धर्मशास्त्रहरू
जोसेफ स्मिथ—मत्ती १


जोसेफ स्मिथ—मत्ती

अगमवक्ता जोसेफ स्मिथलाई १८३१ मा प्रकट भएको बाइबलको अनुवादबाट एक अंश: मत्ती २३:३९ र अध्याय २४ ।

अध्याय १

येशूले यरूशलेमको आसन्न विनाशका सम्बन्धमा भविष्यवाणी गर्नुहुन्छ—उहाँले मानिसका पुत्रको दोस्रो आगमन र दुष्टहरूको विनाशका सम्बन्धमा पनि बताउनुहुन्छ ।

किनकि म तिमीहरूलाई भन्छु, कि तिमीहरूले मलाई अबदेखि देख्ने छैनौ र सचेत हुने छौ कि म नै उहाँ हुँ जसका सम्बन्धमा अगमवक्ताहरूले लेखेका छन्, जबसम्म तिमीहरूले यसो भन्दैनौ: धन्य उहाँ जो परमप्रभुको नाममा आउनुहुन्छ, स्वर्गका बादलहरूमा र उहाँसँग सबै पवित्र स्वर्गदूतहरू । त्यसपछि उहाँका शिष्यहरूले बुझे कि उहाँ पुनः पृथ्वीमा आउनु पर्छ, त्यसपछि उहाँलाई महिमित तुल्याइयो र परमेश्वरको दाहिने हातमा मुकुट पहिर्‍याइयो ।

अनि येशू मन्दिरबाट बाहिर जानुभयो र प्रस्थान गर्नुभयो; अनि उहाँका शिष्यहरू उहाँकहाँ आए, उहाँलाई सुन्नका लागि, यसो भन्दै: मालिक, हजुरले भन्नुभएअनुसार मन्दिरका भवनहरूका सम्बन्धमा हामीहरूलाई देखाउनुहोस्—तिनीहरू भत्काइने छन् र हजुरसामु उजाड छोडिने छन् ।

अनि येशूले तिनीहरूलाई भन्नुभयो: के तिमीहरूले यी सबै वस्तुहरू देख्दैनौ र के तिमीहरूले बुझ्दैनौ? साच्चैँ नै म तिमीहरूलाई भन्छु, यहाँ, यस मन्दिरमा, एउटा ढुङ्गामाथि अर्को कुनै पनि ढुङ्गा छोडिने छैन जुन तल फ्याँकिने छैन ।

अनि येशू तिनीहरूलाई छोडेर जैतुनको डाँडामा जानुभयो । अनि जब उहाँ जैतुनको डाँडामा बस्नुभयो, शिष्यहरू उहाँकहाँ एकान्तमा आए, यसो भन्दै: हामीलाई भन्नुहोस् यी कार्यहरू कहिले हुने छन् जुन हजुरले मन्दिर र यहूदीहरूको विनाशका सम्बन्धमा भन्नु भएको छ; अनि हजुरको आगमन र संसारको अन्त्यको वा दुष्टको विनाशको सङ्केत के हो, जुन संसारको अन्त्य हो?

अनि येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो: होशियार बन ताकि कसैले तिमीहरूलाई छल गर्ने छैन;

किनकि मेरो नाममा धेरै आउने छन्, यसो भन्दै—म ख्रीष्ट हुँ—र असङ्ख्यलाई छल गर्ने छन्;

तब तिनीहरूले तिमीहरूलाई कष्ट भोग्न सुम्पने छन् र तिमीहरूलाई मार्ने छन् र मेरो नामका लागि तिमीहरूलाई सबै राष्ट्रहरूले घृणा गर्ने छन्;

अनि त्यसपछि धेरै जना रिसाउने छन् र एक अर्कालाई धोका दिने छन् र एकअर्कालाई घृणा गर्ने छन्;

अनि धेरै गलत अगमवक्ताहरू प्रकट हुने छन् र धेरैलाई छल गर्ने छन्;

१० अनि दुष्टता धेरै हुने भएकाले, धेरैको प्रेम चिसो हुने छ;

