अध्याय ३
(जुन–अक्टोबर १८३०)
परमेश्वरले सबै वस्तुहरू प्राकृतिक रूपमा पृथ्वीमा अवस्थित गराउनुपूर्व आत्मिक रूपमा सृष्टि गर्नुभयो—उहाँले मानिस, पहिलो जीवित प्राणी, पृथ्वीमा सृष्टि गर्नुभयो — स्त्री पुरूषका लागि उपयुक्त सहयोगी हुन् ।
१ तसर्थ आकाश र पृथ्वी र तिनमा भएका सबै वस्तुहरूको निर्माण कार्य पूरा भयो ।
२ अनि सातौँ दिनमा म, परमेश्वरले मेरो कार्य र मैले बनाएका सबै वस्तुहरू पूरा गरेँ; अनि सातौँ दिनमा मैले मेरा सबै कार्यबाट विश्राम लिएँ र मैले बनाएका सबै वस्तुहरू पूरा भयो र म, परमेश्वरले हेरेँ कि ती सन्तोषजनक थिए;
३ अनि म, परमेश्वरले सातौँ दिनलाई आशीर्वाद दिएँ र यसलाई पवित्र पारेँ किनकि यसमा मैले मेरा सबै कार्यहरूबाट विश्राम लिएको थिएँ जुन म, परमेश्वरले सृष्टि गरेको र बनाएको थिएँ ।
४ अनि अब, हेर, म तिमीहरूलाई भन्छु, कि यी स्वर्ग र पृथ्वीका सन्ततिहरू हुन्, जब तिनीहरू सृष्टि गरिएका थिए, जुन दिन म, परमप्रभु परमेश्वरले स्वर्ग र पृथ्वी बनाएँ,
५ अनि पृथ्वीमा हुनुपूर्व जमिनका हरेक बोटबिरुवा र बढ्नुपूर्व खेतका हरेक बिरुवा । किनकि म, परमप्रभु परमेश्वरले सबै वस्तुहरू ती नश्वर अस्तित्वमा पृथ्वीको सतहमा हुनुपूर्व आत्मिक रूपमा सृष्टि गरेँ, जसका सम्बन्धमा मैले बोलेको छु । किनकि म, परमप्रभु परमेश्वरले पृथ्वीको सतहमा वर्षा गराएको थिइनँ । अनि म, परमप्रभु परमेश्वरले मानिसहरूका सबै सन्ततिहरूलाई सृष्टि गरेको थिएँ; र जमिन जोत्ने मानिस अझै थिएन; किनभने स्वर्गमा मैले तिनीहरूलाई सृष्टि गरेँ; अनि अझै पनि त्यहाँ पृथ्वीमा जीवित प्राणी थिएन, न पानीमा, न हावामा;
६ परन्तु म, परमप्रभु परमेश्वरले आज्ञा दिएँ र पृथ्वीबाट कुहिरो माथि गयो र जमिनको सम्पूर्ण सतहमा पानी पारियो ।
७ अनि म, परमप्रभु परमेश्वरले, जमिनको धूलोबाट मानिसको सृष्टि गरेँ र उसको नाकमा जीवनको सास राखिदिएँ; र मानिस जीवित प्राणी बन्यो, पृथ्वीमा पहिलो जीवित प्राणी, पहिलो मानिस पनि; यद्यपि, सबै विषयवस्तुहरू पहिले सृष्टि गरिएका थिए; तर आत्मिक रूपमा तिनीहरू मेरा वचनअनुसार सृष्टि गरिएका थिए र बनाइएका थिए ।
८ अनि म, परमप्रभु परमेश्वरले अदनमा पूर्वतिर एउटा बगैँचा रोपेँ र मैले बनाएको मानिसलाई त्यहाँ राखेँ ।
९ अनि जमिनबाट, परमप्रभु परमेश्वर, मैले हरेक वृक्षलाई भौतिक रूपमा, मानिसको दृष्टिमा मनपर्ने वृक्षहरू उमारेँ; र मानिसले यसलाई हेर्न सक्छ । अनि यो पनि जीवित आत्मा बन्यो । किनकि मैले यसलाई सृष्टि गरेको दिनमा यो आत्मिक थियो; किनकि यो गोलाकारमा रहन्छ जहाँ म, परमेश्वरले यसलाई सृष्टि गरेँ, हो, सबै वस्तुहरू जुन मैले मानिसको प्रयोगका लागि तयार पारेँ; र मानिसले देख्यो कि यो खानाका लागि उपयुक्त छ । अनि म, परमप्रभु परमेश्वरले, बगैँचाको बीचमा जीवनको वृक्ष पनि रोपेँ र असल र खराबको ज्ञानको वृक्ष पनि रोपेँ ।
