धर्मशास्त्रहरू
१ नफी १७


अध्याय १७

नफीलाई पानीजहाज बनाउने आज्ञा दिइन्छ-उनका दाजुहरूले उनको विरोध गर्छन्-परमेश्वरको इस्राएलसँगको व्यवहारको इतिहासको विवरणद्वारा उनी तिनिहरूलाई प्रोत्साहित गर्छन्-नफी परमेश्वरको शक्तिले भरिन्छन्—उनका दाजुहरूलाई उनलाई छुनबाट निषेधित गरिन्छ, अन्यथा उनीहरू सुकेको निगालो झैँ ओइलाउनेछ्न्। लगभग इ.पू. ५९२–५९१।

अनि यस्तो हुन गयो कि हामीले उजाड-स्थानमा पुन: यात्रा गऱ्यौँ; र त्यस समय पश्चात् हामीले करिब पूर्वतर्फ यात्रा गऱ्यौँ। अनि उजाड-स्थानमा हामीले यात्रा गऱ्यौँ र धेरै कष्टबाट गुज्रियौँ; र हाम्रा आइमाईहरूले उजाड-स्थानमा छोराछोरीहरू जन्माए।

अनि हामी माथि परमप्रभुका आशीषहरू यति महान् थिए, कि उजाड-स्थानमा हामीले काँचो मासुमाथि जीवन धाने तापनि हाम्रा आइमाईहरूले तिनका छोराछोरीहरूका लागि प्रशस्तै स्तनपान गराए र हो, लोग्नेमान्छेहरू जस्तै दह्रिलासमेत थिए; र गनगन नगरी उनीहरू आफ्ना यात्राहरू गर्न थाले।

अनि यसरी हामी देख्छौँ कि परमेश्वरका आज्ञाहरू पालना गरिनु पर्दछ। अनि यस्तो भए कि मानिसका छोराछोरीहरूले परमेश्वरका आज्ञाहरू पालना गरे उहाँले उनीहरूलाई पालनपोषण गर्नुहुन्छ, मजबूत बनाउनुहुन्छ र साधनहरू उपलब्ध गराउनुहुन्छ जसबाट उहाँले उनीहरूलाई आज्ञा दिनुभएको कुरा उनीहरूले सम्पन्न गर्न सक्छन्; यसकारण, हामीले उजाड-स्थानमा बसोबास गर्दा उहाँले हाम्रा लागि साधनहरू उपलब्ध गराउनुभयो।

अनि हामीले धेरै वर्षहरूको अन्तरालसम्म, हो, आठ वर्षसम्म उजाड-स्थानमा बसोबास गऱ्यौँ।

अनि यसका धेरै फलफूल र जङ्गली महको कारणले हामीले बाउन्टिफूल भनेको भूमिमा हामी आयौँ; अनि यी सब कुराहरू हाम्रो विनाश नहोस् भनेर परमप्रभुद्वारा तयार गरिएका थिए। अनि हामीले समुद्र देख्यौँ, जसको नाम हामीले इरेयान्तुम राख्यौँ, जुन भाषान्तरण गर्दा अथाह पानी भन्ने हुन्छ।

अनि यस्तो हुन गयो कि हामीले समुद्रीतट छेउ आफ्ना पालहरू गाड्यौँ; अनि हामीले धेरै कष्टहरू र धेरै अप्ठ्यारा, हो, यतिसम्म कि हामी ती सबलाई लेख्न सक्दैनौँ, ती सबै भोगेको भए तापनि हामी अत्यन्तै खुशी भयौँ जब हामी समुद्रीतटमा आइपुग्यौँ; अनि यसका धेरै फलफूलका कारणले हामीले यसलाई बाउन्टिफूल भन्यौँ।

