अध्याय ५
नफीहरूले स्वयमलाई लामनीहरूबाट अलग्याऊँछन्, मोशाको ब्यबस्थालाई पालन गर्दछन् र मन्दिरको निर्माण गर्दछन्—उनीहरूको अविश्वासको कारणले लामनीहरूलाई परमप्रभुको उपस्थितिबाट अलग्याईन्छ र श्रापित गरिन्छ र उनीहरू नफीहरूमाथि कोर्रा बन्दछन। लगभग ई.पू. ५८८–५५९।
१ हेर, यस्तो हुन गयो कि म, नफी, परमप्रभु मेरा परमेश्वरसमक्ष मेरा बन्धुहरूका रिसका कारणले मैले धेरै पुकारेँ।
२ तर हेर, उनीहरूको रिस मेरो विरुद्धमा बढेर गयो, यति सम्म कि उनीहरूले मेरो ज्यान लिन खोजे।
३ हो, उनीहरूले मेरो विरुद्धमा यसो भन्दै गनगन गरे: हाम्रो भाइले हामीमाथि शासन गर्ने कुरा सोंच्छ; र उसको कारणले हामीले धेरै कष्ट पाएका छौँ; यसकारण, अब हामी यसको बध गरौँ, ताकि हामी यसको वचनहरूबाट अरु कष्ट पाउनेछैनौँ। किनभने हेर, ऊ हाम्रो शासक हुन हामीमाझ हुने छैन; किनभने यी जनमाथि शासन गर्ने अधिकार हामी दाइहरूको हो।
४ अब म यी पाताहरूमाथि उनीहरूले मेरा विरुद्ध गनगन गरेका सबै शब्दहरू लेख्दिनँ। तर मैले यति भन्नु पर्याप्त छ, कि उनीहरूले मेरो ज्यान लिन खोजे।
५ अनि यस्तो हुन गयो कि परमप्रभुले मलाइ सचेत गर्नुभयो, कि म, नफी र ती सबै जो मसँग जानेवाला थिए, उनीहरूबाट प्रस्थान गर्नुपर्दछ र उजाड स्थान भित्र भाग्नुपर्दछ।
६ यसकारण, यस्तो हुन गयो कि म नफीले मेरो परिवार र जोरम र उसको परिवार पनि र मेरो ठूलो दाजु साम र उसको परिवार र मेरा कान्छा बन्धुहरू याकूब र योसेफ र मेरा दिदी बहिनीहरू पनि र ती जो मसँग जानेवाला थिए सबैलाई लिएँ। अनि ती सबै जो मसँग जानेवाला थिए, उनीहरू ती थिए जसले परमेश्वरका चेतावनी र प्रकाशहरूमा विश्वास गरे; यसकारण, उनीहरूले मेरा वचनहरूलाई सुने।
७ अनि हामीले आफ्ना पालहरू र जे चीजहरू हाम्रालागि सम्भव थिए लियौँ र उजाड स्थानमा धेरै दिनहरूको अन्तरालसम्म यात्रा गर्यौं। अनि हामीले धेरै दिनहरूको अन्तरालसम्म यात्रा गरेपछि हामीले हाम्रा पालहरू टाङ्यौँ।
८ अनि मेरा जनले इच्छा गरे कि हामीले त्यो ठाउँको नाम नफी भन्नुपर्छ; यसकारण, हामीले यसलाई नफी भन्यौँ।
९ अनि: जो मसँग थिए ती सबैले स्वयमलाई नफीका जन भनिन आफूमाथि निर्णय गरे।
१० अनि हामीहरूले मोशाको व्यवस्था वमोजिम न्यायहरू र विधि विधानहरू र सबै कुराहरूमा परमप्रभुका आज्ञाहरू पालना गर्न प्रयत्न गऱ्यौँ।
११ अनि परमप्रभु हामीसँग हुनुहुन्थ्यो, अनि हामीले अत्यन्त उन्नति गऱ्यौँ; किनभने हामीले बीउ छऱ्यौँ र हामीले फेरि प्रशस्ततामा फसल काट्यौँ। अनि हामीले बथान र झुण्डहरू र प्रत्येक किसिमका जनावरहरू पाल्न थाल्यौँ।
