धर्मशास्त्रहरू
मोशा ७


अध्याय ७

(डिसेम्बर १८३०)

हनोकले मानिसहरूलाई सिकाउँछन्, अगुवाइ गर्छन् र पहाडहरू सार्छन्—सियोन सहरको स्थापना हुन्छ—हनोकले मानिसका पुत्रको आगमन, उहाँको प्रायश्चितको बलिदान र सन्तहरूको पुनरुत्थान दर्शनमा देख्छन्—उनले पुनर्स्थापना, एकीकरण, दोस्रो आगमन र सियोनको प्रतिगमन देख्छन् ।

अनि यस्तो हुन गयो कि हनोकले आफ्नो व्यक्तव्य निरन्तरता दिए, यसो भन्दै: हेर, हाम्रा पिता आदमले यी विषयहरू सिकाए र धेरैले विश्वास गरेका छन् र परमेश्वरका छोराहरू बनेका छन् र धेरैले विश्वास गरेका छैनन् र तिनीहरूका पापहरूमा नष्ट भएका छन् र त्रास सहित अनुमान गर्दैछन्, पीडामा, परमेश्वरको रीसको अग्निमय क्रोध तिनीहरूमाथि खन्याइनका लागि ।

अनि त्यस समयदेखि हनोकले मानिसहरूलाई यसो भन्दै अगमवाणी गर्न प्रारम्भ गरे, कि: जब म यात्रा गरिरहेको थिएँ र महुयाहको स्थानमा उभिएँ र परमप्रभुलाई पुकारेँ, स्वर्गबाट त्यहाँ एउटा वाणी आयो, यसो भन्दै—तिमी फर्क र तिमी शिमियोन पर्वतमा चढ ।

अनि यस्तो हुन गयो कि म फर्केँ र त्यो पर्वत माथि गएँ; र जब म पर्वतमा उभिएँ, मैले स्वर्गहरू खुलेको देखेँ र म महिमाले घेरिएको थिएँ;

अनि मैले परमप्रभुलाई देखेँ; र उहाँ मेरा अगाडि उभिनुभयो र उहाँ मसँग बोल्नुभयो, जसरी कुनै मानिस आमनेसामने बोल्छन् अनि उहाँले मलाई भन्नुभयो: हेर, र म तिमीलाई धेरै पुस्ताको अन्तरालसम्मको संसार देखाउने छु ।

अनि यस्तो हुन गयो कि मैले शुमको उपत्यकामा देखेँ र अवलोकन गरेँ, पालहरूमा बस्ने महान् मानिसहरू, जो शुमका मानिसहरू थिए ।

अनि पुनः परमप्रभुले मलाई भन्नुभयो: हेर; मैले उत्तरतर्फ हेरेँ र मैले कनानका मानिसहरूलाई देखेँ, जो पालहरूमा बसिरहेका थिए ।

अनि परमप्रभुले मलाई भन्नुभयो: अगमवाणी गर; अनि मैले अगमवाणी गरेँ, यसो भन्दै: हेर कनानका मानिसहरू, जो धेरै छन्, शुमका मानिसहरूका विरुद्धमा लडाइँमा निस्कने छन् र तिनीहरूलाई बध गर्ने छन् कि तिनीहरू पूर्ण रूपमा नष्ट हुने छन्; र कनानका मानिसहरूले आफूलाई त्यस भूमिमा विभाजित गर्ने छन् र भूमि बाँझो र फलहीन हुने छ र त्यहाँ कनानका मानिसहरू बाहेक अरू कोही बस्ने छैनन्;

किनकि हेर, परमप्रभुले त्यस भूमिलाई अत्यधिक तापले श्राप दिनुहुने छ र यसको बाँझोपन सदाका लागि रहने छ; कनानका सबै सन्ततिहरूमाथि कालोपनाको छाला आयो, कि तिनीहरू सबै मानिसहरूमाझ घृणित भए ।

अनि यस्तो हुन गयो कि परमप्रभुले मलाई भन्नुभयो: हेर; अनि मैले हेरेँ र मैले शेरोनको भूमि, हनोकको भूमि, ओम्नेरको भूमि, हेनीको भूमि, शेमको भूमि, हानेरको भूमि र हनान्नीहाहको भूमि र त्यहाँका सबै बासिन्दाहरू देखेँ;

