धर्मशास्त्रहरू
सिद्धान्त र करार ७६


खण्ड ७६

अगमवक्ता जोसेफ स्मिथ र सिड्नी रिग्डनलाई हाइरम, ओहायोमा, फेब्रुअरी १६, १८३२ मा दिइएको एक दर्शन । यस दर्शनको अभिलेखको प्रस्तावनाका रूपमा, जोसेफ स्मिथको इतिहासले यस्तो भन्छ: “एम्हर्स्ट सम्मेलनबाट मेरो पुनरागमन पछि, मैले धर्मशास्त्रहरूको अनुवाद पुनः शुरू गरेँ । प्राप्त भएका बिभिन्न प्रकाशहरूबाट यो स्पष्ट थियो कि मानिसका मुक्तिका सम्बन्धमा धेरै महत्त्वपूर्ण भागहरू बाइबलको सङ्कलन गरिनु पूर्व यसबाट झिकिएका थिए अथवा हराएका थिए । बाँकी रहेका सत्यताहरूबाट यो स्पष्ट देखिन्थ्यो कि यदि परमेश्वरले सबैलाई शरीरमा आफूले गरेका कार्यअनुसार पुरस्कार दिनुहुने हो भने सन्तहरूका अनन्त घर भन्ने सन्दर्भमा ‘स्वर्ग’ भनिने शब्दमा एक भन्दा बढ़ी अधिराज्यहरू समावेश हुनु पर्छ । त्यहीअनुसार, … सन्त यूहन्नाको सुसमाचारको अनुवाद गर्दै गर्दा, मैले र एल्डर रिग्डनले यो दर्शन प्राप्त गर्‍यौँ ।” त्यस समयमा जब यो दर्शन दिइयो, अगमवक्ताले यूहन्ना ५:२९ को अनुवाद गर्दै थिए ।

१–४, परमप्रभु परमेश्वर हुनुहुन्छ; ५–१०, अधिराज्यका रहस्यहरू सबै आस्थावान्-हरूलाई प्रकट गरिने छ; ११–१७, न्यायी र पक्षपातीका पुनरुत्थानमा सबैजना अघि आउने छन्; १८–२४, धेरै संसारहरूका बासिन्दाहरू येशू ख्रीष्टको प्रायश्चित्तद्वारा परमेश्वरबाट जन्मिएका छोराहरू र छोरीहरू हुन्; २५–२९, परमेश्वरका एक स्वर्गदूत झरे र दानव बने; ३०–४९, विनाशका पुत्रहरूले अनन्त अभिशापको पीडा भोग्नेछन्; अन्य सबैले मुक्तिको कुनै स्तर प्राप्त गर्नेछन्; ५०–७०, सेलेस्टियल अधिराज्यमा उच्च पारिएका प्राणीहरूका महिमा र पुरस्कारका सम्बन्धमा वर्णन गरिएको छ; ७१–८०, तिनीहरू जसले टेरेस्ट्रियल अधिराज्य उत्तराधिकारका रूपमा प्राप्त गर्ने छन् उनीहरूको वर्णन गरिएको छ; ८१–११३, सेलेस्टियल, टेरेस्ट्रियल र टेलेस्टियल महिमाहरूमा रहेकाहरूका स्थिति वर्णन गरिन्छ; ११४–११९, आस्थावानहरूले पवित्र आत्माका शक्तिद्वारा परमेश्वरका अधिराज्यका रहस्यहरू देख्न र बुझ्न सक्ने छन् ।

सूचित होऊ, हे तिमी स्वर्गहरू र कान थाप र त्यहाँका बासिन्दाहरू तिमीहरू आनन्दित होओ किनकि परमप्रभु नै परमेश्वर हुनुहुन्छ र उहाँ बाहेक त्यहाँ अरू कुनै मुक्तिदाता हुनुहुन्न ।

उहाँको ज्ञान असीमित छ, उहाँका मार्गहरू विस्मयकारी छन् र उहाँले गर्नुभएका सबै कार्यहरू कसैले जान्न सक्दैन ।

उहाँका उद्देश्यहरू असफल हुँदैनन् न त त्यहाँ कोही छ जसले उहाँका हात थाम्न नै सक्छन् ।

अनन्तकालदेखि अनन्तकालसम्म उहाँ उस्तै हुनुहुन्छ र उहाँका वर्षहरूको अन्त्य कहिल्यै हुने छैन ।

