धर्मशास्त्रहरू
मोशा ५


अध्याय ५

(जुन–अक्टोबर १८३०)

आदम र हब्बाले सन्तान जन्माउँछन्—आदमले बलिदान दिन्छन् र परमेश्वरको सेवा गर्छन्—कयिन र हाबिलको जन्म हुन्छ—कयिनले विद्रोह गर्छन्, परमेश्वरलाई भन्दा सैतानलाई बढी प्रेम गर्छन् र उनी विनाश हुन्छन्—हत्या र दुष्टता फैलिन्छ—सुसमाचार प्रारम्भदेखि नै प्रचार गरिन्छ ।

अनि यस्तो हुन गयो कि म, परमप्रभु परमेश्वरले तिनीहरूलाई निष्काशन गर्नुभएपछि, कि आदमले पृथ्वी जोत्न प्रारम्भ गरे र मैदानका सबै जनावरहरूमाथि प्रभुत्व जमाउन र आफ्नो निधारको पसिनाले उनको भोजन खान प्रारम्भ गरे, जसरी म परमप्रभुले उनलाई आज्ञा गरेको थिएँ । अनि हब्बा, उनकी पत्नीले पनि उनीसँगै श्रम गरीन् ।

अनि आदमले आफ्नी पत्नीसँग सहवास गरे र तिनले उनका लागि छोरा र छोरीहरू जन्माइन् र तिनीहरूले वृद्धि गर्न र पृथ्वीलाई भर्न प्रारम्भ गरे ।

अनि त्यस समयदेखि, आदमका छोरा र छोरीहरूले भूमिमा दुई र दुईमा विभाजन गर्न सुरू गरे र भूमि जोत्न र जनावरहरू पाल्न प्रारम्भ गरे र तिनीहरूले छोरा र छोरीहरू पनि जन्माए ।

अनि आदम र उनकी पत्नी हब्बाले, परमप्रभुको नाम पुकारे र तिनीहरूले अदनको बगैँचा तर्फको बाटोबाट तिनीहरूसँग बोल्नुहुँदै गर्नु भएको परमप्रभुको वाणी सुने र तिनीहरूले उहाँलाई देखेनन्; किनभने तिनीहरू उहाँको उपस्थितिबाट बाहिर थिए ।

अनि उहाँले तिनीहरूलाई आज्ञाहरू दिनुभयो कि तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरको आराधना गर्नु पर्छ र तिनीहरूका जनावरहरूका पहिला सन्तानहरू बलिका रूपमा परमप्रभुलाई अर्पण गर्नु पर्छ । अनि आदम परमप्रभुका आज्ञाहरूप्रति आज्ञाकारी थिए ।

अनि धेरै दिन पछि परमप्रभुका एक स्वर्गदूत आदमसामु प्रकट भए, यसो भन्दै: तिमी किन परमप्रभुलाई बलिदान चढाउँछौ? अनि आदमले तिनलाई भने: मलाई जानकारी छैन, परन्तु परमप्रभुले मलाई आज्ञा गर्नुभयो ।

अनि त्यसपछि स्वर्गदूत बोले यसो भन्दै: यो बलिदान पिताबाट जन्माइएका एकमात्रको बलिदानको प्रतिरूप हो, जो अनुग्रह र सत्यताले भरिपूर्ण हुनुहुन्छ ।

यसकारण, तिमीले पुत्रका नाममा गर्ने सबै गर्ने छौ र तिमीले पश्चात्ताप गर्ने छौ र पुत्रको नाममा सदाका लागि परमेश्वरलाई पुकार्ने छौ ।

अनि त्यस दिनमा पवित्र आत्मा आदममाथि आयो, जसले पिता र पुत्रको गवाही व्यक्त गर्छ, यसो भन्दै: म प्रारम्भदेखि नै पिताबाट जन्माइएका एकमात्र हुँ, अबदेखि र सदासर्वदाका लागि, कि जसरी तिमी पतित भएका छौ, तिमीलाई उद्दार गर्न सकिन्छ र सबै मानव जाति, यहाँसम्म कि चाहना गर्नेहरू सबैलाई ।