१० अनि परमप्रभुले मलाई भन्नुभयो: यी मानिसहरूकहाँ जाऊ र तिनीहरूलाई भन—पश्चात्ताप गर, अन्यथा म बाहिर आउँछु र तिनीहरूलाई श्रापले प्रहार गर्छु र तिनीहरूको मृत्यु हुन्छ ।

११ अनि उहाँले मलाई एउटा आज्ञा दिनुभयो कि मैले पिता र पुत्रको नाममा बप्तिस्मा दिनु पर्छ, जुन अनुग्रह र सत्यले भरिएको छ र पवित्र आत्माको, जसले पिता र पुत्रको गवाही व्यक्त गर्छ ।

१२ अनि यस्तो हुन गयो कि हनोकले सबै मानिसहरूलाई पश्चात्ताप गर्न आग्रह गर्न निरन्तरता दिए, कनानका मानिसहरू बाहेक;

१३ अनि हनोकको आस्था यति महान् थियो कि उनले परमेश्वरका मानिसहरूलाई अगुवाइ गरे र तिनीहरूका शत्रुहरू तिनीहरूका विरुद्धमा लड्न आए; अनि उनले परमप्रभुका वचन बोले र पृथ्वी काप्यो र पर्वतहरू हटे, उनले आज्ञा गरेअनुसार समेत; र पानीका नदीहरूले तिनीहरूका मार्ग परिवर्तन गरे; अनि उजाड स्थानबाट सिंहहरूको गर्जन सुनियो; र सबै राष्ट्रहरू धेरै डराए, हनोकका वचन यति शक्तिशाली थिए र परमेश्वरले तिनलाई दिनुभएको भाषाको शक्ति यति महान् थियो ।

१४ त्यहाँ समुद्रको गहिराइबाट एउटा भूमि पनि बाहिर आयो र परमेश्वरका जनका शत्रुहरूको डर यति भयानक थियो कि तिनीहरू भागे र टाढै उभिए र समुद्रको गहिराइबाट निस्केको त्यो भूमिमा गए ।

१५ अनि त्यस भूमिका दैत्यहरू पनि टाढै उभिए; अनि परमेश्वरका विरुद्धमा लड्ने सबै मानिसहरूमाथि श्राप आयो;

१६ अनि त्यस समयपश्चात् तिनीहरूका माझमा युद्धहरू र रक्तपातहरू भए; तर परमप्रभु आउनुभयो र उहाँका मानिसहरूसँग बस्नुभयो र तिनीहरू धार्मिकतामा जिए ।

१७ परमप्रभुको भय सबै राष्ट्रहरूमा थियो, त्यसैले महान् थियो परमप्रभुको महिमा, जुन उहाँका मानिसहरूमा थियो । अनि परमप्रभुले त्यस भूमिलाई आशीर्वाद दिनुभयो र तिनीहरू पर्वतहरू र अग्ला स्थानहरूमा आशीषित थिए र समृद्ध भए ।

१८ अनि परमप्रभुले आफ्ना मानिसहरूलाई सियोन बोलाउनुभयो, किनभने तिनीहरू एउटै हृदय र एउटै मस्तिष्कका थिए र धार्मिकतामा बास गरेका थिए; अनि तिनीहरूमध्ये कोही गरिब थिएनन् ।

१९ अनि हनोकले परमेश्वरका जनलाई धार्मिकतामा आफ्नो प्रवचनलाई निरन्तरता दिए । अनि यस्तो हुन गयो कि तिनको समयमा, उनले एउटा सहर बनाए जसलाई पवित्रताको सहर, सियोन समेत भनियो ।

२० अनि यस्तो हुन गयो कि हनोकले परमप्रभुसँग वार्तालाप गरे; अनि तिनले परमप्रभुलाई भने: निश्चय नै सियोन सदैव सुरक्षित रहने छ । परन्तु परमप्रभुले हनोकलाई भन्नुभयो: मैले सियोनलाई आशीर्वाद दिएको छु, तर मानिसहरूका अवशेषहरूलाई मैले श्राप दिएको छु ।