किनकि परमप्रभु यसो भन्नुहुन्छ—जो मदेखि डराउँछ र मलाई धार्मिकता र सत्यतामा अन्त्यसम्म सेवा गर्नेहरूको सम्मान गर्न खुसी मान्छ, म, परमप्रभु तिनीहरूप्रति दयालु अनि कृपालु छु ।

तिनीहरूको पुरस्कार महान् अनि तिनीहरूको महिमा अनन्त हुने छ ।

अनि तिनीहरूलाई म सबै रहस्यहरू प्रकट गर्ने छु, हो, प्राचीनकालका र आउने समयका मेरा अधिराज्यका लुकेका सबै रहस्यहरू, मेरो चाहना भएको मेरो दयालु अभिप्राय मेरो अधिराज्यका सम्बन्धमा सबै विषयहरू म तिनीहरूलाई जानकारी दिने छु ।

हो, अनन्तकालका आश्चर्यहरू समेत तिनीहरूले थाहा पाउने छन् अनि आउने विषयहरू, धेरै समयावधिका विषयहरू समेत म तिनीहरूलाई देखाउने छु ।

अनि तिनीहरूको ज्ञान महान् हुने छ अनि तिनीहरूको बुझाइ स्वर्गमा पुग्ने छ; अनि तिनीहरूसामु बुद्धिमानीको बुद्धि नासिने छ अनि विवेकीको बुझाइ शून्य हुने छ ।

१० किनकि म मेरा आत्माद्वारा तिनीहरूलाई ज्ञान प्रदान गर्ने छु अनि मेरा शक्तिद्वारा म तिनीहरूलाई मेरा चाहनाका गोपनियता थाहा दिने छु—हो, ती विषयहरू समेत जुन आँखाले देखेका छैनन्, न त कानले सुनेका नै छन्, न त मानिसका हृदयमा अझसम्म प्रवेश नै भएका छन् ।

११ हामी जोसेफ स्मिथ जुनियर र सिड्नी रिग्डन फेब्रुअरीको सोह्र तारिखमा परमप्रभुको एक हजार आठ सय र बत्तीस वर्षमा जब हामी आत्माको प्रेरणामा थियौँ—

१२ आत्माका शक्तिद्वारा हाम्रा आँखाहरू खुले र हाम्रा बुझाइहरू परमेश्वरका विषयहरू हेर्न र बुझ्नका लागि प्रबुद्ध भए—

१३ ती विषयहरू समेत जुन यो संसार सुरू हुनुभन्दापूर्व प्रारम्भदेखि थिए, जुन पिताद्वारा नियुक्त गरिएका थिए, उहाँद्वारा जन्माइएका एकमात्र पुत्रद्वारा, जो प्रारम्भदेखि नै पिताका निकट हुनुहुन्थ्यो;

१४ जसको हामी गवाही दिन्छौँ; अनि हामीले दिने गवाही येशू ख्रीष्टको सुसमाचारको परिपूर्णता हो, जो पुत्र हुनुहुन्छ, जसलाई हामीले देख्यौँ र जससँग हामीले स्वर्गको दर्शनमा वार्तालाप गर्‍यौँ ।

१५ किनकि जब हामी अनुवादका कार्य गरिरहेका थियौँ, जुन परमप्रभुले हामीलाई नियुक्त गर्नुभएको थियो, हामी यूहन्नाको पाचौँ अध्यायको उनन्तीस पदमा आयौं जुन निम्नानुसार हामीलाई दिइएको थियो—

१६ मृतकहरूको पुनरुत्थानका सम्बन्धमा बोल्दै गर्दा, तिनीहरूका सम्बन्धमा जसले मानिसका पुत्रको वाणीलाई सुन्ने छन्:

१७ अनि बाहिर आउने छन्; तिनीहरू जसले सुकर्म गरेका छन्, न्यायीहरूका पुनरुत्थानमा; र तिनीहरू जसले कुकर्म गरेका छन्, अन्यायीहरूका पुनरुत्थानमा ।

१८ अब यसले हामीलाई आश्चर्यचकित तुल्यायो, किनकि यो हामीलाई आत्माद्वारा दिइएको थियो ।