१२ अनि म नफीले ती अभिलेखहरू पनि ल्याएको थिएँ जुन पित्तलका पाताहरूमाथि कुँदिएका थिए; र गोल वा दिशा निर्देशक यन्त्र पनि, जसलाई परमप्रभुका हातबाट मेरा पिताका लागि तयार गरिएको थियो, जुन सोही बमोजिम लेखिएको छ।
१३ अनि यस्तो हुनगयो कि हामीहरूले अत्यन्त उन्नति गर्न र भूमिमा सङ्ख्या बढाउन थाल्यौँ।
१४ अनि म नफीले लाबानको तरबार लिएँ र यसको ढाँचापछि धेरै तरबारहरू बनाएँ, कि कुनै तरहले अहिले लमानीहरू कहलिने जनताले हामीमाथि आक्रमण गर्लान् र हामीलाई विनाश गर्लान् भन्ने डरले; किनभने म र मेरा सन्तानहरू र जसलाई मेरा जन भनिन्थ्यो उनीहरूप्रति तिनीहरूको घृणाबारे मलाई ज्ञान थियो।
१५ अनि मैले मेरा जनतालाई भवनहरू बनाउन र सबै किसिमका काठ र फलाम र तामा र पित्तल र इस्पात र सुन र चाँदी र अधिक प्रशस्ततामा भएका बहुमूल्य कच्चा धातुहरूमा काम गर्न सिकाएँ।
१६ अनि म, नफीले एउटा मन्दिर बनाएँ; र यसलाई मैले सोलोमनको मन्दिरको ढाँचामा निर्माण गरेँ, केवल यो त्यति धेरै मूल्यवान् वस्तुहरूबाट बनाइएको थिएन; किनभने ती भूमिमाथि भेट्टाइएनन्, यसकारण, यसलाई सोलोमनको मन्दिर जस्तो बनाउन सकिएन। तर निर्माणको ढाँचा सोलोमनको मन्दिरजस्तै थियो; र त्यसमाथिको शिल्पकला अत्यन्तै उच्चस्तरको थियो।
१७ अनि यस्तो हुन गयो कि म, नफीले मेरा जनतालाई परिश्रमी हुन र आफ्ना हातले श्रम गर्न लगाएँ।
१८ अनि यस्तो हुन गयो कि उनीहरूले इच्छा गरे कि म उनीहरूको राजा बनूँ। तर म, नफी, इच्छुक थिएँ कि उनीहरूको कुनै राजा नहोस्; तैपनि मेरो क्षमताले भ्याए अनुसार मैले उनीहरूका निम्ति गरेँ।
१९ अनि हेर, परमप्रभुका वचनहरू मेरा बन्धुहरूमाथि पूरा भएको थियो, जुन उनीहरूको सम्बन्धमा उहाँले बोल्नु भएको थियो कि म उनीहरूको शासक र उनीहरूको गुरु होऊँ। यसकारण, प्रभुको आज्ञा बमोजिम उनीहरूले मेरो ज्यान लिन खोजेको समयसम्म म उनीहरूको शासक र उनीहरूको शिक्षक भएको थिएँ।
२० यसरी, परमप्रभुको वचन पूरा भयो जुन उहाँले यसो भन्दै ममाथि बोल्नु भएको थियो: जति जति उनीहरूले तिम्रो वचनहरूलाई सुन्नेछैनन्, उनीहरूलाई परमप्रभुको उपस्थितिबाट अलग्याईनेछ। अनि हेर, उनीहरूलाई उहाँको उपस्थितिबाट अलग्याइयो।