२१ अनि यस्तो हुन गयो कि परमप्रभुले हनोकलाई पृथ्वीका सबै बासिन्दाहरू देखाउनुभयो; अनि उनले हेरे र अवलोकन गरे, सियोनलाई, समयको दौरानमा, स्वर्गमा लगियो । अनि परमप्रभुले हनोकलाई भन्नुभयो: हेर सदासर्वदाका लागि मेरो बस्ने बास ।

२२ अनि हनोकले मानिसका अवशेषहरूलाई पनि हेरे जो आदमका छोराहरू थिए; र तिनीहरू कयिनका सन्तानबाहेक आदमका सबै सन्तानको मिश्रण थिए, किनभने कयिनका सन्तान काला थिए र उनीहरूलाई तिनीहरूका माझमा स्थान थिएन ।

२३ अनि त्यस पछि सियोनलाई स्वर्गमा लगियो, हनोकले हेरे र अवलोकन गरे, पृथ्वीका सबै राष्ट्रहरू उनका अगाडि थिए;

२४ अनि त्यहाँ एक समयावधि पछि अर्को समयावधि आयो; र हनोक पिता र मानिसको पुत्रको सामिप्यतामा समेत उचालिए; अनि हेर, सैतानको शक्ति पृथ्वीको सम्पूर्ण सतहमा थियो ।

२५ अनि उनले स्वर्गबाट स्वर्गदूतहरू ओर्लिरहेको देखे; अनि उनले एक चर्को वाणी यसो भन्दै गरेको सुने: धिक्कार छ, धिक्कार छ पृथ्वीका बासिन्दाहरूलाई ।

२६ अनि उनले सैतानलाई देखे; र उसको हातमा एउटा लामो साङ्लो थियो र यसले पृथ्वीको सम्पूर्ण सतहलाई अँध्यारोले ढाक्यो; अनि उसले माथि हेर्‍यो र हाँस्यो र उसका दूतहरू आनन्दित भए ।

२७ अनि हनोकले स्वर्गबाट स्वर्गदूतहरूलाई पिता र पुत्रको गवाही व्यक्त गर्दै स्वर्गबाट ओर्लिरहेको देखे; र पवित्र आत्माको प्रभाव धेरैमा पर्‍यो र तिनीहरूलाई स्वर्गको शक्तिद्वारा सियोनमा लगियो ।

२८ अनि यस्तो हुन गयो कि स्वर्गका परमेश्वरले मानिसहरूका अवशेषहरूलाई हेर्नुभयो र उहाँ रूनुभयो; अनि हनोकले त्यसको अभिलेख राखे, यसो भन्दै: स्वर्गहरू कसरी रून्छन् र पर्वतहरूमा पानी जस्तै तिनीहरूका आँसु बगाउँछन्?

२९ अनि हनोकले परमप्रभुलाई भने: यो कसरी हुन सक्छ कि हजुर रून सक्नुहुन्न, हजुरलाई पवित्र भएको देखेर र सबै अनन्तकालदेखि सबै अनन्तकाल सम्म?

३० अनि यदि यो सम्भव छ भने कि मानिसले पृथ्वीका कणहरूको गणना गर्न सक्छ, हो, यो पृथ्वी जस्तै दशौँ लाख पृथ्वीहरू, यो हजुरको सृष्टिहरूको सङ्ख्याको आरम्भ हुने छैन; अनि हजुरका पर्दाहरू अझै फैलिएका छन्; अनि तैपनि हजुर त्यहीँ हुनुहुन्छ र हजुरको सामिप्यता त्यहीँ छ; अनि हजुर न्यायी पनि हुनुहुन्छ; हजुर सदैव कृपालु र दयालु हुनुहुन्छ;

३१ अनि हजुरले सियोनलाई आफ्नो सामिप्यमा लिनुभएको छ, आफ्ना सबै सृष्टिहरूबाट, सबै अनन्तकालदेखि सबै अनन्तकालसम्म; र शान्ति, न्याय र सत्यबाहेक हजुरको सिंहासनको बासस्थान अन्य केही छैन; अनि कृपा हजुरको मुहार अघि जाने छ र यसको कुनै अन्त हुने छैन; यो कसरी हुन सक्छ कि हजुर रून सक्नुहुन्न?