१९ अनि जब हामीले यी विषयहरूका सम्बन्धमा चिन्तन गर्‍यौँ, परमप्रभुले हाम्रा समझका आँखाहरू छुनुभयो र तिनीहरू उघारिए र परमप्रभुका महिमा वरिपरि चम्क्यो ।

२० अनि हामीले पुत्रको महिमा देख्यौँ, पिताका दाहिने हाततर्फ र उहाँको परिपूर्णता प्राप्त गर्‍यौँ;

२१ अनि पवित्र स्वर्गदूतहरू देख्यौँ र तिनीहरू देख्यौँ जसलाई उहाँका सिंहासनसामु पवित्र पारिएको छ, परमेश्वरको आराधना गर्दै अनि थुमालाई, जसले उहाँलाई सदासर्वदा र सदाका लागि आराधना गर्नुहुन्छ ।

२२ अनि अब, उहाँका सम्बन्धमा दिइएका धेरै गवाहीहरू पछिको यो सबैभन्दा पछिल्लो, त्यो गवाही हो, जुन हामी उहाँका सम्बन्धमा दिन्छौँ: कि उहाँ जीवित हुनुहुन्छ!

२३ किनकि हामीले उहाँलाई देख्यौँ, वास्तवमा नै परमेश्वरका दाहिने हाततर्फ; अनि हामीले उहाँ नै पिताबाट जन्माइएका एकमात्र पुत्र हुनुहुन्छ भनेर गवाही दिँदै गरेको आवाजलाई सुन्यौँ—

२४ ताकि उहाँबाट अनि उहाँद्वारा र उहाँको संसारहरूको सृष्टि गरिन्छ र गरिएको थियो अनि त्यहाँका बासिन्दाहरू परमेश्वरमा जन्मिएका छोराहरू र छोरीहरू हुन् ।

२५ अनि यो हामीले पनि देख्यौँ र गवाही दियौँ कि परमेश्वरका एक स्वर्गदूत जो परमेश्वरको उपस्थितिमा जिम्मेवार थिए, जसले पिताले प्रेम गर्नुभएका र पिताको निकट हुनुभएका, जन्माइएका एकमात्र पुत्रका विरुद्धमा विद्रोह गर्‍यो, ती स्वर्गदूतलाई परमेश्वर र उहाँका पुत्रका उपस्थितिबाट तल फ्याँकियो,

२६ अनि उसलाई विनाश भनियो किनकि उनका लागि स्वर्गहरू रोए—उनी बिहानका तारा, प्रभातका एक पुत्र थिए ।

२७ अनि हामीले देख्यौँ, अनि अवलोकन गर्‍यौँ; उसको पतन भयो! पतन भयो! प्रभातका एक पुत्र समेत!

२८ अनि हामी आत्माको प्रेरणामा रहँदा परमप्रभुले हामीलाई आज्ञा गर्नुभयो कि हामीले यस दर्शनलाई लेख्नु पर्छ; किनकि हामीले सैतानलाई देख्यौँ, त्यो पुरानो सर्प, त्यो दानव समेत जसले परमेश्वरको विद्रोह गर्‍यो र हाम्रा परमेश्वर अनि उहाँका ख्रीष्टको अधिराज्यलाई लिन खोज्यो—

२९ यसकारण, उसले परमेश्वरका सन्तहरूका साथ युद्ध गर्छ र तिनीहरूलाई वरिपरि घेर्छ ।

३० अनि हामीले तिनीहरूका पीडाहरूका एक दर्शन देख्यौँ जससँग उसले युद्ध गर्‍यो र हरायो, किनकि यसरी परमप्रभुको वाणी हामीकहाँ आयो:

३१ परमप्रभु यसो भन्नुहुन्छ ती सबैका सम्बन्धमा जसलाई मेरो शक्ति थाहा छ र यसका सहभागी बनाइएका छन् र दानवका शक्तिद्वारा तिनीहरू स्वयंलाई पराजित गर्न अनि सत्यतालाई अस्वीकार गर्न र मेरो शक्तिको अवहेलना गर्न अनुमति दिएका छन्—

३२ तिनीहरू ती हुन् जो विनाशका पुत्रहरू हुन्, जसका सम्बन्धमा म भन्छु कि तिनीहरू कहिल्यै पनि नजन्मेका भए तिनीहरूका लागि राम्रो हुने थियो;

३३ किनकि तिनीहरू क्रोधका पात्रहरू हुन्, ती दानव र उसका दूतहरूका साथ अनन्तकालमा परमेश्वरको क्रोध भोग्न दुर्भाग्यपूर्ण निन्दामा परेका छन्;

