ख्रीष्टको सिद्धान्तको शक्तिशाली, सद्गुण चक्र
म तपाईंहरूलाई ख्रीष्टको सिद्धान्तलाई बारम्बार र पुनरावृत्तिमा जिउने र अपेक्षित रूपमा अरूहरूलाई तिनीहरूको मार्गमा सहयोग गर्न आमन्त्रण गर्छु ।
वर्षौँपूर्व, मेरी श्रीमती रुथ, हाम्री छोरी एश्ली र म अन्य पर्यटकहरूसँग संयुक्त राज्य अमेरिकाको हवाई राज्यमा कायाक डुङ्गा यात्रा भ्रमणमा गएका थियौँ । कायाक डुङ्गा भनेको पानीको सतहसम्म पुग्ने, कनु जस्तो डुङ्गा हो जसमा डुङ्गा खियाउने मानिस अगाडि फर्केर बस्छ र एक तर्फबाट अर्को तर्फ डुङ्गा खियाउन अगाडि-देखि पछाडि तान्नका लागि दुईतर्फी ब्लेड भएको प्याडल प्रयोग गर्छ । योजना ओआहुको तटबाट दुईवटा साना टापुहरूमा डुङ्गा खियाउँदै जाने र पुन: फर्कने थियो । म विश्वस्त थिएँ किनभने, जवान मानिसका रूपमा, मैले पहाडी तालहरूमा कायाक डुङ्गाहरू खियाएको थिएँ । धेरै आत्मविश्वासले कहिल्यै राम्रो सङ्केत गर्दैन, गर्छ र?
हाम्रो मार्गदर्शकले हामीलाई निर्देशन दिनुभयो र हामीले प्रयोग गर्ने समुद्री कायाक नावहरू देखाउनुभयो । तिनीहरू मैले यसपूर्व खियाएको डुङ्गाहरू भन्दा भिन्न थिए । यसभित्रको तल बस्नुको सट्टामा मैले डुङ्गाको शीर्षमा बस्नु पर्ने थियो । जब म कायाक डुङ्गामा पुगेँ, मेरो गुरुत्वाकर्षणको केन्द्र म अभ्यस्त भएको भन्दा उच्च थियो र म पानीमा अपेक्षाकृत रूपमा कम स्थिर थिएँ ।
हामीले प्रारम्भ गरेपछि, मैले रुथ र एश्ली भन्दा छिटो खियाउन सुरू गरेँ । केही समयपछि, म उनीहरूभन्दा धेरै अगाडि भएँ । मेरो वीरतापूर्ण गतिमा गर्व गरेर, मैले डुङ्गा खियाउन छोडेँ र उनीहरू मकहाँ आउनका लागि प्रतीक्षा गरेँ । करिब १३ सेन्टिमिटरको—एउटा ठूलो छाल—मेरो कायाक डुङ्गाको छेउमा ठोकियो र मलाई पानीमा पल्टायो । जबसम्म मैले कायाक डुङ्गालाई सिधा घुमाएँ र शीर्षमा फर्किन सङ्घर्ष गरिरहेको थिएँ, रुथ र एश्ली मेरो छेउबाट गइसकेका थिए तर म डुङ्गा पुनः खियाउन सुरू गर्न धेरै चिन्तित भएँ । मैले मेरो सास लिनुपूर्व, कम्तिमा २० सेन्टिमिटरको अर्को लहर—यो वास्तवमा नै विशाल थियो—मेरो कायाक डुङ्गामा ठोकियो र मलाई फेरि पल्टायो । जब मैले कायाक डुङ्गालाई सही रूपमा व्यवस्थित गरेँ, मेरो स्वासप्रस्वास यति बढेको थियो कि म माथि चढ्न असक्षम हुन्छु कि भनेर म डराएँ ।
मेरो अवस्था देखेर, मार्गदर्शकले मेरो डुङ्गालाई पङ्क्तिबद्ध गर्नुभयो र मलाई माथि चढ्न सजिलो बनाइदिनु भयो । म अझै पनि डुङ्गा खियाउन सङ्घर्षरत गरिरहेको जब उहाँले देख्नुभयो, उहाँले मेरो डुङ्गामा एउटा डोरी बाँध्नुभयो र आफूतर्फ तान्न सुरू गर्नुभयो । एकछिनपछि मैले सास फेर्न सुरू गरेँ र आफैँले डुङ्गा खियाउन सुरू गरेँ । उहाँले डोरी छोड्नुभयो र म थप सहयोग बिना पहिलो टापुमा पुगेँ । आइपुगेपछि, शक्तिहीन भएको म थाकेर बालुवामा बसेँ ।
