साधारण सम्मेलन
करार र उत्तरदायित्वहरू
शब्दहरूको महत्त्व छ


15:11

करार र उत्तरदायित्वहरू

येशू ख्रीष्टको चर्चलाई त्यो चर्चको रूपमा चिनिन्छ जसले परमेश्वरसँग करारहरू निर्माणमा जोड दिन्छ ।

“तपाईंको चर्च अरूभन्दा कसरी फरक छ?” जसरी म हुर्कँदै गएँ र चर्च बढ्दै गएको छ, यस महत्त्वपूर्ण प्रश्नको मेरो जवाफ भिन्न भएको छ । जब म १९३२ मा यूटामा जन्मिए, हाम्रो चर्च सदस्यता लगभग ७००,००० मात्र थियो, धेरै जसो यूटा र नजिकैका राज्यहरूमा सीमित थिए । त्यतिबेला हामीसँग जम्मा ७ वटा मन्दिरहरू थिए । आज पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको सदस्यता लगभग १७० राष्ट्रहरूमा १ करोड ७० लाखभन्दा बढी छ । यस अप्रिल १ सम्ममा हामीसँग धेरै राष्ट्रहरूमा १८९ समर्पित मन्दिरहरू छन् र अन्य १४६ योजना र निर्माणका चरणहरूमा छन् । मैले यी मन्दिरहरूको उद्देश्य र हाम्रो आराधनामा करारहरूको इतिहास र भूमिकाको बारेमा बोल्नुपर्ने महसुस गरेको छु । यसले पूर्व वक्ताहरूका प्रेरित शिक्षाहरूलाई जोड दिने छ ।

१.

करार भनेको निश्चित उत्तरदायित्वहरू पूरा गर्ने प्रतिवद्धता हो । हामी हरेकका जीवनका नियमन र समाजका कार्यका लागि व्यक्तिगत प्रतिवद्धताहरू आवश्यक छन् । यो विचारलाई अहिले चुनौती दिइरहेको छ । एक अल्पसङ्ख्यक समूहले संस्थागत अधिकारको विरोध गर्छ र जोड दिन्छ कि व्यक्तिहरू कुनै पनि प्रतिबन्धबाट मुक्त हुनु पर्छ जसले तिनीहरूको व्यक्तिगत स्वतन्त्रतालाई सीमित गर्छ । यद्यपि हामीले सहस्राब्दीको अनुभवबाट थाहा पाउँछौँ कि सङ्गठित समुदायहरूमा बस्नुको लाभका लागि मानिसहरूले केही व्यक्तिगत स्वतन्त्रता त्याग्छन् । व्यक्तिगत स्वतन्त्रतामा यस्ता त्यागहरू मुख्यतया व्यक्त वा निहित प्रतिबद्धता वा करारहरूमा आधारित हुन्छन् ।

सैन्य कर्मचारीहरू ।
चिकित्सा सम्बन्धी कर्मचारीहरू ।
अग्निनियन्त्रकहरू ।
पूर्णकालिन सुसमाचार प्रचारकहरू ।

