धर्मशास्त्रहरू
१ नफी ३


अध्याय ३

लहीका छोराहरू काँसका पाताहरू लिन यरुशलेम फर्कन्छन्—लाबान पाताहरू दिन अस्वीकार गर्छ-नफी उनका दाजुभाइहरूलाई प्रोत्साहन र सहास दिन्छन्—लाबानले उनीहरूको सम्पति खोस्दछ र हत्या गर्ने प्रयास गर्छ—लामान र लमुएल नफीलाई र सामलाई पिट्छन् र स्वर्गदूतद्वारा हप्काइन्छन्। लगभग ई.पू. ६००–५९२।

अनि यस्तो हुन गयो कि म, नफी, परमप्रभुसँग वार्तालाप गरेर मेरा पिताको पालमा फर्केँ।

अनि यस्तो हुन गयो कि उहाँले मेरासामु यसो भन्दै बोल्नुभयो: हेर, मैले एउटा सपना देखेको छु, जसमा परमप्रभुले मलाई आज्ञा दिनुभएको छ कि तिमी र तिम्रा दाजुहरू यरुशलेम फर्कनेछौ।

किनकि हेर, लाबानसँग यहूदीहरूको अभिलेख र मेरा पितापूर्खाहरूको एउटा वंशावली पनि छ र ती काँसका पाताहरूमाथि कुँदिएका छन्।

यसकारण, परमप्रभुले मलाई आदेश दिनुभएको छ कि तिमी र तिम्रा दाजुहरू लाबानको घर तर्फ जानुपर्दछ र ती अभिलेखहरू खोज्नुपर्दछ र तिनलाई यहाँ उजाड स्थानतिर ल्याउनु पर्दछ।

अनि अब, हेर तिम्रा दाजुहरू मैले उनीहरूदेखि चाहेको यो कठिन कुरा हो भन्दै गनगन गर्छन्, तर हेर उनीहरूदेखि यो मैले चाहेको होइन, तर यो परमप्रभुको आज्ञा हो।

त्यसकारण, जाऊ, मेरा छोरा र तिमीले परमप्रभुबाट कृपा पाउनेछौ किनभने तिमीले गनगन गरेका छैनौ।

अनि यस्तो हुन गयो कि म नफीले मेरा पितासामु भनेँ: म जानेछु र परमप्रभुले आज्ञा दिनुभएका कुराहरू गर्नेछु, किनकि मलाई थाहा छ कि उहाँले आज्ञा दिनुभएको कुरा सम्पन्न गर्न सक्ने गरी उनीहरूका लागि बाटो तयार नपारी परमप्रभुले मानिसका छोराछोरीहरूलाई कुनै आज्ञा दिनुहुन्न।

अनि यस्तो हुन गयो कि जब मेरा पिताले यी वचनहरू सुन्नुभयो, उहाँ अति नै खुशी हुनुभयो, किनकि उहाँलाई थाहा थियो कि म परमप्रभुद्वारा आशीषित गरिएको थिएँ।

अनि म, नफी र मेरा दाजुहरूले यरुशलेमको भूमिसम्म जानका लागि आफ्ना पालहरूसहीत उजाड स्थानतिर हाम्रो यात्रा गऱ्यौं।

१० अनि यस्तो हुन गयो कि यरुशलेमको भूमिसम्म गइसकेपछि म र मेरा दाजुहरूले एक अर्कासँग सल्लाह गऱ्यौं।

११ अनि हामीहरूमध्ये को लाबानको घरभित्र जाने हो भनेर हामीले कौडा हान्यौँ। अनि यस्तो हुन गयो कि कौडा लमानमाथि पऱ्यो; र लमान लाबानको घरभित्र गए र जब उनी उसको घरमा बसे उनले उससँग कुरा गरे।

१२ अनि उनले लाबानसँग काँसका पाताहरूमाथि कुँदिएका अभिलेखहरू मागे, जसमा मेरा पिताको वंशावली समेटिएको थियो।

१३ अनि हेर, यस्तो हुन गयो कि लाबान रिसायो र आफ्नो उपस्थितिबाट उनलाई बाहिर निकाल्यो; र उनले ती अभिलेखहरू पाउनुपर्छ भन्ने उसले चाहेन। यसकारण, उसले उनलाई भन्यो: हेर्, तँ डाँका होस् र म तेरो बध गर्नेछु।

१४ तर लमान उसको उपस्थितिबाट भागे र लाबानले गरेका कुराहरू हामीसामु भने। अनि हामी अति नै दुखित हुन थाल्यौँ र मेरा दाजुहरू उजाड स्थानमा मेरा पिताकहाँ फर्कन लागे।

१५ तर हेर मैले उनीहरूसामु भनेँ कि: जसरी परमप्रभु जीवित हुनुहुन्छ र जसरी हामी जीवित छौं, परमप्रभुले हामीलाई आज्ञा दिनुभएको कुरा सम्पन्न नगरी हामी उजाड स्थानमा हाम्रा पितासामु जानेछैनौँ।

१६ यसकारण, परमप्रभुको आज्ञा पालना गर्नमा हामी आस्थावान होऔँ; त्यसकारण हाम्रा पिताको रिक्थको भूमिमा जाऔँ, किनकि हेर उहाँले सुन र चाँदी र सबै किसिमका धनहरू छोड्नुभयो। अनि यो सबै उहाँले परमप्रभुको आज्ञाका कारणले गर्नुभएको छ।

