धर्मशास्त्रहरू
१ नफी ४


अध्याय ४

परमप्रभुका आज्ञामा नफी लाबानको बध गर्छन् र त्यसपछि युक्तिद्वारा पाताहरू प्राप्त गर्छन्—योरम उजाड स्थानमा लहीको परिवारसँग सम्मिलित हुने चयन गर्दछ। लगभग ई.पू. ६००–५९२।

अनि यस्तो हुन गयो कि मैले मेरा दाजुहरूसँग यसो भन्दै बोलेँ: हामी फेरि यरुशलेमसम्म जाऔँ र परमप्रभुका आदेशहरू पालना गर्नमा आस्थावान् होऔँ; किनकि हेर उहाँ सारा पृथ्वीमा नै बलवान् हुनुहुन्छ, उसो भए लाबान र उसको पचास, हो, वा अझ उसका दशौँ हजार भन्दा बलवान् किन हुनुहुन्न र?

त्यसकारण हामी जाऔँ; मोशा जस्तै दरिला होऔँ; किनकि उनले साँचै नै लाल सागरका पानीसामु बोले र तिनीहरू यता र उता अलग्गिए र हाम्रा पितापुर्खाहरु, बन्धनबाट बाहिर, ओभानो जमिनमाथि भएर आउनुभयो र फारोका सेनाहरूले पछ्याए र लाल सागरको पानीमा डुबे।

अब हेर तिमीहरूलाई थाहा छ कि यो साँचो हो; र तिमीहरूलाई यो पनि थाहा छ कि स्वर्गदूतले तिमीहरूसामु बोलेका छन्; यसकारण के तिमीहरू शङ्का गर्न सक्छौ? हामी जाऔँ; परमप्रभु हामीलाई हाम्रा पितापुर्खाहरुलाई झैँ उद्धार गर्न र लाबानलाई मिश्रीहरूलाई झैँ विनाश गर्न सक्षम हुनुहुन्छ।

अब जब मैले यी वचनहरू बोलिसकेँ, उनीहरू अझैँ क्रोधित थिए र अझ गनगन जारी राखे; तथापि यरुशलेमका पर्खालहरू बाहिर नआइपुगुन्जेलसम्म उनीहरूले मलाई पछ्याए।

अनि यो रातमा थियो; र मैले उनीहरू स्वयमलाई पर्खालहरू बाहिरै लुक्न लगाएँ। अनि उनीहरू स्वयम लुकिसकेपछि म, नफी, सहरभित्र लुसुक्क पसेँ र लाबानको घरतर्फ अघि बढेँ।

अनि आफूले गर्नु पर्ने कुराहरूको अग्रिम जानकारी बिना नै म आत्माद्वारा अगुवाइ गरिएँ।

तथापि म अघि बढेँ र जब म लाबानको घर नजीकै आएँ मैले एउटा मानिसलाई देखेँ र ऊ मेरो अगाडि जमिनमा ढलेको थियो, किनकि ऊ मदिराले मातेको थियो।

अनि जब म उसकहाँ आएँ, मैले पत्ता लगाएँ कि यो लाबान रहेछ।

अनि मैले उसको तरबार देखेँ र मैले यसलाई त्यसको दापबाट बाहिर निकालेँ; र त्यसको बिँड विशुद्ध सुनको थियो र त्यसको शिल्पकला अत्यन्तै उच्चस्तरको थियो र मैले देखेँ कि त्यसको धार सबभन्दा बढी मूल्यवान् इस्पातको थियो।

१० अनि यस्तो हुन गयो कि मैले लाबानलाई मार्नुपर्छ भनेर आत्माद्वारा मलाई बाध्य पारियो; तर मैले आफ्नो हृदयमा भनेँ: कुनै पनि समयमा कहिल्यै पनि मैले मानिसको रगत बगाएको छैनँ। अनि म पछि हटेँ र मैले उसको बध नगरूँ भन्ने चाहेँ।