समूहले आराम गरेपछि, मार्गदर्शकले शान्तपूर्वक मलाई भन्नुभयो, “मिस्टर रेनलण्ड, यदि तपाईंले आफ्नो गति कायम राख्दै डुङ्गा खियाउनुभयो भने, मलाई लाग्छ तपाईं सही हुनुहुने छ । मैले उहाँको सल्लाहको पालना गरेँ जब हामी दोस्रो टापुमा डुङ्गा खियाउँदै गयौँ र त्यसपछि हाम्रो प्रारम्भको बिन्दुमा फर्कियौँ । एक वा दुई पटक, मार्गदर्शक नजिकै आउनुभयो र मलाई भन्नुभयो कि मैले राम्रो गरिरहेको छु । ठूला छालहरूले पनि मेरो डुङ्गालाई छेउबाट हिर्काए तापनि म पल्टिइन ।
डुङ्गालाई लगातार खियाउँदै, गतिलाई कायम राख्दै र अगाडि बढ्दै, मैले छेउबाट हानेको छालको प्रभावलाई न्यूनीकरण गर्दै अगाडि बढेँ । हाम्रो आध्यात्मिक जीवनमा पनि यही सिद्धान्त लागू हुन्छ । जब हामी गति कम गर्छौँ र विशेष गरी जब हामी रोकिन्छौँ तब हामी कमजोर हुन्छौँ । यदि हामीले मुक्तिदातातर्फ निरन्तर “खियाउँदै” आत्मिक गतिलाई कायम राख्छौँ भने, हामी सुरक्षित र थप सुदृढ हुन्छौँ किनभने हाम्रो अनन्त जीवन उहाँप्रतिको हाम्रो आस्थामा निर्भर गर्छ ।
“जीवनकालमा हामीले ख्रीष्टका सिद्धान्तलाई बारम्बार अँगाल्दा ” आत्मिक गति सिर्जना गरिन्छ । त्यसो गर्दा अध्यक्ष रसल एम्. नेल्सनले सिकाउनुभएको, “शक्तिशाली सद्गुण चक्र” उत्पादन हुन्छ । वास्तवमा, ख्रीष्टका सिद्धान्तका तत्वहरू—जस्तै परमप्रभु येशू ख्रीष्टमा आस्था, पश्चात्ताप, बप्तिस्माद्वारा परमप्रभुसँगको करारको सम्बन्धमा प्रवेश गर्ने, पवित्र आत्माको वरदान प्राप्त गर्ने र अन्तसम्म सहने—एक पटक सम्पन्न गरेर बाकसमा चिन्ह लगाउने घटनाहरूका रूपमा अनुभव गर्ने उद्देश्यले होइन । विशेष गरी, “अन्तसम्म सहनु” ख्रीष्टका सिद्धान्तमा एक अलग पाइला होइन—जस्तो कि हामी प्रथम चार तत्वहरू पूरा गर्छौँ र त्यसपछि आश्रय लिन्छौँ, दाह्रा किट्छौँ र मृत्युका लागि प्रतिक्षा गर्छौँ । होइन, अन्तसम्म सहनु भनेको ख्रीष्टका सिद्धान्तका अन्य तत्वहरू बारम्बार लागू गर्नु र पुनरावृत्ति हो, अध्यक्ष नेल्सनले वर्णन गर्नुभए जस्तै “शक्तिशाली, सद्गुण चक्र” सिर्जना गर्नु हो ।
बारम्बारको अर्थ हो कि हामीले हाम्रो जीवनभर ख्रीष्टका सिद्धान्तका तत्वहरूलाई बारम्बार अनुभव गर्नु हो । पुनरावृत्तिको अर्थ हो कि हामीले हरेक पटक दोहोर्याउँदा निर्माण र सुधार गर्नु हो । यद्यपि हामीले तत्वहरूलाई दोहोर्याउँछौँ, हामी अगाडिको प्रक्षेपण बिना वृत्तहरूमा मात्र घुमिरहेका छैनौँ । बरू, हामी प्रत्येक पटक चक्रको माध्यमबाट येशू ख्रीष्टको नजिक पुग्छौँ ।
