२०२०
चर्चका क्रियाकलापहरू मार्फत सेवा गर्ने
जुलाई २०२०


“चर्चका क्रियाकलापहरू मार्फत सेवा गर्ने,” लियाहोना, जुलाई २०२०

छवि
सेवा गर्ने

पाल बनाइरहेको जवान केटाहरूको फोटो बड कोर्किनद्वारा; टेबल तयार गरिरहेको केटीहरूको फोटो शेरी प्राइस म्याकफार्ल्याण्डद्वारा; गेट्टी चित्रहरूबाट पृष्ठभूमि

सेवाका सिद्धान्तहरु, जुलाई २०२०

चर्चका क्रियाकलापहरू मार्फत सेवा गर्ने

सम्पादकको नोट: यो लेख COVID-19 महामारी अघि रचना गरिएको थियो। निम्न लिखित केही सुझावहरू सामाजिक दूरीको समयमा लागू हुँदैन तर चर्चका सभाहरू र क्रियाकलापहरू एकपटक पुनः सुरू भएपछि लागू हुनेछन्। यदि आवश्यक छ भने, कृपया हालका चर्च र सरकारी निर्देशनहरू अनुसार यी सुझावहरूलाई मिलाउनुहोस्।

हामीले हाम्रा वार्डका सहयात्री सदस्यहरू, छिमेकीहरू र साथीहरूको सेवा गर्ने एउटा तरिका चर्चका क्रियाकलापहरू मार्फत हो। चाहे तपाईं आफुले सेवा गर्नेको आवश्यकता वा रुचिका आधारमा क्रियाकलापको योजना बनाउनुहुन्छ वा तपाईं उनीहरूलाई क्रियाकलाप वा अरूहरूका लागि सेवा गर्ने अवसरहरूमा भाग लिन आमन्त्रण गर्नुहुन्छ, वार्ड, किला वा विभिन्न किला स्तरीय क्रियाकलापहरूले एकता बढाउन र सदस्यहरूलाई सुदृढ बनाउन अर्थपूर्ण र मनोरञ्जनात्मक तरिकाहरू प्रदान गर्न सक्छन्।

चर्चका क्रियाकलापहरूले पनि सेवा गर्ने धेरै अवसरहरूका लागि ढोका खोल्न सक्छन्। उदाहरणका लागि, चर्चका क्रियाकलापहरुले अरूहरूलाई आशीष दिन र समुदायमा सकारात्मक सम्बन्ध बनाउने सेवाका परियोजनाहरुमा भाग लिन अवसर प्रदान गर्न सक्छन्। चर्चका क्रियाकलापहरू चर्चका कम-सक्रिय सदस्यहरू र अन्य आस्था भएका साथीहरू वा कुनै पनि धार्मिक सम्बन्ध नभएका साथीहरूसम्म पुग्ने अवसर पनि हुन सक्छन्।

चर्चका क्रियाकलापहरूमा धेरै मानिसहरूलाई समावेश गर्दा परमप्रभुलाई हाम्रो वार्ड, शाखा, हाम्रो छिमेक र हाम्रो समुदायलाई आशीषित गर्ने र सुदृढ पार्ने अवसर सिर्जना हुन्छ।

सकारात्मक सम्बन्ध बनाउँदै

जाडो आउँदै थियो, र डेभिड डिक्सनलाई आफ्नो परिवारलाई कसरी न्यानो राख्न सकिन्छ भन्ने कुराका बारेमा केही जानकारी थिएन।

डेभिड, तिनकी श्रीमती र दुई छोरीहरू भर्खरै उच्च मरुभूमिको भव्य रातो चट्टानको सदावाहार परिदृश्य भएको अमेरिकाको एरिजोनाको फ्रेडोनियाको ग्रामीण शहरमा बसाइँ सरेका थिए।

डिक्सनले भाडामा लिएको घर तापको प्रमुख स्रोतका रुपमा दाउरा बाल्ने चुलोमा निर्भर थियो। दाउरा जम्मा गर्नु आवश्यक सीप हो किनकि फ्रेडोनियामा जाडो याम हिउँ र बरफले भरिएको हुन्छ भनेर डेभिडले छिट्टै सिकिहाल्नुभयो।

“मसँग कुनै दाउरा वा चेनसो थिएन वा यी मध्ये एउटालाई कसरी प्रयोग गर्ने भन्ने ज्ञान पनि थिएन!” डेभिड भन्नुहुन्छ। “म के गर्नजाँदैछु भनेर मलाई थाहा थिएन।”

