अपव्ययी र घर तर्फ अगुवाइ गर्ने मार्ग
यद्यपि छनोटहरूले तपाईंलाई मुक्तिदाता र उहाँको चर्चबाट टाढा लागेको भएपनि , चङ्गाइदाता मालिक तपाईंलाई स्वागत् गर्दै घर जाने बाटोमा उभिनुहुन्छ ।
कुनै एउटा मानिसका दुई छोरा थिए
कसैले यसलाई अहिलेसम्मकै सबैभन्दा महान् छोटो कथा भनिएको छ ।१ संसारभरका हजारौँ भाषाहरूमा अनुवाद भइसकेको हुनाले, विगत दुई सहस्राब्दीको अवधिमा यो कथालाई संसारको कुनै पनि स्थानमा उल्लेख नगरीकन सूर्य अस्ताउन नसक्ने सम्भव छ ।
यो हाम्रा मुक्तिदाता र उद्धारकर्ता येशू ख्रीष्टले बताउनुभएको थियो, जो पृथ्वीमा “हराएकालाई मुक्ति दिन” आउनुभयो ।२ उहाँ यी सरल शब्दहरूबाट सुरू गर्नुहुन्छ: “एउटा मानिसका दुई छोरा थिए ।”३
तत्कालै हामी हृदयविदारक द्वन्द्वका सम्बन्धमा सुन्छौँ । एउटा छोराले४ आफ्ना पितालाई बताउँछ कि उसलाई घरमा जीवन बिताउन पुग्यो। उनी आफ्नो स्वतन्त्रता चाहन्छन । उनी आफ्ना मातापिताको संस्कृति र शिक्षालाई पछाडि छोड्न चाहन्छन् । उनले पैतृक सम्पत्तिको आफ्नो अंश मागेका छन्—अहिले ।५
यो सुनेर पितालाई कस्तो लाग्यो होला कल्पना गर्न सक्नुहुन्छ? जब उहाँले महसुस गर्नुभयो कि अन्य कुनै चीज भन्दा उहाँको छोराले परिवार छोडेर जान चहन्छन् र सायद कहिल्यै फर्केर आउँदैन?
महान् अपुर्व अनुभव
छोराले रोमाञ्चक र अपुर्व अनुभव गरेको हुनु पर्छ । अन्तमा, उनी आफ्नै सामर्थ्यमा थिए । आफ्नो युवावस्थाको संस्कृतिको सिद्धान्त र नियमहरूबाट स्वतन्त्र, अन्ततः उनले आफ्ना मातापिताको प्रभाव बिना नै आफ्ना छनोट गर्न सक्थे । अब कुनै खिन्नता छैन । उनले समान विचारधाराको समुदायको स्वीकृतिमा जिउन सक्छन् र आफ्नै तरिकामा जीवन बिताउन सक्छन् ।
टाढाको देशमा आइपुग्दा, उनले छिट्टै नयाँ साथीहरू बनाए र उनले सदैव कल्पना गरेको जीवन जिउन सुरू गरे । उनी धेरैहरू मध्येको मनपर्ने हुनु पर्छ, किनभने उनले स्वतन्त्र रूपमा पैसा खर्च गरे । उनका नयाँ साथीहरू—उनको अपव्ययका लाभार्थीहरूले—उनीलाई मूल्याङ्कन गरेनन् । तिनीहरूले उत्सव मनाए, ताली बजाए र उनको छनोटलाई समर्थन गरे ।६
त्यतिबेला सामाजिक सञ्जाल भएको भए निश्चय नै उसले हाँस्ने साथीहरूका रोचक तस्वीरहरूले पानाहरू भर्ने थियो: #Livingmybestlife! #Neverhappier! #Shouldhavedonethislongago!
अनिकाल
परन्तु रमझम धेरै समय टिक्न सकेन - यो विरलै हुन्छ । दुईवटा कुरा भयो: पहिलो, उसको पैसा सकियो र दोस्रो, देशमा अनिकाल छायो ।७
समस्या बढ्दै गएपछि उनी आत्तिए । कुनै समय रोक्न नसकिने, आनन्दित उच्च तहमा रहनेले अब एक छाक खाना पनि किन्न सक्दैन, बस्नका लागि स्थानको त परै जाओस । उनी कसरी जीवित रहने छन्?