वेगमा गति र दिशा दुबै समावेश हुन्छन् । यदि मैले कायाक डुङ्गालाई गलत दिशामा जोडदार रूपमा खियाएको भए, मैले महत्त्वपूर्ण गति सिर्जना गर्न सक्थेँ तर म चाहना गरिएको गन्तव्यमा पुग्न सक्दैनथेँ । त्यसैगरी, जीवनमा, मुक्तिदाताकहाँ आउनका लागि हामीले उहाँतर्फ “खियाउनु” आवश्यक हुन्छ ।
येशू ख्रीष्टमा हाम्रो आस्थालाई दैनिक पोषण गर्नु आवश्यक छ । हामीले दैनिक प्रार्थना गर्दा, दैनिक रूपमा धर्मशास्त्रहरूको अध्ययन गर्दा, दैनिक रूपमा परमेश्वरको कृपालाई प्रतिविम्वित गर्दा, दैनिक रूपमा पश्चात्ताप गर्दा र दिनहुँ पवित्र आत्माका प्रोत्साहनहरूको पालना गर्दा यो पोषण प्राप्त हुन्छ । जसरी आइतबारसम्म हाम्रा सबै खानाबाट बञ्चित रहनु र त्यसपछि हाम्रो पोषणको साप्ताहिक अंशका रूपमा अत्यधिक खानु उपयुक्त हुँदैन, त्यसरी नै हाम्रो गवाहीलाई-पोषण गर्ने व्यवहारलाई हप्ताको एक दिनमा मात्र सीमित राख्नु पनि आत्मिक रूपमा स्वस्थकर हुँदैन ।
जब हामी हाम्रा आफ्नै गवाहीहरूका लागि उत्तरदायित्व लिन्छौँ, हामीले आध्यात्मिक गति प्राप्त गर्छौँ र बिस्तारै येशू ख्रीष्टमा आधारभूत आस्था विकास गर्छौँ र ख्रीष्टको सिद्धान्त जीवनको उद्देश्यको केन्द्रबिन्दु हुन्छ । हामीले परमेश्वरका नियमहरू पालना गर्ने र पश्चात्ताप गर्ने प्रयास गर्दा गति पनि निर्माण हुन्छ । पश्चात्ताप प्रसन्नतापूर्ण हुन्छ र हामीलाई हाम्रा गल्तीहरूबाट सिक्न अनुमति दिन्छ, यसैकारण हामी अनन्त रूपमा प्रगति गर्छौँ । निस्सन्देह हाम्रा त्यस्ता समयहरू आउने छन् जब हामी हाम्रा कायाक डुङ्गाहरूबाट पल्टन्छौँ र आफूस्वयम् लाई गहिरो पानीमा भेट्टाउँछौँ । चाहे जतिसुकै पटक हामी खसे तापनि पश्चात्तापका माध्यमबाट, हामी शीर्षमा फर्किन सक्छौँ र निरन्तरता दिन सक्छौँ । महत्त्वपूर्ण पक्ष यो छ कि हामी हार मान्दैनौँ ।
ख्रीष्टको सिद्धान्तको अर्को तत्व बप्तिस्मा हो, जसमा पानीको बप्तिस्मा र प्रमाणीकरणद्वारा, पवित्र आत्माको बप्तिस्मा समावेश छ । जब बप्तिस्मा एक एकल आयोजना हो, हामी हाम्रो बप्तिस्माको करार बारम्बार नवीकरण गर्छौँ जब हामी प्रभुभोजमा सहभागी हुन्छौँ । प्रभुभोजले बप्तिस्मालाई प्रतिस्थापन गर्दैन तर यसले ख्रीष्टको सिद्धान्तमा प्रारम्भिक तत्वहरूलाई जोड्छ—आस्था र पश्चात्ताप—पवित्र आत्माको प्राप्तिका साथ । जब हामी इमानदारितापूर्वक प्रभुभोजमा सहभागी हुन्छौँ, हामीले पवित्र आत्मालाई हाम्रो जीवनमा आमन्त्रण गर्छौँ, जसरी हामीले बप्तिस्मा लिँदा र प्रमाणीकरण गर्दाको समयमा गरेका थियौँ । जब हामी प्रभुभोज प्रार्थनामा वर्णन गरिएका करार पालना गर्छौं, पवित्र आत्मा हाम्रो मित्र बन्छ ।