११ परन्तु जो अडिग रहन्छ र परास्त हुँदैन, उसैलाई मुक्त गरिने छ ।

१२ त्यसकारण, जब तिमीहरूले यरूशलेमको विनाशका सम्बन्धमा दानिएल अगमवक्ताद्वारा बोलिएका कुकर्मको विनाश देख्ने छौ, तब तिमीहरू पवित्र स्थानमा खडा हुनु पर्छ; जसले पढ्छ उसले बुझ्नु पर्छ ।

१३ अनि यहुदाका जनहरू पहाडहरूतर्फ भाग्नु पर्छ;

१४ जो घरको छतमा छ ऊ भाग्नु पर्छ र उसको घरबाट कुनै पनि वस्तु लिन फर्कनु हुँदैन;

१५ न त ऊ जो खेतमा छ लुगा लिन फर्केर आउनु नै हुन्छ;

१६ अनि धिक्कार छ ती गर्भवतीहरूलाई र ती दिनहरूमा दूध चुसाउनेहरूलाई;

१७ त्यसकारण, परमप्रभुलाई तिमीहरू प्रार्थना गर कि तिमीहरूको भाग्ने कार्य जाडोमा हुने छैन, न त शबाथको दिनमा नै;

१८ किनकि त्यसबेला, ती दिनहरूमा, यहूदीहरू र यरूशलेमका बासिन्दाहरूमाथि महान् महासङ्कष्ट आउने छ, जुन इस्राएलमा परमेश्वरले यसपूर्व पठाउनु भएको थिएन, तिनीहरूको अधिराज्यको प्रारम्भदेखि यस समयसम्म; होइन, न त इस्राएलमा पुन: कहिल्यै पठाइने छ ।

१९ तिनीहरूमा आइपरेका सबै विषयहरू तिनीहरूमाथि आउने दुःखका सुरुवात मात्र हुन् ।

२० अनि ती दिनहरू छोटा नपारिँदा सम्म, तिनीहरू कसैको जीवन पनि सुरक्षित हुनु हुँदैन; परन्तु छनोट गरिएकाहरूका लागि, करारअनुसार, ती दिनहरू छोटा पारिने छन् ।

२१ हेर, मैले तिमीहरूसँग यहूदीहरूका सम्बन्धमा यी विषयहरू बोलेको छु; अनि पुनः, यरूशलेममा आउने ती दिनहरूका महासङ्कष्ट पछि, यदि कसैले तिमीहरूलाई भन्यो, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भने, उसलाई विश्वास नगर;

२२ किनकि ती दिनहरूमा त्यहाँ गलत ख्रीष्टहरू र गलत अगमवक्ताहरू पनि प्रकट हुने छन् र ठूला सङ्केतहरू र आश्चर्यका कार्यहरू देखाउने छन्, यतिसम्म कि, यदि सम्भव छ भने, तिनीहरूले छनोट गरिएकाहरूलाई धोका दिने छन्, जो करारअनुसार चुनिएका छन् ।

२३ हेर, म छनोट गरिएकाहरूका लागि तिमीहरूलाई यी विषयहरू भन्छु; अनि तिमीहरूले युद्धहरू र युद्धहरूका हल्लाहरू पनि सुन्ने छौ; ध्यान देऊ कि तिमीहरू विचलित हुने छैनौ, किनकि मैले तिमीहरूलाई भनेको सबै पूर्ण हुनु पर्छ; परन्तु अन्त्य अझै आएको छैन ।

२४ हेर, मैले तिमीहरूलाई यसपूर्व भनेको छु;

२५ यसकारण, यदि तिनीहरूले तिमीहरूलाई भनेमा: हेर, उहाँ मरुभूमिमा हुनुहुन्छ; अघि नबढ: हेर, उहाँ गुप्त कोठामा हुनुहुन्छ; विश्वास नगर;