१० अनि त्यस समयमा आदमले परमेश्वरलाई सम्मान गरे र भरिपूर्ण भए अनि पृथ्वीका सबै परिवारहरूका सम्बन्धमा अगमवाणी गर्न सुरू गरे, यसो भन्दै: परमेश्वरको नामको प्रशंसा होस्, किनकि मेरो उल्लङ्घनका कारणले मेरा आँखा खोलिएका छन् र यस जीवनमा मैले प्रसन्नता प्राप्त गर्ने छु र पुन: शरीरमा म परमेश्वरलाई देख्ने छु ।

११ अनि उनकी पत्नी हब्बाले यी सबै वचन सुनिन् र खुसी भइन्, यसो भन्दै: यदि हामीले उल्लङ्घन नगरेको भए हामीले कहिल्यै सन्तान प्राप्त गर्ने थिएनौँ र असल र खराब र हाम्रो उद्धारको प्रसन्नता र अनन्त जीवनको ज्ञान कहिल्यै प्राप्त गर्ने थिएनौँ जुन परमेश्वरले सबै आज्ञाकारीहरूलाई दिनुहुन्छ ।

१२ अनि आदम र हब्बाले परमेश्वरको नामलाई सम्मान गरे र उनीहरूले आफ्ना छोरा र छोरीहरूलाई सबै विषयको जानकारी दिए ।

१३ अनि सैतान तिनीहरूमाझ आयो र भन्यो: म पनि परमेश्वरको पुत्र हुँ; अनि उसले तिनीहरूलाई आज्ञा दियो, यसो भन्दै: यसको विश्वास नगर र तिनीहरूले यसलाई विश्वास गरेनन् र तिनीहरूले सैतानलाई परमेश्वरलाई भन्दा बढी प्रेम गरे । अनि मानिसहरू त्यस समयदेखि पापमय, कामुक र दानवीय प्रवृत्तिका हुन थाले ।

१४ अनि परमप्रभु परमेश्वरले पवित्र आत्माद्वारा मानिसहरूलाई जताततै बोलाउनुभयो र तिनीहरूलाई पश्चात्ताप गर्न आज्ञा दिनुभयो;

१५ अनि जति धेरैले पुत्रमा विश्वास गरे र आफ्ना पापहरूको पश्चात्ताप गरे, तिनीहरूले मुक्ति प्राप्त गर्ने छन्; र धेरै जसले विश्वास गरेनन् र पश्चात्ताप गरेनन्, दोषी हुने छन्; अनि परमेश्वरको मुखबाट शब्दहरू दृढ उर्दीमा निस्किए; त्यसैले तिनीहरू पूरा हुनु पर्छ ।

१६ अनि आदम र हब्बा, तिनकी पत्नीले, परमेश्वरलाई पुकार्न छोडेनन् । अनि आदमले आफ्नी पत्नी हब्बासँग सहवास गरे र तिनी गर्भवती भइन् र कयिनलाई जन्माइन् र भनिन्: मैले परमप्रभुबाट एउटा मानिस प्राप्त गरेको छु; यसकारण उसले उहाँका वचनहरूलाई अस्वीकार गर्ने छैन । परन्तु हेर, कयिनले सुनेनन् यसो भन्दै: परमप्रभु भनेको को हो कि मैले उनलाई चिन्नु पर्छ?

१७ अनि तिनी पुन: गर्भवती भइन् र तिनका भाइ हाबिललाई जन्माइन् । अनि हाबिलले परमप्रभुको वाणी सुने । अनि हाबिल भेडाहरूको गोठालो भए भने कयिन जमिन जोत्ने भए ।

१८ अनि कयिनले परमेश्वरलाई भन्दा सैतानलाई अधिक प्रेम गरे । अनि सैतानले उनलाई आज्ञा दियो, यसो भन्दै: परमप्रभुलाई भेटी चढाऊ ।

१९ अनि समयको प्रक्रियामा यस्तो हुन गयो कि कयिनले जमिनको फलबाट परमप्रभुलाई भेटी ल्याए ।

२० अनि हाबिल, उनले पनि आफ्नो बगालको पहिलो सन्तान र त्यसको बोसो ल्याए । अनि परमप्रभुले हाबिल र उनको भेटीलाई स्वीकार गर्नुभयो;

२१ परन्तु कयिन र उनको भेटीलाई उहाँले कृपा गर्नुभएन । अब सैतानले यो जानकारी प्राप्त गर्‍यो र यसले उसलाई खुसी तुल्यायो । अनि कयिन साह्रै क्रोधित भए र उनको स्वरूपको भाव परिवर्तन भयो ।

२२ अनि परमप्रभुले कयिनलाई भन्नुभयो: तिमी किन क्रोधित छौ? तिम्रो स्वरूप किन उदास छ?