अनि यस्तो हुन गयो कि म, नफी, धेरै दिनको अन्तरालसम्म बाउन्टिफूलको भूमिमा रहिसकेपछि, यसो भन्दै परमप्रभुको आवाज मकहाँ आयो: उठ र आफैलाई पर्वततिर लैजाऊ। अनि यस्तो हुन गयो कि म उठेँ र माथि पर्वततिर गएँ र परमप्रभुसम्म आवाज उठाएँ।

अनि यस्तो हुन गयो कि परमप्रभुले यसो भन्दै मसँग बोल्नुभयो: मैले तिमीलाई देखाएको तरिकामा तिमीले एउटा पानीजहाजको निर्माण गर्नेछौ, ताकि मैले तिम्रा जनलाई यी पानी पारि लैजान सकूँ।

अनि मैले भनेँ: परमप्रभु, म कहाँ जाऔँ ताकि पगाल्नलाई कच्चा धातु भेट्टाउन सकूँ, ताकि तपाईँले मलाई देखाउनु भएको तरिकामा पानीजहाज निर्माण गर्नलाई म औजारहरू बनाउन सकूँ?

१० अनि यस्तो हुन गयो कि कच्चा धातु भेट्टाउन मैले कहाँ जानु पर्दछ भनी परमप्रभुले मलाई बताउनुभयो, ताकि मैले औजारहरू बनाउन सकूँ।

११ अनि यस्तो हुन गयो कि म, नफीले आगो फुक्नलाई जन्तुहरूका छालाको एउटा खलाँती बनाएँ; अनि आगो फुक्नलाई खलाँती बनाइसकेपछि आगो बाल्नलाई मैले दुईवटा ढुङ्गाहरूलाई एकसाथ ठोक्काएँ।

१२ किनकि हामीले उजाड-स्थानमा यात्रा गर्दा हामीले धेरै आगो बालौँ भन्ने परमप्रभुले त्यस बेलासम्म चाहनु भएको थिएन; किनकि उहाँले भन्नुभयो: मैले तिम्रो भोजनलाई मीठो बनाउँनेछु, ताकि तिमीले यसलाई पकाउन नपरोस्।

१३ अनि उजाड-स्थानमा म तिम्रो प्रकाश पनि हुनेछु; म तिम्रा अगाडि बाटो तयार गर्नेछु, अनि यसो भयो भने कि तिमीले मेरा आज्ञाहरू पालना गर्नेछौ; यसकारण, जति जति तिमी मेरा आज्ञाहरू पालना गर्दछौ त्यति नै तिमीलाई प्रतिज्ञाको भूमितर्फ अगुवाइ गरेर लगिनेछौ; अनि मद्वारा तिमी अगुवाइ गरिएकाछौ भनी तिमीले थाहा पाउनेछौ।

१४ हो, अनि परमप्रभुले यसो पनि भन्नुभयो कि: प्रतिज्ञाको भूमिमा आइसकेपछि तिमीले थाहा पाउने छौ कि म, परमप्रभु नै परमेश्वर हुँ; अनि म, परमप्रभुले तिमीलाई विनाशबाट बचाएँ; हो, कि मैले तिमीलाई यरुशलेम को भूमिबाट बाहिर ल्याएँ।

१५ यसकारण, म, नफीले परमप्रभुका आज्ञाहरू पालना गर्न प्रयत्न गरेँ र मेरा बन्धुहरूलाई आस्थापूर्णता र लगनशिलताका लागि प्रोत्साहित गरेँ।

१६ अनि यस्तो हुन गयो कि मैले चट्टानबाट पगालेको कच्चा धातुबाट औजारहरू बनाएँ।

१७ अनि मैले पानीजहाज बनाउन लागेको जब मेरा बन्धुहरूले देखे; उनीहरू यसो भन्दै मेराविरुद्ध गनगनाउन थाले: हाम्रो भाइ मूर्ख हो, किनकि ऊ सोंच्दछ कि ऊ पानीजहाज बनाउन सक्दछ; हो, अनि ऊ यो पनि सोंच्दछ कि ऊ यी अथाह पानी पार गर्न सक्दछ।

