धर्मशास्त्रहरू
हेलामान ९


अध्याय ९

सन्देशवाहकहरूले प्रधान न्यायकर्तालाई न्यायको आसनमा मृत फेला पार्छन्—उनीहरूलाई बन्दी बनाइन्छ र पछि मुक्त गरिन्छ—प्रेरणाद्वारा नफीले सियान्तुमलाई हत्याराको रुपमा चिनाउँछन्—नफीलाई केहीद्वारा अगमवक्ताको रुपमा स्वीकार गरिन्छ। लगभग ई.पू. २३–२१।

हेर, अब यस्तो हुन गयो कि जब नफीले यी वचनहरू बोलेका थिए, उनीहरूमाझका निश्चित मानिसहरू न्यायको आसनतिर दौडे; हो, त्यहाँ जानेसमेत पाँच थिए र जब उनीहरू गए, उनीहरूले आफ्नैमाझ भने:

हेर, अब हामीले निश्चितताका साथ थाहा पाउने छौँ कि यी मानिस अगमवक्ता हुन् कि होइनन् र परमेश्वरले उसलाई हामीसामु यस्ता विस्मयकारी कुराहरू अगमवाणी गर्न आज्ञा दिनुभएको छ कि छैन। हेर, हामी विश्वास गर्दैनौँ कि उहाँले दिनुभएको छ; हो, हामी विश्वास गर्दैनौँ कि उनी अगमवक्ता हुन्; तैपनि, यदि प्रधान न्यायकर्ताका बारेमा उनले भनेको यो कुरा सत्य भए, कि उनी मरेका भए, तब हामीले विश्वास गर्नेछौँ कि उनले बोलेका अरु वचनहरू सत्य छन्।

अनि यस्तो हुन गयो कि उनीहरू आफ्नो शक्तिका साथ दौडे र न्यायको आसनसम्म आए; अनि हेर, प्रधान न्यायकर्ता पृथ्वीमा ढलेका थिए र आफ्नो रगतमा लडिरहेका थिए।

अनि अब हेर, जब उनीहरूले यो देखे उनीहरू अत्यन्त आश्चर्यचकित भए, यतिसम्म कि उनीहरू पृथ्वीमा ढले; किनकि उनीहरूले नफीले प्रधान न्यायकर्ताका बारेमा भनेका वचनहरूको विश्वास गरेका थिएनन्।

तर अब, जब उनीहरूले देखे उनीहरूले विश्वास गरे; र कथंकदाचित नफीले बोलेका सबै न्यायहरू उनीहरूमाथि आउनुपर्दछ भन्ने डर आयो; त्यसकारण उनीहरू काँपे र पृथ्वीमा ढलेका थिए।

अब, जब न्यायकर्ताको हत्या गरिएको थियो, तुरुन्तै—उनलाई तिनका भाइले एक छद्म भेषमा चक्कु हानेको हुनाले र ऊ भाग्यो र सेवकहरू दौडे र जनलाई भने, उनीहरूमाझ हत्याको आवाज उठाउँदै;

अनि हेर जन न्यायको आसनको स्थानसामु एकसाथ जम्मा भए—अनि हेर उनीहरूका आश्चर्यका निम्ति उनीहरूले पृथ्वीमा ढलेका ती पाँच मानिसहरूलाई देखे।

अनि अब हेर, जनलाई नफीको बगैँचामा एकसाथ जम्मा भएका भीडका बारेमा केही थाहा थिएन; त्यसकारण उनीहरूले आफ्नैमाझ भने: यी मानिसहरू ती हुन् जसले न्यायकर्ताको हत्या गरेका थिए र परमेश्वरले उनीहरूलाई प्रहार गर्नुभएको छ कि उनीहरू हामीबाट भाग्न सकेनन्।

अनि यस्तो हुन गयो कि उनीहरूले तिनीहरूलाई समाते र उनीहरूलाई बाँधे र उनीहरूलाई कारागारमा फ्याँके। अनि उनीहरूले सर्वत्र पठाएको एक घोषणा थियो कि न्यायकर्ताको बध गरिएको थियो र हत्याराहरूलाई समातिएको थियो र कारागारमा फ्याँकिएको थियो।

१० अनि यस्तो हुन गयो कि भोलिपल्ट बध गरिएका महान् प्रधान न्यायकर्ताको समाधिमा जन शोक गर्न र उपवास बस्न एकसाथ आफैँ जम्मा भए।

११ अनि यसरी नफीका बगैँचामा भएका र उनका वचनहरू सुनेका न्यायकर्ताहरू पनि समाधिमा एकसाथ भेला भएका थिए।

१२ अनि यस्तो हुन गयो कि उनीहरूले जनमाझ सोधखोज गरे, यसो भन्दै: प्रधान न्यायकर्ताका बारेमा उनी मरेका छन् कि छैनन् भनी सोधखोज गर्न पठाएका पाँच जना कहाँ छन्? अनि उनीहरूले उत्तर दिए र भने: तिमीहरूले पठाएका भनेका पाँच जनाका बारेमा, हामीलाई थाहा छैन; तर त्यहाँ पाँच छन् जो हत्याराहरू हुन्, जसलाई हामीले कारागारमा फ्याँकेका छौँ।