२३ यदि तिमीले राम्रो गर्‍यौ भने, तिमीलाई स्वीकार गरिने छ । अनि यदि तिमीले राम्रो गरेनौ भने पाप ढोकामा ढुकेर बस्छ र सैतानले तिमीमाथि प्रभुत्व जमाउन चाहन्छ; र यदि तिमीले मेरा आज्ञाहरू पालना गरेनौ भने म तिमीलाई सुम्पिदिने छु र तिमीलाई उसको चाहनाअनुसार व्यवहार गरिने छ । अनि तिमीले उसलाई अधीनमा राख्ने छौ;

२४ किनकि यस समयदेखि तिमी उसका झूटहरूका पिता हुने छौ; तिमीलाई विनाश भनिने छ; किनभने तिमी पनि यो संसार हुनुभन्दा पूर्व थियौ ।

२५ अनि यो आउने समयमा भनिने छ—कि यी कुकर्महरू कयिनबाट भएका थिए; किनभने उनले परमेश्वरबाट प्राप्त गरेको महान् सल्लाहलाई अस्वीकार गरे र तिमीले पश्चात्ताप गरेनौ भने, यो श्राप हो जुन म तिमीलाई दिने छु ।

२६ अनि कयिन क्रोधित भए र परमप्रभुको वाणीलाई कत्ति पनि सुनेनन्, न त आफ्ना भाइ हाबिललाई, जो परमप्रभुका अगाडि पवित्रतामा हिँड्थे ।

२७ अनि आदम र तिनकी पत्नीले कयिन र तिनका भाइहरूका कारण परमप्रभुसामु शोक गरे ।

२८ अनि यस्तो हुन गयो कि कयिनले आफ्ना भाइका छोरीहरूमध्ये एकलाई पत्नी बनाए र तिनीहरूले परमेश्वरभन्दा सैतानलाई बढी प्रेम गरे ।

२९ अनि सैतानले कयिनलाई भन्यो: मलाई तिम्रो कण्ठद्वारा शपथ खाऊ र यदि तिमीले यो भन्यौ भने तिमी मर्ने छौ; र तिम्रा बन्धुहरूको शिरद्वारा र जीवित परमेश्वरको शपथ खाऊ ताकि तिनीहरूले यो नभनून्; यदि तिनीहरूले यो बताए भने, तिनीहरू निश्चय नै मर्ने छन्; अनि यो ताकि तिम्रा पितालाई यसको जानकारी हुने छैन; र आज म तिम्रा भाइ हाबिललाई तिम्रा हातमा सुम्पिदिने छु ।

३० अनि सैतानले कयिनसँग प्रतिज्ञा गर्यो कि तिनले उसका आज्ञाअनुसार गर्ने छन् । अनि यी सबै कार्यहरू गोप्य रूपमा गरिए ।

३१ अनि कयिनले भने: साच्चैँ नै म महान् हुँ, यो महान् रहस्यको मालिक, कि म हत्या गर्न र लाभ प्राप्त गर्न सक्छु । यसकारण कयिनलाई महान् मालिक भनियो र उनले आफ्नो दुष्टतामा गर्व गरे ।

३२ अनि कयिन खेतमा गए र कयिनले आफ्नो भाइ हाबिलसँग कुरा गरे । अनि यस्तो हुन गयो कि जब तिनीहरू खेतमा थिए, कयिन आफ्ना भाइ हाबिलका विरुद्धमा उठे र उनलाई मारे ।

३३ अनि कयिनले आफूले गरेको कार्यमा गर्व गरे, यसो भन्दै: म स्वतन्त्र छु; निश्चय नै मेरो भाइको बगाल मेरो हातमा पर्ने छ ।

३४ अनि परमप्रभुले कयिनलाई भन्नुभयो: तिम्रा भाइ हाबिल कहाँ छन्? अनि उनले भने: मलाई जानकारी छैन । के म मेरो भाइको रक्षक हुँ?