३४ जसका सम्बन्धमा मैले भनेको छु यस संसारमा न त आउने संसारमा नै कुनै क्षमापन छ—

३५ पवित्र आत्मालाई प्राप्त गरेपछि यसलाई अस्वीकार गरेर अनि पिताबाट जन्माइएका एकमात्र पुत्रलाई अस्वीकार गरेर, आफ्ना मन-मष्तिस्कमा उहाँलाई क्रूशमा टाँगेर अनि सार्वजनिक रूपमा उपहास गरेर ।

३६ यी तिनीहरू हुन् जो आगो र गन्धकको कुण्डमा जाने छन्, दानव र उसका दूतहरूका साथमा—

३७ अनि यी तिनीहरू नै हुन् जसलाई दोश्रो मृत्युको कुनै असर पर्ने छ;

३८ हो, साच्चैँ नै, यी तिनीहरू नै हुन् जसलाई परमप्रभुको क्रोधको पीडाहरूपछि उहाँको निर्धारित समयमा उद्धार गरिने छैन ।

३९ किनकि बाँकी सबैलाई मृतकहरूका पुनरुत्थानले बाहिर ल्याउने छ, थुमाका विजय र महिमाद्वारा, जसलाई मारिएको थियो, जो यो संसारहरूको सृष्टि हुनुपूर्व पिताको हृदयमा हुनुहुन्थ्यो ।

४० अनि यो सुसमाचार हो, खुशीको सन्देश, जुन स्वर्गहरूबाट आएको वाणीले हामीलाई गवाही व्यक्त गर्‍यो—

४१ कि उहाँ यस संसारमा आउनुभयो, अर्थात् येशू, संसारका लागि क्रूशमा टाँगिन र संसारका पापहरू हरण गर्न र संसारलाई पवित्र पार्न र सबै अधार्मिकताबाट यसलाई शुद्ध गर्न;

४२ ताकि उहाँद्वारा सबैले मुक्ति प्राप्त गर्न सकून् जसलाई पिताले आफ्नो शक्तिमा राख्नुभएको थियो र उहाँद्वारा बनाउनु भएको थियो;

४३ जसले पितालाई महिमित तुल्याउनु हुन्छ र उहाँका हातका सबै कार्यहरूको मुक्ति गर्नु हुन्छ, केवल ती विनाशका पुत्रहरूबाहेक जसले पिताले उसको रहस्य खोलिदिनुभए पछि पुत्रलाई अस्वीकार गर्छ ।

४४ यसकारण, तिनीहरू बाहेक उहाँले सबैलाई मुक्ति दिनुहुन्छ—तिनीहरू अनन्त सजायमा जाने छन्, जुन अन्तहीन सजाय हो, जुन अनन्त सजाय हो, अनन्तकालसम्म दानव र उसका दूतहरूसँग राज्य गर्न, जहाँ तिनीहरूका कीरा मर्दैनन् र आगो निभ्दैन, जुन तिनीहरूको यातना हो—

४५ अनि यसको अन्त्य, न त यसको स्थान, न त तिनीहरूका यातना, कुनै मानिसलाई नै थाहा छ;

४६ न त यो प्रकट गरिएको थियो, न त गरिएको छ, न त मानिसलाई प्रकट गरिने नै छ, केवल तिनीहरूलाई जसलाई यसमा सहभागी गराइएको छ;

४७ यद्यपि, म, परमप्रभुले यो धेरैलाई दर्शनमा देखाउँछु परन्तु तत्कालै पुनः बन्द गर्छु;

४८ यसकारण, यसको अन्त्य, उचाइ, गहिराइ र दुःख, तिनीहरूले बुझ्दैनन्, न त कुनै मानिसले नै केवल तिनीहरूले जसलाई यो तिरस्कारमा नियुक्त गरिएको छ ।

४९ अनि हामीले त्यो आवाज सुन्यौँ, यसो भन्दै: त्यो दर्शनलाई लेख, किनकि अवलोकन गर, यही नै धर्मभ्रष्टहरूका पीडाहरूको दर्शनको अन्त्य हो ।