१७ किनकि उहाँलाई थाहा थियो कि मानिसहरूको दुष्टताका कारणले यरुशलेमको विनाश हुनुपर्दछ।

१८ किनकि हेर, ऊनीहरूले अगमवक्ताहरूका वचनहरूलाई अस्वीकार गरेका छन्। यसकारण, यदि त्यस भूमिबाट बाहिर भाग्न आज्ञा दिइसकेपछि मेरा पिता त्यस भूमिमा बस्नुभएको भए, हेर, उहाँको पनि विनाश हुने थियो। यसकारण, उहाँले त्यस भूमिबाट भाग्न आवश्यक थियो।

१९ अनि हेर, यो परमेश्वरको ज्ञान हो कि हामीले ती अभिलेखहरू प्राप्त गर्नुपर्दछ, ताकि हाम्रा छोराछोरीहरूका निम्ति हामी हाम्रा पितापुर्खाहरुको भाषा जोगाउन सकौँ।

२० अनि ताकि हामी उनीहरूका निम्ति सबै पवित्र अगमवक्ताहरूको मुखबाट बोलिएका वचनहरू पनि जोगाउन सकौँ, जुन उनीहरूसामु संसार प्रारम्भदेखि यो वर्तमान समयसम्म नै परमेश्वरको आत्मा र शक्तिद्वारा हस्तान्तरण गरिएका छन्।

२१ अनि यस्तो हुन गयो कि यस प्रकारको भाषाद्वारा मैले मेरा दाजुहरूलाई मनाएँ, ताकि उनीहरू परमेश्वरको आज्ञाहरू पालना गर्नमा आस्थावान् होऊन्।

२२ अनि यस्तो हुन गयो कि हामी हाम्रो रिक्थको भूमिसम्म तल गयौँ र हामीले हाम्रो सुन र हाम्रो चाँदी र हाम्रा मूल्यवान् कुराहरू एकसाथ जम्मा गऱ्यौँ।

२३ अनि हामीले ती कुराहरू एकसाथ जम्मा गरिसकेपछि हामी पुन: लाबानको घरसामु गयौँ।

२४ अनि यस्तो हुन गयो कि हामी लाबानकहाँ भित्र गयौँ र काँसका पाताहरूमाथि कुँदिएका अभिलेखहरू उसले हामीसामु देओस् भन्ने इच्छा गऱ्यौँ, जसका लागि हामी हाम्रो सुन, हाम्रो चाँदी र हाम्रा सबै मूल्यवान् कुराहरू उसलाई दिनेवाला थियौँ।

२५ अनि यस्तो हुन गयो कि जब लाबानले हाम्रो सम्पति देख्यो र यो अति धेरै थियो, उसले त्यसमाथि लोभ गऱ्यो, यतिसम्म कि उसले हामीलाई बाहिर गलत्यायो र हाम्रो वध गर्न आफ्ना नोकरहरू पठायो, ताकि उसले हाम्रो सम्पति हात पार्न सकोस्।

२६ अनि यस्तो हुन गयो कि हामी लाबानका नोकरहरूदेखि भाग्यौँ र हामी आफ्नो सम्पति पछाडि छाड्न बाध्य भयौँ र यो लाबानको हातमा पऱ्यो।

२७ अनि यस्तो हुन गयो कि हामी उजाड स्थानभित्र भाग्यौँ र लाबानका नोकरहरूले हामीलाई उछिनेनन् र हामीले आफूलाई चट्टानको गुफामा लुकायौँ।

२८ अनि यस्तो हुन गयो कि लमान मसँग र मेरा पितासँग पनि रिसायो र लमुएल पनि रिसायो किनकि उसले लमानका वचनहरू सुन्यो। यसकारण लमान र लमुएलले हामी तिनका भाइहरूसामु धेरै कठोर वचनहरू बोले र उनीहरूले हामीलाई छडले समेत हिर्काए।

२९ अनि यस्तो हुन गयो जब उनीहरूले हामीलाई छडले हिर्काए, हेर, परमप्रभुको स्वर्गदूत आए र उनीहरूका अगाडि खडा भए र उनले यसो भन्दै उनीहरूसँग बोले: तिमीहरू छडले आफ्नो भाइलाई किन हिर्काउँछौ? के तिमीहरूलाई थाहा छैन कि परमप्रभुले उसलाई तिमीहरूका दुष्टताहरूका कारणले तिमीहरूमाथि शासक बन्न चुन्नुभएकोछ? हेर, तिमीहरू पुनः यरुशलेमसम्म जाओ र परमप्रभुले लाबानलाई तिम्रा हातहरूमा सुम्पनुहुनेछ।

३० अनि स्वर्गदूतले हामीसँग बोलिसकेपछि उनले प्रस्थान गरे।

३१ अनि स्वर्गदूतले प्रस्थान गरिसकेपछि लमान र लमुएलले यसो भन्दै फेरि गनगन गर्न थाले: परमप्रभुले लाबानलाई हाम्रा हातहरूमा सुम्पनु कसरी सम्भव छ? हेर, ऊ शक्तिशाली मानिस हो र ऊ पचास जनालाई आज्ञा दिनसक्छ, हो, ऊ पचास जनाको बध समेत गर्न सक्छ; त्यसो भए हामीलाई किन सक्दैन र?