अध्याय ६
(नोभेम्बर–डिसेम्बर १८३०)
आदमका सन्ततिले सम्झनाको एउटा पुस्तक राख्छन्—उनको धार्मिक सन्ततिले पश्चात्तापको प्रचार गर्छन्—परमेश्वरले हनोकसामु आफूलाई प्रकट गर्नुहुन्छ—हनोकले सुसमाचार प्रचार गर्छन्—मुक्तिको योजना आदमलाई प्रकट गरिएको थियो—उनले बप्तिस्मा र पादरित्व प्राप्त गरे ।
१ अनि आदमले परमेश्वरको वाणी सुने र आफ्ना छोराहरूलाई पश्चात्ताप गर्न आह्वान गरे ।
२ अनि आफ्नी पत्नीसित आदमको सहवास भयो र उनले एउटा छोरो जन्माईन् र उनले तिनको नाम शेत राखे । अनि आदमले परमेश्वरको नाम महिमित तुल्याए; किनकि उनले भने: परमेश्वरले मलाई कयिनले मारेका हाबिलको सट्टामा अर्को सन्तान दिनु भएको छ ।
३ अनि परमेश्वरले आफूस्वयम् लाई शेतसामु प्रकट गर्नुभयो र उनले विद्रोह गरेनन् परन्तु आफ्ना दाजु हाबिलले जस्तै स्वीकार्य बलिदान अर्पण गरे । अनि उनको पनि एउटा छोरो जन्मियो र उनले तिनको नाम एनोस राखे ।
४ अनि त्यसपछि यी मानिसहरूले परमप्रभुको नाम पुकार्न आरम्भ गरे र परमप्रभुले तिनीहरूलाई आशीर्वाद दिनुभयो;
५ अनि सम्झनाको एक पुस्तक राखिएको थियो, जसमा अभिलेख गरिएको थियो, आदमको भाषामा, किनकि यो धेरैलाई दिइएको थियो जतिलाई प्रेरणाको आत्माद्वारा लेख्नका लागि परमेश्वरद्वारा बोलाइएको थियो;
६ अनि उनीहरूद्वारा तिनीहरूका छोराछोरीहरूलाई शुद्ध र निस्कलङ्क भाषामा पढ्न र लेख्न सिकाइएको थियो ।
७ अब यही पादरित्व, जुन प्रारम्भमा थियो, संसारको समापनमा पनि हुने छ ।
८ अब यो अगमवाणी आदमले बोलेका थिए, जसरी उनी पवित्र आत्माद्वारा उत्प्रेरित भएका थिए र परमेश्वरका सन्ततिहरूको वंशावली राखिएको थियो । अनि यो आदमको समयावधिको पुस्तक थियो, यसो भन्दै: जुन दिन परमेश्वरले मानिसको सृष्टि गर्नुभयो, परमेश्वरको प्रतिरूपमा उहाँले उसको सृष्टि गर्नुभयो;
९ आफ्नै शरीरको स्वरूपमा, पुरुष र महिला, उहाँले तिनीहरूको सृष्टि गर्नुभयो र तिनीहरूलाई आशीर्वाद दिनुभयो र तिनीहरूको नाम आदम राख्नुभयो, जुन दिन तिनीहरू सृष्टि भए र परमेश्वरको पाउदानमा यस भूमिमा जीवित आत्माहरू भए ।
१० अनि आदम एक सय तीस वर्ष जीवित रहे र उनको आफ्नै आकारमा, आफ्नै स्वरूपमा एउटा छोरा जन्माए र उनको नाम शेत राखे ।
११ शेतलाई जन्म दिए पश्चात् आदमका दिनहरू आठ सय वर्ष रह्यो र तिनले धेरै छोराछोरीहरू जन्माए;
१२ अनि आदम जीवित रहेका सबै दिनहरू नौ सय तीस वर्ष थिए र उनको मृत्यु भयो ।
१३ शेत एक सय पाँच वर्ष जीवित रहे र तिनले एनोसलाई जन्माए र तिनले आफ्नो जीवनभर अगमवाणी गरे र आफ्नो छोरा एनोसलाई परमेश्वरका तरिकाहरूमा सिकाए; त्यसकारण एनोसले अगमवाणी पनि गरे ।
१४ अनि शेतले एनोसलाई जन्माएपछि उनी आठ सय सात वर्ष जीवित रहे र धेरै छोराछोरीहरू जन्माए ।