३२ परमप्रभुले हनोकलाई भन्नुभयो: यी तिम्रा बन्धुहरूलाई हेर; तिनीहरू मेरा आफ्नै हातका सिर्जनाहरू हुन् र मैले तिनीहरूलाई सृष्टि गरेको दिन तिनीहरूलाई ज्ञान दिएँ; र अदनको बगौँचामा, मैले मानिसलाई उसको छनोटको स्वतन्त्रता दिएँ;

३३ अनि मैले तिम्रा बन्धुहरूलाई भनेको छु र आज्ञा पनि दिएको छु, कि तिनीहरूले एक-अर्कालाई प्रेम गर्ने छन् र तिनीहरूले मलाई तिनीहरूका पितालाई छनोट गर्नु पर्छ, तर हेर, तिनीहरू प्रेमविहीन छन् र तिनीहरू आफ्नै रगतलाई घृणा गर्छन्;

३४ अनि तिनीहरूविरुद्ध मेरो क्रोधको आगो दन्किएको छ; र मेरो असन्तुष्टिमा म तिनीहरूमा बाढी पठाउने छु, किनकि मेरो उग्र रिस तिनीहरूमाथि दन्किएको छ ।

३५ हेर, म परमेश्वर हुँ; पवित्रताको मानिस मेरो नाम हो; परामर्शको मानिस मेरो नाम हो; र अन्तहीन र अनन्त पनि मेरो नाम हो ।

३६ यसकारण, म मेरा हातहरू फैलाउन सक्छु र मैले बनाएका सबै सृष्टिहरू धारण गर्न सक्छु; र मेरा आँखाले तिनीहरूलाई देख्न पनि सक्छन् र तिम्रा बन्धुहरूका माझमा जति भयानक दुष्टता भएको छ त्यति मेरा हातका सबै सिर्जनाहरूमध्येमा कहीँ भएको छैन ।

३७ परन्तु हेर, तिनीहरूका पापहरू तिनीहरूका पिता-पुर्खाहरूको शिरमा हुने छन्; सैतान तिनीहरूको पिता हुने छ र दुःख तिनीहरूको विनाश हुने छ; र सारा ब्रम्हाण्डहरू तिनीहरूका लागि रूने छन्, मेरा हातका सबै सिर्जनाहरू समेत; यसकारण यिनीहरूलाई पीडाहुने छ भन्ने देखेर के स्वर्ग रूनु पर्दैन?

३८ परन्तु हेर, तिमीले देखेका मानिसहरू बाढीमा नष्ट हुने छन्; अनि हेर, म तिनीहरूलाई प्रतिबन्ध लगाउने छु; मैले तिनीहरूका लागि एक झ्यालखाना तयार पारेको छु ।

३९ अनि जसलाई मैले छनोट गरेको छु उनले मेरो मुहारसामु बिन्ती गरेको छन् । यसकारण, उहाँले तिनीहरूका पापहरूका लागि कष्ट भोग्नुहुने छ; जतिसम्म तिनीहरूले पश्चात्ताप गर्ने छन् त्यस दिनसम्म जब मेरा चुनिएकाहरू मकहाँ फर्किने छन् र त्यस दिनसम्म तिनीहरू वेदनामा हुने छन्;

४० त्यसकारण, यसका लागि स्वर्ग हो, र मेरा हातका सबै सिर्जनाहरू रूने छन् ।

४१ अनि यस्तो हुन गयो कि परमप्रभुले हनोकसँग बोल्नुभयो र हनोकलाई मानिसहरूका छोराछोरीहरूले गरेका सबै कार्यहरू बताउनुभयो; यसकारण हनोकले थाहा पाए र तिनीहरूको दुष्टता र तिनीहरूको दुःख देखे र रोए र आफ्ना पाखुरा फैलाए र उनको हृदय अनन्तता जस्तै फराकिलो भयो; अनि उनका आन्द्रा भुँडीहरू स्नेहले भरिए; र सबै अनन्तता प्रभावित भयो ।