उनी आफ्ना साथीहरूप्रति उदार थिए — के तिनीहरूले अहिले उनलाई सहयोग गर्ने छन्? म उनलाई सानो सहयोगका लागि याचना गरिरहेको देख्न सक्छु — अहिलेका लागि — जबसम्म उनी आफ्नो खुट्टामा आत्मनिर्भर हुँदैनन् ।
धर्मशास्त्रले हामीलाई बताउँछ, “कसैले उनलाई दिदैनन्।”८
जीवित रहनका लागि आतुर, उनले एक स्थानीय किसान भेट्टाए जसले उनलाई सुँगुरलाई खुबाउने काम दिए ।९
अहिले असाध्यै भोकाएको, परित्याग गारिएको र एक्लै भएको युवकले सोचेको हुनु पर्छ कि कसरी परिस्थिति यति डरलाग्दो, रूपमा भयानक बन्न सक्छ ।
खाली पेटले मात्रै उनलाई सताएको थिएन । यो एक खाली आत्मा थियो । उनका सांसारिक चाहनाहरू पूरा गरिँदा उनलाई खुशी मिल्छ भन्ने बिषयमा उनी निश्चिन्त थिए, कि नैतिक नियमहरू त्यो खुशीका बाधकहरू थिए । अब उनलाई राम्ररी थाहा थियो । अनि हो, त्यो ज्ञानका लागि उनले कति मूल्य चुकाउनु पर्यो!१०
शारीरिक र आध्यात्मिक अभिलाषा बढ्दै जाँदा, उनको विचार पितामा फर्कियो । के उहाँले त्यो सबै भएपछि पनि उनलाई सहयोग गर्नुहुने छ? उनका पिताका सेवकहरूमध्ये सबैभन्दा विनम्रलाई पनि खाने खाना र आँधीबाट बास थियो ।
परन्तु उनका पिताकहाँ फर्कने?
कदापि होइन
उनले आफ्नो सम्पदा बर्बाद गरेको आफ्नो गाउँमा स्वीकार गर्ने?
असम्भव ।
ती छिमेकीहरूको सामना गर्ने जसले निश्चय नै उनलाई चेतावनी दिएका थिए कि उनले आफ्नो परिवारलाई अपमान गरिरहेका छन् र आफ्ना मातापिताको हृदय तोडिरहेका छन्? उनी कसरी स्वतन्त्र भइरहेका छन् भन्ने घमण्ड गरे पछि आफ्ना पूर्व साथीहरूसँग फर्कने?
असह्य ।
परन्तु भोक, एकाकीपन र पश्चाताप त्यसै हटेन—“उनी स्वयम् आफ्नो होसमा नआएसम्म ।”११
उनले के गर्नु पर्छ भनेर उनलाई थाहा थियो ।
पुनरागमन
अब हामी विच्छिप्त हृदय भएका मालिक पितातर्फ फर्कियौँ । उहाँले आफ्नो छोराको चिन्तामा कति सयौँ, हजारौँ घण्टा बिताउनु भएको थियो होला?
उहाँले आफ्नो छोरा हिडेको मार्गलाई कति पटक हेर्नुभयो होला र आफ्नो छोरो हिँड्दा आफूले महसुस गरेको मर्मस्पर्शी क्षतिलाई कति पटक पुन:जिउनुभयो होला ? रातको अन्धकारमा उहाँले कति प्रार्थनाहरू गर्नुभयो होला, उहाँको छोरो सुरक्षित होस् भनेर परमेश्वरसँग बिन्ती गर्दै कि उनले सत्य पत्ता लगाउने छन् कि उनको पुनरागमन हुने छ?
अनि त्यसपछि एक दिन, पिताले त्यो निर्जन मार्गमा हेर्नुहुन्छ—घरतर्फ अगुवाइ गर्ने मार्ग—र टाढाबाट एक व्यक्ति उहाँतर्फ हिँडिरहेको देख्नुहुन्छ ।
के यो सम्भव छ?