१८ अनि यसरी मेरा बन्धुहरूले मेरा विरुद्ध गुनासो गरे र उनीहरूले परिश्रम गर्न नपरोस् भन्ने इच्छा गरे, किनकि मैले पानीजहाज बनाउन सक्छु भन्ने उनीहरूले विश्वास गरेनन्; न त परमप्रभुले मलाई निर्देशित गर्नु भएको थियो भन्ने नै उनीहरूले विश्वास गरे।

१९ अनि अब यस्तो हुन गयो कि म, नफी उनीहरूका हृदयका कठोरताका कारणले अत्यन्तै दुखित भएँ; र अब म दुखित हुन थालेको जब उनीहरूले देखे उनीहरू आफ्ना हृदयहरूमा खुशी भए, यतिसम्म कि उनीहरूले यसो भन्दै मदेखि खुशी भए: तैँले पानीजहाज बनाउन सक्दैनस् भन्ने हामीलाई थाहा थियो, किनकि तेरो विवेकमा कमी थियो भन्ने हामीलाई थाहा थियो; यसकारण, यति ठूलो काम तैँले सम्पन्न गर्न सक्दैनस्।

२० अनि तँ पनि आफ्नो हृदयको मूर्ख कल्पनाहरूद्वारा अगुवाइ हुने हाम्रा पिता जस्तै छस्; हो, उनले हामीलाई यरुशलेमको भूमिबाट अगुवाइ गरेर ल्याए, अनि यी धेरै वर्षहरूसम्म हामी उजाड-स्थानमा भौँतारिएका छौँ; अनि हाम्रा आइमाईहरूले गर्भवती हुँदा दु:खकष्ट गरेका छन्; र उनीहरूले उजाड-स्थानमा बच्चा जन्माएका छन् र मृत्युबाहेक सबै कुराहरू सहेका छन्; र यी कष्टहरू सहनु भन्दा त यरुशलेमबाट बाहिर आउनुअगाडि नै उनीहरू मरेको भए राम्रो हुने थियो।

२१ हेर, यति धेरै वर्षहरू हामीले उजाड-स्थानमा सह्यौँ, जुन समय हामीले आफ्ना सम्पतिहरू र हाम्रो रिक्थको भूमिमा रमाइलो गर्न सक्ने थियौँ; हो, हामी खुशी हुन सक्ने थियौँ।

२२ अनि हामीलाई थाहा छ कि यरुशलेमको भूमिमा रहेका मानिसहरू धर्मी जन थिए; किनकि उनीहरू मोशाको व्यवस्थाअनुसार परमप्रभुका कानुनहरू र न्यायहरू र उहाँका सबै आज्ञाहरू पालना गर्दथे; यसकारण, हामीलाई थाहा छ कि उनीहरू धर्मी जन हुन्, अनि हाम्रा पिताले उनीहरूलाई न्याय गर्नुभयो, अनि हामीलाई टाढा अगुवाइ गरेर लैजानुभयो किनकि हामीले उहाँका वचनहरू सुन्यौँ; हो र हाम्रो भाइ उनी जस्तै छ। अनि यस्तो किसिमका वचनमा मेरा बन्धुहरूले हामीविरुद्ध गनगन र गुनासो गरे।

२३ अनि यस्तो हुन गयो कि म, नफीले यस्तो भन्दै उनीहरूसँग बोलेँ: के तिमीहरू विश्वास गर्दछौ कि हाम्रा पितापुर्खाहरु, जो इस्राएलका छोराछोरीहरू थिए, मिश्रीहरूको हातहरूबाट टाढा अगुवाइ गरेर लगिने थिए यदि उनीहरूले परमप्रभुका वचनहरूलाई नसुनेको भए?