४२ अनि हनोकले नोआ र उनका परिवारलाई पनि देखे; कि नोआका सबै छोराहरूको वंशजलाई सांसारिक मुक्तिका साथ बचाइनु पर्छ;

४३ यसकारण हनोकले नोआले एउटा जहाज बनाएको देखे; अनि यसलाई देखेर परमप्रभु मुस्कुराउनुभयो र यसलाई आफ्नै हातमा समात्नु भयो; तर दुष्टहरूका अवशेषमा बाढी आयो र तिनीहरूलाई निल्यो ।

४४ अनि जब हनोकले यो देखे, उनले दुःख महसुस गरे र आफ्ना बन्धुहरूका लागि रोए र स्वर्गहरूलाई भने: म सान्त्वना प्राप्त गर्न अस्वीकार गर्ने छु; तर परमप्रभुले हनोकलाई भन्नुभयो: आफ्नो हृदय उचाल र खुसी होऊ; र हेर ।

४५ अनि यस्तो हुन गयो कि हनोकले हेरे; र नोआको समयदेखि, उनले पृथ्वीका सबै परिवारहरू देखे; अनि उनले परमप्रभुलाई पुकारे, यसो भन्दै: परमप्रभुको दिन कहिले आउने छ? ती धर्मीको रगत कहिले बगाइने छ, ताकि शोक गर्नेहरू सबै पवित्र हुन सक्छन् र अनन्त जीवन प्राप्त गर्न सक्छन्?

४६ अनि परमप्रभुले भन्नुभयो: यो समयको मध्याह्न रेखामा हुने छ, दुष्टता र प्रतिहिंसाका दिनहरूमा ।

४७ अनि हेर, शरीरमा समेत, हनोकले मानिसका पुत्रको आगमनको दिन देखे; र उनको आत्मा हर्षित भयो, यसो भन्दै: धर्मीलाई माथि उठाइन्छ र संसारको सृष्टि भएको समयदेखि थुमालाई मारिने योजना थियो; र आस्थाद्वारा म पिताको सामिप्यतामा छु र हेर, सियोन मसँग छ ।

४८ अनि यस्तो हुन गयो कि हनोकले पृथ्वीलाई हेरे; अनि उनले यसको गहिराइबाट एउटा आवाज सुने, यसो भन्दै: धिक्कार, धिक्कार छ मलाई, मानिसहरूकी आमा; म दुःखी छु, म थाकेकी छु, मेरा सन्ततिहरूको दुष्टताका कारण । म कहिले आराम गर्ने छु र मबाट बाहिर निस्केको घिनलाग्दो चिजबाट शुद्ध हुने छु? मेरा सृष्टिकर्ताले मलाई कहिले पवित्र पार्नुहुने छ, ताकि मैले आराम प्राप्त गर्न सक्छु र धार्मिकता एक निश्चित समयका लागि मेरो मुहारमा रहन्छ?

४९ अनि जब हनोकले पृथ्वीको शोक सुने, तिनी रोए र परमप्रभुलाई यसो भन्दै पुकारे: हे परमप्रभु, के हजुर पृथ्वीलाई दया गर्नुहुन्न? के हजुरले नोआका सन्ततिहरूलाई आशीर्वाद दिनुहुन्न?

५० अनि यस्तो हुन गयो कि हनोकले परमप्रभुलाई आफ्नो पुकार निरन्तरता दिए, यसो भन्दै: हे परमप्रभु, म हजुरका एकमात्र पुत्र, येशू ख्रीष्टको नाममा समेत हजुरलाई सोध्छु, कि हजुरले नोआ र उनका सन्ततिमाथि कृपा गर्नुहुने छ, ताकि पृथ्वीलाई बाढीले कहिल्यै पुनः जलमग्न पारिने छैन ।