यद्यपि ती व्यक्ति धेरै टाढा भएपनि , पितालाई एकैछिनमा थाहा हुन्छ कि यो उहाँको छोरा हो ।
उहाँ उनीतर्फ दौडिनुहुन्छ, उनको वरिपरि आफ्ना हात राखेर उनलाई चुम्बन गर्नुहुन्छ ।१२
“पिता,” छोरा रून्छन्, त्यो बोलीमा जुन उसले हजार पटक व्यक्त गरेको हुनु पर्छ, “मैले स्वर्ग र हजुर दुबैका विरुद्धमा पाप गरेको छु । म अब तपाईंको छोरा कहलाइने योग्य छैन । मैले यति मात्र भन्छु कि तपाईंले मलाई भाडामा लिएको सेवकका रूपमा लिनुहोस् ।”१३
परन्तु पिताले उनलाई मुस्किलले समाप्त गर्न दिनुहुन्छ । आफ्नो आँखामा आँसु सहित उहाँले आफ्ना सेवकहरूलाई आज्ञा गर्नुहुन्छ: “घरमा भएका सबैभन्दा उत्तम कपडा ल्याओ र मेरो छोरालाई लगाइदेओ । उनको औँलामा औँठी र खुट्टामा चप्पल लगाइदेओ । उत्सव मनाउन का लागि भोज तयार पार । मेरो छोराको पुनरागमन भएको छ!”१४
उत्सव
मेरो अफिसमा जर्मन कलाकार रिचर्ड बर्डेको चित्र झुण्डिएको छ । ह्यारिएट र मलाई यो चित्रकला मन पर्छ । मुक्तिदाताको दृष्टान्तबाट यसले एक कोमल दृश्यलाई गहन दृष्टिकोणमा चित्रण गर्छ ।
छोराको पुनरागमनमा सबैजना खुसी हुँदा एकजना खुसी छैन—उनका जेठा दाजु ।१५
उनले केही संवेगात्मक बोझ बोकेका छन् ।
उनी त्यहीँ थिए जब उनका भाइले आफ्नो उत्तराधिकारको माग गरे । उनी आफ्ना पिताको पीडाको गहिरो बोझको प्रत्यक्ष साक्षी बनेका थिए ।
भाइले छोडेदेखि नै पिताको बोझलाई उठाउन उनले प्रयास गरेका थिए । हरेक दिन, उनले आफ्ना पिताको विखण्डित हृदयलाई पुनर्स्थापन गर्नका लागि कार्य गरे ।
अनि अब लापरवाह बालकको पुन: आगमन भएको छ र मानिसहरूले आफ्नो विद्रोही भाइमा ध्यान केन्द्रित गर्न रोक्न सकेनन् ।
“यी सबै वर्षहरूमा,” उनले आफ्ना पितालाई भन्छन्, “मैले तपाईंले गर्न भन्नुभएका कुनै पनि बिषयलाई अस्वीकार गरेको छैन । तैपनि त्यो सबै समयमा, तपाईंले मेरा लागि कहिल्यै मनाउनुभएन ।”१६
प्रिय पिताले जवाफ दिनुहुन्छ, “प्रिय छोरा, मसँग जे छ त्यो तिम्रो हो! यो पुरस्कारहरू वा उत्सवहरू तुलना गर्ने बिषय होइन । यो चङ्गाइका सम्बन्धमा छ । यही त्यो क्षण हो जुन हामीले यी सबै वर्षदेखि अपेक्षा गरिरहेका छौँ । तिम्रो भाइको मृत्यु भएको थियो र पुन:जीवित भएको छ! ऊ हराएको थियो तर अहिले ऊ भेटिएको छ!”१७
हाम्रो समयका लागि एउटा दृष्टान्त
मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, प्रिय मित्रहरू, मुक्तिदाताका सबै दृष्टान्तहरू जस्तै, यो धेरै पहिले जिएका मानिसहरूका सम्बन्धमा मात्र होइन । आज यो तपाईंहरू र मेरा सम्बन्धमा पनि हो ।
हामी मध्ये को छ जो मूर्खतापूर्वक सोच्दै कि हामी आफ्नो आत्मकेन्द्रित मार्गमा बढी खुशी प्राप्त गर्न सक्छौँ भनेर पवित्रताको मार्गबाट टाढा गएको छैन?
हामीमध्ये कसले विनम्र, चूर्ण हृदय र क्षमापन र कृपाका लागि उत्सुकता महसुस गरेको छैनौँ?
सम्भवत: हामीले सोचेका थियौँ, “के पुनरागमन सम्भव छ? के म मेरा पूर्व मित्रहरूद्वारा सदाका लागि निच देखाइएको, अस्वीकार गारिएको र बेवास्ता गरिएको हुने छ? के हराएर बस्नु राम्रो हो? यदि मैले पुनरागमन गर्ने प्रयास गरेमा परमेश्वरले कस्तो प्रतिक्रिया दिनुहुने छ?”
यो दृष्टान्तले हामीलाई जवाफ दिन्छ ।
हाम्रो स्वर्गका पिता हामीकहाँ दौडदै आउनुहुने छ, उहाँको हृदय प्रेम र दयाले भरिएको हुने छ । उहाँले हामीलाई अङ्कमाल गर्नुहुने छ; हाम्रो काँध वरिपरि कपडा, हाम्रो औँलामा औँठी, हाम्रो पाउमा चप्पल राखिदिनुहुने छ; र घोषणा गर्नुहुने छ, “आज हामी उत्सव मनाउँछौं! किनकि मेरो बालक, जो एक पटक मृत्यु वरण गरेको थियो, पुन: जीवित भएको छ!”