२४ हो, के तिमीहरू ठान्दछौ कि यदि परमप्रभुले मोशालाई तिनीहरूलाई दासत्वबाट बाहिर अगुवाइ गरेर लैजानु पर्छ भन्ने आज्ञा नदिएको भए उनीहरूलाई दासत्वबाट बाहिर अगुवाइ गरेर लगिने थियो?

२५ अब तिमीहरूलाई थाहा छ कि इस्राएलका छोराछोरीहरू दासत्वमा थिए, अनि तिमीहरूलाई थाहा छ कि उनीहरू कामले लादिएका थिए, जुन सहनलाई कष्टकर थियो; यसकारण, तिमीहरूलाई थाहा छ कि दासत्वबाट मुक्त गरिनु उनीहरूका लागि राम्रो कुरा हुनुपर्दछ।

२६ अब तिमीहरूलाई थाहा छ कि त्यो महान् कार्य गर्न मोशालाई परमप्रभुद्वारा आज्ञा दिइएको थियो; अनि तिमीहरूलाई थाहा छ कि उनको वचनद्वारा लाल सागरका पानी यत्रतत्र छुट्टिएका थिए र उनीहरू ओभानो जमिनमाथि भएर गुज्रे।

२७ तर तिमीहरूलाई थाहा छ कि मिश्रीहरू लाल सागरमा डुबे, जो फारोका सेनाहरू थिए।

२८ अनि तिमीहरूलाई यो पनि थाहा छ कि उजाड-स्थानमा उनीहरूलाई मन्न खुवाइयो।

२९ हो, अनि तिमीहरूलाई यो पनि थाहा छ कि उनमा रहेको परमेश्वरको शक्तिअनुसार उनको वचनद्वारा मोशाले चट्टानमा हाने र त्यहाँबाट पानी बाहिर आयो, ताकि इस्राएलका छोराछोरीहरूले आफ्नो तिर्खा मेटाउन सकून्।

३० अनि परमप्रभु तिनका परमेश्वर, तिनीहरूका उद्धारकर्ता तिनीहरूको अगाडि गई दिनमा तिनीहरूको अगुवाइ गर्दै र रातमा उनीहरूलाई प्रकाश दिँदै र मानिसले प्राप्त गर्न जरुरी सबै कुराहरू उनीहरूलाई दिँदै उनीहरूको अगुवाइ गरिएको हुदाहुँदै पनि उनीहरूले आफ्ना हृदयहरू कठोर तुल्याए र मस्तिष्कहरूलाई अन्धो तुल्याए र मोशाविरुद्ध र साँचो र जीवित परमेश्वरविरुद्ध तथानाम गरे।

३१ अनि यस्तो हुन गयो कि उहाँका वचनअनुसार उहाँले तिनीहरूको विनाश गर्नुभयो; अनि उहाँको वचनअनुसार उहाँले तिनीहरूको अगुवाइ गर्नुभयो; अनि उहाँका वचनअनुसार उहाँले तिनीहरूका लागि सबै कुराहरू गर्नुभयो; र उहाँका वचनद्वारा बाहेक कुनै कुरा गरिएन।

३२ अनि उनीहरूले यर्दन नदी पार गरिसकेपछि त्यस भूमिका छोराछोरीहरूलाई धपाउने गरी, हो, विनाश हुने गरी तितर-बितर पार्ने गरी उहाँले तिनीहरूलाई शक्तिशाली बनाउनुभयो।

३३ अनि अब, के तिमीहरू ठान्दछौ कि यस भूमिका छोराछोरीहरू, जो प्रतिज्ञाको भूमिमा थिए, जसलाई हाम्रा पितापुर्खाहरुद्वारा लखेटिएको थियो, के तिमीहरू ठान्दछौ कि उनीहरू धर्मी थिए? हेर, म तिमीहरूलाई भन्दछु, थिएनन्।

३४ के तिमीहरू ठान्दछौ कि यदि उनीहरू धर्मी भएका भए हाम्रा पितापुर्खाहरु उनीहरूभन्दा बढी ग्राह्य हुने थिए? म तिमीहरूलाई भन्दछु, थिएनन्।