५१ अनि परमप्रभुले प्रतिरोध गर्न सक्नुभएन; अनि उहाँले हनोकसँग करारसहित एक प्रतिज्ञाका गर्नुभयो कि उहाँले बाढीलाई रोक्नुहुने छ; कि उहाँले नोआका सन्ततिहरूसँग वार्तालाप गर्नुहुन्छ;

५२ अनि उहाँले एक अपरिवर्तनीय उर्दी पठाउनुभयो, कि उनको सन्ततिको एक अवशेष सदैव सबै राष्ट्रहरूका माझमा पाइनु पर्छ, जबसम्म पृथ्वी अस्तित्वमा रहन्छ;

५३ अनि परमप्रभुले भन्नुभयो: धन्य छ तिनलाई जसका सन्ततिद्वारा मसीह आउनुहुने छ; किनकि उहाँ भन्नुहुन्छ—म मसीह हुँ, सियोनको राजा, स्वर्गको चट्टान, जुन अनन्तकाल जस्तै फराकिलो छ; जो द्वारबाट भित्र प्रवेश गर्छ र मेरा कारण उचालिन्छ कहिल्यै पतन हुने छैन; यसकारण, धन्य छन् तिनीहरू जसका सम्बन्धमा मैले बोलेको छु, किनकि तिनीहरू चिरस्थायी प्रसन्नताका गीतहरूसँगै आउने छन् ।

५४ अनि यस्तो हुन गयो कि हनोकले परमप्रभुलाई यसो भन्दै पुकारे: जब मानिसका पुत्र शरीरमा आउनु हुन्छ, के पृथ्वीले शान्ति प्राप्त गर्ने छ? म हजुरलाई प्रार्थना गर्छु, मलाई यी विषयहरू देखाउनुहोस् ।

५५ अनि परमप्रभुले हनोकलाई भन्नुभयो: हेर, र उनले हेरे र मानिसका पुत्रलाई क्रूसमा उचालिएको देखे, मानिसहरूको तरिकाअनुसार;

५६ अनि उनले चर्को वाणी सुने; अनि स्वर्गहरू ढाकिएका थिए; र परमेश्वरका सबै सृष्टिहरूले शोक गरे; र पृथ्वी दुःखित बन्यो; अनि ढुङ्गाहरू टुक्रिए; अनि सन्तहरू उठे र मानिसका पुत्रको दाहिने हाततर्फ महिमाको मुकुटहरू पहिराइए;

५७ अनि झ्यालखानामा भएका धेरै आत्माहरू बाहिर आए र परमेश्वरको दाहिने हाततर्फ उभिए; र बाँकीलाई महान् दिनको फैसला नहुँदासम्म अन्धकारको साङ्लामा राखिएको थियो ।

५८ अनि पुनः हनोक रोए र परमप्रभुलाई पुकारे, यसो भन्दै: पृथ्वीले कहिले आराम गर्ने छ?

५९ अनि हनोकले मानिसका पुत्रलाई पिताकहाँ आरोहण गरिरहनुभएको देखे; र उनले परमप्रभुलाई पुकारे, यसो भन्दै: के हजुर पुनः पृथ्वीमा आउनु हुने छैन? किनकि हजुर परमेश्वर हुनुहुन्छ र म हजुरलाई चिन्छु र हजुरले मलाई प्रतिज्ञा गर्नुभएको छ र मलाई हजुरका जन्माइएका एकमात्रको नाममा याचना गर्नु पर्छ भनेर आज्ञा दिनुभएको छ; हजुरले मलाई सृष्टि गर्नु भएको छ र हजुरको सिंहासनमा मलाई अधिकार दिनुभएको छ र मेरो प्रयासले होइन, तर हजुरको आफ्नै अनुग्रहद्वारा; यसकारण, म हजुरलाई सोध्छु कि के हजुर पृथ्वीमा पुनः आउनु हुने छैन ।

६० अनि परमप्रभुले हनोकलाई भन्नुभयो: जसरी म जीवित छु, त्यसरी नै म अन्तिम दिनहरूमा आउने छु, दुष्टता र प्रतिहिंसाका दिनहरूमा, नोआका सन्ततिहरूका सम्बन्धमा मैले तिमीहरूलाई गरेको शपथ पूरा गर्न;