हाम्रो समाजमा करारमा प्रतिबद्ध उत्तरदायित्वहरू सञ्चालनका केही उदाहरणहरू यहाँ छन्: (१) न्यायाधीशहरू, (२) सेना, (३) चिकित्सा कर्मचारीहरू र (४) अग्निनियन्त्रकहरू । यी परिचित पेशाहरूमा संलग्न सबैले एक प्रतिबद्धता गर्छन्—प्रायः शपथ वा करारद्वारा औपचारिक रूपमा—तोकिएका आफ्ना कर्तव्यहरू पूरा गर्न । हाम्रा पूर्णकालीन सुसमाचार प्रचारकहरूको सन्दर्भमा पनि त्यस्तै हुन्छ । विशिष्ट पहिरन वा नाम लिखित ट्यागहरूको उद्देश्य पहिरिने व्यक्ति करारको अधीनमा छ र उसको सिकाउने र सेवा गर्ने कर्तव्य हो भनेर सङ्केत गर्नु हो र त्यो सेवामा समर्थन गरिनुपर्छ । सम्बन्धित उद्देश्य ती पहिरिनेहरूलाई तिनीहरूको करारबद्ध उत्तरदायित्वहरू स्मरण गराउनु हो । तिनीहरूको विशिष्ट पहिरन वा प्रतीकहरूमा कुनै जादू छैन, केवल पहिरिनेहरूले ग्रहण गरेका विशेष उत्तरदायित्वहरूको आवश्यक स्मरण गराउनु मात्रै हो । वचनबद्धता वा विवाहको औँठीको प्रतीकमा पनि यो सत्य हुन्छ र यसको भूमिकाले हेर्नेहरूलाई सूचना दिइरहेको छ वा लगाउनेहरूलाई उसका वा उनका करारका उत्तरदायित्वहरूको स्मरण गराउनु हो ।

विवाहका औँठीहरू ।

II.

व्यक्तिगत जीवनको नियमनका लागि एक आधार भएको करारका सम्बन्धमा मैले भनेको विषय विशेष गरी धार्मिक करारहरूमा लागू हुन्छ । धेरै धार्मिक सम्बद्धता र आवश्यकताहरूका आधार र इतिहास करारहरूमा आधारित छन् । उदाहरणका लागि, अब्राहामिक करार धेरै महान् धार्मिक परम्पराहरूका लागि आधारभूत छ । यसले परमेश्वरका छोराछोरीहरूसँग उहाँको करारको प्रतिज्ञाहरूको पवित्र विचारको परिचय गराउँछ । पुरानो करारले प्रायः अब्राहाम र तिनका सन्ततिसँग परमेश्वरको करारलाई जनाउँछ ।

पुरानो करारको अवधिमा लेखिएको मोर्मोनको पुस्तकको पहिलो अंशले इस्राएली इतिहास र उपासनामा करारहरूको भूमिकालाई स्पष्ट रूपमा देखाउँछ । नफीलाई भनिएको थियो कि त्यस समयका इस्राएली लेखहरू “यहूदीहरूको अभिलेख थियो, जसमा परमप्रभुले इस्राएलको घरानालाई गर्नुभएका करारहरू समावेश छन् ।” नफीका पुस्तकहरूले अब्राहामको करार र इस्राएललाई “परमप्रभुका करारका मानिसहरू” भनेर पनि बारम्बार उल्लेख गर्छ । परमेश्वर वा धार्मिक अगुवाहरूसँग करार गर्ने अभ्यास पनि नफी, मिश्रदेशका योसेफ, राजा बेन्यामिन, अल्मा र कप्तान मोरोनीका सम्बन्धमा मोर्मोनको पुस्तकका लेखहरूमा अभिलेख गरिएका छन् ।

III.

जब येशू ख्रीष्टको सुसमाचारको पूर्णताको पुनर्स्थापनाका लागि समय आयो, परमेश्वरले एक अगमवक्तालाई बोलावट गर्नुभयो, जोसेफ स्मिथ । हामीलाई यस परिपक्व हुँदै गर्नुभएका जवान अगमवक्तालाई स्वर्गदूत मोरोनीका प्रारम्भिक निर्देशनहरूको पूर्ण रूपमा जानकारी छैन । हामीलाई जानकारी छ कि उहाँले जोसेफलाई बताउनु भयो कि “परमेश्वरसँग [उहाँले] गर्नु पर्ने एउटा कार्य छ” र “पितापुर्खाहरूलाई दिएका प्रतिज्ञाहरू” लगायत “अनन्त सुसमाचारको परिपूर्णता” ल्याइनु पर्छ । हामीलाई यो पनि थाहा छ कि युवा जोसेफले अति नै गहनताका साथ पढेका धर्मशास्त्रहरू—चर्चलाई व्यवस्थित गर्न निर्देशन प्राप्त गर्नुपूर्व नै—करारहरूका सम्बन्धमा धेरै शिक्षाहरू थिए जुन उहाँले मोर्मोनको पुस्तकमा अनुवाद गरिरहनु भएको थियो । त्यो पुस्तक सुसमाचारको परिपूर्णताको प्रमुख स्रोत हो, आफ्ना छोराछोरीहरूको लागि परमेश्वरको योजना सहित र मोर्मोनको पुस्तक करारहरूका सन्दर्भहरूले भरिएका छन् ।