जसरी पवित्र आत्माले हाम्रो जीवनमा ठूलो प्रभाव पार्छ, हामी क्रमशः र पुनरावृत्ति गरेर ख्रीष्टसमान गुणहरूको विकास गर्छौँ । हाम्रा हृदयहरू परिवर्तन हुन्छन् । खराब गर्ने हाम्रो मनोवृत्ति घट्छ । राम्रो गर्ने हाम्रो झुकाव तब सम्म बढ्छ जब सम्म हामी “निरन्तर राम्रो गर्ने” चाहना मात्रै राख्छौँ । अनि यसरी हामी अन्तसम्म सहनका लागि आवश्यक स्वर्गको शक्तिमा पहुँच राख्छौँ । हाम्रो आस्थामा वृद्धि भएको छ र हामी पुन: शक्तिशाली, सद्गुण चक्र दोहोर्याउन तयार छौँ ।
अगाडि बढेको आध्यात्मिक गतिले हामीलाई परमप्रभुको गृहमा परमेश्वरसँग थप करारहरू गर्न प्रेरित गर्छ । धेरै करारहरूले हामीलाई ख्रीष्टको नजिक ल्याउँछन् र हामीलाई उहाँसँग अझै मजबुत रूपमा जोड्छन् । यी करारहरूद्वारा, हामीसँग उहाँको शक्तिमा अझै बढी पहुँच हुन्छ । स्पष्ट हुनको लागि, बप्तिस्मा र मन्दिरका करारहरू आफूमा शक्तिको स्रोत होइनन् । परमप्रभु येशू ख्रीष्ट र हाम्रा स्वर्गका पिता शक्तिका स्रोतहरू हुन् । वाचाहरू बनाउनु र पालना गर्नाले हाम्रा जीवनमा तिनीहरूको शक्तिका लागि एक माध्यम बनाउँछ । जब हामी यी करारहरूअनुसार जिउँछौँ, हामी अन्ततः स्वर्गका पितासँग भएका सबैका उत्तराधिकार बन्छौँ । ख्रीष्टको सिद्धान्तमा जीवन जिएर उत्पादन गरिएको गतिले हाम्रो दैवी प्रकृतिलाई हाम्रो अनन्त गन्तव्यमा रूपान्तरण गर्ने शक्ति मात्र प्रदान गर्दैन, परन्तु यसले हामीलाई उपयुक्त तरिकामा अरूहरूलाई सहयोग गर्न पनि उत्प्रेरित गर्छ ।
म कायाक डुङ्गामा पल्टेपछि अभियान मार्गदर्शकले मलाई कसरी सहयोग गर्नुभयो भनेर विचार गर्नुहोस् । उहाँले टाढैबाट सहयोग नगर्ने प्रश्न गर्नुभएन, जस्तै, “मिस्टर । रेनलण्ड, तपाईं पानीमा के गर्दै हुनुहुन्छ?” उहाँले डुङ्गा खियाउँदै आएर मलाई हप्काउँदै भन्नुभएन, “मिस्टर । रेनलण्ड, यदि तपाईं शारीरिक रूपमा अधिक स्वस्थ हुनुभएको भए तपाईं यस अवस्थामा हुनुहुने थिएन ।” जब म डुङ्गाको माथि जान प्रयास गरिरहेको थिएँ उहाँले मेरो डुङ्गा तान्न सुरू गर्नुभएन । उहाँले मलाई समूहका अगाडि सच्याउनु भएन । बरू, उहाँले मलाई आवश्यक परेको समयमा मलाई सहयोग दिनुभयो । जब म सुन्ने अवस्थामा थिएँ तब उहाँले मलाई सल्लाह दिनुभयो । अनि मलाई हौसला दिन उहाँले विशेष प्रयास गर्नुभयो ।
जब हामी अरूहरूको सेवा गर्छौँ, हामीले असहयोग गर्ने प्रश्नहरू सोध्नु वा स्पष्ट बताउनु आवश्यक छैन । धेरै जसो मानिसहरू जो सङ्घर्ष गरिरहेका छन् उनीहरूलाई थाहा छ कि तिनीहरू सङ्घर्ष गरिरहेका छन् । हामी फैसला गर्ने बन्नु हुँदैन; हाम्रो निर्णय सहयोगी वा स्वागतयोग्य हुँदैन र प्रायः गलत जानकारी दिने खालको हुन्छ ।
