“निरन्तर प्रार्थना सहित आफ्नो आत्मालाई पोषित गर्नुहोस्,” लियाहोना, अप्रिल २०२४
मासिक लियाहोना सन्देश, अप्रिल २०२४
निरन्तर प्रार्थना सहित आफ्नो आत्मालाई पोषित गर्नुहोसहोस्
हाम्रा स्वर्गका पितासँग वार्तालाप गर्नका लागि हामीलाई आध्यात्मिक पोषण आवश्यक पर्छ, जुन आशीर्वाद हामीलाई सबै स्थानमा र सदैव उपलब्ध छ ।
हामी सबैले यसपूर्व नै भोक महसुस गरेका छौँ । भोकको पीडा भनेको शरीरलाई पोषण आवश्यक छ भनी बताउने तरिका हो । अनि जब हामी भोकाउँछौँ, हामीलाई थाहा छ हामीले के गर्नु पर्छ—खानु पर्छ ।
हामीलाई आध्यात्मिक पोषणको आवश्यकता पर्दा हामीलाई जानकारी दिन हाम्रा आत्माहरूसँग पनि तरिकाहरू छन् । परन्तु यस्तो देखिन्छ कि शारीरिक भोकलाई भन्दा आध्यात्मिक भोकलाई बेवास्ता गर्न हामीलाई सहज हुन्छ ।
जसरी हामीलाई भोक लाग्दा हामीले खान सक्ने धेरै किसिमका खानेकुराहरू छन्, त्यसैगरी हाम्रो आध्यात्मिक भोक मेटाउन हामीले गर्न सक्ने विभिन्न विषयहरू छन् । उदाहरणका लागि, हामी धर्मशास्त्रहरू र अगमवक्ताहरूका वचनहरूद्वारा “ख्रीष्टका वचनहरूमा भोज” (२ नफी ३२:३) गर्न सक्छौँ । हामी नियमित रूपमा चर्चमा उपस्थित हुन सक्छौँ र प्रभुभोज ग्रहण गर्न सक्छौँ (हेर्नुहोस् सिद्धान्त र करार ५९:९ )। हामी परमेश्वर र उहाँका छोराछोरीहरूको सेवा गर्न सक्छौँ (हेर्नुहोस् मोसीयाह २:१७ )।
परन्तु त्यहाँ आध्यात्मिक पोषणको अर्को स्रोत छ जुन हाम्रो जीवनको हरेक पलमा, हाम्रो परिस्थिति जस्तोसुकै भएता पनि, हाम्रा लागि सदैव उपलब्ध छ । हामी प्रार्थनाद्वारा सदैव स्वर्गका पितासँग वार्तालाप गर्न सक्छौँ ।
“मेरो आत्मा भोको छ”
अगमवक्ता एनोसले जङ्गलमा जनावरहरूको सिकार गर्दा, उहाँले “अनन्त जीवन र सन्तहरूको आनन्दको विषयमा [आफ्ना] बुबाले बारम्बार बताएका वचनहरूका सम्बन्धमा मनन गर्नुभएको थियो ।” यी वचनहरू “[उनको] हृदयमा गहन रूपमा रहेका छन्” (एनोस १:३) ।
किनभने एनोस यस आत्मिक मनस्थितिमा हुनुहुन्थ्यो, उहाँले अत्यधिक आवश्यकता महसुस गर्नुभयो: “मेरो आत्मा भोको छ,” उहाँले भन्नुभयो (एनोस १:४; जोड दिएर थपिएको) ।
आध्यात्मिक पोषणका लागि यो आवश्यकता महसुस गर्दा एनोसले यो आध्यात्मिक भोकका लागि के गरे? “मैले मेरा निर्माणकर्ताका अगाडि घुँडा टेकेँ,” उनले भने, “र मैले उहाँसामु मेरो आफ्नै आत्माका लागि शक्तिशाली प्रार्थना र बिन्तीमा रोएँ” (एनोस १:४) ।
एनोसको आत्मिक भोक यति महान् थियो कि उहाँले “दिनभरि … र जब रात आयो [उहाँले] अझै पनि [आफ्नो] स्वर स्वर्गसम्म पुग्ने गरी प्रार्थना गर्नुभयो” (एनोस १:४) । अन्ततः, परमेश्वरले उहाँको प्रार्थनाको जवाफ दिनुभयो र उहाँका पापहरू क्षमा गर्नुभयो । एनोसले उहाँको दोष पखालिएको महसुस गर्नुभयो । परन्तु उहाँको आध्यात्मिक पोषण त्यहीँ समाप्त भएन ।
