अध्याय १०
परमप्रभुले नफीलाई छाप लगाएर बाँध्ने शक्ति दिनुहुन्छ—उनीलाई पृथ्वीमा र स्वर्गमा बाँध्ने र फुकाउने शक्ति दिइन्छ—उनले जनलाई पश्चात्ताप गर्न अथवा नासिन आज्ञा दिन्छन्—आत्माले उनलाई भीडदेखि भीडसम्म लैजान्छन्। लगभग ई.पू. २१–२०।
१ अनि यस्तो हुन गयो कि जनमाझ विभाजन उत्पन्न भयो, यतिसम्म कि नफी उनीहरूमाझमा खडा भइरहेको बेलामा उनलाई एक्लै छाडेर उनीहरू यता र उता विभाजित भए।
२ अनि यस्तो हुन गयो कि नफी परमप्रभुले आफूसामु देखाउनुभएका कुराहरूको चिन्तन गर्दै आफ्नो घरतर्फको बाटो गए।
३ अनि यस्तो हुन गयो जब नफी यसरी चिन्तन गर्दै थिए—नफीहरूका जनको दुष्टता, उनीहरूका अन्धकारका कामका र उनीहरूका हत्या र उनीहरूका लुट र सबै प्रकारका दुष्टता कारण धेरै दुखित हुँदै—अनि यस्तो हुन गयो जब उनी आफ्ना हृदयमा यसरी चिन्तन गर्दै थिए, हेर, उनीसामु एक आवाज यसो भन्दै आयो:
४ तिमी आशीषित होऊ, नफी, तिमीले गरेका ती कुराहरूका निम्ति; किनकि मैले देखेको छु तिमीले कसरी विचलित नभइकन वचन घोषणा गरेका छौ, जुन मैले तिमीलाई यी जनसामु दिएको छु। अनि तिमी उनीहरूसँग डराएका छैनौ र तिम्रो आफ्नो जीवन खोजेका छैनौ, तर मेरो इच्छा र मेरा आज्ञाहरू पालना गर्न खोजेका छौ।
५ अनि अब, किनभने तिमीले यति विचलित नभैकन यो गरेका छौ, हेर, म तिमीलाई सदासर्वदा आशीष दिनेछु; र म तिमीलाई वचनमा र कार्यमा, आस्थामा र कामहरूमा शक्तिशाली बनाउनेछु; हो, यो समेत कि तिम्रो लागि सबै कुराहरू तिम्रो वचनअनुसार गरिनेछ, किनकि तिमीले त्यो अनुरोध गर्नेछैनौ जुन मेरो इच्छा विपरीत हुनेछ।
६ हेर, तिमी नफी हौ र म परमेश्वर हुँ। हेर, म यो मेरा स्वर्गदूतहरूको उपस्थितिमा तिमीसामु घोषणा गर्दछु, कि तिमीसँग यी जनमाथि शक्ति हुनेछ र यी जनका दुष्टताका अनुसार अनिकालका साथ र महामारीका साथ र विनाशका साथ पृथ्वीलाई प्रहार गर्नेछौ।
७ हेर, म तिमीलाई शक्ति दिन्छु, कि तिमीले पृथ्वीमा जे छाप लगाएर बाँध्नेछौ सो स्वर्गमा बाँधिनेछ; र जे तिमीले पृथ्वीमा फुकाऔला सो स्वर्गमा फुकाइनेछ; अनि यसरी तिमीसँग यी जनमाथि शक्ति हुनेछ।
८ अनि यसरी, यदि तिमीले यो मन्दिरलाई ढलेर दुई टुक्रा होओस् भनेर भन्यौ भने, त्यो गरिनेछ।
९ अनि यदि तिमीले यो पर्वतसामु भन्यौ, तँ हटेर सम्म बनेस्, त्यो गरिनेछ।
१० अनि हेर, यदि तिमीले भन्यौ कि परमेश्वरले यी जनलाई प्रहार गर्नुहुनेछ, यस्तो हुन जानेछ।
११ अनि अब हेर, म तिमीलाई आज्ञा दिन्छु, कि तिमी यी जनसामु जानु पर्दछ र घोषणा गर्नु पर्दछ, कि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, जो सर्वशक्तिमान् हुनुहुन्छ: यदि तिमीहरूले पश्चात्ताप नगरे तिमीहरू विनाशसम्म पनि प्रताडित हुनेछौ।
१२ अनि हेर, अब यस्तो हुन गयो कि जब परमप्रभुले नफीसामु यी वचनहरू बोल्नुभएको थियो, उनी रोकिए र उनको आफ्नो घरतिर गएनन्, तर भूमिको सतहमाथि छरपष्ट भएका भीडसामु फर्के र उनीहरूले पश्चात्ताप नगरे हुने उनीहरूको विनाशका बारेमा उनीसामु बोलिएका परमप्रभुका वचन उनीहरूसामु घोषणा गर्न थाले।
१३ अब हेर, प्रधान न्यायकर्ताको मृत्युका बारेमा उनीहरूलाई भनेर नफीले गरेको त्यो महान् आश्चर्यकर्म हुँदाहुँदै पनि, उनीहरूले आफ्ना हृदयहरू कठोर बनाए र परमप्रभुका वचनहरूलाई सुनेनन्।
१४ त्यसकारण नफीले यसो भन्दै परमप्रभुका वचन उनीहरूसामु घोषणा गरे: यदि तिमीहरूले पश्चात्ताप नगेर, परमप्रभु यसो भन्नुहुन्छ, तिमीहरू विनाशसम्म पनि प्रताडित हुनेछौ।
१५ अनि यस्तो हुन गयो कि जब नफीले उनीहरूसामु वचन घोषणा गरेका थिए, हेर, उनीहरूले आफ्ना हृदयहरू अझै कठोर बनाए र उनका वचनहरूलाई सुनेनन्; त्यसकारण उनीहरूले उनको निन्दा गरे र उनीमाथि हात हाल्न खोजे ताकि उनीहरूले उनलाई कारागारमा फ्याँक्न सकून्।
१६ तर हेर, परमेश्वरको शक्ति उनीसँग थियो र उनीहरूले उनलाई कारागारमा फ्याँक्नका लागि समात्न सकेनन्, किनकि उनलाई आत्माद्वारा लगिएको थियो र उनीहरूमाझ बाट बाहिर हटाइएको थियो।
१७ अनि यस्तो हुन गयो कि यसरी उनी आत्मामा अघि गए, भीडदेखि भीडसम्म, परमेश्वरका वचन घोषणा गर्दै, उनीहरू सबैसामु घोषणा नगरिन्जेल, अथवा सबै जनमाझ नपठाइन्जेलसम्म समेत।
१८ अनि यस्तो हुन गयो कि उनीहरूले उनका वचनहरूलाई सुनेनन्; र त्यहाँ कलहहरू हुन थाले, यतिसम्म कि उनीहरू आफैँ विरुद्ध विभाजित हुन थाले र तरबारका साथ एक अर्काको बध गर्न थाले।
१९ अनि यसरी नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको एकहत्तारौँ वर्षको अन्त्य भयो।