१५ अनि मानिसहरूका छोराछोरीहरू ती भूमिका सम्पूर्ण सतहमा असङ्ख्य थिए । अनि ती दिनहरूमा सैतानले मानिसहरूमा शक्तिशाली प्रभुत्व जमाएको थियो र तिनीहरूका हृदयमा आक्रोश उत्पन्न गर्यो; अनि तत्पश्चात् युद्ध र रक्तपात भयो; अनि एक मानिसको हात आफ्नै भाइका विरुद्धमा उठ्यो, मृत्युको परिणाममा, गुप्त कार्यहरूका कारण, शक्ति खोज्दै ।
१६ शेतका सबै दिनहरू नौ सय बाह्र वर्ष थिए र तिनको मृत्यु भयो ।
१७ अनि एनोस नब्बे वर्ष जीवित रहे र केनानलाई जन्माए । अनि एनोस र परमेश्वरका जनहरूका अवशेषहरू ती भूमिबाट बाहिर आए, जसलाई शुलोन भनिन्थ्यो र प्रतिज्ञा गरिएको भूमिमा बसोबास गरे जसलाई उनले आफ्नो छोराको नाममा बोलाए जसलाई उनले केनान नाम दिएका थिए ।
१८ अनि एनोस, केनान जन्मे पछि, आठ सय पन्ध्र वर्ष जीवित रहे र धेरै छोराछोरीहरू जन्माए । अनि एनोसका सबै दिनहरू नौ सय पाँच वर्ष थिए र तिनको मृत्यु भयो ।
१९ अनि केनान सत्तरी वर्ष जीवित रहे अनि महलालेललाई जन्माए; अनि महलालेललाई जन्माएपछि केनान आठ सय चालीस वर्ष जीवित रहे र छोराछोरीहरू जन्माए । अनि केनानका सबै दिनहरू नौ सय दश वर्ष थिए र तिनको मृत्यु भयो ।
२० अनि महलालेल पैँसठ्ठी वर्ष जीवित रहे र येरेदलाई जन्माए; अनि येरेदलाई जन्माएपछि महलालेल आठ सय तीस वर्ष जीवित रहे र छोराछोरीहरू जन्माए । अनि महलालेलका सबै दिनहरू आठ सय पन्चान्नब्बे वर्ष थिए र तिनको मृत्यु भयो ।
२१ अनि येरेद एक सय बैसठ्ठी वर्ष जीवित रहे र हनोकलाई जन्माए; अनि हनोकलाई जन्माएपछि येरेद आठ सय वर्ष जीवित रहे र छोराछोरीहरू जन्माए । अनि येरेदले हनोकलाई परमेश्वरका सबै तरिकाहरूमा सिकाए ।
२२ अनि यो आदमका छोराहरूको वंशावली हो, जो परमेश्वरका पुत्र थिए, जससँग परमेश्वर स्वयम् ले वार्तालाप गर्नुभयो ।
२३ अनि तिनीहरू धार्मिकताका प्रचारकहरू थिए र बोले र अगमवाणी गरे र सबै मानिसहरूलाई, जताततै, पश्चात्ताप गर्न आह्वान् गरे अनि मानिसहरूका छोराछोरीहरूलाई आस्था सिकाइएको थियो ।
२४ अनि यस्तो हुन गयो कि येरेदका सबै दिनहरू नौ सय बैसठ्ठी वर्ष थिए र उनको मृत्यु भयो ।
२५ अनि हनोक पैँसठ्ठी वर्ष जीवित रहे र मेथुसेलहलाई जन्माए ।
२६ अनि यस्तो हुन गयो कि हनोकले एक स्थानदेखि अर्को स्थानसम्म मानिसहरूका माझमा यात्रा गरे; अनि उनले यात्रा गर्दा, परमेश्वरको आत्मा स्वर्गबाट ओर्लियो र उनीमाथि बास गर्यो ।
२७ अनि उनले स्वर्गबाट एउटा वाणी सुने, यसो भन्दै: हनोक, मेरा पुत्र, यी मानिसहरूसामु अगमवाणी गर र तिनीहरूलाई भन—पश्चात्ताप गर, किनकि परमप्रभु यसो भन्नुहुन्छ: म यी मानिसहरूसँग रिसाएको छु र मेरो भयङ्कर क्रोध तिनीहरूविरुद्ध दन्किएको छ; किनभने तिनीहरूका हृदयहरू कठोर भएका छन् र तिनीहरूका कानहरू सुन्न नसक्ने भएका छन् र तिनीहरूका आँखाहरू टाढा देख्न सक्दैनन्;
२८ अनि यी धेरै पुस्ताहरूका लागि, मैले तिनीहरूलाई सृष्टि गरेको दिनदेखि, तिनीहरू पथभ्रष्ट भएका छन् र मलाई अस्वीकार गरेका छन् र अन्धकारमा तिनीहरूका आफ्नै सल्लाहहरू खोजेका छन्; अनि तिनीहरूले आफ्नै कुकर्महरूमा हत्याको योजना बनाएका छन् र मैले तिनीहरूका पिता आदमलाई दिएका आज्ञाहरू पालना गरेका छैनन् ।