उहाँको परिवारसँग जाडो यामलाई पुग्ने पर्याप्त दाउरा छ कि छैन भनेर केही वार्डका सदस्यहरूले डेभिडलाई सोधे। डेभिड भन्नुहुन्छ, “मसँग थिएन भनेर महसुस गर्न उनीहरूलाई लामो समय लागेन।” “एल्डरहरूको गणले मलाई चाँडै दाउरा जम्मा गर्न सहयोग गर्ने प्रस्ताव राख्यो। कृतज्ञताले अभिभूत भएर मैले तिनीहरूको प्रस्ताव स्वीकार गरेँ।”

यो दाउरा जम्मा गर्ने यात्रा धेरै विशेष रुपमा योजना गरिएका, विशेष रुपमा व्यवस्थापन गरिएका र उत्तम सहभागिता भएका धेरै वार्ड क्रियाकलापहरू मध्येको विशिष्ट थियो भनेर डेभिडले पत्ता लगाउनुभयो। एक शनिबार बिहान, डेभिड, एल्डरहरूको गण र अन्य वार्ड सदस्यहरू सहित ट्रक र ट्रेलरहरूको एक गाडीमा पहाडतिर लाग्नुभयो।

डेभिड भन्नुहुन्छ, “उनीहरूका उपकरणहरूलाई धन्यवाद अनि दिउँसो एकै दिनमा वार्डका सदस्यहरूले मेरो परिवारका लागि दाउराको थुप्रो उपलब्ध गराए जुन हाम्रा लागि दुई जाडो यामको अधिकांश समय उपयोगी बन्यो।” “त्योभन्दा पनि महत्त्वपूर्ण कुरा त म अफैले दाउरा सङ्कलन गर्नेबारे मैले जान्नुपर्ने सबै कुरा सिकाइएको थियो। फ्रेडोनिया छोडेर गए पछि मैले चेन्सा कसरी चलाउने भनेर सिकेँ र दाउरा जम्मा गर्ने वार्डका अनगन्ती क्रियाकलापमा मैले सहयोग गरेँ।”

त्यस्ता वार्ड क्रियाकलापहरूले चर्चका सदस्यहरू बीच सकारात्मक सम्बन्ध मात्र नभई समुदायका हरेकसँग सकारात्मक सम्बन्धको निर्माण समेत गरे।

डेभिड भन्नुहुन्छ, “म एक जना महिलालाई सम्झन्छु, उहाँ चर्चको सदस्य हुनुहुन्नथ्यो, जो त्यस ठाउँमा नयाँ हुनुहुन्थ्यो। “उहाँलाई न्यानो रहनका लागि उहाँको घरमा दाउराको हार कम भइसकेको थियो। हामीले उहाँको दुर्दशाका बारेमा बुझिसकेपछि, हामीले यो सुनिश्चित गर्यौं कि उहाँसँग जाडो बिताउनका लागि पर्याप्त दाउरा छ भनेर। उनी साह्रै कृतज्ञ थिइन् उनले मुश्किलले बताउन सक्थिन्।”

फ्रेडोनियामा सेवा गर्ने प्रयासहरूले सबै जना जाडोमा सुरक्षित र न्यानो रहून् भनेर सुनिश्चित गरे।

अरूहरू सम्म पुग्ने

रोमानियामा सुसमाचार प्रचार सेवा गर्दा, मेग योस्ट र उनका साथीले नियमित रुपमा एउटा परिवारलाई भेट गर्थे जो चर्चमा लामो समय सम्म सहभागी थिएनन्। मेग भन्छिन्, “स्टानिकास रोमानियाको शुरुका चर्चका सदस्यहरू मध्येका एक थिए र हामी उनीहरूलाई माया गर्थ्यौं।”

शाखाका क्रियाकलापहरूको योजना बनाउने र मिलाउने समय आउँदा अगुवाहरूले निर्णय गरे कि शाखामा “अग्रजहरूका लागि एक साँझ” हुनेछ। यो संयुक्त राज्य पार गरेर साल्ट लेक उपत्यकामा पुग्ने साहसी अग्रजहरूका लागि सम्मान गर्ने साँझ हुने छ। यो रोमानियाको चर्चका अग्रजहरूलाई सम्मान गर्ने अवसर पनि हुनेछ।

मेग भन्छिन्, “हामीले सोचेका थियौं कि यो केहि सदस्यहरूका लागि उनीहरूको परिवर्तनका बारेमा र रोमानियामा कसरी चर्च बढेको छ भनेर उनीहरूले देखेका बारेमा गवाही दिने ठूलो माध्यम हुनेछ।” “हामीले तत्कालै सोच्यौं कि स्टानिकाको परिवार पनि यसमा सहभागी हुनुपर्छ। हामीले उनीहरूलाई भाग लिन आमन्त्रित गर्‍यौँ, र उनीहरू उत्साहित भए!”