हाम्रो पुनरागमनमा स्वर्गले खुशियाली मनाउने छ ।
अव्यक्त प्रसन्नता र महिमाले भरिपूर्ण
के म अब केही समय लिएर तपाईंहरूसँग व्यक्तिगत रूपमा कुरा गर्न सक्छु?
तपाईंको जीवनमा जे भएको भए तापनि, म मेरो प्रिय मित्र र सँगी प्रेरित एल्डर जेफ्री आर हल्याण्डका शब्दहरू दोहोर्याउँछु र घोषणा गर्छु: “तपाईंख्रीष्टको [प्रायश्चितको बलिदान] को चम्कने अपरिमित ज्योति भन्दा पनि तल डुब्न सम्भव छैन ।”१८
यद्यपि छनोटहरूले तपाईंहरूलाई मुक्तिदाता र उहाँको चर्चबाट टाढा लगेपनि चङ्गाइदाता मालिकले तपाईंलाई स्वागत् गर्दै घर लैजाने मार्गमा उभिनुहुन्छ । अनि हामी येशू ख्रीष्टको चर्चको सदस्यका रूपमा उहाँको उदाहरण अनुशरण गर्न खोज्छौँ र तपाईंहरूलाई हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रा मित्रहरूका रूपमा अङ्कमाल गर्न चाहन्छौँ । हामी तपाईंसँग हर्षित हुन्छौँ र मनाउँछौँ ।
तपाईंको पुनरागमनले अरूहरूको आशीर्वादलाई कम गर्दैन । किनकि पिताको कृपा असीमित छ र कसैलाई दिएको बिषयले अरूहरूको जन्मसिद्ध अधिकारलाई थोरै पनि कम गर्दैन ।१९
पुनरागमन सजिलो बिषय हो भनेर म भन्न सक्दिन। म यसलाई प्रमाणित गर्न सक्छु । वास्तवमा, यो तपाईंले कुनैपनि समयमा गर्नुहुने सबैभन्दा कठीन छनोट हुन सक्छ ।
परन्तु म गवाही दिन्छु कि जुन क्षणमा तपाईंले फर्कने निर्णय गर्नुहुन्छ र हाम्रा मुक्तिदाता र उद्धारकर्ताको मार्गमा हिंड्नु हुन्छ, तपाईंको जीवनमा उहाँको शक्ति प्रवेश गर्ने छ र तपाईं परिवर्तन हुनुहुने छ ।२०
स्वर्गका स्वर्गदूतहरू खुशी हुने छन् ।
अनि हामी पनि, ख्रीष्टमा तपाईंको परिवार । जे भएपनि, हामीलाई थाहा छ कि एक अपव्ययी बन्नु भनेको कस्तो हुन्छ भनेर । हामी सबै दैनिक रूपमा ख्रीष्टको प्रायश्चित गर्ने एउटै शक्तिमा निर्भर छौँ । हामीलाई यो मार्ग थाहा छ र हामीहरू हजुरसँगै हिड्ने छौँ ।
होइन, हाम्रो मार्ग शोक, दु:ख वा उदासिनताबाट मुक्त हुने छैन । परन्तु “ख्रीष्टका वचनद्वारा जो मुक्ति प्रदान गर्ने शक्ति हुनुहुन्छ, उहाँमा अटल आस्थाका साथ, उहाँको योग्यतामा पूर्ण रूपमा निर्भर हुँदै हामी यहाँसम्म आइपुगेका छौँ ।” अनि सँगै हामी आशाको परिपूर्ण उज्यालो र परमेश्वर र सबै [मानिसहरू] लाई प्रेम गर्दै “ख्रीष्टमा अडिग बनेर अगाडि बढ्ने छौँ ।”२१ हामी सँगै “ अव्यक्त र महिमाले भरिपूर्ण प्रसन्नताका रमाउँछौँ”२२ किनकि येशू ख्रीष्ट हाम्रो शक्ति हुनुहुन्छ!२३
यो मेरो प्रार्थना छ कि हामी प्रत्येकले यस गहन दृष्टान्तमा, पिताको वाणीले हामीलाई घर पुर्याउने मार्गमा प्रवेश गर्न आह्वान गरेको सुन्ने छौँ - ताकि हामीमा पश्चात्ताप गर्ने, क्षमा प्राप्त गर्ने र हाम्रा दयालु र कृपालु परमेश्वर सम्म फर्कने मार्गमा हिँड्ने साहस हुन सकोस। यसको म गवाही दिन्छु र येशू ख्रीष्टको नाममा मेरा आशीर्वाद तपाईंहरूलाई दिन्छु, आमीन ।