११ अनि आत्माले पुन: मलाई भन्यो: हेर, परमप्रभुले उसलाई तिम्रा हातहरूमा सुम्पिदिनु भएकोछ। हो र मलाई पनि थाहा थियो कि उसले मेरो आफ्नो जीवन लिन खोजेको थियो; हो र ऊ परमप्रभुका आदेशहरू सुन्नेवाला थिएन; र उसले हाम्रो सम्पतिसमेत लिएको थियो।

१२ अनि यस्तो हुन गयो कि आत्माले पुन: मलाई भन्यो: उसको बध गर, किनकि परमप्रभुले उसलाई तिम्रा हातहरूमा सुम्पिदिनु भएकोछ।

१३ हेर परमप्रभुले आफ्ना धर्मिक प्रयोजनहरू अघि ल्याउनका लागि दुष्टको बध गर्नुहुन्छ। एउटा राष्ट्रको विश्वास क्षीण भएर विनासिन भन्दा एउटा मानिस विनासिनु राम्रो हो।

१४ अनि अब, जब म नफीले यी वचनहरू सुनेँ, मैले परमप्रभुका वचनहरू सम्झेँ जुन उहाँले उजाड स्थानमा यसो भन्दै मेरासामु बोल्नु भएको थियो: जति जति तिम्रा सन्ततिले मेरा आज्ञाहरूको पालना गर्दछन्, उनीहरूले प्रतिज्ञाको भूमिमा उन्नति गर्नेछन्।

१५ हो, अनि उनीहरूसँग व्यवस्था नभएसम्म मोशाको व्यवस्थाअनुसार परमप्रभुका आज्ञा पालना गर्न सक्नेछैनन् भन्ने पनि मैले सोचेँ।

१६ अनि व्यवस्था काँसका पाताहरूमाथि लेखिएको थियो भन्ने पनि मलाई थाहा थियो।

१७ अनि फेरि, मलाई थाहा थियो कि परमप्रभुले लाबानलाई यस कारणले मेरा हातहरूमा सुम्पिदिनु भएको थियो—ताकि उहाँका आज्ञाहरूवमोजिम म अभिलेखहरू प्राप्त गर्न सकूँ।

१८ त्यसकारण मैले आत्माको आवाजको आज्ञा पालन गरेँ र लाबानलाई उसको शिरको कपालमा समातेँ र उसको आफ्नै तरबारले मैले उसको शिर छिनालेँ।

१९ अनि उसको आफ्नै तरबारले उसको शिर छिनालिसकेपछि मैले लाबानका वस्त्रहरू लिएँ र तिनलाई मेरो आफ्नो शरीरमा पहिरिएँ; हो, हरेक टुक्रा समेत; र मैले उसको कवच मेरो कम्मरमा भिरेँ।

२० अनि यसो गरिसकेपछि म लाबानको ढुकुटीतिर अघि बढेँ। अनि जब म लाबानको ढुकुटीतर्फ अघि बढेँ, हेर, मैले लाबानको नोकरलाई देखेँ जससँग ढुकुटीको साँचो थियो। अनि ऊ मसँग ढुकुटीगृह भित्र जानुपर्छ भनेर मैले उसलाई लाबानको आवाजमा आज्ञा दिएँ।

२१ अनि उसले मलाई आफ्नो मालिक लाबान भन्ठान्यो, किनकि उसले बस्त्रहरू र मेरो कम्मरमा भिरेको कवच समेत देख्यो।

२२ अनि आफ्नो मालिक लाबान रातमा उनीहरूमाझ बाहिर रहेको थाहा पाएर उसले यहूदीहरूका धर्म-गुरुहरूको बारेमा मसँग कुरा गऱ्यो।

२३ अनि लाबानले जस्तै गरी मैले उससँग कुरा गरेँ।

२४ अनि पर्खालहरू बाहिर रहेका मेरा दाजुहरू कहाँ काँसका पाताहरूमाथि भएका कुँदाइहरू लैजानु पर्छ भनेर मैले पनि उससँग कुरा गरेँ।