१३ अनि यस्तो हुन गयो कि न्यायकर्ताहरूले चाहे कि तिनीहरूलाई ल्याइनु पर्दछ; र तिनीहरूलाई ल्याइयो; र हेर तिनीहरू पठाइएका पाँच थिए; अनि हेर न्यायकर्ताहरूले त्यस विषयको बारेमा जान्न तिनीहरूलाई सोधखोज गरे र तिनीहरूले उनीहरूलाई आफूले गरेका सबै यसो भन्दै भने:

१४ हामी दौड्यौँ र न्यायको आसनको स्थानसम्म आयौँ र जब हामीहरूले नफीले गवाही दिएको जस्तै सबै कुराहारु देख्यौँ, हामी यतिसम्म आश्चर्यचकित भयौँ कि हामी पृथ्वीमा ढल्यौँ; र जब हामी हाम्रो आश्चर्यबाट सम्भालियौँ, हेर उनीहरूले हामीलाई कारागारमा फ्याँके।

१५ अब, यो मानिसको हत्याका बारेमा, हामीलाई थाहा छैन कसले यो गरेको हो; र हामी यति मात्र जान्दछौँ, हामी तिमीहरूले चाहेअनुसार दौड्यौँ र आयौँ, नफीका वचनहरूअनुसार र हेर उनी मरेका थिए।

१६ अनि यस्तो हुन गयो कि न्यायकर्ताहरूले यस विषयलाई जनसामु व्याख्या गरे र नफीका विरुद्ध कराए, यसो भन्दै: हेर, हामीलाई थाहा छ कि नफीले कोही एकसँग न्यायकर्ताको वध गर्न मन्जुरी गरेको हुनुपर्दछ र तब उसले हामीसामु यसको घोषणा गर्न सकोस्, कि उसले हामीलाई उसको आस्थामा परिवर्तन गर्न सकोस्, कि उसले आफूलाई एक महान् मानिस, परमेश्वरबाट चुनिएको र एक अगमवक्ता हुन उचाल्न सकोस्।

१७ अनि अब हेर, हामीले यस मानिसको भण्डाफोर गर्नेछौँ र उसले आफ्ना गल्तीको स्वीकार गर्नेछ र यो न्यायकर्ताको सत्य हत्यारालाई हामीसामु अवगत गराउने छ।

१८ अनि यस्तो हुन गयो कि पाँचलाई समाधिको दिनमा मुक्त गरियो। तैपनि, तिनीहरूले न्यायकर्ताहरूलाई उनीहरूले नफीविरुद्ध बोलेका वचनहरूका निम्ति हप्काए र उनीहरूसँग एक-एक गरेर झगडा गरे, यतिसम्म कि तिनीहरूले उनीहरूलाई पराजित गरे।

१९ तैपनि, उनीहरूले अह्राए कि नफीलाई समात्नु पर्दछ र बाध्नु पर्दछ र भीडअगाडि ल्याइनु पर्दछ र उनीहरूले उनलाई विभिन्न तरिकाहरूमा प्रश्न गर्न थाले ताकि उनीहरूले उनलाई गलत सावित गर्न सकून्, कि उनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउन सकून्—

२० उनीसामु यसो भन्दै: तँ षडयन्त्रकारी होस्; यो हत्या गर्ने त्यो मानिस को हो? अब हामीलाई भन् र आफ्नो गल्ती स्वीकार गर्; यसो भन्दै, हेर् पैसा यहाँ छ; अनि हामीले तँलाई तेरो जीवन पनि दिनेछौँ यदि तैँले हामीलाई भनिस् र तैँले उससँग गरेको मन्जुरीनामालाई स्वीकार गरिस् भने।

२१ तर नफीले उनीहरूसामु भने: हे तिमी मुर्खहरू, तिमी हृदयका बेखतनाहरू, तिमी अन्धाहरू र तिमी हठी जन, के तिमीहरूलाई थाहा छ परमप्रभु तिमीहरूका परमेश्वरले कतिन्जेल तिमीहरूलाई सहनुहुन्छ कि तिमीहरू आफ्नो यो पापको बाटोमा जानेछौ?