६१ अनि त्यो दिन आउने छ कि पृथ्वीले आराम गर्ने छ तर त्यो दिनपूर्व आकाश अँध्यारो हुने छ र अन्धकारको पर्दाले पृथ्वीलाई ढाक्ने छ; अनि स्वर्गहरू हल्लिने छन् र पृथ्वी पनि; र मानिसहरूका सन्ततिहरूका बीचमा भयानक महासङ्कष्टहरू हुने छन् तर म मेरा जनहरूलाई बचाउने छु;

६२ अनि स्वर्गबाट म धार्मिकता पठाउने छु; र म पृथ्वीबाट सत्यलाई पठाउने छु, मेरा जन्माइएका एकमात्रको; मृत्युबाट उहाँको पुनरुत्थानको; हो र सबै मानिसहरूको पुनरुत्थानको पनि गवाही दिन; र पृथ्वीका चारै क्षेत्रहरूबाट मेरा चुनिएकाहरूलाई एकत्रित गर्न, बाढीले बगाए जस्तै, धार्मिकता र सत्यताले म पृथ्वीलाई बढार्ने छु, एक स्थान जुन मैले तयार पार्ने छु, एक पवित्र सहर, ताकि मेरा जनहरूले आफ्नो कम्मर कस्न सक्छन् र मेरो आगमनको समयको प्रतीक्षा गरिरहन्छन्; किनकि त्यहाँ मेरो मण्डप हुने छ र यसलाई सियोन, नयाँ यरूशलेम भनिने छ ।

६३ अनि परमप्रभुले हनोकलाई भन्नुभयो: त्यसोभए तिमी र तिम्रो सहरका बसिन्दाहरूले तिनीहरूलाई त्यहाँ भेट्ने छौ र हामीले तिनीहरूलाई प्रसन्नतामा र प्रेमका साथ ग्रहण गर्ने छौँ र तिनीहरूले हामीलाई देख्ने छन्; अनि हामी तिनीहरूलाई अङ्कमाल गर्ने छौँ र तिनीहरूले हामीलाई अङ्कमाल गर्ने छन् र हामी एक-अर्कालाई चुम्बन गर्ने छौँ;

६४ अनि त्यहाँ मेरो वासस्थान हुने छ र यो सियोन हुने छ, जुन मैले निर्माण गरेका सबै सृष्टिहरू भन्दा भिन्न हुने छ; र एक हजार वर्षको समयावधिका लागि पृथ्वीले आराम गर्ने छ ।

६५ अनि यस्तो हुन गयो कि हनोकले मानिसका पुत्रको आगमनको दिन देखे, अन्तिम दिनहरूमा, पृथ्वीमा एक हजार वर्षको अन्तरालसम्म धार्मिकतामा जिउन;

६६ परन्तु त्यो दिनपूर्व उनले दुष्टहरूका बीचमा भयानक महासङ्कष्ट देखे; र उनले समुद्रलाई पनि देखे, कि यो विचलित भएको थियो र मानिसहरूका हृदयहरूले तिनीहरूलाई असफल पार्दै, सर्वशक्तिमान् परमेश्वरको न्यायका लागि त्राससहित प्रतीक्षा गरिरहेका थिए, जुन दुष्टहरूमाथि आउने छ ।

६७ अनि परमप्रभुले हनोकलाई संसारको अन्त्यसम्मका सबै अवधारणाहरू देखाउनुभयो; अनि उनले धर्मीहरूका दिन देखे, तिनीहरूको उद्धारको घडी र प्रसन्नताको पूर्णता प्राप्त गरे;

६८ अनि सियोनका सबै दिनहरू, हनोकको समयमा, तीन सय पैँसठ्ठी वर्ष थिए ।

६९ अनि हनोक र उनका सबै जनहरू परमेश्वरसँगै हिँडे र उहाँ सियोनको बीचमा बस्नु भयो; अनि यस्तो हुन गयो कि सियोन थिएन, किनकि परमेश्वरले यसलाई आफ्नै समीपमा ग्रहण गर्नुभयो; अनि त्यस समयदेखि, सियोन भाग्योभनेर भनिएको थियो ।