र पृथ्वीमा घस्रने सबै प्राणीहरूलाई तिनीहरूको जातअनुसार बनाएँ; अनि म, परमेश्वरले हेरेँ कि यी सबै वस्तुहरू सन्तोषजनक थिए ।
२६ अनि म, परमेश्वरले, मेरा जन्माइएका एकमात्रलाई भनेँ, जो प्रारम्भदेखि मसँग थिए: हामी मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो समानतामा बनाऔँ; र यो त्यस्तै भयो । अनि म, परमेश्वरले भनेँ: तिनीहरूले समुद्रका माछाहरू, हावाका चराहरू, गाईवस्तुहरू र सारा पृथ्वीमाथि र पृथ्वीमा घस्रने प्रत्येक घस्रने प्राणीहरूमाथि आधिपत्य प्राप्त गरून् ।
२७ अनि म, परमेश्वरले मानिसलाई मेरो आफ्नै स्वरूपमा सृष्टि गरेँ, मेरा जन्माइएका एकमात्रको स्वरूपमा मैले उसलाई सृष्टि गरेँ; पुरुष र नारी मैले तिनीहरूको सृष्टि गरेँ ।
२८ अनि म, परमेश्वरले तिनीहरूलाई आशीर्वाद दिएँ र तिनीहरूलाई भनेँ: फलदायी बन र वृद्धि गर र पृथ्वीलाई भर र यसलाई आफ्नो प्रभुत्वमा राख र समुद्रका माछाहरू, हावाका पक्षीहरू र पृथ्वीमा चल्ने हरेक जीवित प्राणीमाथि आधिपत्य प्राप्त गर ।
२९ अनि म, परमेश्वरले मानिसलाई भनेँ: हेर, मैले तिमीलाई बिरुवाहरू फलाउने हरेक जडीबुटी दिएको छु, जुन सारा पृथ्वीको सतहमा छ र प्रत्येक रूख जसमा फल हुने छ जसको बीउले वृक्ष दिने छ; यो तिमीहरूका लागि खानका लागि हुने छ ।
३० अनि पृथ्वीका हरेक जनावर, हावाका हरेक पक्षी र पृथ्वीमा घस्रने सबैलाई, जहाँ म जीवनदान दिन्छु, त्यहाँ मासुका लागि प्रत्येक उपयुक्त बिरुवा दिइने छ; अनि यो त्यस्तै भयो, जस्तो मैले बोलेको थिएँ ।
३१ अनि म, परमेश्वरले मैले बनाएका हरेक वस्तु देखेँ र हेर, मैले बनाएका सबै वस्तुहरू धेरै सन्तोषजनक थिए; अनि साँझ र बिहान छैटौँ दिन थियो ।