२६ किनकि जसरी बिहानको ज्योति पूर्वबाट निस्कन्छ र पश्चिममा पनि चम्कन्छ र सारा पृथ्वीलाई ढाक्छ, त्यसरी नै मानिसका पुत्रको आगमन पनि हुने छ ।

२७ अनि अब म तिमीहरूलाई एक दृष्टान्त देखाउने छु । हेर, जहाँ-जहाँ लास छ, त्यहाँ चिलहरू एकत्रित हुने छन्; त्यसरी नै पृथ्वीको चारै क्षेत्रहरूबाट मेरा छनोट गरिएकाहरू एकत्रित हुने छन् ।

२८ अनि तिनीहरूले युद्धहरू र युद्धहरूका हल्लाहरू सुन्ने छन् ।

२९ हेर म मेरा छनोट गरिएकाहरूका लागि बोल्छु; किनकि राष्ट्र राष्ट्रका विरुद्धमा अनि अधिराज्य अधिराज्यका विरुद्धमा उठ्ने छ; अनिकाल, महामारी र भूकम्प विभिन्न स्थानहरूमा हुने छ ।

३० अनि पुनः, किनभने दुष्टता धेरै हुने भएकाले, मानिसहरूको प्रेम चिसो हुने छ; तर जो परास्त हुँदैन, उसैलाई मुक्त गरिने छ ।

३१ अनि पुनः, अधिराज्यको यो सुसमाचार सारा संसारमा प्रवचन गरिने छ, सबै राष्ट्रहरूलाई गवाहीका लागि र त्यसपछि अन्त्य वा दुष्टहरूको विनाश आउने छ;

३२ अनि पुनः दानिएल अगमवक्ताद्वारा बोलिएको कुकर्मको विनाश पूर्ण हुने छ ।

३३ अनि ती दिनहरूको महासङ्कष्टको लगत्तै पछि, सूर्य अँध्यारो हुने छ र चन्द्रमाले आफ्नो प्रकाश दिने छैन र ताराहरू आकाशबाट खस्ने छन् र आकाशका शक्तिहरू हल्लिने छन् ।

३४ साच्चैँ नै, म तिमीहरूलाई भन्छु, यो समयावधि, जसमा यी कार्यहरू देखाइने छ, मैले तिमीहरूलाई ज्ञात गराएका सबै पूर्ण नभएसम्म अन्त्य हुने छैन ।

३५ यद्यपि, दिनहरू आउने छन्, कि आकाश र पृथ्वीको अन्त्य हुने छ; तैपनि मेरा वचनको अन्त्य हुने छैन परन्तु सबै पूर्ण हुने छन् ।

३६ अनि, मैले यसपूर्व भनेजस्तै, ती दिनहरूको महासङ्कष्ट पछि अनि स्वर्गका शक्तिहरू हल्लिने छन्, तब आकाशमा मानिसका पुत्रको सङ्केत देखा पर्ने छ, अनि त्यसपछि पृथ्वीका सबै राष्टहरू शोक गर्ने छन्; अनि तिनीहरूले मानिसका पुत्रलाई आकाशको बादलमा शक्ति र महान् महिमाका साथ आउँदै गर्नुभएको देख्ने छन्;

३७ अनि जसले मेरा वचनको कदर गर्छ, त्यो छलमा पर्ने छैन, किनकि मानिसका पुत्र आउनुहुने छ र उहाँले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजसहित उहाँका अगाडि पठाउनुहुने छ र तिनीहरूले उहाँका चुनिएकाहरूलाई चारै दिशाबाट, आकाशको एक छेउबाट अर्को छेउमा एकत्रित गर्ने छन् ।

३८ अब अञ्जीरको रूखको एक दृष्टान्त सिक—जब यसका हाँगाहरू अझै पनि कोमल हुन्छन् र यसले पालुवाहरू हाल्न प्रारम्भ गर्छ, तिमी सचेत हुन्छौ कि ग्रीष्म ऋतु नजिकै आएको छ;

३९ त्यसै गरी, मेरा चुनिएकाहरू, जब तिनीहरूले यी सबै कार्यहरू देख्ने छन्, तिनीहरूले जानकारी प्राप्त गर्ने छन् कि उहाँ नजिक हुनुहुन्छ, ढोकामा समेत;