क्रियाकलाप भएको रात, सुरू गर्ने समय भइसक्दा पनि स्टानिकस अझै पनि आइपुगेका थिएनन्।

“हामी चिन्तित थियौं कि उनीहरू आउँदैनन् होला भनेर,” मेग सम्झिन्छन्। “तर समयमा नै तिनीहरू ढोकाबाट भित्र पसे। स्टानिकसले सुसमाचार र चर्चको सुन्दर गवाही दिए। तिनीहरू अन्य सदस्यहरूसँग पनि घुलमिल हुन पाए जसलाई उनीहरूले लामो समय सम्म देखेका थिएनन्।”

शाखाका सदस्यहरूले तिनीहरूका बाहुहरू खोलेर स्टानिकसलाई स्वागत् गरे। अर्को आइतबार, बहिनी स्टानिकालाई चर्चमा देखेर मेग आश्चर्यचकित भए।

“केही महिनापछि मैले शाखामा भ्रमण गर्दा पनि उनी अझै आइरहेकी थिइन!” मेग भन्छन्। “मेरो विचारमा उनको गवाही बाँढ्ने र शाखामा संलग्न भएको र आवश्यक महसुस गर्ने अवसरले उनलाई साँच्चै सहयोग गरेको थियो।”

चर्चका क्रियाकलापहरू मार्फत सेवा गर्नका लागि ४ विचारहरू

  • आवश्यकताहरू पूरा गर्ने क्रियाकलापहरूको योजना बनाउनुहोस्: क्रियाकलापहरू धेरै फरक आवश्यकताहरू पूरा गर्ने एक उत्तम तरिका हो। कुनै एक व्यक्ति वा समूह विशेषका आवश्यकताहरूलाई पूरा गर्नका लागि त्यो आयोजना बनाउन सकिन्छ। तिनीहरुले सहभागीहरूका आवश्यकताहरू पूरा हुनुपर्छ, चाहे त्यो आवश्यकता एक अर्कालाई अझ राम्ररी चिन्नको लागि होस्, सुसमाचारका बारेमा बढी सिक्नको लागि होस्, वा आत्मालाई महसुस गर्नको लागि होस्।

  • सबैलाई आमन्त्रण गर्नुहोस्: तपाईंले क्रियाकलापहरूको योजना बनाउँदै गर्दा, भाग लिदा लाभ उठाउन सक्नेहरू सबैलाई आमन्त्रण गर्न विशेष प्रयास गर्नुहोस्। नयाँ सदस्यहरू, कम-सक्रिय सदस्यहरू, युवाहरू, एकल वयस्कहरू, अशक्तहरू र अन्य आस्थाका मानिसहरूलाई ध्यान दिनुहोस्। तिनीहरूको मस्तिष्कमा उत्तम चाहना पैदा हुने गरी आमन्त्रण गर्नुहोस्, र तपाइँ तिनीहरू आऊन् भनेर कति धरै चाहनुहुन्छ भनेर व्यक्त गर्नुहोस्।

  • सहभागितालाई प्रोत्साहन गर्नुहोस्: यदि उनीहरूले सहभागी हुने अवसर पाए भने तपाईंले आमन्त्रण गर्नुभएकाहरूले क्रियाकलापहरूबाट धेरै कुराहरू प्राप्त गार्नेछन्। सहभागितालाई प्रोत्साहन गर्ने एक तरिका, व्यक्तिहरुको उपहारहरु, सीपहरु र प्रतिभाहरुलाई क्रियाकलापको समयमा प्रयोग गर्न लगाउनु हो।

  • सबैलाई स्वागत गर्नुहोस्: यदि तपाईंका साथीहरू कुनै क्रियाकलापमा भाग लिन्छन् भने, उनीहरूलाई स्वागत् गरिएको महसुस गराउन तपाईंले सकेजति कोसिस गर्नुहोस्। त्यस्तै प्रकारले, यदि तपाईंले आफूले नचिनेका मानिसहरूलाई देख्नु भयो भने मित्रवत हुनुहोस् र तिनीहरूलाई पनि स्वागत गर्नुहोस्!

प्रिन्ट गर्नुहोस्