३५ हेर, परमप्रभुले सबै शरीरलाई एकै रुपमा सम्मान गर्नु हुन्छ; जो धर्मी छ उसले परमेश्वरद्वारा कृपा पाउँछ। तर हेर, यी जनले परमेश्वरका हरेक वचनलाई अस्वीकार गरेका थिए र उनीहरू दुष्टतामा पाकिसकेका थिए; अनि परमेश्वरको क्रोधको पराकाष्ठा उनीहरूमाथि थियो; र परमप्रभुले जमिनलाई उनीहरू विरुद्ध श्राप दिनुभयो र हाम्रा पितापुर्खाहरुको लागि आशीषित गर्नुभयो; हो, उनीहरूको विनाश हुने गरी यसलाई उहाँले उनीहरूका विरुद्ध श्राप दिनुभयो र यसमाथि शक्ति जमाउने गरी यसलाई हाम्रा पितापुर्खाहरुको लागि आशीषित गर्नुभयो।

३६ हेर, बसोबास गरियोस् भनेर परमप्रभुले पृथ्वीको सृष्टि गर्नुभएको छ; र उहाँले आफ्ना छोराछोरीहरूको सृष्टि गर्नुभएको छ ताकि उनीहरूले यसलाई स्वामित्वमा लिऊन्।

३७ अनि उहाँले एउटा धर्मी राष्ट्र खडा गर्नुहुन्छ र दुष्टहरूको राष्ट्रहरूको विनाश गर्नुहुन्छ।

३८ अनि उहाँले धर्मीहरूलाई बहुमूल्य भूमिहरूतिर अगुवाइ गरेर लैजानुहुन्छ र दुष्टहरूको उहाँ विनाश गर्नुहुन्छ र तिनीहरूका लागि उनीहरूलाई त्यस भूमिमाथि श्राप दिनुहुन्छ।

३९ उहाँ उँचो स्वर्गमा शासन गर्नुहुन्छ, किनकि यो उहाँको सिंहासन हो र यो पृथ्वी उहाँको पाउदान हो।

४० अनि तिनीहरूलाई उहाँ प्रेम गर्नुहुन्छ जो उहाँलाई आफ्नो परमेश्वरका रुपमा लिन्छन्। हेर, उहाँले हाम्रा पितापुर्खाहरुलाई प्रेम गर्नुभयो र उनीहरू, हो, अब्राहाम, इसहाक र याकूबसँग समेत करार बाँध्नुभयो; यसकारण, उहाँले तिनीहरूलाई मिश्रदेशको भूमिबाट बाहिर ल्याउनुभयो।

४१ अनि उजाड-स्थानमा उहाँले आफ्नो छडले तिनीहरूलाई सिधा बनाउनुभयो; किनकि उनीहरूले आफ्ना हृदयहरू तिमीहरूले झैँ कठोर तुल्याए; र उनीहरूको दुष्टताका कारणले परमप्रभुले तिनीहरूलाई सिधा बनाउनुभयो। उहाँले तिनीहरूमाझ विषालु उड्ने सर्पहरू पठाउनुभयो; अनि उनीहरूलाई डसिएपछि उहाँले एउटा उपाय तयार गर्नुभयो ताकि उनीहरू निको हुन सकून्; अनि उनीहरूले गर्नु पर्ने परिश्रम हेर्नु थियो; र उपायको सरलपना, वा सजिलोपनाको कारणले गर्दा नासिएर जाने धेरै थिए।

४२ अनि समय समयमा उनीहरूले आफ्ना हृदयहरू कठोर तुल्याए र मोशाविरुद्ध र परमेश्वरविरुद्ध पनि उनीहरूले तथानाम गरे; तथापि, तिमीहरूलाई थाहा छ कि उहाँको अतुलनीय क्षमताद्वारा प्रतिज्ञाको भूमितिर उनीहरूलाई अगुवाइ गरिएको थियो।