बाइबलसँग राम्ररी परिचित भएको हुनाले, जोसेफलाई “इस्राएलको घराना र यहूदाको घरानासँग नयाँ करार” गर्ने मुक्तिदाताको अभिप्रायका सन्दर्भमा हिब्रूको पुस्तकका सम्बन्धमा जानकारी भएको हुनु पर्छ । हिब्रूहरूले येशूलाई “नयाँ करारको मध्यस्थ” भनेर पनि उल्लेख गर्दछन् । उल्लेखनीय रूपमा, मुक्तिदाताको मरणशील सेवाको बाइबलीय विवरणलाई “नयाँ नियम” शीर्षक दिइएको छ, “नयाँ करार” को वास्तविक पर्यायवाची ।

सुसमाचारको पुनर्स्थापनामा करारहरू आधारभूत थिए । परमप्रभुले अगमवक्तालाई उहाँको चर्चलाई व्यवस्थित गर्न निर्देशन दिनुभएको प्रारम्भिक चरणहरूमा यो स्पष्ट छ । मोर्मोनको पुस्तक प्रकाशित हुने बित्तिकै, परमप्रभुले उहाँको पुनर्स्थापित् चर्चको सङ्गठन गर्नलाई, छिट्टै पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च नामाकरण गरिन निर्देशन दिनुभयो । अप्रिल १८३० मा अभिलेख गरिएको प्रकाशले निर्देशन दिन्छ कि मानिसहरूलाई “साक्षी” प्राप्त गरेपछि (जसको अर्थ गहन रूपमा गवाही प्राप्त गर्नु हो) “बप्तिस्माद्वारा उहाँको चर्चमा ग्रहण गरिने छ” “कि तिनीहरू जसले वास्तवमा आफ्ना सम्पूर्ण पापहरूका पश्चात्ताप गरेका छन् र आफूमा येशू ख्रीष्टको नाम लिन चाहन्छन्, अन्तसम्म उहाँको सेवा गर्ने दृढता सहित ।”

यही प्रकाशले निर्देशन दिन्छ कि चर्चले “परमप्रभु येशूको सम्झनामा रोटी र दाखमद्य [पानी] ग्रहण गर्नका लागि बारम्बार एकत्रित हुनु जरूरी छ ।” यस विधिको महत्त्व कर्तव्य पूरा गर्ने ती एल्डर वा पादरीद्वारा निर्दिष्ट करारहरूका शब्दहरूबाट स्पष्ट हुन्छ । उनले रोटीका प्रतीकहरूलाई आशीर्वाद दिन्छन् “यसमा भाग लिनेहरू सबैका आत्माहरूका लागि …, ताकि तिनीहरूले…हजुरसामु साक्षी हुन सक्ने छन्, हे परमेश्वर, अनन्त पिता, कि तिनीहरू आफूमा हजुरका पुत्रको नाम लिन र उहाँलाई सदैव सम्झन र उहाँले तिनीहरूलाई दिनुभएका उहाँका आज्ञाहरू पालना गर्न इच्छुक छन् ।”