३५ अनि परमप्रभुले भन्नुभयो: तिमीले यो के गर्‍यौ? तिम्रा भाइको रगतको पुकारा जमिनबाट मकहाँ विलाप गर्छ ।

३६ अनि अब तिमीलाई पृथ्वीबाट श्राप दिइने छ जसले तिम्रो हातबाट तिम्रो भाइको रगत लिन उनको मुख खोलेको छ ।

३७ जब तिमी जमिन जोत्छौ तब यसले तिमीलाई उसको बल प्रदान गर्ने छैन । तिमी पृथ्वीमा भगुवा र आवारा हुने छौ ।

३८ अनि कयिनले परमप्रभुलाई भने: सैतानले मेरो भाइको बगालका कारणले मलाई प्रलोभन दियो । अनि म पनि क्रोधित भएँ; किनकि उनको अर्पण तपाईंले स्वीकार गर्नुभयो र मेरो गर्नुभएन; मेरो दण्ड मैले सहन सक्ने भन्दा ठूलो छ ।

३९ हेर्नुहोस् आजको दिन तपाईंले मलाई परमप्रभुको सम्मुखबाट पर लगिदिनुभएको छ र म हजुरको सम्मुखबाट लुकाइने छु; र म पृथ्वीमा भगुवा र डुलुवा हुने छु; अनि यस्तो हुन जाने छ कि जसले मलाई भेट्टाउँछ उसले मलाई मेरा दुष्टताहरूका कारण मार्ने छ, किनकि यी दुष्टताहरू परमप्रभुबाट लुकेका छैनन् ।

४० अनि म परमप्रभुले उसलाई भनेँ: जसले तिमीलाई मार्छ, उसलाई सात गुणा बदला लिइने छ । अनि म परमप्रभुले कयिनलाई एउटा सङ्केत दिएँ, ताकि उनलाई भेट्टाउने कसैले उनलाई नमारोस् ।

४१ अनि कयिनलाई परमप्रभुको उपस्थितिबाट बाहिर निकालियो र उनकी पत्नी र उनका धेरै बन्धुहरू अदनको पूर्वमा रहेको नोदको भूमिमा बसे ।

४२ अनि कयिनले आफ्नी पत्नीसँग सहवास गरे र तिनी गर्भवती भइन् र हनोकलाई जन्माइन् र तिनले पनि धेरै छोरा-छोरीहरू जन्माए । अनि तिनले सहर निर्माण गरे र तिनले आफ्नो छोरा हनोकको नाममा त्यस सहरको नाम राखे ।

४३ अनि हनोककाबाट इराद र अन्य छोरा र छोरीहरू जन्मिए । अनि इरादले महुजाएल र अन्य छोरा-छोरीहरू जन्माए । अनि महुजाएलले मतूशाएल र अन्य छोरा-छोरीहरू जन्माए । अनि मतूशाएलले लेमेखलाई जन्माए ।

४४ अनि लेमेखले दुईवटा पत्नीहरू विवाह गरे; एउटीको नाम आदा र अर्कीको नाम सिल्ला थियो ।

४५ अनि आदाले याबाललाई जन्माइन्; उनी पालमा बस्नेहरूका पिता थिए र तिनीहरू गाईवस्तुहरू पाल्नेहरू थिए; र तिनका भाइको नाम जुबाल थियो, जो वीणा र बाजा बजाउने सबैका पिता थिए ।

४६ अनि सिल्ला, तिनले तूबल कयिनलाई पनि जन्माइन्, जो काँस र फलामका हरेक कारीगरका प्रशिक्षक थिए । अनि तूबल कयिनकी बहिनीलाई नामा भनिन्थ्यो ।

४७ अनि लेमेखले आफ्नी पत्नीहरूलाई भने, आदा र सिल्ला: मेरो आवाज सुन, हे लेमेखका पत्नीहरू, मेरो बोली सुन; किनकि मैले मलाई आघात पुर्याउने एक जना मानिसलाई मारेको छु र एक जवान मानिसलाई मलाई चोट पुर्याएका करण ।