१० अनि म, परमप्रभु परमेश्वरले बगैँचामा पानी हाल्न अदनबाट एउटा खोला बग्ने बनाएँ अनि त्यहाँबाट यो विभाजित भयो र चार नदीमा विभाजित भयो ।
११ अनि म, परमप्रभु परमेश्वरले, पहिलोको नाम पिशोन राखेँ र यसले हविलाको सम्पूर्ण भूमिलाई घेर्छ, जहाँ म, परमप्रभु परमेश्वरले धेरै सुन बनाएँ;
१२ अनि त्यो भूमिको सुन असल थियो र त्यहाँ खोटो र आनिक्सका ढुङ्गाहरू थिए ।
१३ अनि दोस्रो नदीको नाम गीहोन थियो; त्यही जसले इथियोपियाको सम्पूर्ण भूमिलाई घेर्छ ।
१४ अनि तेस्रो नदीको नाम हिद्देकल थियो; जुन अश्शुरको पूर्वतिर जान्छ । अनि चौथो नदी युफ्रेटिस थियो ।
१५ अनि म, परमप्रभु परमेश्वरले त्यो मानिसलाई लगेँ र त्यसको गोडगाड र हेरचाह गर्न अदनको बगैँचामा राखेँ ।
१६ अनि म, परमप्रभु परमेश्वरले मानिसलाई आज्ञा दिएँ, यसो भन्दै: बगैँचाका हरेक रूखको फल तिमीले स्वतन्त्र रूपमा खान सक्छौ,
१७ परन्तु असल र खराबको ज्ञानको रूखको फल, तिमीले यसबाट खानु हुँदैन, यद्यपि, तिमीले आफ्नालागि छनौट गर्न सक्छौ, किनभने यो तिमीलाई दिइएको छ; परन्तु, स्मरण रहोस् कि म यसलाई वर्जित गर्छु, किनकि जुन दिन तिमीले यो खान्छौ तिमी निश्चय नै मर्ने छौ ।
१८ अनि म, परमप्रभु परमेश्वरले, मेरा जन्माइएका एकमात्रलाई भनेँ, कि मानिस एक्लै हुनु राम्रो होइन; यसकारण, म उसका लागि एक उपयुक्त सहयोगी निर्माण गर्ने छु ।
१९ अनि जमिनबाट म, परमप्रभु परमेश्वरले, मैदानका हरेक जनावर र हावाका हरेक पक्षीहरू सृष्टि गरेँ र तिनीहरूलाई आदमकहाँ आउन आज्ञा दिएँ, उनले तिनीहरूलाई के भनेर बोलाउने छन् भनेर हेर्न; र तिनीहरू पनि जीवित आत्माहरू थिए; किनकि म, परमेश्वरले तिनीहरूमा जीवन भरेको थिएँ र आदमले हरेक जीवित प्राणीलाई जसरी बोलाउँछन्, त्यसको त्यही नै नाम हुनु पर्छ भनी आज्ञा दिएँ ।
२० अनि आदमले सबै गाईवस्तुहरू, हावाका पक्षीहरू र मैदानका हरेक जनावरहरूलाई नाम दिए तर आदमका सम्बन्धमा भने त्यहाँ उनका लागि उपयुक्त सहयोगी भेटिएन ।
२१ अनि म, परमप्रभु परमेश्वरले आदमलाई गहिरो निद्रामा पारिदिएँ; अनि उनी सुते र मैले उनको करङहरू मध्येको एउटा निकालेँ र त्यसको स्थानमा मासु भरिदिएँ;
२२ अनि त्यो करङ जुन म, परमप्रभु परमेश्वरले मानिसबाट निकालेको थिएँ, मैले एक स्त्री बनाएको थिएँ र उनलाई ती मानिसकहाँ ल्याएँ ।
२३ अनि आदमले भने: यो त मेरै हाडको हाड र मेरै मासुको मासु हो; तिनलाई स्त्री भनिने छ किनभने तिनी पुरुषबाट निकालिएकी थिइन् ।
२४ त्यसकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्ने छ र आफ्नी पत्नीमा समर्पित हुने छ र तिनीहरू एउटै शरीर हुने छन् ।
२५ अनि तिनीहरू दुबै नाङ्गै थिए, पुरुष र तिनकी पत्नी र लज्जित भएनन् ।