परमप्रभुले आफ्ना प्रकाशहरूको पहिलो प्रकाशनका लागि दिनुभएको शीर्षक पृष्ठमा हालै पुनर्स्थापित चर्चका करारहरूको केन्द्रीय भूमिकालाई पुनः प्रमाणित गरिएको थियो । त्यहाँ परमप्रभुले घोषणा गर्नुहुन्छ कि उहाँले जोसेफ स्मिथलाई बोलावट गर्नुभएको छ किनभने पृथ्वीका बासिन्दाहरू “मेरा विधिहरूबाट विचलित भएका छन् र मेरा अनन्त करार भङ्ग गरेका छन् ।” प्रकाशले थप बताउँछ कि उहाँका आज्ञाहरू दिइन्छन् “ताकि मेरो अनन्त करार स्थापित् हुन सक्छ ।”

आज हामीले पुनर्स्थापित् चर्चको करारहरूको भूमिका र यसका सदस्यहरूको आराधनालाई बुझेका छौँ । अध्यक्ष गोर्डन बी. हिङ्कलीले हाम्रो बप्तिस्मा र प्रभुभोजमा साप्ताहिक रूपमा भाग लिने प्रभावको यो सारांश दिनुभयो :“यस चर्चका प्रत्येक सदस्य जो बप्तिस्माको पानीमा प्रवेश गरेका छन्, पवित्र करारमा संलग्न भएका छन् । प्रत्येक पटक जब हामी परमप्रभुको प्रभुभोजमा सहभागी हुन्छौँ, हामी त्यो करार नवीकरण गर्छौँ ।”

हामीलाई यस सम्मेलनमा धेरै वक्ताहरूले ती विषय स्मरण गराउनु भएका छन् जसमा अध्यक्ष रसल एम्. नेल्सनले मुक्तिको योजनालाई प्रायः “करारको मार्ग,” भनेर उल्लेख गर्नुहुन्छ जसले “हामीलाई [परमेश्वरमा] फर्काउँछ,” … र “यो सबै परमेश्वरसँगको हाम्रो सम्बन्धमा हो ।” उहाँले हाम्रो मन्दिर समारोहहरूमा करारको महत्त्वका सम्बन्धमा सिकाउनुहुन्छ र उहाँले हामीलाई अन्त्यलाई सुरूदेखि हेर्न र “सेलेस्टियल सोच राख्न” पनि सिकाउनुहुन्छ ।

४.

अब म मन्दिरका करारहरूका सम्बन्ध बताउँछु । येशू ख्रीष्टको सुसमाचारको परिपूर्णतालाई पुनर्स्थापना गर्ने आफ्नो जिम्मेवारीको पूर्तिमा, अगमवक्ता जोसेफ स्मिथले आफ्नो अन्तिम वर्षहरू नाभू, इलिनोइमा मन्दिर निर्माणको निर्देशनमा बिताउनुभयो । उहाँका माध्यमद्वारा परमप्रभुले मन्दिरहरूमा प्रशासन गर्नका लागि उहाँका उत्तराधिकारीहरूका लागि पवित्र शिक्षाहरू, सिद्धान्तहरू र करारहरू प्रकट गर्नुभयो । अभिदान प्राप्त गर्ने व्यक्तिहरूलाई त्यहाँ परमेश्वरको मुक्तिको योजना सिकाइनु पर्ने थियो र पवित्र करारहरू गर्न आमन्त्रित गरियो । ती करारहरूप्रति आस्थावान् जीवन यापन गर्नेहरूलाई अनन्त जीवनको प्रतिज्ञा गरियो, जसमा “सबै तिनीहरूकै हुन्” र तिनीहरू “सदासर्वदा र सदाका लागि परमेश्वर र उहाँका ख्रीष्टको उपस्थितिमा बस्ने छन् ।”

हाम्रा प्रारम्भिक अग्रगामीहरूलाई पश्चिमका दुर्गम पहाडहरूमा ऐतिहासिक पदयात्रा सुरू गर्न बाध्य पारिनुभन्दा ठीक पूर्व नाभू मन्दिरमा अभिदान समारोहहरू सञ्चालन गरिएका थिए । हामीसँग ती धेरै अग्रगामीहरूका गवाहीहरू छन् कि तिनीहरूले नाभू मन्दिरमा आफ्ना अभिदानहरूमा ख्रीष्टमा बाँधिदा तिनीहरूले प्राप्त गरेका ती शक्तिले तिनीहरूलाई आफ्ना असामान्य लामो यात्रा गर्न र तिनीहरूस्वयम् लाई पश्चिममा स्थापित् गर्न सामर्थ्य दियो ।

