लियाहोना
सुसमाचार अनुरुप जिउनुको अनन्त प्रसन्नता
फेब्रूवरी २०२४


“सुसमाचार अनुरुप जिउनुको अनन्त प्रसन्नता,” लियाहोना, फेब्रूवरी २०२४ ।

मासिक लियाहोना सन्देश, फेब्रूवरी २०२४

सुसमाचार अनुरुप जिउनुकोअनन्त प्रसन्नता

येशू ख्रीष्टको सुसमाचार अन्त्यसम्म पालना गरेर र अरूहरूलाई पनि त्यसै गर्न सहयोग गरेर चिरस्थायी प्रसन्नता आउँछ ।

छवि
आदम र हव्वा पृष्ठभूमिमा अदनको बगैँचा

अदनको बगैँचा, ग्रान्ट रम्नी क्लसनद्वारा; अदनको बगैँचा छोड्दै, जोसेफ ब्रिकीद्वारा

हाम्रो जीवनको उद्देश्यको संक्षिप्त अभिव्यक्ति पृथ्वीमा मानव जीवनको सुरुवातका सम्बन्धमा लहीको अगमवाणीका शिक्षाहरूमा प्राप्त गर्न सकिन्छ । अदनको बगैँचामा, आदम र हव्वा अवोधपनाको अवस्थामा बस्थे । यदि तिनीहरू त्यस अवस्थामा रहेको भए, तिनीहरूले “कुनै प्रसन्नता [प्राप्त गर्ने] थिएनन्, किनकि तिनीहरूलाई कुनै दु:ख थाहा थिएन; कुनै असल काम नगरीकन, किनकि तिनीहरूलाई कुनै पाप थाहा थिएन” (२ नफी २:२३) । तसर्थ लहीले व्याख्या गरे जस्तै “आदमको पतन भयो ताकि मानिसहरू होऊन्; र मानिसहरू छन्, ताकि तिनीहरूले प्रसन्नता प्राप्त गर्न सकून् ।” (२ नफी २:२५; यो पनि हेर्नुहोस् मोशा ५:१०–११) ।

हामी पतित संसारमा हुर्कंदै गर्दा, हामीले सिकेका विषयहरू र हामीले अनुभव गरेका विषयहरूद्वारा हामीले असल र खराब बीचको भिन्नता सिक्छौँ । हामी “तिता अनुभवहरू लिन्छौँ ताकि [हामीले] असल कुराको पुरस्कार चिन्न सक्छौँ”मोशा ६:५५) । प्रसन्नता आउँछ जब हामी तितोलाई अस्वीकार गर्‍छौँ र असलपनलाई निरन्तर कदर गर्‍छौँ र दृढतापूर्वक ग्रहण गर्छौँ ।

प्रसन्नता खोज्दै

हाम्रा लागि उहाँको पूर्ण प्रेमको कारण, हाम्रा स्वर्गका पिताले उहाँको पूर्ण प्रसन्नता अहिले र अनन्तकाल दुबैमा हामीसँग बाँढ्न उत्सुक हुनुहुन्छ । यो प्रारम्भदेखि नै सबै विषयमा उहाँको प्रेरणा भएको छ, उहाँको आनन्दको महिमित योजना र हामीलाई छुटकारा दिलाउन उहाँको एकमात्र पुत्रको बलिदान सहित ।

परमेश्वरले हामीमाथि प्रसन्नता वा खुसी थोप्ने प्रयास गर्नुहुन्न तर उहाँले हामीलाई यसलाई कसरी खोज्ने भनेर सिकाउनुहुन्छ । उहाँले हामीलाई प्रसन्नता कहाँ प्राप्त गर्न सकिँदैन भनेर पनि बताउनु हुन्छ—“दुष्टता [होइन र] कहिल्यै खुशीयाली थिएन” (अल्मा ४१:१०) । उहाँका आज्ञाहरूद्वारा नै हाम्रा स्वर्गका पिताले हामीलाई प्रसन्नताको मार्ग प्रकट गर्नुहुन्छ ।

अध्यक्ष रसल एम्. नेल्सनले यसलाई यसरी व्यक्त गर्नुभयो:

“यहाँ महान् सत्य छ: संसारले शक्ति, सम्पत्ति, लोकप्रियता र शारीरिक सुखले प्रसन्नता ल्याउँछ भनेर जोड दिन्छ, तिनीहरूले ल्याउँदैनन् ! तिनीहरूले सक्दैनन् ! तिनीहरूले जे उत्पादन गर्छन्‌ त्यो केही पनि होइन तर “परमेश्वरका आज्ञाहरू पालना गर्नेहरूका लागि आशीर्वाद र आनन्दित अवस्था” को खोक्रो विकल्प मात्र हो ।” [मोसीयाह २:४१]।

“सत्य यो हो कि जहाँ तपाईं यसलाई कहिल्यै प्राप्त गर्न सक्नु हुँदैन त्यहाँ खुशी खोज्नु अति नै थकित बन्नु मात्रै हो ! यद्यपि, जब तपाईं आफूलाई येशू ख्रीष्टसँग जोड्नुहुन्छ र संसारमाथि विजय प्राप्त गर्नका लागि आवश्यक आध्यात्मिक कार्य गर्नुहुन्छ, उहाँ अनि उहाँ एक्लैले मात्रै तपाईंलाई यस संसारको आकर्षणबाट माथि उठाउने शक्ति प्रादन गर्नुहुन्छ ।”

तसर्थ, परमेश्वरका आज्ञाहरू पालना गर्दा निरन्तर रूपमा प्रसन्नता पाइन्छ र परमेश्वरका आज्ञाहरू येशू ख्रीष्टको सुसमाचारमा पाइन्छ । परन्तु यो हाम्रो छनोट हो । यदि हाम्रो कमजोरीमा हामी आज्ञाहरू पालना गर्न कुनै समयमा असफल भयौँ भने, हामी अझै पनि फर्कन सक्छौँ, तितोलाई अस्वीकार गर्न सक्छौँ र पुन: एक पटक असलपनाको अनुशरण गर्न सक्छौँ । परमेश्वरको प्रेमले पापलाई क्षमा गर्दैन—त्यो न्याय लुट्ने कृपा हुने छ—तर उहाँको प्रायश्चितद्वारा, येशू ख्रीष्टले पापबाट मुक्ति प्रदान गर्नुहुने प्रस्ताव राख्नुहुन्छ:

“अमुलेकले भने कि परमप्रभु निश्चय नै आफ्ना जनको उद्धार गर्न आउनुहुने छ, तर उहाँ आउनुहुने उनीहरूलाई तिनीहरूको पापमा उद्धार गर्न होइन, तर उनीहरूका पापहरूबाट उद्धार गर्न हो ।

“अनि उहाँलाई पिताबाट पश्चात्तापका कारण पापहरूबाट उनीहरूलाई मुक्त गर्ने शक्ति दिइएको छ; त्यसकारण उहाँले तिनीहरूका जीवात्माहरूको मुक्तिसम्म उद्धारकर्ताको शक्ति ल्याउने पश्चात्तापका सर्तहरूको समाचारको घोषणा गर्न आफ्ना स्वर्गदूतहरू पठाउनु भएको छ” (हेलामान ५:१०–११; थप जोड दिएर थपिएको) ।

येशूले भन्नुभयो:

“यदि तिमीहरूले मेरा आज्ञाहरू पालना गर्‍यौ भने, तिमीहरू मेरो प्रेममा रहने छौ; जसरी मैले मेरा पिताका आज्ञाहरू पालना गरेको छु र उहाँको प्रेममा रहन्छु ।

“मैले तिमीहरूलाई यी विषयहरू भनेको छु, ताकि मेरो प्रसन्नता तिमीहरूमा रहोस् र तिमीहरूको प्रसन्नटा पूर्ण होस्” (यूहन्ना १५:१०–११) ।

लहीले आफ्नो सपनामा जीवनको वृक्षको फल स्वाद लिँदा यस्तो महसुस गरे—जसले परमेश्वरको प्रेमलाई जनाउँछ । उनले भने, “जब मैले त्यसको फल खाएँ यसले मेरो आत्मालाई अत्याधिक खुशीले भरिदियो” (१ नफी ८:१२; ११:२१-२३ पनि हेर्नुहोस्)।

लहीले हामीले हाम्रो जीवनमा प्रसन्नता ल्याउन सक्ने दोस्रो तरिका पनि प्रकट गरे जब उनले भने, “यसकारण; मेरो परिवारले पनि [यो फल] लाई खानु पर्छ भनी म इच्छुक हुन सुरू गरेँ” (१ नफी ८:१२) ।

