अध्याय २
लही आफ्नो परिवारलाई लाल समुद्रको उजाड स्थानतिर लैजान्छन्—उनीहरू आफ्नो सम्पति छाड्दछन्—लही परमप्रभुलाई बलि चढाउँछन् र उनका छोराहरूलाई आज्ञा पालन गर्न सिकाउँछन्—लमान र लमुएल उनका पिताका विरुद्ध गनगनाउँछन्—नफी आज्ञाकारी छन् र आस्थामा प्रार्थना गर्छन्; परमप्रभु उनीसँग बोल्नुहुन्छ र उनका दाजुभाइहरूमाथि शासन गर्न उनलाई छानिन्छ। लगभग इ.पू. ६००।
१ किनभने हेर, यस्तो हुन गयो कि परमप्रभु, हो, सपनामा समेत, मेरा पितासामु बोल्नुभयो र उहाँलाई भन्नुभयो: लही, तिमीले गरेका कुराहरूका कारणले तिमी आशीषित छौ; तिमी आस्थावान् रहेको र मैले तिमीलाई आदेश दिएका कुराहरू यी मानिसहरूसामु घोषणा गरेको कारणले, हेर, उनीहरू तिम्रो ज्यान लिन खोज्छन्।
२ अनि यस्तो हुन गयो कि, सपनामा समेत, परमप्रभुले मेरा पितालाई आदेश दिनुभयो कि उहाँले आफ्नो परिवार लिई उजाड स्थानतिर प्रस्थान गर्नुपर्दछ।
३ अनि यस्तो हुन गयो कि उहाँ परमप्रभुका वचनसामु आज्ञाकारी हुनुहुन्थ्यो, यसकारण परमप्रभुले उहाँलाई आज्ञा दिनुभएजस्तै उहाँले गर्नुभयो।
४ अनि यस्तो हुन गयो कि उहाँ उजाड स्थानतिर प्रस्थान गर्नुभयो। अनि उहाँले आफ्नो घर र आफ्नो रिक्थ भूमि र आफ्नो सुन र आफ्नो चाँदी र आफ्ना मूल्यवान् कुराहरू छोड्नुभयो र उहाँको परिवार र बन्दोबस्तीका सामानहरू र पालहरू बाहेक आफूसँग केही लैजानु भएन र उजाड स्थानतिर प्रस्थान गर्नुभयो।
५ अनि उहाँ लाल समुद्रको तटनजिक सिमानाहरू छेउ तल आउनुभयो; र उहाँले उजाड स्थानमा लाल समुद्र नजिक रहेका सिमानाहरूमा यात्रा गर्नुभयो; र उहाँले मेरी आमा सरियाह र मेरा दाइहरू लमान, लमुएल र सामले बनेको आफ्नो परिवारको साथ उजाड स्थानमा यात्रा गर्नु भयो।
६ अनि यस्तो हुन गयो कि जब उहाँले उजाड स्थानमा तीन दिन यात्रा गरिसक्नुभयो, उहाँले पानीको नदी छेउको एउटा उपत्यकामा आफ्नो पाल टाँग्नुभयो।
७ अनि यस्तो हुन गयो कि उहाँले ढुङ्गाहरूको वेदी बनाउनुभयो र परमप्रभुसामु भेटी चढाउनुभयो र परमप्रभु हाम्रा परमेश्वरसामु धन्यवाद टक्र्याउनुभयो।
८ अनि यस्तो हुन गयो कि उहाँले त्यस नदीको नाउँ लमान राख्नुभयो र यो लाल समुद्रमा टुङ्गिन्थ्यो र त्यो उपत्यका त्यसको मुखनजिकको सिमानामा थियो।
९ अनि जब मेरा पिताले त्यस नदीको पानी लाल समुद्रको तलाउमा रित्तिएको देख्नुभयो, उहाँले लमानसमक्ष यसो भन्दै बोल्नुभयो: ओहो, तिमी यो नदीजस्तै निरन्तर रुपमा सबै धर्मिकताको मुहानतिर दौडन सके हुन्थ्यो!
१० अनि उहाँले लमुएलसमक्ष पनि बोल्नुभयो: ओहो, तिमी यो उपत्यकाजस्तै स्थिर र अडिग र परमप्रभुका आज्ञाहरू पालना गर्नमा अचल हुनसके हुन्थ्यो!