उहाँले येशू ख्रीष्टमा आस्थाको शक्तिका सम्बन्धमा सिक्नुभयो र उहाँले आफ्नो सम्पूर्ण आत्मा आफ्ना मानिसहरूको लागि खन्याउनुभयो—उहाँका शत्रुहरूलाई समेत । उहाँले परमप्रभुसँग करारहरू गर्नुभयो र उहाँबाट प्रतिज्ञाहरू सुरक्षित गर्नुभयो । अनि एनोसको शक्तिशाली प्रार्थना पछि, उहाँले आफ्ना जनहरूका बीचमा अगमवाणी गर्नुभयो र आफूले सुनेका र देखेका विषयहरूको गवाही दिनुभयो । (हेर्नुहोस् एनोस १:५-१९) ।)
हरेक प्रार्थनाको जवाफ यस्तो नाटकीय तरिकाले दिइने छैन तर प्रार्थना सँगका हाम्रा अनुभवहरू अझै पनि अर्थपूर्ण र जीवन परिवर्तन गर्न सक्ने हुन सक्छन् । हामीले प्रार्थना सँगै एनोसको अनुभवबाट केही महत्त्वपूर्ण शिक्षाहरू सिक्न सक्छौँ । उदाहरणका रूपमा:
-
सुसमाचारलाई पूर्ण रूपमा जिउने प्रयासले हामीलाई हाम्रो आध्यात्मिक भोक महसुस गर्न सहयोग गर्न सक्छ ।
-
हाम्रो आध्यात्मिक भोकले हामीलाई स्वर्गका पिताको सहयोग खोज्नका लागि घुँडा टेक्न लगाउन सक्छ र पर्छ ।
-
स्वर्गका पितालाई प्रार्थना गर्दा हाम्रो आध्यात्मिक भोक तृप्त गर्न सहयोग गर्न सक्छ—र त्यसपछि थप अन्य कुरा गर्न पनि ।
-
हामी कुनै पनि स्थानमा, कुनै पनि समय प्रार्थना गर्न सक्छौँ ।
-
प्रार्थनाले हामीलाई पश्चात्ताप गर्न सहयोग गर्न सक्छ ।
-
प्रार्थनाले येशू ख्रीष्टमा हाम्रो विश्वासलाई मजबुत बनाउन सक्छ ।
-
हामीले व्यक्तिगत गवाही प्राप्त गर्न सक्छौँ कि हाम्रा स्वर्गका पिताले हामीलाई सुन्नुहुन्छ र उहाँलाई हाम्रा सम्बन्धमा जानकारी छ ।
-
हामीले प्रार्थनाद्वारा प्राप्त गर्ने गवाही र शक्तिले हामीलाई अरूको सेवा गर्न र शक्ति प्रदान गर्न सहयोग गर्न सक्छ ।
प्रार्थनाको शक्तिका सम्बन्धमा मेरो अनुभव
एनोस जस्तै, मैले व्यक्तिगत अनुभवद्वारा यी केही शिक्षाहरू सिकेँ । मेरा आमाबाबु म सानो युवक छँदा पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा साहभागी हुनुभयो र आठ वर्षको हुँदा मैले बप्तिस्मा लिएँ । मेरा स्वर्गका पिता र येशू ख्रीष्ट, उहाँको पुनर्स्थापित सुसमाचार र उहाँको चर्चका सम्बन्धमा मेरो हृदयमा सदैव असल, न्यानो भावना थियो । परन्तु म करीब १६ वर्षको भएपछि मात्रै यी विषयहरूको सत्यताका सम्बन्धमा मैले पहिलो पटक प्रार्थना गरेँ ।
मेरा प्रेरणादायी बिशपले मलाई युवा शबाथको शिक्षालयमा पढाउनका लागि भन्नुभयो । हामीले प्रार्थनाद्वारा सुसमाचारको गवाही कसरी प्राप्त गर्न सक्छौँ भनेर मैले पाठ पढाउनु पर्ने थियो । मेरा बिशपको यो कार्यभारले मलाई मेरो आफ्नै गवाहीका सम्बन्धमा अझै गहन रूपमा मनन गर्न बाध्य तुल्यायो । मैले मोर्मोनको पुस्तक अध्ययन गर्न समय निकालेको थिएँ र चर्च सत्य हो भनी सदैव महसुस गरेका थिएँ । मैले सदैव मुक्तिदाता येशू ख्रीष्टमा विश्वास गरेको थिएँ, तर मोरोनी १०:४-५ मा पाइने मोरोनीको प्रतिज्ञालाई मैले कहिल्यै मनमा लिएको थिइनँ । मैले सुसमाचारको सत्यताका सम्बन्धमा कहिल्यै प्रार्थना गरेको थिइनँ ।