छवि
एक हातले अर्को हातमा फल दिँदै, पृष्ठभूमिमा वृक्षका साथ

जीवनको वृक्ष, काजुतो ऊटाद्वारा

अरूहरूलाई प्रसन्नता खोज्न सहयोग गर्ने

राजा बेन्यामिनका जनहरू जस्तै, हामीले हाम्रा पापहरूको क्षमा पाउँदा र “अन्तस्करणको शान्ति” अनुभव गर्दा हामी “प्रसन्नताले भरिएका” हुन्छौँ (मोसीयाह ४:३) । जब हामी बाहिर हेर्‍छौँ र परिवारका सदस्यहरू र अरूहरूलाई त्यही प्रसन्नता र शान्ति प्राप्त गर्न सहयोग गर्न खोज्छौँ तब हामी यसलाई पुन: महसुस गर्‍छौँ ।

एक जवान मानिसको रूपमा, अल्माले येशू ख्रीष्टको सुसमाचारको विरोधी सबैमा खुशी खोजे । एक स्वर्गदूतद्वारा हप्काइएपछि, उनी “तितो” बाट “असल” तर्फ “मृत्युको नजिक”बाट पश्चात्ताप (मोसीयाह २७:२८) र मुक्तिदाताको प्रशस्त अनुग्रहद्वारा धेरै लामो यात्रा गरेर आए । वर्षौं पछि, अल्माले आफ्नो छोरा हेलामानलाई उत्साहपूर्वक घोषणा गरे:

“अनि हे, कस्तो प्रसन्नता र कस्तो विस्मयकारी प्रकाश मैले देखेँ; हो, मेरो जीवात्माको प्रसन्नता त्यत्तिकै अधिक थियो जत्तिको मेरो पीडा थियो ! …

“हो, अनि त्यस समयदेखि अहिलेसम्म समेत, मैले निरन्तर परिश्रम गरेको छु, कि मैले जीवात्माहरूलाई पश्चात्तापमा ल्याउन सकूँ; कि मैले आफूले स्वाद लिएको अत्यन्त प्रसन्नता तिनीहरूलाई स्वाद दिलाउन सकूँ । …

हो, अनि अब हेर, हे मेरा छोरा, परमप्रभुले मलाई मेरा परिश्रमहरूका फलमा अत्यन्त महान् प्रसन्नता दिनुहुन्छ;

“किनकि मसामु उहाँले दिएका वचन [येशू ख्रीष्टको सुसमाचार] का कारण, हेर, धेरै परमेश्वरबाट जन्मिएका छन् र मैले स्वाद लिएको जस्तै स्वाद लिएका छन्” (अल्मा ३६:२०, २४–२६)।

अर्को अवसरमा, अल्माले गवाही दिए:

“यो हो मेरो महिमा, कि सम्भवत: केही जीवात्मालाई पश्चात्तापमा ल्याउन म परमेश्वरका हातहरूको एक औजार बन्न सकूँ; र यो मेरो खुसी हो ।

“अनि हेर, जब मेरा बन्धुहरूमध्ये धेरै वास्तवमा नै पछुताएको र परमप्रभु तिनीहरूका परमेश्वरमा आएको देख्छु, तब मेरो जीवात्मा खुसीले भरिन्छ” (अल्मा २९:९–१०)।

अल्माले अरूले ख्रीष्टमा आत्मा ल्याउन सफल हुँदा आफूले महसुस गरेको अत्याधिक आनन्दको घोषणा गर्न गयो:

“परन्तु म मेरो आफ्नो सफलतामा मात्रै प्रसन्न हुँदिननँ, तर नफीको भूमिमा गएका मेरा बन्धुहरू [मोसीयाहका छोराहरू]को सफलताका कारण मेरो प्रसन्नता अझै परिपूर्ण भएको छ ।

“हेर, उनीहरूले अति नै परिश्रम गरेका छन् र धेरै फल ल्याएका छन्; अनि उनीहरूको पुरस्कार कति महान् हुने छ !