५० अनि पुनः हामी गवाही दिन्छौँ—किनकि हामीले देख्यौँ र सुन्यौँ अनि तिनीहरूका सम्बन्धमा ख्रीष्टको सुसमाचारको गवाही यही हो जो न्यायीहरूका पुनरुत्थानमा अघि आउने छन्—

५१ तिनीहरू तिनै हुन् जसले येशूको गवाही प्राप्त गरे र उहाँका नाममा विश्वास गरे र उहाँलाई दफन गरिएको तरिका जस्तैगरी बप्तिस्मा लिए, पानीमा उहाँको नाममा दफन हुँदै र यो उहाँले दिनुभएको आज्ञाअनुसार—

५२ ताकि आज्ञाहरूको पालना गरेर तिनीहरूलाई आफ्ना सबै पापहरूबाट धोएर सफा गर्न सकियोस् र तिनीबाट हातहरू राखेर पवित्र आत्मा प्राप्त गर्न सकियोस् जसलाई यो शक्तिमा नियुक्त गरिएको र बाँधिएको छ;

५३ अनि जो आस्थाद्वारा सबै कठिनाइलाई परास्त गर्छ र प्रतिज्ञा गरिएको पवित्र आत्माद्वारा बाँधिन्छ जुन पिताले ती सबैमा पठाउनु हुन्छ जो न्यायोचित र सत्य छन् ।

५४ तिनीहरू तिनै हुन् जो पहिले जन्मेकाको चर्च हुन् ।

५५ तिनीहरू तिनै हुन् जसका हातमा पिताले सम्पूर्ण सन्दर्भहरू प्रदान गर्नु भएको छ—

५६ तिनीहरू तिनै हुन् जो पादरीहरू र राजाहरू हुन्, जसले उहाँको परिपूर्णता र उहाँको महिमा प्राप्त गरेका छन्;

५७ अनि सर्वोच्चका पादरीहरू हुन्, मल्कीसेदेकको रीतमा, जुन हनोकको रीतमा थियो, जुन जन्माइएका एकमात्र पुत्रको रीतमा थियो ।

५८ यसकारण, यहाँ लेखिएजस्तै तिनीहरू परमेश्वरहरू हुन्, अर्थात् परमेश्वरका पुत्रहरू—

५९ यसकारण, सबै विषयहरू तिनीहरूकै हुन्, चाहे जीवन या मृत्यु अथवा अहिलेका विषयहरू वा आउने विषयहरू, सबै तिनीहरूकै हुन् अनि तिनीहरू ख्रीष्टका हुन् र ख्रीष्ट परमेश्वरका हुनुहुन्छ ।

६० अनि तिनीहरूले सबै विषयहरूलाई परास्त गर्ने छन् ।

६१ यसकारण, कुनै पनि मानिसले मानिसलाई महिमा दिनु हुँदैन तर बरू उसले परमेश्वरलाई महिमा दिनु पर्छ जसले सारा शत्रुहरूलाई आफ्ना पाउमुनि राख्नुहुने छ ।

६२ यिनीहरू सदासर्वदा र सदाका लागि परमेश्वर र ख्रीष्टको उपस्थितिमा बस्ने छन् ।

६३ यिनीहरू तिनै हुन् जसलाई उहाँले आफूसँगै ल्याउनु हुने छ जब उहाँ स्वर्गका बादलहरूमा आफ्ना मानिसहरूमाथि शासन गर्न पृथ्वीमा आउनु हुने छ ।

६४ यिनीहरू तिनै हुन् जसको पहिलो पुनरुत्थानमा सहभागिता हुने छ ।

६५ यिनीहरू तिनै हुन् जो न्यायीहरूको पुनरुत्थानमा अघि आउने छन् ।

६६ यिनीहरू तिनै हुन् जो सियोन पर्वतमा र जीवित परमेश्वरका शहरमा, सबैभन्दा पवित्र त्यो स्वर्गीय स्थानमा आएका छन् ।

६७ यिनीहरू तिनै हुन् जो स्वर्गदूतहरूका अनगिन्ती समूहमा आएका छन्, साधारण सभामा अनि हनोकको चर्च अनि पहिला जन्मेकाको चर्चमा आएका छन् ।

६८ यिनीहरू तिनै हुन् जसका नामहरू स्वर्गमा लेखिएका छन्, जहाँ परमेश्वर र ख्रीष्ट सबैका न्यायकर्ता हुनुहुन्छ ।