४३ अनि अब, यी सबै कुराहरूपछि, समय आएको छ कि उनीहरू दुष्ट बनेका छन्, हो, झन्डै पाक्ने गरी; र मलाई थाहा छैन तर यस दिनमा उनीहरूको विनाश हुन लागेको छ; किनकि मलाई थाहा छ कि त्यो दिन निश्चय नै आउनेछ जब उनीहरूको विनाश हुनेछ, केही थोरै बाहेक, जसलाई बन्धनतिर अगुवाइ गरेर लगिनेछ।

४४ यसकारण, परमप्रभुले मेरा पितालाई उहाँले उजाड स्थानतिर प्रस्थान हुनु भन्ने आज्ञा दिनुभयो, अनि यहूदीहरूले पनि उहाँको ज्यान लिन खोजे; हो, अनि तिमीहरूले पनि उहाँको ज्यान लिन खोजेका छौ; यसकारण, तिमीहरू आफ्ना हृदयहरूमा हत्याराहरू हौ र तिमीहरू पनि उनीहरूजस्तै हौ।

४५ तिमीहरू दुराचार गर्न हतारिन्छौ तर परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्झन सुस्त छौ। तिमीहरूले स्वर्गदूतलाई देखेका छौ र उनले तिमीहरूसँग बोलेका छन्; हो, समय समयमा तिमीहरूले उनको आवाज सुनेका छौ र स्थिर मसिनो आवाजमा उनले तिमीहरूसँग बोलेका छन्, तर तिमीहरू यति चेतना शून्य थियौ कि तिमीहरूले उनका वचनहरूलाई महसुस गर्न सकेनौ; यसकारण, उनले तिमीहरूसँग चट्याङको आवाज जस्तै गरी बोलेको छन्, जसले टुक्रा-टुक्रामा बिभाजित होला झैं गरी पृथ्वीलाई हल्लायो।

४६ अनि तिमीहरूलाई थाहा पनि छ कि उहाँको सर्वशक्तिमान वचनको शक्तिद्वारा उहाँले पृथ्वीलाई अन्त्य गर्न सक्नुहुन्छ; हो, अनि तिमीहरूलाई थाहा छ कि उहाँका वचनद्वारा उहाँले असमथल ठाउँहरूलाई सम्म बनाउन सक्नुहुन्छ र सम्म ठाउँहरू छियाछिया पारिनेछन्। हे, त्यसो भए, किन हो त तिमीहरू आफ्नो हृदयहरूमा यति कठोर हुन सक्छौ?

४७ हेर, तिमीहरूका कारणले मेरो जीवात्मा बेदनाले टुक्रा-टुक्रा भएकोछ र मेरो हृदय दुखेकोछ; कतै तिमीहरू सदासर्वदाका लागि निष्कासित गरिनेछौ कि भन्ने मलाई डर छ। हेर, म परमेश्वरको आत्माले भरिपूर्ण छु, यतिसम्म कि मेरो शरीरमा बल छैन।

४८ अनि अब यस्तो हुन गयो कि जब मैले यी वचनहरू बोलिसकेँ उनीहरू मदेखि रिसाए र मलाई समुद्रको गहिराइतिर फ्याँक्न इच्छुक भए; अनि ममाथि हात हाल्न जब उनीहरू अघि सरे मैले यसो भन्दै उनीहरूसँग बोलेँ: सर्वशक्तिमान परमेश्वरको नाममा, म आज्ञा दिँदछु कि तिमीहरू मलाई नछोऊ, किनकि मेरो शरीर भष्मसमेत हुने गरी म परमेश्वरको शक्तिले भरिएको छु; अनि ज-जसले ममाथि हात हाल्छ सुकेको छ्वाली झैँ ओइलाएर जान्छ; र ऊ परमेश्वरको शक्तिअगाडि केही पनि हुँदैन, किनकि परमेश्वरले उसलाई प्रहार गर्नुहुन्छ।