२१ अनि उनीहरूको दुष्टताको कारणले उहाँले श्रापलाई उनीहरूमाथि आउन लगाउनुभयो, हो, एउटा कष्टदायक श्राप समेत। किनभने हेर, उनीहरूले उहाँ विरुद्ध आफ्नो हृदयहरूलाई कठोर बनाएका थिए, ताकि उनीहरू दर्शन ढुंङ्गाजस्तो बनेका थिए; यसकारण, उनीहरू सेतो र अत्यन्तै गोरो र आनन्ददायक भएकोले, मेरा जन उनीहरूमाथि लालायित नहोऊँन् भनेर परमप्रभु परमेश्वरले उनीहरूमाथि कालोपनाको छाला आउन दिनुभयो।
२२ अनि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म यसो गराउने छु कि उनीहरू तिम्रा जनतका लागि घृणायोग्य हुनेछन्, उनीहरूले आफ्नो दुष्टताको पश्चाताप नगरेसम्म।
२३ अनि तिनीहरूको सन्ततिसँग मिसिनेको सन्तति श्रापित हुनेछ; किनभने उनीहरू पनि सोही श्रापबाट श्रापित हुनेछन्। अनि परमप्रभुले यो बोल्नुभयो, अनि यसै गरियो।
२४ अनि उनीहरूको श्रापको कारणले, जुन उनीहरूमाथि थियो, उनीहरू, उपद्रव र अस्पष्टताले भरिपूर्ण, लोसे मानिसहरू बने र उजाड स्थानमा शिकारका जन्तुहरूको खोजी गर्थे।
२५ अनि परमप्रभु परमेश्वरले मलाई भन्नुभयो: उनीहरू तिम्रा सन्ततिका लागि कोर्रा बन्नेछन्, तिनीहरूलाई मेरो सम्झना गर्न प्रेरित गर्नका लागि; र जहाँसम्म उनीहरूले मलाई सम्झने छैनन् र मेरा वचनहरूलाई सुन्ने छैनन्, तिनीहरू उनीहरूको विनाश नै हुनेगरी समेत कोर्रा बन्ने छन्।
२६ अनि यस्तो हुन गयो कि म नफीले याकूब र योसेफलाई पवित्रीकृत गरेँ, ताकि उनीहरू मेरा जनताको भूमिमाथि पादरी र शिक्षक बनून्।
२७ अनि यस्तो हुन गयो कि हामी खुशीपुर्वक बाँच्यौँ।
२८ अनि हामीले यरुशलेम छोडेको समयदेखि तीस वर्ष बितिसकेको थियो।
२९ अनि म नफीले मेरा पाताहरू, जुन मैले बनाएको थिएँ, तीमाथि अहिलेसम्म मेरा जनताका बारेमा अभिलेखहरू राखेको थिएँ।
३० अनि यस्तो हुन गयो कि परमप्रभु परमेश्वरले मलाई भन्नुभयो: अन्य पाताहरू बनाऊ; तिम्रा जनताको फाइदाका लागि तिमीले तिनीहरूमाथि धेरै कुराहरू कुँद्नेछौ, जुन मेरो दृष्टिमा असल छन्।
३१ यसकारण, म नफी परमप्रभुका आज्ञाहरू प्रति आज्ञाकारी हुनका लागि गएँ र ती पाताहरू बनाएँ, जसमाथि मैले यी कुराहरू कुँदेको छु।
३२ अनि मैले त्यो कुँदेँ जुन परमेश्वरका लागि चित्तबुझ्दो छ। र यदि मेरा जनता परमेश्वरका कुराहरूदेखि हर्षित छन् भने उनीहरू मेरा कुँदाइदेखि हर्षित हुनेछन्, जुन यी पाताहरूमाथि छन्।
३३ अनि यदि मेरा जन मेरा जनको इतिहासको अरु विशिष्ट खण्ड जान्न इच्छा गर्दछन् भने उनीहरूले मेरा अन्य पाताहरू खोजी गर्नु पर्छ।
३४ अनि यो भन्नु मलाई पर्याप्त छ कि चालीस वर्षहरू बितिसकेका थिए र हाम्रा बन्धुहरूसँग पहिल्यै युद्ध र झगडा भइसकेको थियो।