४८ यदि कयिनलाई सात गुणा बदला लिइने छ भने, वास्तवमा नै लेमेखलाई सतहत्तर गुणा हुने छ;

४९ किनकि लेमेख सैतानसँग करारमा प्रवेश गरेका थिए, कयिनको तरिकाअनुसार, जसमा उनी मालिक मेहान् भए, त्यो महान् रहस्यको मालिक जो सैतानले कयिनलाई प्रशासित गरेको थियो; अनि हनोकका छोरा इरादले तिनीहरूको रहस्य थाहा पाएर आदमका सन्ततिहरूलाई बताउन सुरू गरे;

५० यसकारण, लेमेखले क्रोधित भएर, उसलाई लाभ प्राप्त गर्नका लागि कयिनले आफ्ना भाइ हाबिललाई मारेको जस्तै करणले मारेनन् तर उनले तिनलाई शपथका कारण मारे ।

५१ किनकि, कयिनका दिनदेखि, त्यहाँ एक गोप्य गुटबन्दी थियो र तिनीहरूका कार्यहरू अन्धकारमा हुन्थे र तिनीहरूले हरेक मानिसलाई आफ्नो बन्धुका रूपमा चिन्थे ।

५२ यसकारण परमप्रभुले लेमेख र उसको घराना र सैतानसँग करार गरेका सबैलाई श्राप दिनुभयो; किनकि तिनीहरूले परमेश्वरका आज्ञाहरू पालना गरेनन् र यसले परमेश्वरलाई अप्रसन्न तुल्यायो र उहाँले तिनीहरूलाई आशीष दिनुभएन र तिनीहरूका कार्यहरू घिनलाग्दा थिए र मानिसहरूका सबै पुत्रहरूका माझमा फैलिन सुरू गरे । अनि यो मानिसहरूका पुत्रहरूका माझमा भएको थियो ।

५३ अनि मानिसहरूका पुत्रीहरूका माझमा यी विषयहरू बोलिएका थिएनन्, किनभने लेमेखले आफ्ना पत्नीहरूलाई गोप्य कुरा भनेका थिए र तिनीहरूले उनका विरुद्धमा विद्रोह गरे र यी विषयहरू सर्वत्र फैलाए र कुनै पनि तरिकामा सहानुभूति देखाएनन्;

५४ यसकारण लेमेखलाई तुच्छ ठानियो र निष्काशन गरियो र आफूलाई मारिने डरले मानिसहरूका पुत्रहरूका माझमा आएनन् ।

५५ अनि यसरी अन्धकारका कार्यहरू मानिसहरूका सबै पुत्रहरूका माझमा फैलिए ।

५६ अनि परमेश्वरले पृथ्वीलाई कष्टप्रद श्राप दिनुभयो र दुष्टसँग, उहाँले सृष्टि गर्नु भएका सबै मानिसका पुत्रहरूसँग क्रोधित हुनुभएको थियो;

५७ किनकि तिनीहरूले उहाँको वाणीलाई सुनेनन् न त उहाँका जन्माइएका एकमात्र पुत्रमाथि विश्वास गरे, उहाँलाई समेत जसलाई उहाँले समयको मध्यान्ह रेखामा आउनुहुने छ भनेर घोषणा गर्नुभयो, जसलाई संसारको सृष्टि हुनुपूर्व देखि नै तयार गरिएको थियो ।

५८ अनि यसरी प्रारम्भदेखि नै सुसमाचार प्रवचन गर्न सुरू गरियो, परमेश्वरको उपस्थितिबाट पठाइएका पवित्र स्वर्गदूतहरूद्वारा र उहाँको आफ्नै वाणीद्वारा र पवित्र आत्माको उपहारद्वारा घोषणा गरिएको थियो ।

५९ अनि यसरी पवित्र विधिद्वारा आदमलाई सबै विषयवस्तुहरू स्थापित गरियो, अनि सुसमाचार प्रचार गरियो र उर्दी जारी गरियो, ताकि यसको अन्त्यसम्म यो पृथ्वीमा हुने छ; र यसरी यो थियो । आमीन ।