६९ यिनीहरू तिनै हुन् जो नयाँ करारका मध्यस्थकर्ता येशूद्वारा परिपूर्ण बनाइएका न्यायोचित मानिसहरू हुन्, उहाँ जसले आफ्नो रगत बगाएर यो परिपूर्ण प्रायश्चित पूरा गर्नुभयो ।

७० यिनीहरू तिनै हुन् जसका शरीर सेलेस्टियल छन्, जसको महिमा सूर्यको जस्तै छ, वास्तवमै परमेश्वरको महिमा, सबैभन्दा उच्च, जसको महिमा आकाशको सूर्य समान भएको भनेर लेखिएको छ ।

७१ अनि पुनः, हामीले टेरेस्ट्रियल राज्यलाई देख्यौँ, अनि हेर र अवलोकन गर, यिनीहरू तिनै हुन् जो टेरेस्ट्रियलका हुन्, जसका महिमा पहिले जन्मेकाको चर्चको महिमा भन्दा फरक छ जसले पिताका परिपूर्णता प्राप्त गरेका छन्, आकाशमा चन्द्रमा र सूर्यमा समेत फरक भए जस्तै ।

७२ हेर, यिनीहरू तिनै हुन् जसको नियम बिना मृत्यु भएको थियो;

७३ अनि तिनीहरू पनि जो कारागारमा राखिएका मानिसहरूका आत्माहरू हुन्, जसलाई पुत्रले भेट गर्नुभयो र तिनीहरूलाई सुसमाचारको प्रवचन दिनुभयो ताकि तिनीहरूलाई शरीरमा भएका मानिसहरूअनुसार न्याय गरिन सक्ने छ;

७४ जसले येशूका गवाही शरीरमा छँदा प्राप्त गरेनन् तर यसलाई पछि प्राप्त गरे ।

७५ यिनीहरू तिनै हुन् जो पृथ्वीका सम्माननीय व्यक्तिहरू हुन् जो मानिसहरूका कपटद्वारा अन्धा बनाइएका थिए ।

७६ यिनीहरू तिनै हुन् जसले उहाँका महिमा प्राप्त गर्छन् तर उहाँको परिपूर्णता होइन ।

७७ यिनीहरू तिनै हुन् जसले पुत्रका उपस्थितिलाई प्राप्त गर्ने छन् तर पिताको परिपूर्णतालाई होइन ।

७८ यसकारण, तिनीहरू टेरेस्ट्रियल शरीरहरू हुन् अनि सेलेस्टियल शरीरहरू होइनन् अनि चन्द्रमा र सूर्यमा फरक भए जस्तै महिमामा फरक छन् ।

७९ यिनीहरू तिनै हुन् जो येशूका गवाहीमा दृढ छैनन्; यसकारण, तिनीहरूले हाम्रा परमेश्वरका अधिराज्यमा मुकुट प्राप्त गर्दैनन् ।

८० अनि अब यो हामीले देखेको टेरेस्ट्रियलको दर्शनको अन्त्य हो जुन परमप्रभुले हामी आत्मामा हुँदा हामीलाई लेख्न आज्ञा दिनुभयो ।

८१ अनि पुनः हामीले टेलेस्टियलको महिमालाई देख्यौँ जुन महिमा कम छ, आकाशमा ताराहरूको महिमा र चन्द्रमाको महिमामा फरक भए जस्तै ।

८२ यिनीहरू तिनै हुन् जसले येशू ख्रीष्टका सुसमाचारलाई ग्रहण गरेनन् न त येशूका गवाहीलाई नै ।

८३ यिनीहरू तिनै हुन् जसले पवित्र आत्मालाई अस्वीकार गर्दैनन् ।

८४ यिनीहरू तिनै हुन् जो नरकमा फ्याँकिन्छन् ।

८५ यिनीहरू तिनै हुन् जो दानवद्वारा अन्तिम पुनरुत्थानसम्म पनि उद्धार गरिने छैनन्, त्यतिबेलासम्म परमप्रभु ख्रीष्ट ती थुमाले समेत आफ्नो कार्य पूरा गरिसक्नुभएको हुने छ ।

८६ यिनीहरू तिनै हुन् जसले अनन्त संसारमा उहाँका परिपूर्णतालाई ग्रहण गर्दैनन् तर टेरेस्ट्रियलमा हुने सेवाद्वारा पवित्र आत्मा ग्रहण गर्छन्;

