अध्याय ४
(जुन–अक्टोबर १८३०)
सैतान कसरी दानव बन्यो—उसले हब्बालाई प्रलोभन दिन्छ—आदम र हब्बाको पतन हुन्छ र मृत्यु संसारमा प्रवेश गर्छ ।
१ अनि म, परमप्रभु परमेश्वरले मोशासँग वार्तालाप गरेँ, यसो भन्दै: त्यो सैतान उस्तै छ, जसलाई तिमीले मेरा जन्माइएका एकमात्रको नाममा आज्ञा दिएका छौ, जुन प्रारम्भदेखि नै थियो र त्यो मकहाँ आयो, यसो भन्दै—हेर्नुहोस्, म यहाँ छु, मलाई पठाउनुहोस्, म हजुरको पुत्र हुने छु र म सबै मानवजातिलाई उद्धार गर्ने छु, ताकि कुनै पनि आत्मा हराउने छैन र निश्चित रूपमा म यो गर्ने छु; यसकारण मलाई हजुरको सम्मान दिनुहोस् ।
२ परन्तु, हेर, मेरा प्रिय पुत्रले, जो मेरो प्रिय र प्रारम्भदेखि नै छनोट गरिएका थिए, मलाई भने—हे पिता, हजुरको चाहना पूरा होस् र हजुरको महिमा सदासर्वदा रहोस् ।
३ यसकारण, किनभने त्यो सैतानले मेरा विरुद्धमा विद्रोह गर्यो र मानिसको छनोटको स्वतन्त्रतालाई विनाश गर्न खोज्यो, जुन म, परमप्रभु परमेश्वरले उसलाई दिएको थिएँ र त्यो पनि कि मैले उसलाई मेरो आफ्नै शक्ति दिनु पर्छ; जन्माइएका मेरा एकमात्रको शक्तिद्वारा, मैले आज्ञा दिएँ कि उसलाई अलग्याइनु पर्छ ।
४ अनि ऊ सैतान भयो, हो, जो दानव हो, सबै झूटको पिता, मानिसहरूलाई छल गर्न र अन्धा बनाउन र मेरो वाणीलाई नसुन्ने धेरैलाई आफ्नो चाहनामा बन्दी बनाएर अगुवाइ गर्न समेत ।
५ अनि अब सर्प मैदानको कुनै पनि जनावर भन्दा धेरै धूर्त थियो जुन मैले, परमप्रभु परमेश्वरले बनाएको थिएँ ।
६ अनि सैतानले यसलाई सर्पको हृदयमा राख्यो, (किनकि उसले धेरैलाई आफ्नोतर्फ तानेको थियो) र उसले हब्बालाई पनि बहकाउन खोज्यो, किनकि उसले परमेश्वरको उद्देश्यलाई बुझेको थिएन, त्यसैले उसले संसारलाई नष्ट गर्न खोज्यो ।
७ अनि उसले स्त्रीलाई भन्यो: हो, के परमेश्वरले भन्नुभएको छ—तिमीहरूले बगैँचाको कुनै पनि रूखको फल खानु हुँदैन?” (अनि उसले सर्पको मुखबाट बोल्यो ।)
८ अनि स्त्रीले सर्पलाई भनिन्: हामी बगैँचाका रूखहरूको फल खान सक्छौँ;
९ परन्तु तिमीले बगैँचाको बीचमा देखेको रूखको फलका सम्बन्धमा, परमेश्वरले भन्नुभएको छ—तिमीहरूले यसलाई खाने छैनौ, न तिमीहरूले यसलाई छुने नै छौ, अन्यथा तिमीहरू मर्ने छौ ।
१० अनि सर्पले स्त्रीलाई भन्यो: तिमी निश्चय नै मर्ने छैनौ;
११ किनकि परमेश्वरलाई थाहा छ कि जुन दिन तिमीहरूले यसलाई खान्छौ, तब तिमीहरूका आँखाहरू खुल्ने छन् र तिमीहरू असल र खराब बुझेर परमेश्वरहरू जस्तै हुने छौ ।
१२ अनि जब स्त्रीले बुझिन् कि त्यो रूख खानाका लागि उपयुक्त छ र यो आँखाका लागि सुखद बन्यो र उनलाई बुद्धिमान् बनाउन चाहना गरिनु पर्ने रूख हो, उनले त्यसको फल लिइन् र खाइन् र उनीसँगै आफ्ना पतिलाई पनि दिइन् र उनले खाए ।
१३ अनि तिनीहरू दुबैका आँखा खुले र तिनीहरूले थाहा पाए कि तिनीहरू निर्वस्त्र थिए । अनि तिनीहरूले अञ्जीरका पातहरू सिलाएर आफ्ना लागि वस्त्रहरू बनाए ।
१४ अनि तिनीहरूले परमप्रभु परमेश्वरको वाणी सुने, जब तिनीहरू दिनको चिसोमा, बगैँचामा हिँडिरहेका थिए; र आदम र तिनकी पत्नी बगैँचाका रूखहरूका माझमा परमप्रभु परमेश्वरको उपस्थितिबाट लुक्न गए ।
१५ अनि म, परमप्रभु परमेश्वरले आदमलाई बोलाएँ र उनलाई भनेँ: तिमी कहाँ जान्छौ?