पवित्र मन्दिरमा अभिदान प्राप्त गरेका व्यक्तिहरूले मन्दिरका वस्त्र पहिरिन उत्तरदायी हुन्छन्, वस्त्रको एक अंश हो जुन देखिँदैन किनभने यो बाहिरी लुगा भित्र लगाइन्छ । यसले अभिदान प्राप्त सदस्यहरूलाई तिनीहरूले पवित्र मन्दिरमा गरेका पवित्र करारहरू र उनीहरूलाई प्रतिज्ञा गरिएका आशीर्वादहरूको सम्झना गराउँछ । ती पवित्र उद्देश्यहरू प्राप्त गर्न, हामीलाई मन्दिरका वस्त्रहरू निरन्तर रूपमा पहिरिन निर्देशन दिइएको छ, स्पष्ट रूपमा आवश्यक भएका अपवादहरू मात्र बाहेक । किनभने करारहरूले “एक दिन बिदा” लिँदैन, कसैले मन्दिरका वस्त्रहरू खोल्नुको अर्थ त्यससँग सम्बन्धित उत्तरदायित्वहरू र आशीर्वादहरूको अस्वीकार गरेको बुझ्न सकिन्छ । यसको विपरित, मानिसहरू जसले आफ्ना मन्दिरका वस्त्र आस्थाका साथ पहिरिन्छन् र मन्दिरका करारहरू पालना गर्छन् परमप्रभु येशू ख्रीष्टको शिष्यको आफ्नो भूमिका निभाएको प्रमाणित गर्छन् ।

मन्दिरहरूको नक्सा ।

पछिल्ला दिनका सन्तहरूका येशू ख्रीष्टको चर्चले विश्वभर मन्दिरहरू निर्माण गरिरहेको छ । तिनीहरूको उद्देश्य मन्दिरको आराधना र पवित्र जिम्मेवारीहरू र शक्तिहरू र करारद्वारा प्राप्त ख्रीष्टसँग बाँधिएको अद्वितीय आशीर्वादहरूद्वारा परमेश्वरका करारवद्ध सन्ततिहरूलाई आशीर्वाद दिनु हो ।

साव पावलो ब्राजिल मन्दिर ।

येशू ख्रीष्टको चर्चलाई त्यो चर्चको रूपमा चिनिन्छ जसले परमेश्वरसँग करारहरू बनाउनमा जोड दिन्छ । यस पुनर्स्थापित् चर्चले प्रशासित गरेको मुक्ति र उत्कर्षका प्रत्येक विधिहरूमा करारहरू अन्तर्निहित छन् । बप्तिस्माको विधि र यससँग सम्बन्धित करारहरू सेलेस्टियल राज्यमा प्रवेश गर्नका लागि महत्त्वपूर्ण आवश्यकताहरू हुन् । ती विधिहरू र मन्दिरसँग सम्बन्धित करारहरू सेलेस्टियल राज्यमा उत्कर्षका लागि महत्त्वपूर्ण आवश्यकताहरू हुन्, जुन अनन्त जीवन हो, “परमेश्वरका सबै उपहारहरूमध्ये सबैभन्दा ठूलो ।” पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको केन्द्र त्यही हो ।

म येशू ख्रीष्टको गवाही दिन्छु, जो त्यो चर्चको प्रमुख हुनुहुन्छ र आफ्ना पवित्र करारहरू पालना गर्न खोज्ने सबैलाई उहाँको आशीर्वाद दिन्छु । येशू ख्रीष्टको नाममा, आमीन ।