११ अब उहाँले लमान र लमुएलको हठीपनाको कारणले यो बोल्नुभयो; किनकि हेर उनीहरूले धेरै कुराहरूमा आफ्ना पिताविरुद्ध गनगन गरे, किनभने उहाँ एक दर्शनधारी मानिस हुनुहुन्थ्यो र उनीहरूलाई रिक्थको भूमि र उनीहरूका सुन र उनीहरूका चाँदी र उनीहरूका मूल्यवान् कुराहरू छाडेर, उजाड स्थानमा विनाश हुनका लागि तिनीहरुलाई अगुवाइ गरेर यरुशलेमको भूमिबाट बाहिर लानुभएको थियो। अनि उनीहरूले उहाँको हृदयका मूर्ख कल्पनाहरूको कारणले उहाँले यसो गर्नुभएको हो भने।
१२ अनि लमान र लमुएलले ज्येष्ठ भएर पनि आफ्ना पिताविरुद्ध यसरी गनगन गरे। अनि उनीहरूले गनगन गरे किनभने उनीहरूलाई त्यस परमेश्वरका व्यवहारहरू थाहा थिएन जसले उनीहरूको सृष्टि गर्नुभएको थियो।
१३ न त उनीहरूले विश्वास गरे कि अगमवक्ताहरूको वचनहरूअनुसार त्यो महान् सहर यरुशलेमको विनाश हुनसक्थ्यो। अनि उनीहरू यहूदीहरू जस्तै थिए जो यरुशलेममा थिए, जसले मेरा पिताको जीवन लिन खोजेका थिए।
१४ अनि यस्तो हुन गयो कि मेरा पिताले आत्माले भरिएर शक्तिका साथ, उहाँको अघि उनीहरूका शरीर नहल्लुन्जेलसम्म लमुएलको उपत्यकामा उनीहरूसमक्ष बोल्नुभयो। उहाँले तिनीहरूलाई पराजित गर्नुभयो कि तिनीहरूले उहाँविरुद्ध बोल्ने साहसै गरेनन्; यसकारण, उहाँले आदेश दिनुभएअनुसार तिनीहरूले गरे।
१५ अनि मेरा पिताले पालमा बास गर्नुभयो।
१६ अनि यस्तो हुन गयो कि म नफी अत्यन्तै कलिलो भए तापनि कदमा ठूलो र परमेश्वरका रहस्यका बारेमा जान्न महान् इच्छा पनि भएकाले, यसकारण, मैले परमप्रभुलाई पुकारेँ; र हेर उहाँले मलाई भेट दिनुभयो र मेरो हृदयलाई कोमल तुल्याउनुभयो कि मैले मेरा पिताद्वारा बोलिएका सबै वचनहरूमा विश्वास गरेँ, यसकारण, मेरा दाजुहरूले जस्तो मैले उहाँविरुद्ध बिद्रोह गरिनँ।
१७ अनि परमप्रभुले पवित्र आत्माद्वारा मेरासामु प्रकट गर्नुभएका कुराहरू सामसामु ज्ञात गराउँदै मैले उससँग बोलेँ। अनि यस्तो हुन गयो कि उसले मेरा वचनहरूमा विश्वास गऱ्यो।
१८ तर, हेर, लमान र लमुएलले मेरा वचनहरूलाई सुनेनन्; र उनीहरूका हृदयका कठोरताका कारण उदास भएर उनीहरूका लागि मैले परमप्रभुसामु पुकारेँ।
१९ अनि यस्तो हुन गयो कि परमप्रभु मेरासामु यसो भन्दै बोल्नुभयो: तिम्रो आस्थाका कारणले तिमी आशीषित छौ नफी, किनकि तिमीले हृदयको न्युनताकासाथ लगनशीलतापूर्वक मेरो खोजी गरेका छौ।
२० अनि जति जति तिमीले मेरा आज्ञाहरूको पालना गर्नेछौ, तिमीले उन्नति गर्नेछौ र प्रतिज्ञाको भूमितिर अगुवाइ गरिनेछौ, हो, त्यो भूमि समेत जुन मैले तिम्रा लागि तयार गरेको छु; हो, त्यो भूमि जुन अन्य सबै भूमिहरूभन्दा उत्तम छ।
२१ अनि जति जति तिम्रा दाजुहरूले तिमीविरुद्ध बिद्रोह गर्नेछन्, उनीहरू परमप्रभुको उपस्थितिबाट अलग्याइनेछन्।
२२ अनि जति जति तिमीले मेरा आज्ञाहरूको पालना गर्नेछौ, तिमीलाई तिम्रा दाजुहरूमाथि शासक र शिक्षक बनाइनेछ।
२३ किनकि हेर, त्यो दिन उनीहरूले मेरा विरुद्ध बिद्रोह गर्नेछन्, म एउटा कष्टप्रद श्रापले समेत उनीहरूलाई सराप्नेछु र तिम्रा सन्ततिले पनि मेरा विरुद्ध विद्रोह नगरेसम्म तिनीहरूले उनीहरूमाथि शक्ति पाउने छैनन्।
२४ अनि यदि यसो भयो कि उनीहरूले मेरा विरुद्ध विद्रोह गरेभने, उनीहरू तिम्रा सन्ततिका लागि कोर्रा बन्नेछन्, तिनीहरूलाई सम्झना गर्ने तरिकाहरूमा उक्साउनाका लागि।