मलाई मेरो हृदयमा यस्तो महसुस भएको स्मरण छ कि यदि मैले यी युवाहरूलाई प्रार्थनाद्वारा गवाही कसरी प्राप्त गर्ने भनेर सिकाउने हो भने, म स्वयम् ले गवाहीका लागि प्रार्थना गर्नु पर्छ । मेरो आत्मा भोकाएको थियो—सायद एनोस भन्दा फरक तरिकामा, परन्तु यद्यपि मैले आध्यात्मिक आवश्यकता महसुस गरेँ ।
मैले पाठ तयार गर्दा, मैले घुँडा टेकेँ र मेरो हृदयको चाहना मेरा स्वर्गका पितालाई मैले भित्र महसुस गरेको सत्य पुष्टि गर्नका लागि प्रकट गरेँ । मैले कुनै महान् अभिव्यक्तिको अपेक्षा गरेको थिइनँ । परन्तु जब मैले परमप्रभुलाई सुसमाचार सत्य हो भनेर सोधेँ, त्यहाँ मेरो हृदयमा एक अति नै रोचक भावना पैदा भयो—त्यो सानो मधुर आवाजले मलाई यो सत्य हो र मैले जे गरिरहेको थिएँ त्यही गरिरहनु पर्छ भनेर पुष्टि गर्यो ।
त्यो भावना यति मजबुत थियो कि मैले त्यो जवाफलाई बेवास्ता गर्न सकिन र मलाई थाहा छैन भन्न सकिन । त्यो सारा दिन मैले खुसी महसुस गर्दै बिताएँ । मन भित्रको सुन्दर अनुभूतिलाई मनन गर्दै मेरो मन आध्यात्मिक विषयहरूमा थियो ।
अर्को आइतबार, म मेरा तीन वा चार सहपाठीहरूको अगाडि उभिएँ, जो सबै म भन्दा सानो उमेरका थिए । यदि तिनीहरूमा आस्था छ भने स्वर्गका पिताले तिनीहरूको प्रार्थनाको जवाफ दिनुहुने छ भनी मैले तिनीहरूलाई गवाही दिएँ ।
त्यस समयदेखि, यो गवाही मसँग रहेको छ । विशेष गरी मैले चुनौतीहरूको सामना गरेका क्षणहरूमा यसले मलाई निर्णयहरू गर्न सहयोग गरेको छ । त्यो दिनको प्रार्थनाले, मैले वर्षौंदेखि प्राप्त गरेका अतिरिक्त गवाहीहरूसँगै, मलाई आस्थाका साथ प्रार्थना गर्दा स्वर्गमा हुनुहुने पिताबाट जवाफ प्राप्त गर्न सक्ने आस्थाका साथ मानिसहरूलाई गवाही व्यक्त गर्न अनुमति दिएको छ । यो सत्य हो किनकि मैले एक सुसमाचार प्रचारकका रूपमा, चर्चको अगुवाका रूपमा, एक पिता र पतिका रूपमा र आज पनि एक प्रेरितका रूपमा गवाही दिएको छु ।
कहिले र के प्रार्थना गर्ने
नि:सन्देह, हामीले विशेष रूपमा मजबुत आध्यात्मिक आवश्यकता महसुस गर्दा मात्र प्रार्थना गर्दैनौँ । त्यसोभए, हामीले कहिले प्रार्थना गर्नु पर्छ? अनि हामीले केका लागि प्रार्थना गर्नु पर्छ? संक्षिप्त जवाफ कुनै पनि समय र कुनै पनि विषयका लागि हुन्छ ।
परमेश्वर हाम्रा स्वर्गका पिता हुनुहुन्छ । यो जानकारी प्राप्त गर्दा प्रार्थना गर्ने हाम्रो तरिकामा परिवर्तन आउँछ । अगमवक्ता जोसेफ स्मिथले सिकाउनुभयो: “परमेश्वरको ज्ञान प्राप्त गरे पछि, हामीले उहाँलाई कसरी समीपमा ल्याउने र जवाफ प्राप्त गर्न कसरी सोध्ने भनेर सिक्न सुरू गर्न सक्छौँ । … जब हामी उहाँकहाँ आउन तयार हुन्छौँ, उहाँ हामीकहाँ आउन तयार हुनुहुन्छ ।” १