१६ अनि उनले भने: मैले बगैँचामा हजुरको वाणी सुनेँ र म डराएँ, किनकि मैले महसुस गरेँ कि म निर्वस्त्र छु र मैले आफूस्वयम् लाई लुकाएँ ।
१७ अनि म, परमप्रभु परमेश्वरले आदमलाई भनेँ: तिमीलाई कसले भन्यो तिमी निर्वस्त्र छौ? के तिमीले त्यो रूखबाट खाइसकेका छौ जसको फल नखानू भनेर मैले तिमीलाई आज्ञा दिएको थिएँ, यदि त्यसो हो भने तिमी निश्चय नै मर्ने छौ?
१८ अनि त्यो मानिसले भन्यो: जुन स्त्री हजुरले मलाई दिनुभयो र मसँगै रहन आज्ञा दिनुभयो, उनले मलाई रूखको फल दिइन् र मैले खाएँ ।
१९ अनि म, परमप्रभु परमेश्वरले स्त्रीलाई भनेँ: तिमीले गरेको यो के कार्य हो? अनि स्त्रीले भनिन्: सर्पले मलाई बहकायो र मैले खाएँ ।
२० अनि म, परमप्रभु परमेश्वरले सर्पलाई भनेँ: किनभने तिमीले यो गरेका छौ, तिमी सबै गाईवस्तुहरू र मैदानका हरेक जनावरहरूभन्दा श्रापित हुने छौ; तिमी आफ्नो पेटद्वारा हिँड्ने छौ र तिमीले आफ्नो जीवनभर माटो खाने छौ;
२१ अनि म तिमी र स्त्रीका बीचमा, तिम्रा सन्तान र तिनका सन्तानका बीचमा शत्रुता ल्याउने छु; अनि तिनले तिम्रो टाउकामा चोट पुर्याउने छ र तिमीले तिनको कुर्कुच्चोमा चोट पुर्याउने छौ ।
२२ स्त्रीलाई, म, परमप्रभु परमेश्वरले भनेँ: म तिम्रो दु:ख र तिम्रो सुत्केरी-वेदनामा अत्यधिक वृद्धि गरिदिने छु । दु:खमा तिमीले सन्तान जन्माउने छौ र तिम्रो चाहना तिम्रा पतिमा हुने छ र उनले तिमीलाई अधीनमा राख्ने छन् ।
२३ अनि आदमलाई, म, परमप्रभु परमेश्वरले भनेँ: किनभने तिमीले तिम्री पत्नीको वचन सुनेका छौ र तिमीले रूखको फल खाएका छौ जुन मैले नखान आज्ञा गरेको थिएँ, यसो भन्दै—तिमीले यसबाट खाने छैनौ, तिम्रा लागि भूमि श्रापित हुने छ; तिमीले आफ्नो जीवनभरि दु:खमा यसको खाने छौ ।
२४ त्यसले तिम्रा लागि काँडाहरू र सिउँडीहरू पनि उब्जाउने छ र तिमीले खेतका सागपात खाने छौ ।
२५ तिमीले तिम्रो निधारको पसिनाले कमाएको भोजन खाने छौ, जबसम्म तिमी माटोमा फर्किने छैनौ—किनकि तिमी निश्चय नै मर्ने छौ—किनकि त्यसैबाट तिमीलाई निकालिएको थियो: किनकि तिमी माटोमा थियौ र तिमी माटोमा नै फर्किने छौ ।
२६ अनि आदमले आफ्नी पत्नीको नाम हब्बा राखे, किनभने उनी सबै जीवितहरूकी आमा थिइन् किनकि यसरी नै म, परमप्रभु परमेश्वरले सबै नारीहरूमध्ये पहिलो भनेको छु, जो धेरै छन् ।
२७ आदम र उनकी पत्नीलाई पनि म, परमप्रभु परमेश्वरले, छालाका कोटहरू बनाइदिएँ र तिनीहरूलाई पहिराइदिएँ ।
२८ अनि म, परमप्रभु परमेश्वरले, मेरा जन्माइएका एकमात्रलाई भनेँ: हेर, मानिस हामीमध्ये एकजस्तै असल र खराबको ज्ञान बुझ्ने भएको छ; र अब यदि त्यसले हात अगाडि बढाएर जीवनको वृक्षको फल पनि टिपी खान्छ र त्यो सदैव जीवित हुन्छ ।”
२९ त्यसकारण म परमप्रभु परमेश्वरले उसलाई अदनको बगैँचाबाट बाहिर पठाउने छु, त्यो भूमिमा जोत्न जहाँबाट उसलाई ल्याइएको थियो;
३० किनकि जसरी म, परमप्रभु परमेश्वर, जीवित छु, त्यसरी नै मेरा वचनहरू व्यर्थ फर्कन सक्दैनन्, किनकि ती मेरा मुखबाट निस्कँदा पूरा हुनै पर्छ ।
३१ त्यसैले मैले मानिसलाई बाहिर निकालेँ र मैले अदनको बगैँचाको पूर्वमा, केरुबहरू र एउटा ज्वालामय तरवार राखेँ, जसले जीवनको वृक्षको मार्गलाई जोगाउन हरेक बाटो मोड्यो ।
३२ (अनि यी शब्दहरू हुन् जुन मैले मेरा सेवक मोशालाई भनेको थिएँ र ती मैले चाहेजस्तै सत्य छन्; र मैले ती तिमीहरूलाई भनेको छु । जब सम्म मैले तिमीलाई आज्ञा दिने छैन, तिमीले विश्वास गर्नेहरू बाहेक तिनीहरू कसैलाई नदेखाउनु । आमिन ।)