४० परन्तु त्यो दिन र समय कसैलाई जानकारी छैन; छैन, स्वर्गमा परमेश्वरका स्वर्गदूतहरूलाई पनि तर मेरा पितालाई मात्रै जानकारी छ ।

४१ परन्तु नोआको समयमा यो जस्तो भएको थियो, मानिसका पुत्रको आगमनमा पनि त्यस्तै हुने छ;

४२ किनकि यो तिनीहरूसँग हुने छ, जसरी यो बाढी पूर्वका दिनहरूमा भएको थियो; किनकि नोआ जहाजमा प्रवेश गरेको दिनसम्म तिनीहरूले खाइरहेका र पिइरहेका थिए, विवाह गर्दै र विवाहमा दिँदै थिए;

४३ अनि बाढी आएर सबैलाई नबगाउँदासम्म जानकारी थिएन; मानिसका पुत्रको आगमन पनि त्यस्तै हुने छ ।

४४ त्यसपछि अन्तिम दिनहरूमा, जे लेखिएको छ त्यो पूर्ण हुने छ, दुईजना खेतमा हुने छन्, एउटालाई लगिने छ र अर्कोलाई छोडिने छ;

४५ दुई जना जाँतो पिसिरहेका हुने छन्, एउटालाई लगिने छ र अर्कोलाई छोडिने छ;

४६ अनि जे म एकजनालाई भन्छु त्यही सबैजनालाई भन्छु; सतर्क रहो, किनकि तिमीहरू जान्दैनौ कि कुन समयमा तिमीहरूका परमप्रभु आउनुहुने छ ।

४७ परन्तु सचेत बन, यदि घरको प्रमुख मानिसले चोर कुन समयमा आउँछ भनेर जानकारी प्राप्त गरेको भए, उसले हेरिरहने थियो र आफ्नो घरभित्र छिरेर चोर्न दिने थिएन परन्तु तयार हुने थियो ।

४८ त्यसकारण तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नसोचेको समयमा मानिसका पुत्र आउनुहुन्छ ।

४९ त्यसोभए, आस्थावान् र बुद्धिमान् सेवक को हो, जसलाई उसका मालिकले आफ्नो घरानाको शासक बनाउनुभएको छ, तिनीहरूलाई ठीक समयमा खाना दिन?

५० आशीषित छ त्यो सेवक जसलाई उसका मालिक आउनुहुँदा उहाँले त्यसो गरेको भेट्टाउनुहुने छ; अनि साच्चैँ नै म तिमीहरूलाई भन्छु, उहाँले तिनलाई आफ्ना सबै सम्पत्तिहरूमाथि शासक बनाउनुहुने छ ।

५१ परन्तु यदि त्यो दुष्ट सेवकले आफ्नो हृदयमा भन्ने छ: मेरा मालिकले उहाँको आगमनमा ढिलाइ गर्नुभयो,

५२ अनि आफ्ना सह-सेवकहरूलाई प्रहार गर्न सुरू गर्ने छ र जडियाहरूसँग खान र पिउन सुरू गर्ने छ,

५३ त्यो सेवकका मालिक एक दिन आउनुहुने छ जब उसले उहाँलाई अपेक्षा गर्ने छैन र उसलाई सो समयको ज्ञान हुने छैन,

५४ अनि उसलाई टुक्रा-टुक्रा पार्नुहुने छ र उसलाई ढोँगीहरूसँग उसको अंश नियुक्त गर्नुहुने छ; त्यहाँ रुवाइ र दाह्रा कटाइ हुने छ ।

५५ अनि यसरी दुष्टहरूको अन्त्य आउने छ, मोशाको अगमवाणीअनुसार, यसो भन्दै: तिनीहरूलाई मानिसहरूका माझबाट अलग्याइने छ; परन्तु पृथ्वीको अन्त्य अझै आएको छैन परन्तु छिट्टै आउने छ ।