“अब, जब म यी मेरा बन्धुहरूको सफलतालाई मनन गर्छु मेरो आत्मालाई पर लगिन्छ, शरीरबाट छुट्टिने गरी समेत, यस्तो भएजस्तै, मेरो प्रसन्नटा त्यति महान् थियो” (अल्मा २९:१४–१६)।

“ख्रीष्टको विशुद्ध प्रेम”द्वारा अरूहरूलाई प्रेम गर्दा हामी पनि त्यस्तै प्रसन्नता प्राप्त गर्न सक्छौँ” (मोरोनी ७:४७; यो पनि हेर्नुहोस् पद ४८), तिनीहरूसँग पुनर्स्थापित सत्य बाँढ्नुहोस् अनि तिनीहरूलाई करारका जनहरूसँग एकत्रित हुन आमन्त्रण गर्नुहोस् ।

छवि
गेतसेमनीमा मुक्तिदाता

हे मेरा पिता, साइमन दुवेद्वारा

महासङ्कष्टका बीचमा प्रसन्नता

यो नश्वर जीवनमा हामीले अपरिहार्य रूपमा सामना गर्ने परीक्षा र चुनौतीहरूले हाम्रो प्रसन्नतालाई रोक्ने वा नष्ट गर्ने छ भनेर हामी डराउनु हुँदैन । अल्मा एक थिए जसको अरूको लागि नि:स्वार्थ सेवाले उनलाई महँगो मूल्य चुकाउनु पर्‍यो । उनले जेल सजाय, लामो समयसम्म भोक र तिर्खा, पिटाइ, आफ्नो जीवनमा खतरा र बारम्बार उपहास र अस्वीकार भोगे । अनि तैपनि, यो सबै “ख्रीष्टको प्रसन्नतामा निलियो” (अल्मा ३१:३८) । संभवतः अल्माको पीडाले पछिको प्रसन्नतालाई अझै ठूलो बनायो ।

अध्यक्ष नेल्सनले मुक्तिदाताको पीडामा प्रसन्नताले भूमिका खेलेको विषय स्मरण गराउनुहुन्छ—“उहाँको अगाडि राखिएको प्रसन्नताका लागि [उहाँले] क्रूसलाई सहन गर्नु भयो” (हिब्रू १२:२) ।

“त्यसका सम्बन्धमा सोच्नुहोस् ! उहाँलाई पृथ्वीमा भएको सबैभन्दा कष्टप्रद अनुभव सहन गर्नका लागि, हाम्रो मुक्तिदाताले प्रसन्नतामा ध्यान केन्द्रित गर्नुभयो !

“अनि उहाँको सामु राखिएको आनन्द के थियो ? निश्चय नै यसमा हामीलाई विशुद्ध पार्ने, चङ्गाइ दिने र मजबुत बनाउने प्रसन्नता समावेश थियो; पश्चात्ताप गर्ने सबैको पापका लागि तिर्ने प्रसन्नता; तपाईं र म—सफा र योग्य भई घर फर्कन सम्भव बनाउनुको प्रसन्नता—हाम्रा स्वर्गको आमाबाबु र परिवारहरूसँग जिउन ।

“यदि हामी हाम्रो वा हामीले प्रेम गर्नेहरूलाई आउने प्रसन्नतामा ध्यान केन्द्रित गर्‍छौँ भने, हामी के सहन सक्छौँ जुन वर्तमानमा भाव विह्वल बनाउने पीडादायी, डरलाग्दो, अनुचित वा केवल असम्भव देखिन्छ?”

येशू ख्रीष्टको सुसमाचार अन्त्यसम्म पालना गरेर र अरूहरूलाई पनि त्यसै गर्न सहयोग गरेर चिरस्थायी प्रसन्नता आउँछ । हामीलाई परमेश्वरको प्रेममा रहेमा, उहाँका आज्ञाहरू पालना गरेमा र मुक्तिदाताको अनुग्रह प्राप्त गरेमा स्थायी आनन्द आउँछ । सुसमाचारको मार्गमा, यात्रामा प्रसन्नता र अन्तमा प्रसन्नता पनि छ । येशू ख्रीष्टको सुसमाचार दैनिक आनन्दको मार्ग हो ।

सूचीहरू

  1. रसल एम्. नेल्सनको, “Overcome the World and Find Rest,” लियाहोना, नोभेम्बर २०२२, ९७ ।

  2. रसल एम्. नेल्सन , “Joy and Spiritual Survival,” लियाहोना, नोभेम्बर २०१६, ८३ ।

प्रिन्ट गर्नुहोस्