२५ अनि मैले उसलाई मलाई पछ्याऊ भनेर पनि अह्राएँ।

२६ अनि मैले चर्चका दाजुभाइहरूका बारेमा बोलेको र म साँचै मैले बध गरिसकेको लाबान हो भन्ने ठानेर उसले मलाई पछ्यायो।

२७ अनि उसले धेरै पटक यहूदीहरूका एल्डरहरूका बारेमा मसँग कुरा गऱ्यो जब म पर्खालहरू बाहिर रहेका मेरा दाजुहरूतिर अघि गएँ।

२८ अनि यस्तो हुन गयो कि जब लमानले मलाई देख्यो ऊ, अनि लमुएल र साम पनि अति त्रसित भए। अनि उनीहरू मेरो उपस्थितिसामुबाट भागे; किनकि उनीहरूले यो लाबान थियो र उसले मेरो बध गऱ्यो र उनीहरूको ज्यान पनि लिन खोज्यो भन्ठाने।

२९ अनि यस्तो हुन गयो कि मैले उनीहरूलाई बोलाएँ र उनीहरूले मलाई सुने; यसकारण उनीहरूले मेरो उपस्थितिबाट भाग्न छाडे।

३० अनि यस्तो हुन गयो कि जब लाबानको नोकरले मेरा दाजुहरूलाई देख्यो ऊ काम्न थाल्यो र मेरोसामुबाट भाग्न र यरुशेलमको सहरमा फर्कन लाग्यो।

३१ अनि अब म, नफी, ठूलो कदको मान्छे भएकाले र साथै परमप्रभुबाट अधिक शक्ति प्राप्त गरेकाले, त्यसकारण मैले लाबानको नोकरलाई कब्जामा लिएँ र नभागोस् भनेर समातेँ।

३२ अनि यस्तो हुन गयो कि मैले उससँग कुरा गरेँ कि यदि उसले मेरा वचनहरू सुन्यो भने, जसरी परमप्रभु जीवित हुनुहुन्छ र जसरी म ज्यूँदो छु, त्यसरी नै यदि उसले हाम्रा वचनहरू सुन्यो भने हामीले उसको ज्यान जोगाउने छौं।

३३ अनि, मैले एउटा शपथ सहीत उससँग कुरा गरेँ कि उसले डराउनु जरुरी छैन; यदि ऊ हामीसँग उजाड स्थानमा गएमा ऊ हामी जस्तै स्वतन्त्र मानिस हुनेछ।

३४ अनि मैले उससँग यसो भन्दै पनि कुरा गरेँ: निश्चय नै परमप्रभुले हामीलाई यो कुरा गर्न आज्ञा दिनुभएको छ; अनि हामी परमप्रभुका आज्ञाहरू पालना गर्नमा लगनशील नहुने त? त्यसकारण, यदि तँ उजाड स्थानतिर मेरा पिता कहाँ जाने हो भने तैँले हामीसँग स्थान पाउनेछस्।

३५ अनि यस्तो हुन गयो कि मैले बोलेका वचनहरूमा योरमले साहस लियो। अब योरम त्यस नोकरको नाम थियो; अनि उसले उजाड स्थानभित्र हाम्रा पितासामु जानेछु भनेर शपथ लियो। हो, अनि त्यो समयपश्चात् हामीसँगै रहनेछु भनेर उसले हाम्रासामु शपथ लियो।

३६ अब हामी यस कारणले गर्दा ऊ हामीसँगै रहोस् भन्ने इच्छामा थियौँ, ताकि यहूदीहरूले उजाड स्थानतिर हाम्रो भगाइका बारेमा थाहा नपाऊन्, अन्यथा उनीहरूले हामीलाई पछ्याउने र हाम्रो नाश गर्ने थिए।

३७ अनि यस्तो हुन गयो कि जब योरमले हाम्रासामु शपथ लियो, उसका बारेमा हाम्रा डरहरू हराए।

३८ अनि यस्तो हुन गयो कि हामीले काँसका पाताहरू र लाबानको नोकरलाई लियौँ, अनि उजाड स्थानतिर प्रस्थान गऱ्यौँ र हाम्रा पिताको पालसम्म यात्रा गऱ्यौँ।