हाम्रा स्वर्गका पिताले सदैव हामीलाई सुन्न तयार हुनुहुन्छ र हामीले उहाँलाई नियमित र निरन्तर प्रार्थना गरेको चाहनुहुन्छ । हामीले “[हाम्रा] सबै कार्यहरूमा परमप्रभुसँग सल्लाह” गर्नु पर्छ (अल्मा ३७:३७) र बिहान, दिउँसो र राती प्रार्थना गर्नु पर्छ । हामीले घरमा, काममा, विद्यालयमा—हामी जहाँ भए पनि र हाम्रा कुनै पनि प्रयासहरूमा प्रार्थना गर्नु पर्छ(हेर्नुहोस् अल्मा ३४:१७-२६) ।
हामीले हाम्रा परिवारहरूमा प्रार्थना गर्नु पर्छ (हेर्नुहोस् ३ नफी १८:२१) । हामीले “शाब्दिक रूपमा र [हाम्रो] हृदयमा, सार्वजनिक र निजी रूपमा” प्रार्थना गर्नु पर्छ (सिद्धान्त र करार ८१:३)। “अनि जब (हामीहरू) परमप्रभुलाई पुकार्दैनौ, (हामीहरू)का कल्याणका निम्ति र (हामीहरू)का वरिपरि भएका (हामीहरू)का कल्याणका निम्ति पनि निरन्तर रूपमा प्रार्थनामा उहाँसामु नजिकिँदै, (हामीहरू)का हृदयलाई भरिन दियौँ “(अल्मा ३४:२७)। अनि हामीले सदैव येशू ख्रीष्टको नाममा पितालाई प्रार्थना गर्नु पर्छ (हेर्नुहोस् ३ नफी १८:१९-२०) ।
हाम्रा स्वर्गका पिताको समीप पुग्ने
स्वर्गमा रहनुहुने हाम्रा पिताले हामीलाई आशीर्वाद दिन चाहनुहुन्छ । अनि यदि हामीले माग्यौँ भने—उहाँले दिनुहुन्छ । अगमवक्ता जोसेफ स्मिथले सिकाउनुभयो, “स्मरण गर्नुहोस् कि याचना नगरीकन हामीले केही प्राप्त गर्न सक्दैनौँ; तसर्थ, आस्थाका साथ माग्नुहोस् र तपाईंहरूले त्यस्ता आशीर्वादहरू प्राप्त गर्नुहुने छ जुन परमेश्वरले तपाईंहरूलाई प्रदान गर्न उपयुक्त देख्नुहुन्छ ।”२
हाम्रा नियमित र निरन्तरका प्रार्थनाहरू भोकाएका हाम्रा आत्माहरूका लागि आध्यात्मिक पोषणका सन्तुलित आहारका आवश्यक अंश हुन् । प्रार्थनाका माध्यमद्वारा स्वर्गका पितासँग वार्तालाप गर्ने अवसर सबै स्थान र सदैव उपलब्ध र स्वागत् योग्य छ ।
मेरा मनपर्ने धर्मशास्त्रहरू मध्येको एउटाले हामीले प्रार्थना गर्न घुँडा टेक्दा हामी हाम्रा स्वर्गका पिताकहाँ कसरी नजिक पुग्न सक्छौँ भनेर सिकाउँछ: “तिमी नम्र बन; र परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई हात समातेर अगुवाइ गर्नुहुने छ र तिम्रा प्रार्थनाको जवाफ दिनुहुने छ” (सिद्धान्त र करार ११२:१०) । जब हामी विनम्र र आज्ञाकारी हुन्छौँ, स्वर्गका पिता हामीसँग हुनुहुने छ । उहाँले हामीलाई हातले अगुवाइ गर्नुहुने छ । उहाँले हामीलाई कहाँ जाने र के गर्ने भनेर प्रेरित गर्नुहुने छ । उहाँको चाहना, मार्ग, समय र हाम्रा लागि के राम्रो छ भन्ने पूर्ण ज्ञानअनुसार उहाँले हाम्रा प्रार्थनाहरूको जवाफ दिनुहुने छ ।
हामीले यसलाई सम्झनु पर्छ र परमेश्वरको सिंहासनमा पुग्ने अवसरहरूको कदर गर्नु पर्छ र उहाँको हातबाट आशीर्वाद प्राप्त गर्नु पर्छ ।
© 2024 Intellectual Reserve, Inc. द्वारा सर्वाधिकार सुरक्षित । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Liahona Message, March 2024 को अनुवाद ।Language. 19283 372