२२ तिमीहरूले पश्चात्ताप नगरे तिमीहरूलाई यससमयमा पर्खेर बसेको महान् विनाशका कारण, हे तिमीहरूले चिच्याउन र शोक गर्न थाल्नु पर्दछ।

२३ हेर तिमीहरू भन्दछौ कि मैले एक मानिससँग सम्झौता गरेको छु कि उसले हाम्रो प्रधान न्यायकर्ता सीजोरमको हत्या गर्नुपर्छ। तर हेर, म तिमीहरूसामु भन्दछु, कि यो हो किनभने मैले तिमीहरूसामु गवाही दिएको छु कि तिमीहरूले यी कुराको बारेमा, हो तिमीहरूसामु एक गवाहीको निम्ति समेत थाहा पाउन सक, कि मलाई तिमीहरूमाझका दुष्टता र कुकर्महरूका बारेमा थाहा थियो।

२४ अनि किनभने मैले यो गरेको छु, हो तिमीहरू भन्दछौ कि मैले एक मानिससँग सम्झौता गरेको छु कि उसले यो कुरो गर्नुपर्छ, हो, किनभने मैले तिमीहरूसामु यो चिन्ह देखाएको छु तिमीहरू मसँग रिसायौ र मेरो जीवनको नाश गर्न खोज्छौ।

२५ अनि अब हेर, मैले तिमीहरूलाई अर्को चिन्ह देखाउनेछु र हेर्नेछु यदि तिमीहरूले यो कुरामा मेरो विनाश गर्न खोज्नेछौ।

२६ हेर म तिमीहरूसामु भन्दछु: सेयान्तुमको घर जाओ, जो सीजोरमको भाइ हो र उससामु भन—

२७ के नफी, त्यो झुटो अगमवक्ता, जसले यी जनका बारेमा यति धेरै खराब अगमवाणी गरेको छ, उसले तँसँग मन्जुरी गरेको छ, जुनमा तैँले तेरो दाजु सीजोरमको हत्या गरेको होस्?

२८ अनि हेर, उसले तिमीहरूसामु भन्नेछ, छैन।

२९ अनि तिमीहरूले उसलाई भन्नेछौ: के तैँले तेरो दाजुको हत्या गरेको होस्?

३० अनि ऊ डरका साथ खडा हुनेछ र के भन्ने थाहा पाउनेछैन। अनि हेर, उसले अस्वीकार गर्नेछ; र उसले आश्चर्यचकित भए जस्तो गर्नेछ; तैपनि, उसले तिमीहरूसामु घोषणा गर्नेछ कि ऊ निर्दोष छ।

३१ तर हेर, तिमीहरूले उसलाई जाँच्नेछौ र तिमीहरूले उसको लवेदाको फेरमा रगत फेला पार्नेछौ।

३२ अनि जब तिमीहरूले यो देख्छौ, तिमीहरूले भन्नेछौ: यो रगत कहाँबाट आउँछ? के हामीलाई थाहा छैन कि यो तेरो दाजुको रगत हो?

३३ अनि तब ऊ काँप्ने छ र उसमाथि मृत्यु आएजस्तै गरी पहेँलो देखिनेछ।

३४ अनि तब तिमीहरूले भन्नेछौ: तँमाथि आएको यो डर र यो पहेँलोपनको कारण, हेर, हामीलाई थाहा छ कि तँ दोषी छस्।

३५ अनि तब झन् ठुलो डर उसमाथि आउनेछ; र तब उसले तिमीहरूसामु स्वीकार्ने छ र अरु अस्वीकार गर्नेछैन कि उसले यो हत्या गरेको हो।

३६ अनि तब उसले तिमीहरूसामु भन्नेछ, कि म, नफीलाई यो विषयका बारेमा केही थाहा छैन परमेश्वरका शक्तिद्वारा मलाई दिए बाहेक। अनि तब तिमीहरूले थाहा पाउनेछौ कि म एक इमान्दार मानिस हुँ र मलाई परमेश्वरबाट तिमीहरूसामु पठाइएको हो।

३७ अनि यस्तो हुन गयो कि उनीहरू गए र, नफीले उनीहरूसामु भनेअनुसार गरे। अनि हेर उनले भनेका वचनहरू सत्य थिए; किनकि वचनहरूअनुसार उसले अस्वीकार गऱ्यो; र वचनहरूअनुसार उसले स्वीकार पनि गऱ्यो।

३८ अनि उसलाई प्रमाणित गर्न ल्याइएको थियो कि ऊ आफैँ सोही हत्यारा थियो, यतिसम्म कि पाँचलाई र नफीलाई पनि स्वतन्त्र छाडियो।

३९ अनि त्यहाँ कोही नफीहरू थिए जसले नफीका वचनहरूमा विश्वास गरे; अनि त्यहाँ कोही यस्ता पनि थिए जसले पाँचका गवाहीका कारण विश्वास गरे, किनकि उनीहरू कारागारमा भएको बेलामा परिवर्तित भएका थिए।

४० अनि अब जनमाझ कोही थिए, जसले भने कि नफी एक अगमवक्ता थिए।

४१ अनि त्यहाँ अरु थिए जसले भने: हेर, ऊ एक परमेश्वर हो, किनकि यदि ऊ परमेश्वर नभए उसले सबै कुराहरू थाहा पाउन सक्दैनथ्यो। किनकि हेर, उसले हाम्रा हृदयहरूका विचारहरू हामीलाई भन्यो र उसले हामीहरूलाई कुराहरू भन्यो; र उसले हाम्रो प्रधान न्यायकर्ताको सत्य हत्यारालाई हाम्रो जानकारीमा समेत ल्यायो।

प्रिन्ट गर्नुहोस्