२९ यसकारण, तिनीहरूस्वयम् ले झुटो शपथ खाएका छन् र तिनीहरूका शपथद्वारा, तिनीहरूले आफैँमा मृत्यु ल्याएका छन्; र यदि तिनीहरूले पश्चात्ताप गरेनन् भने मैले तिनीहरूका लागि नरक तयार पारेको छु;
३० अनि यो एउटा उर्दी हो, जुन मैले संसारको प्रारम्भमा, मेरो आफ्नै मुखबाट, त्यसको सृष्टिदेखि र मेरा सेवकहरू, तिम्रा पिता-पुर्खाहरूको मुखबाट, मैले उर्दी पठाएको छु, जसरी यो संसारमा पठाइने छ, त्यहाँका संसारको सबैभन्दा दुर्गम स्थानहरू सम्म ।
३१ अनि जब हनोकले यी वचनहरू सुनेका थिए, तिनले आफूस्वयम् लाई पृथ्वीमा झुकाए, परमप्रभुकासामु र परमप्रभुकाअगाडि बोले, यसो भन्दै: किन मैले हजुरको दृष्टिमा अनुग्रह प्राप्त गरेको छु र म केवल एक युवक हुँ र सबै मानिसहरूले मलाई घृणा गर्छन्; किनकि म बोल्नमा ढिलो छु; किन म हजुरको सेवक हुँ?
३२ अनि परमप्रभुले हनोकलाई भन्नुभयो: अघि बढ र मैले तिमीलाई आज्ञा गरेअनुसार गर र कसैले तिमीलाई छेड्ने छैन । तिम्रो मुख खोल र यो भरिने छ र म तिमीलाई वचन दिने छु, किनकि सबै मानिसहरू मेरा हातमा छन् र म मलाई जे असल लाग्छ त्यही गर्ने छु ।
३३ यी मानिसहरूलाई भन: तिमीहरूको सृष्टि गर्नुहुने परमप्रभु परमेश्वरको सेवा गर्न आजको दिन रोज ।
३४ हेर, मेरो आत्मा तिमीहरूमा छ, यसकारण म तिमीहरूका सबै वचनहरूलाई न्याय दिने छु; अनि पहाडहरू तिम्रो अगाडिबाट भाग्ने छन् र नदीहरू आफ्ना मार्गबाट फर्कने छन्; अनि तिमी ममा समाहित हुने छौ र म तिमीमा हुने छु; त्यसैले मसँगै हिँड ।
३५ अनि परमप्रभुले हनोकसँग बोल्नुभयो र तिनलाई भन्नुभयो: आफ्नो आँखामा माटो दल र तिनीहरूलाई धोऊ र तिमीले देख्ने छौ । अनि उनले त्यसै गरे ।
३६ अनि परमेश्वरले सृष्टि गर्नुभएका आत्माहरूलाई उनले देखे; अनि उनले प्राकृतिक आँखाले नदेखिने वस्तुहरू पनि देखे; अनि त्यसपछि चारैतिर यस्तो भनाइ आयो: परमप्रभुले आफ्ना जनहरूलाई एक द्रष्टा खडा गर्नुभएको छ ।
३७ अनि यस्तो हुन गयो कि हनोक ती भूमिमा अघि गए, मानिसहरूका माझमा, पहाडहरू र उच्च स्थानहरूमा उभिँदै र तिनीहरूका कार्यहरू विरुद्ध गवाही दिँदै उच्च स्वरमा कराए; अनि सबै मानिसहरू उनका कारणले रिसाए ।
३८ अनि तिनीहरू अग्ला स्थानहरूमा उनका कुरा सुन्न बाहिर आए, पाल रक्षकहरूलाई यसो भन्दै: तिमीहरू यहाँ बस र पालहरूको हेरचाह गर, जबसम्म हामी द्रष्टालाई हेर्न त्यतातिर जान्छौँ, किनकि उनले अगमवाणी गर्छन् र भूमिमा एउटा अनौठो घटना छ; एउटा जङ्गली मानिस हामीहरूको माझमा आएको छ ।
३९ अनि यस्तो हुन गयो जब तिनीहरूले उनलाई सुने, कसैले उनलाई हात हालेन; किनकि उनलाई सुन्नेहरू सबै डराए; किनकि उनी परमेश्वरसँगै हिँड्थे ।
४० अनि महियाह नाम गरेको एकजना मानिस तिनीकहाँ आयो र उनलाई भन्यो: हामीलाई स्पष्टसँग भन कि तिमी को हौ र कहाँबाट आएका हौ?