आफूहरूस्वयम् लाई अरूहरूसँग तुलना गर्दा, विशेष गरी यदि हामी सङ्घर्ष गरिरहेकाहरू भन्दा बढी धार्मिक छौँ भन्ने निष्कर्षमा पुग्दा हामीले गम्भीर गल्तीहरूलाई निम्त्याउन सक्छौँ । यस्तो तुलना भनेको तीन मिटर पानीमा निराश भएर डुब्नु, अरू कसैलाई चार मिटर पानीमा डुबेको देख्नु, उसलाई ठूलो पापी ठहर्याउनु र आफ्नो सम्बन्धमा राम्रो महसुस गर्नु जस्तै हो । आखिर, हामी सबै आफ्नै तरिकाले सङ्घर्ष गरिरहेका छौँ । हामी मध्ये कसैले पनि मुक्ति कमाउँदैनौँ । हामी कहिल्यै पनि सक्दैनौँ । मोर्मोनको पुस्तकमा याकूबले सिकाउनुभयो, “स्मरण गर्नुहोस्, [हामी]ले परमेश्वरसँग मिलाप गरिसकेपछि, हामीले केवल परमेश्वरको अनुग्रहमा र माध्यममा [हामीले] मुक्ति प्राप्त गर्छौँ ।” हामी सबैलाई मुक्तिदाताको असीम प्रायश्चित आवश्यक छ , यसको अंश मात्रै होइन ।
हामीले वरपरका मानिसहरूसँग अन्तरक्रिया गर्दा हामीलाई हाम्रा सबै दया, सहानुभूति र प्रेमको आवश्यकता पर्छ । सङ्घर्ष गरिरहेकाहरूले “[हाम्रा] वचन र कार्यहरूमा प्रतिबिम्बित येशू ख्रीष्टको विशुद्ध प्रेम अनुभव गर्नु आवश्यक छ ।” हामीले सेवा गर्दा, हामी अरूहरूलाई बारम्बार प्रोत्साहन गर्छौँ र सहयोगको प्रस्ताव गर्छौँ । कसैले ग्रहण नगरे पनि हामी उहाँको अनुमतिअनुसार सेवालाई निरन्तरता दिन्छौँ । मुक्तिदाताले सिकाउनुभयो कि “तिमीहरूले त्यस्ताहरूको सेवा गरिरहने छौ; किनकि तिमीहरूलाई जानकारी छैन तर तिनीहरू के फर्कने छन् र पश्चात्ताप गर्ने छन् र हृदयको पूर्ण उद्देश्यका साथ मकहाँ आउने छन् र म तिनीहरूलाई चङ्गाइ दिने छु। अनि तिमीहरू तिनीहरूलाई मुक्ति ल्याउने माध्यम हुने छौ ।” मुक्तिदाताको कार्य चङ्गाइ दिनु हो । हाम्रो काम भनेको प्रेम गर्नु हो—अरूहरूलाई येशू ख्रीष्टतर्फ खिच्ने गरी प्रेम गर्नु र सेवा गर्नु । यो ख्रीष्टको सिद्धान्तको शक्तिशाली, सद्गुण चक्रको एक फल हो ।
म तपाईंहरूलाई ख्रीष्टको सिद्धान्तलाई बारम्बार, पुनरावृत्तिमा जिउने र अपेक्षित रूपमा अरूहरूलाई तिनीहरूको मार्गमा सहयोग गर्न आमन्त्रण गर्छु । म गवाही दिन्छु कि ख्रीष्टको सिद्धान्त स्वर्गका पिताको योजनाको केन्द्रबिन्दु हो; अन्तत:, यो उहाँको सिद्धान्त हो । जब हामी येशू ख्रीष्ट र उहाँको प्रायश्चितमा आस्थाको अभ्यास गर्छौं, हामी करारको मार्गमा उत्प्रेरित हुन्छौँ र अरूहरूलाई येशू ख्रीष्टको आस्थावान् अनुयायी बन्नका लागि सहयोग गर्न उत्प्रेरित हुन्छौँ । हामी स्वर्गका पिताको राज्यमा उत्तराधिकारी बन्न सक्छौँ, जुन आस्थावान् बनेर ख्रीष्टको सिद्धान्तमा जीवन जिउनुको परिणाम हो । येशू ख्रीष्टको नाममा, आमीन ।