धर्मशास्त्रहरू
२ नफी ३३


अध्याय ३३

नफीका वचनहरू सत्य छन्—तिनीहरूले ख्रीष्टको गवाही दिन्छन्—जसले ख्रीष्टमा विश्वास गर्छन् उनीहरूले नफीका वचनहरूमा विश्वास गर्नेछन्, जुन न्यायलय अगाडि साक्षीका रुपमा उभिनेछन्। लगभग ई.पु. ५५९–५४५।

अनि अब म, नफी, मेरा जनमाझ सिकाएका सबै कुराहरू लेख्न सक्दिनँ; न त म बोल्नमा जस्तै, लेख्नमा शक्तिशाली छु; किनकि जब मानिस पवित्र आत्माको शक्तिद्वारा बोल्दछ पवित्र आत्माको शक्तिले त्यसलाई मानिसका छोराछोरीका हृदयसम्म पुऱ्याउँदछ।

तर हेर, त्यहाँ धेरै छन् जसले पवित्र आत्माका विरुद्ध उनीहरूका हृदयहरू कठोर पारेका छन्; कि त्यसको उनीहरूमा कुनै स्थान छैन; यसकारण, उनीहरू लेखिएका धेरै कुराहरूलाई त्याग्छन् र उनीहरूले ती निरर्थक ठान्दछन्।

तर, म नफीले जे लेखेको छु सो लेखेको छु, अनि म ती ठूलो मूल्यका ठान्दछु, अनि विशेषगरी मेरा जनका लागि। किनकि उनीहरूका लागि म दिनमा निरन्तर प्रार्थना गर्दछु, अनि रातमा मेरा आँखाले मेरो सिरानी भिजाउँछन्; अनि म परमेश्वरसामु पुकार्छु, अनि मलाई थाहा छ कि उहाँले मेरो पुकारा सुन्नुहुन्छ।

अनि मलाई थाहा छ कि परमप्रभु परमेश्वरले मेरा प्रार्थनाहरू मेरा जनका भलाइका निम्ति पवित्रीकृत गर्नुहुनेछ। अनि मैले कमजोरीमा लेखेका वचनहरू उनीहरूसामु शक्तिशाली बनाइनेछन्; किनकि यसले उनीहरूलाई असल गर्न मनाउँछ; यसले उनीहरूका पिताका बारेमा उनीहरूलाई अवगत गराउँछ; अनि यसले येशूका बारेमा बोल्छ, अनि उनीहरूलाई मनाउँछ उहाँमा विश्वास गर्न, अनि अन्त्यसम्मै सहन, जुन अनन्त जीवन हो।

अनि सत्यको सरलताअनुसार, यसले पापका विरुद्ध कठोरताका साथ बोल्दछ; यसकारण, सैतानका आत्माबाहेक मैले लेखेका वचनहरूमा कुनै मानिस रिसाउनेछैनन्।

म सरलतामा महिमा गर्दछु; म सत्यतामा महिमा गर्छु; म येशूमा महिमा गर्छु, किनकि उहाँले मेरो जीवात्मालाई नरकबाट उद्धार गर्नुभएको छ।

मसँग मेरा जनप्रति ख्रीष्टिय प्रेम, अनि ख्रीष्टमा महान् आस्था छ कि म उहाँको न्यायको आसनमा धेरै जीवात्माहरूलाई निस्कलङ्क भेट्नेछु।

मसँग येहुदी प्रति ख्रीष्टिय प्रेम छ—म यहूदी भन्छु, किनभने मेरो अर्थ ती हुन् जसबाट म आएँ।

मसँग गैह्र-यहूदीहरू प्रति पनि ख्रीष्टिय प्रेम छ। तर हेर, किनकि ख्रीष्टमा मिलाप हुनेहरू, अनि साँघुरो द्वारबाट प्रवेश गरेर जीवन तिर डोऱ्याउने सिधा बाटोमा हिँड्नेहरू, अनि परीक्षणकालका दिनको अन्त्यसम्म त्यो बाटोमा निरन्तर अघि बढ्नेहरूबाहेक यी मध्ये मलाई कसैको आशा छैन।

१० अनि अब, मेरा प्रिय बन्धुहरू, अनि यहूदीहरू पनि, अनि पृथ्वीका पल्लो छेउका तिमीहरू, यी वचनहरूलाई सुन र ख्रीष्टमा विश्वास गर; अनि यदि यी वचनहरूमा विश्वास गर्दैनौ भने ख्रीष्टमा विश्वास गर। अनि यदि तिमीहरूले ख्रीष्टमा विश्वास गऱ्यौ भने यी वचनहरूमा विश्वास गर्नेछौ; किनकि ती ख्रीष्टका वचनहरू हुन्, अनि उहाँले यी मलाई दिनुभएको छ; अनि यिनीहरूले सबै मानिसहरूलाई सिकाउँछन् कि उनीहरूले असल गर्नुपर्छ।

११ अनि यदि ती ख्रीष्टका वचन होइनन् भने, तिमीहरू जाँच—किनकि ख्रीष्टले अन्तिम दिनमा तिमीहरूसामु देखाउनुहुनेछ, शक्ति र महान् महिमाका साथ, कि ती उहाँका वचनहरू हुन्, अनि तिमी र म उहाँको न्यायालयअगाडि आम्नेसाम्ने खडा हुनेछौँ; अनि तिमीहरूले थाहा पाउनेछौ कि मेरा कमजोरी हुँदाहुँदै पनि मलाई यी कुराहरू लेख्न भनी उहाँले आज्ञा दिनुभएको रहेछ।

१२ अनि म ख्रीष्टका नाममा पितालाई प्रार्थना गर्दछु कि सबैले नपाए पनि, हामीमध्ये धेरैलाई उहाँका अधिराज्यमा त्यो महान् र त्यो अन्तिम दिनमा बचाउन सकियोस्।

१३ अनि अब, मेरा प्रिय बन्धुहरू, ती सबै जो इस्राएलका घरानाका हुन्, अनि पृथ्वीका पल्लो छेउका तिमीहरू सबै, म तिमीहरूसामु बोल्दछु, धुलोबाट कराउनेको आवाज जसरी: त्यो महान् दिन नआउन्जेलसम्मका लागि बिदा।

१४ अनि तिमी जसले परमेश्वरको कृपालाई चाख्नेछैनौ, अनि यहूदीहरूका वचनहरूलाई, अनि मेरा वचनहरूलाई पनि, अनि परमेश्वरका थुमाका मुखबाट अघि बढ्ने वचनहरूलाई आदर गर्नेछैनौ, म तिमीलाई सदाकालागि विदा गर्छु, किनकि यी वचनहरूले तिमीहरूलाई त्यो अन्तिम दिनमा दोषी ठहऱ्याउनेछ।

१५ किनकि म पृथ्वीमा जे छाप लगाएर बाँध्छु, त्यो तिम्रा विरुद्ध न्यायालयमा ल्याइनेछ; किनकि परमप्रभुले मलाई त्यसरी नै आज्ञा दिनुभएको छ, र मैले पालना गर्नुपर्छ। आमिन।

प्रिन्ट गर्नुहोस्