४९ अनि यस्तो हुन गयो कि म, नफीले उनीहरूलाई भनेँ कि उनीहरूले तिनीहरूका पिताविरुद्ध अरु बढी गनगनाउन हुँदैन, न त आफ्नो परिश्रम मबाट लुकाउन नै हुन्छ, किनकि मैले पानीजहाज बनाउनुपर्छ भनी परमेश्वरले मलाई आज्ञा दिनुभएको थियो।

५० अनि मैले उनीहरूलाई भनेँ: यदि परमेश्वरले मलाई सबै कुराहरू गर्न आज्ञा दिनुभएको भए म तिनीहरूलाई गर्न सक्ने थिएँ। मैले यो पानीलाई तँ जमिन भैजा भन्नु पर्दछ भनी उहाँले मलाई आज्ञा दिनुभयो भने त्यो जमिन हुनु पर्दछ; र मैले भनेँ भने त्यसो गरिनु पर्दछ।

५१ अनि अब, यदि परमप्रभुसँग यति महान् शक्ति छ भने र मानिसका छोराछोरीहरूमाझ यति धेरै आश्चर्यजनक कर्महरू गर्नुभएको छ भने, मैले पानीजहाज बनाउनु पर्छ भनी उहाँले मलाई कसरी निर्देशन दिन सक्नु हुन्न र?

५२ अनि यस्तो हुन गयो कि म नफीले मेरा बन्धुहरूसामु धेरै कुराहरू भनेँ, यतिसम्म कि उनीहरू पराजित भए र मेरा विरुद्ध विवाद गर्न सकेनन्; धेरै दिनहरूको अन्तरालसम्म न त ममाथि हात हाल्ने न त आफ्ना औँलाहरूले मलाई छुने हिम्मत नै गरे। अब, मेरो अगाडि ओइलाएर जाने हो कि भनेर उनीहरूले यसो गर्ने हिम्मत गरेनन्, परमेश्वरको आत्मा यति शक्तिशाली थियो; र यसरी यसले उनीहरूमाथि काम गरेको थियो।

५३ अनि यस्तो हुन गयो कि परमप्रभुले मलाई भन्नुभयो: तिम्रा बन्धुहरूसामु पुन: आफ्ना हात अघि बढाऊ र उनीहरू तिम्रा अगाडि ओइलाउने छैनन्, तर म उनीहरूलाई झट्का दिनेछु, परमप्रभु भन्नुहुन्छ र म यसो गर्नेछु, ताकि उनीहरूले थाहा पाउन सकून् कि म परमप्रभु तिनीहरूका परमेश्वर हुँ।

५४ अनि यस्तो हुन गयो कि मैले मेरा बन्धुहरूसामु आफ्नो हात अघि बढाएँ र उनीहरू मेरो अगाडि ओइलाएनन्; तर उहाँले बोल्नु भएको वचनहरूअनुसार समेत परमप्रभुले उनीहरूलाई कम्पन गराउनुभयो।

५५ अनि अब, उनीहरूले भने: हामीलाई निश्चयका साथ थाहा छ कि परमप्रभु तँसँग हुनुहुन्छ, किनकि हामीलाई थाहा छ कि यो परमप्रभुको शक्ति हो जसले हामीलाई कमाएको छ। अनि उनीहरू मेरा अगाडि ढले र मेरो आराधना गर्न लागे, तर मैले यसो भन्दै उनीहरूलाई गर्न दिइनँ: म तिमीहरूको भाइ हुँ, हो, तिमीहरूभन्दा कान्छो भाइ समेत हुँ; यसकारण, परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर र आफ्ना पिता र आफ्ना माताको सम्मान गर, ताकि परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई दिनुहुने भूमिमा तिम्रा दिनहरू लामा हुन सकून्।