४१ अनि उनले तिनीहरूलाई भने: म केनानको भूमिबाट आएको हुँ, मेरा पुर्खाहरूको भूमि, आजको दिनसम्म एक धार्मिकताको भूमि । अनि मेरो बुबाले मलाई परमेश्वरका सबै तरिकाहरूमा सिकाउनुभयो ।
४२ अनि यस्तो हुन गयो, जब म केनानको भूमिबाट यात्रा गर्दै थिएँ, पूर्वी समुद्रद्वारा, मैले एउटा दर्शन देखेँ, अनि हेर, स्वर्गहरू मैले देखेँ र परमप्रभु मसँग बोल्नुभयो र मलाई आज्ञा दिनुभयो; यसकारण, यही कारणका लागि, आज्ञा पालना गर्न, म यी शब्दहरूको घोषणा गर्छु ।
४३ अनि हनोकले आफ्नो वक्तव्य जारी राखे, यसो भन्दै: परमप्रभु जसले मसँग बोल्नुभयो, उहाँ नै स्वर्गका परमेश्वर हुनुहुन्छ र उहाँ मेरा परमेश्वर हुनुहुन्छ र तिमीहरूका परमेश्वर हुनुहुन्छ र तिमीहरू मेरा बन्धुहरू हौ र किन तिमीहरूस्वयम् लाई सल्लाह दिन्छौ र स्वर्गका परमेश्वरलाई अस्वीकार गर्छौ?
४४ स्वर्गहरू उहाँले सृष्टि गर्नु भयो; यो पृथ्वी उहाँको पाउदान हो; र यसको आधार उहाँकै हो । हेर, उहाँले त्यसलाई सङ्गठित गर्नुभयो, मानिसहरूको समूहलाई त्यसको सतहमा ल्याउनु भएको छ ।
४५ अनि हाम्रा पितापुर्खाहरूमाथि मृत्यु आएको थियो; यद्यपि हामी तिनीहरूलाई चिन्छौँ र अस्वीकार गर्न सक्दैनौँ र हामी सबै भन्दा पहिलोलाई पनि चिन्छौँ, जो वास्तवमा आदम हुन् ।
४६ सम्झनाको पुस्तकका लागि हामीले परमेश्वरका औँलाले दिनुभएको नमूनाअनुसार हामीहरूले हामीहरूका बीचमा लेखेका छौँ; र यो हाम्रो आफ्नै भाषामा दिइएको छ ।
४७ अनि हनोकले परमेश्वरका वचनहरू बोल्दै गर्दा, मानिसहरू काँपे र उनको उपस्थितिमा खडा हुन सकेनन् ।
४८ अनि उनले तिनीहरूलाई भने: किनभने आदमको पतन भयो, हामी छौँ; अनि उनको पतनले मृत्यु आयो; अनि हामीलाई दुःख र शोकको सहभागी बनाइएको छ ।
४९ हेर, सैतान मानिसका छोराछोरीहरूका माझमा आएको छ र तिनीहरूलाई उसको आराधना गर्न प्रलोभनमा पारेको छ; र मानिसहरू पापमय, कामुक र दानवीय भएका छन् र परमेश्वरको उपस्थितिबाट बाहिर निकालिएका छन् ।
५० परन्तु परमेश्वरले हाम्रा पितापुर्खाहरूलाई सबै मानिसहरूले पश्चात्ताप गर्नु पर्छ भनी प्रकाश पार्नुभएको छ ।
५१ अनि उहाँले हाम्रा पिता आदमलाई आफ्नै वाणीमा बोलाउनुभयो, यसो भन्दै: म परमेश्वर हुँ; मैले संसारको सृष्टि गरेँ र मानिसहरूलाई तिनीहरू शरीरमा हुनुपूर्व सृष्टि गरेँ ।