८७ अनि सेलेस्टियलको सेवाद्वारा टेरेस्ट्रियलले ।

८८ अनि टेलेस्टियलले स्वर्गदूतहरूको सेवाद्वारा यो प्राप्त गर्ने छ जसलाई तिनीहरूको सेवा गर्न नियुक्त गरिएको छ अथवा जसलाई तिनीहरूका लागि सेवा गर्ने आत्माहरू नियुक्त गरिएका छन्; किनकि तिनीहरू मुक्तिका उत्तराधिकारीहरू हुने छन् ।

८९ अनि यसरी हामीले देख्यौँ, स्वर्गका दर्शनमा, टेलेस्टियलको महिमा, जुन मानवीय समझभन्दा बाहिर छ;

९० अनि कुनैपनि मानिसलाई जानकारी छैन केवल उसलाई जसलाई परमेश्वरले प्रकट गर्नुभएको छ ।

९१ अनि यसरी हामीले टेरेस्ट्रियलको महिमालाई देख्यौँ जुन टेलेस्टियलको महिमाभन्दा सबै सन्दर्भमा उत्कृष्ट छ, महिमामा र शक्तिमा र सामर्थ्यमा अनि आधिपत्यमा समेत ।

९२ अनि यसरी हामीले सेलेस्टियलको महिमा देख्यौँ जुन सबै सन्दर्भमा उत्कृष्ट छ—जहाँ परमेश्वर, पिता समेत आफ्नो राजगद्दीमा सदासर्वदा र सदाका लागि राज्य गर्नुहुन्छ;

९३ जसको राजगद्दी अगाडि सबै प्राणीहरू विनम्र सम्मानमा झुक्छन् अनि उहाँलाई सदासर्वदा र सदाका लागि महिमा दिन्छन् ।

९४ तिनीहरू जो उहाँको उपस्थितिमा बस्छन् पहिला जन्मेकाको चर्च हुन्; अनि तिनीहरूले हेर्छन् जसरी तिनीहरूलाई हेरिन्छ अनि बुझ्छन् जसरी तिनीहरूलाई बुझिन्छ, उहाँको परिपूर्णता र उहाँको कृपा प्राप्त गरेर;

९५ अनि उहाँले तिनीहरूलाई शक्ति अनि सामर्थ्य अनि आधिपत्यमा समान बनाउनु हुन्छ ।

९६ अनि सेलेस्टियलको महिमा एउटैमात्र छ जसरी सूर्यको महिमा एउटैमात्र छ ।

९७ अनि टेरेस्ट्रियलको महिमा एउटैमात्र छ जसरी चन्द्रमाको महिमा एउटैमात्र छ ।

९८ अनि टेलेस्टियलको महिमा एउटैमात्र छ जसरी ताराहरूको महिमा एउटैमात्र छ; किनकि जसरी एउटा तारा अर्को ताराभन्दा महिमामा भिन्दै छ, त्यसैगरी टेलेस्टियल राज्यमा एक ताराबाट अर्को तारा महिमामा भिन्दै हुन्छ;

९९ किनकि यिनीहरू तिनै हुन् जो पावलका हुन् अनि अपोल्लोसका हुन् अनि केफासका हुन् ।

१०० यिनीहरू तिनै हुन् जसमा कसैले भन्छन् तिनीहरू एकका हुन् र कसैले भन्छन् तिनीहरू अर्कैका हुन्—कोही ख्रीष्टका अनि कोही यूहन्नाका, अनि कोही मोशाका अनि कोही एलियासका अनि कोही इशैयाका अनि कोही यशैयाका अनि कोही हनोकका;

१०१ परन्तु सुसमाचार प्राप्त गरेनन्, न त येशूको गवाही नै प्राप्त गरे, न त अगमवक्ताहरूलाई नै, न त अनन्त करार नै ।

१०२ अन्ततः यिनीहरू तिनै हुन् जो सन्तहरूका साथ एकत्रित हुने छैनन्, पहिला जन्मेकाको चर्चमा लैजान अनि बादलमा प्रवेश गराउन ।

१०३ यिनीहरू तिनै हुन् जो झुटा छन् अनि जादुगर हुन् अनि व्यभिचारीहरू हुन् अनि वेश्याहरू हुन् अनि जसले झूट मन पराउँछन् र झूट बोल्छन् ।

