अध्याय ९
नफी दुईप्रति अभिलेख बनाउँछन्—प्रत्येकलाई नफीका पाताहरू भनिन्छ—ठूलो पाताहरूमा लौकिक इतिहास छ; साना पाताहरूले मुख्यत: पवित्र कुराहरू बताउँदछन्। लगभग ई.पू. ६००–५९२।
१ अनि यी सबै कुराहरू मेरा पिताले देख्नुभयो, सुन्नुभयो र बोल्नुभयो, जब उहाँ लमुएलको उपत्यकामा पालमा बस्नुभयो, अनि कैयौँ महान् कुराहरू पनि जुन यी पाताहरूमाथि लेख्न सकिँदैन।
२ अनि अब, यी पाताहरूका सवालमा मैले बोलिसकेको हुनाले, हेर, यिनीहरू ती पाताहरू होइनन् जसमाथि म मेरा मानिसहरूको इतिहासको पूर्ण विवरण बनाउँदछु; किनकि ती पाताहरू जसमाथि म मेरा मानिसहरूको इतिहासको पूर्ण विवरण बनाउँदछु, तिनीहरूलाई मैले नफी नाम दिएको छु; यसकारण, तिनीहरूलाई मेरो आफ्नै नामसरह नफीका पाताहरू भनिन्छ; अनि यी पाताहरूलाई पनि नफीका पाताहरू भनिन्छ।
३ तथापि, मैले परमप्रभुबाट एउटा आज्ञा पाएको छु कि मेरा मानिसहरूको सेवाको विवरण कुँदिनुपर्छ भन्ने विषेश प्रयोजनका लागि मैले यी पाताहरू बनाउनुपर्छ।
४ अन्य पाताहरूमाथि राजाहरूको शासन र मेरा मानिसहरूको युद्ध र विवादहरूको विवरण खोपिनु पर्छ; यसकारण यी पाताहरू बढी जसो सेवाका लागि हुन्; अनि अन्य पाताहरू बढी जसो राजाहरूको शासन र मेरा मानिसहरूका युद्ध र कलहहरूका लागि हुन्।
५ यसकारण, परमप्रभुले उहाँको विवेकपूर्ण प्रयोजनका लागि यी पाताहरू बनाउन मलाई आज्ञा दिनुभएको छ, जुन प्रयोजन मलाई थाहा छैन।
६ तर परमप्रभुलाई प्रारम्भदेखिका सम्पूर्ण कुराहरू थाहा छन्; यसकारण, मानिसका छोराछोरीहरूबीच उहाँका सम्पूर्ण कार्यहरू सम्पन्न गर्न उहाँले मार्ग तयार गर्नुहुन्छ; किनकि हेर, आफ्ना सारा वचनहरू पूरा गर्ने गरी उहाँसँग सम्पूर्ण शक्ति छ। अनि यो यस्तै हो। आमिन।