५२ अनि उहाँले उनीलाई यसोपनि भन्नुभयो: यदि तिमी मतर्फ फर्कियौ र मेरो वाणी सुन्यौ र विश्वास गर्यौ र आफ्ना सबै उल्लङ्घनहरूबाट पश्चात्ताप गर्यौ र जन्माइएका मेरा एकमात्र पुत्रको नाममा पानीले समेत बप्तिस्मा लियौ, जो पूर्ण अनुग्रह र सत्यको हुनुहुन्छ, जो येशू ख्रीष्ट हुनुहुन्छ, एक मात्र नाम जो स्वर्गमुनि दिइने छ, जसद्वारा मानिसहरूका छोराछोरीहरूमा मुक्ति आउने छ, तिमीहरूले पवित्र आत्माको वरदान प्राप्त गर्ने छौ, उहाँको नाममा सबै विषयवस्तु याचना गरेर, अनि तिमीहरूले जे माग्ने छौ, यो तिमीलाई दिइने छ ।
५३ अनि हाम्रा पिता आदमले परमप्रभुसँग बोले र भने: किन मानिसहरूले पश्चात्ताप गर्नु पर्छ र पानीमा बप्तिस्मा लिनु पर्छ? अनि परमप्रभुले आदमलाई भन्नुभयो: हेर मैले तिमीलाई अदनको बगैँचामा तिम्रो उल्लङ्घनको क्षमा गरेको छु ।
५४ यसैले मानिसहरूका माझ व्यापक रूपमा यो हल्ला फैलियो, कि परमेश्वरका पुत्रले प्रारम्भको गल्तीका लागि प्रायश्चित गर्नुभएको छ, जसअनुसार मातापिताको पापको जिम्मा छोराछोरीहरूको शिरमा दिइन सकिँदैन, किनकि तिनीहरू संसारको सृष्टि भएको समय देखि नै पूर्ण छन् ।
५५ अनि परमप्रभुले आदमसँग बोल्नुभयो, यसो भन्दै: जसरी तिम्रा छोराछोरीहरू पापयुक्त संसारमा जन्मछन्, त्यसरी नै जब तिनीहरू हुर्कन सुरू गर्छन्, तिनीहरूको हृदयमा पाप विकास हुन्छ र तिनीहरूले अवाञ्छनीय अनुभवहरू लिन्छन्, ताकि तिनीहरूले धार्मिकताको प्रसंशा गर्न सिक्छन् ।
५६ अनि तिनीहरूलाई असललाई खराबबाट बुझ्न दिइएको छ; यसकारण तिनीहरू आफ्ना लागि आफैँ प्रतिनिधिहरू हुन् र मैले तिमीहरूलाई अर्को नियम र आज्ञा दिएको छु ।
५७ यसकारण आफ्ना छोराछोरीहरूलाई यो सिकाओ कि सबैतिरका सबै मानिसहरूले पश्चात्ताप गर्नु पर्छ, अन्यथा तिनीहरू कुनै पनि स्थितिमा परमेश्वरको अधिराज्यको उत्तराधिकारी बन्न सक्दैनन्, किनकि त्यहाँ कुनै अशुद्ध वस्तु बस्न सक्दैन वा उहाँको उपस्थितिमा बस्न सक्दैन; किनकि, आदमको भाषामा, पवित्रताको मानिस उहाँको नाम हो र जन्माइएका एकमात्रको नाम मानिसका पुत्रको नाम हो, जो येशू ख्रीष्ट हुनुहुन्छ, धर्मी न्यायकर्ता, जो समयको मध्याह्न रेखामा आउनुहुने छ ।
५८ त्यसकारण म तिमीहरूलाई एक आज्ञा दिन्छु, यी अनुभवहरू आफ्ना छोराछोरीहरूलाई संयमतापूर्वक सिकाउन, यसो भन्दै:
५९ ताकि उल्लङ्घनका कारणले पतन आउँछ, जुन पतनले मृत्यु ल्याउँछ र जसरी तिमीहरू संसारमा पानी, रगत र आत्माद्वारा जन्मेका थियौ, जसलाई मैले सृष्टि गरेको छु र त्यसरी नै तिमीहरू माटोबाट जीवित आत्मा बन्यौ, त्यसै गरी तिमीहरू स्वर्गको, पानीको र आत्माको अधिराज्यमा पुनः जन्मनु पर्छ र रगतद्वारा शुद्ध हुनु पर्छ, मेरा जन्माइएका एकमात्रको रगतले समेत; ताकि तिमीहरू सबै पापबाट पवित्र हुन सक्छौ र यस संसारमा अनन्त जीवनका वचनहरू र आउने संसारमा अनन्त जीवनको आनन्द लिन सक्छौ, अमर महिमा समेत;
६० किनकि पानीद्वारा तिमीहरूले आज्ञा पालना गर्छौ; आत्माद्वारा तिमीहरूलाई निर्दोष ठहर्याइने छ र रगतद्वारा तिमीहरू पवित्र हुन्छौ;
६१ त्यसकारण यसलाई तिमीहरूमा समाहित हुन दिइएको छ; स्वर्गको अभिलेख; आश्वासी; अमर महिमाका शान्तिपूर्ण विषयहरू; सबै विषयहरूको सत्यता; जसले सबै विषयवस्तुहरूलाई जीवित पार्छ, जसले सबै विषयवस्तुहरूलाई जीवित बनाउँछ; जसले सबै विषय बुझ्छ र बुद्धि, दया, सत्य, न्याय र फैसलाअनुसार सबै शक्ति छ ।
६२ अनि अब, हेर, म तिमीहरूलाई भन्छु: यो सबै मानिसहरूका लागि मुक्तिको योजना हो, मेरा जन्माइएका एकमात्रको रगतद्वारा, जो समयको मध्यान्ह रेखामा आउनुहुने छ ।
६३ अनि हेर, सबै वस्तुहरूमा तिनीहरूको समानता छ र मेरो सम्बन्धमा गवाही दिनका लागि सबै वस्तुहरू सृष्टि गरिएका र बनाइएका छन्, दुबै वस्तुहरू जुन सांसारिक छन् र वस्तुहरू जुन आत्मिक छन्; माथि स्वर्गहरूमा भएका वस्तुहरू, अनि पृथ्वीभन्दा माथि भएका वस्तुहरू, अनि पृथ्वीमा भएका वस्तुहरू र पृथ्वी मुनिका वस्तुहरू, माथि र तल दुबै: सबै वस्तुहरूले मेरो सम्बन्धमा गवाही दिन्छन् ।
६४ अनि यस्तो हुन गयो कि, जब परमप्रभुले हाम्रा पिता आदमसँग बोल्नुभएको थियो कि आदमले परमप्रभुलाई पुकारे र उनलाई परमप्रभुको आत्माद्वारा लगियो, अनि तल पानीमा लगियो र पानीमा डुबाइयो र पानीबाट बाहिर ल्याइयो ।
६५ अनि यसरी उनलाई बप्तिस्मा दिइयो र परमेश्वरको आत्मा उनीमाथि ओर्लियो र यसरी उनी आत्माबाट जन्मिए र भित्री मनुष्यत्वमा जीवित भए ।
६६ अनि उनले स्वर्गबाट एउटा वाणी सुने, यसो भन्दै: तिमीले आगो र पवित्र आत्माले बप्तिस्मा लिएका छौ । यो पिता र पुत्रको अभिलेख हो, अबदेखि र सदासर्वदाका लागि;
६७ अनि तिमी उहाँको रीतअनुसार छौ जो दिनको प्रारम्भ वा वर्षको अन्त्य बिना, सबै अनन्तकालदेखि सबै अनन्तकालसम्म हुनुहुन्थ्यो ।
६८ हेर, तिमी ममा एक छौ, परमेश्वरका एक पुत्र; र यसरी सबै मेरा पुत्रहरू बन्न सक्छन् । आमीन ।