१०४ यिनीहरू तिनै हुन् जो पृथ्वीमा परमेश्वरको क्रोधले पीडित हुन्छन् ।

१०५ यिनीहरू तिनै हुन् जो अनन्त आगोको प्रतिहिंसामा पीडित हुन्छन् ।

१०६ यिनीहरू तिनै हुन् जसलाई नरकमा फ्याँकिने छ र सर्वशक्तिमान् परमेश्वरको क्रोधले पीडित पारिने छ, समयको परिपूर्णता नभएसम्म जब ख्रीष्टले सबै शत्रुहरूलाई आफ्ना पाउमुनि वशमा राख्नुहुने छ र आफ्नो कार्य परिपूर्ण गर्नुहुने छ;

१०७ जब उहाँले अधिराज्यलाई मुक्त गर्नुहुने छ र पितासामु प्रस्तुत गर्नुहुने छ, निस्कलङ्क, यसो भन्दै: मैले परास्त गरेको छु र एक्लै दाख-कुण्ड पेलेको छु, अर्थात् सर्वशक्तिमान् परमेश्वरको क्रोधको उग्रताको दाख-कुण्ड ।

१०८ त्यसपछि सदासर्वदा र सदाका लागि राज्य गर्न आफ्नो शक्तिको राजगद्दीमा बस्न उहाँलाई उहाँको महिमाको मुकुटले मुकुट पहिरयाइने छ ।

१०९ परन्तु हेर, अनि अवलोकन गर, हामीले टेलेस्टियल संसारको महिमा र बासिन्दाहरूलाई देख्यौँ कि तिनीहरू स्वर्गको आकाशमा ताराहरू जस्तै असङ्ख्य थिए अथवा समुद्री तटका बालुवाजस्तै थिए;

११० अनि परमप्रभुको वाणी सुन्यौँ यसो भन्दै: यिनीहरू सबैले घुँडा टेक्ने छन् र हरेक जिब्रोले ख्रीष्ट परमप्रभु हुनुहुन्छ भनेर स्वीकार गर्ने छन् जो राजगद्दीमा सदासर्वदा र सदाका लागि बस्नुहुन्छ;

१११ किनकि तिनीहरूलाई तिनीहरूका कार्यहरूअनुसार फैसला गरिने छ अनि हरेक मानिसले उसको आफ्ना कार्यहरूअनुसार प्राप्त गर्ने छ, उसको आफ्नो आधिपत्य, ती महलहरू जुन तयार पारिएका छन्;

११२ अनि तिनीहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुने छन्; परन्तु जहाँ परमेश्वर र ख्रीष्ट बस्नुहुन्छ, त्यहाँ तिनीहरू आउन सक्दैनन्, सदासर्वदाका लागि ।

११३ यो हामीले देखेका दर्शनको अन्त्य हो जुन हामीलाई आत्मामा रहँदा लेख्न आज्ञा दिइएको थियो ।

११४ परन्तु परमप्रभुका कार्यहरू महान् र अद्भूत छन् र उहाँका अधिराज्यका रहस्यहरू जुन उहाँले हामीलाई देखाउनुभयो जुन महिमामा, सामर्थ्यमा र आधिपत्यमा समझभन्दा बाहिर छन्;

११५ जुन उहाँले हामीलाई आज्ञा गर्नुभयो हामीले आत्मामा रहँदा लेख्नु हुँदैन र यो मानिसले बोल्नका लागि उचित छैन;

११६ न त मानिस तिनीहरूलाई प्रकट गर्न सक्षम छ किनकि तिनीहरू पवित्र आत्माको शक्तिद्वारा मात्रै हेर्न र बुझ्नका लागि हुन् जुन परमेश्वरले तिनीहरूमाथि प्रदान गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्छन् र उहाँसामु आफूलाई शुद्ध पार्छन्;

११७ जसलाई उहाँले तिनीहरूलाई हेर्ने र जान्ने यो सुअवसर प्रदान गर्नुहुन्छ;

११८ ताकि आत्माको शक्ति र प्रकटद्वारा, शरीरमा छँदा तिनीहरूले महिमाको संसारमा उहाँको उपस्थितिलाई सहन सक्ने छन् ।

११९ अनि परमेश्वरलाई अनि थुमालाई सदासर्वदा र सदाका लागि महिमा, अनि सम्मान अनि आधिपत्य छ । आमीन ।