अध्याय ८
याकूबले यसैयाबाट अरु पढ़्छन्: पछिल्ला दिनमा, परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ र इस्राएललाई जम्मा गर्नुहुनेछ—मुक्ति पाएकाहरू महान् आनन्दका साथ सियोनमा आउनेछन्—यशैया ५१ र ५२:१–२ संग तुलना गर्नुहोस्। लगभग ई.पू. ५५९–५४५।
१ धार्मिकताको पछि लाग्ने तिमीहरू, मेरा कुरा सुन। जुन चट्टानबाट तिमीहरू कुँदियौ र जुन खानीको खाडलबाट तिमीहरू निकालियौ, त्यसलाई हेर।
२ तिमीहरूका पिता अब्राहामलाई हेर र सारालाई, तिनी जसले तिमीहरूलाई जन्माइन्, मैले तिनलाई एक्लै बोलाएँ र तिनलाई आशीष दिएँ।
३ किनकि परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ, उहाँले त्यसका सबै भग्नावशेषहरूलाई सान्त्वना दिनुहुनेछ; र उहाँले त्यसको उजाड स्थानलाई अदनझैँ र त्यसको मरुभूमिलाई परमप्रभुको बगैँचा झैँ बनाउनुहुनेछ। हर्ष र आनन्द, कृतज्ञता र गीतको स्वर त्यसमा पाइनेछ।
४ मेरा जन, मेरा कुरा सुन, मेरा कुरामा कान थाप, हे मेरो राष्ट्र, किनकि मबाट व्यवस्था अगाडि बढ्दछ र म मेरो न्याय ती जनमाझ प्रकाश भएर रहन लगाउनेछु।
५ मेरो धार्मिकता नजिकै छ; मेरो मुक्ति अघि गएको छ र मेरा बाहुले जनको न्याय गर्नेछ। टापुहरूले मलाई कुर्नेछन् र मेरा बाहुमा तिनीहरूले भरोसा गर्नेछन्।
६ तिमीहरू आफ्ना आँखा स्वर्गतिर उठाओ र तल पृथ्वीलाई हेर; किनकि स्वर्गहरू धुवाँझैं लोप हुनेछ र पृथ्वी बस्त्रझैँ झुत्रो हुनेछ; र त्यसमा बस्ने तिनीहरू त्यसै प्रकार मर्नेछन्। तर मेरो मुक्ति सदासर्वदा रहिरहनेछ र मेरो धार्मिकताको कहिल्यै विनाश हुनेछैन।
७ मलाई सुन, तिमीहरू जो धार्मिकता जान्दछौ, ती जन जसको हृदयमा मैले मेरो नियम लेखेको छु, मानिसहरूको निन्दादेखि नडराओ, न त तिनीहरूको आलोचनादेखि भयभीत होओ।
८ किनकि लुगा खाएझैँ कीराले तिनीहरूलाई खानेछन् र ऊन खाए झैँ किराले तिनीहरूलाई खानेछन्। तर मेरो धार्मिकता सदासर्वदाका निम्ति रहनेछ र मेरो मुक्ति एक पिँढीदेखि अर्को पिँढीसम्म।
९ जाग, जाग! शक्ति धारण गर, हे परमप्रभुका बाहु; प्राचीनकालमा झैँ जाग। के तिमी त्यही होइनौ जसले राहाबलाई टुक्रा टुक्रा पाऱ्यौ र अजिङ्गरलाई घाइते तुल्यायौ?
१० के हजुर त्यही हुनुहुन्न जसले समुद्रलाई सुकाउनुभयो, महान् गहिराइका पानी सुकाउनुभयो; जसले आफूले उद्धार गरेकालाई पार गर्नका निम्ति समुद्रको गहिराइमा बाटो बनाइदिनुभयो?
११ त्यसकारण, परमप्रभुले उद्धार गर्नुभएकाहरू फर्कनेछन् र सियोनमा गीत गाउँदै आउनेछन्; र तिनीहरूको शिरमाथि अनन्त खुशी र पवित्रता रहनेछ; र तिनीहरूले आनन्द र खुशी प्राप्त गर्नेछन्; दु:ख र शोक भाग्नेछन्।
१२ म उही हुँ; हो, म उही हुँ जसले तिमीलाई सान्त्वना दियो। हेर, तिमी को हौ, कि तिमीले मानिससँग डराउनु परोस्, जो मर्नेछ र मानिसको पुत्र, जो घाँसझैँ ओइलाउनेछ?
१३ अनि परमप्रभु तिम्रा निर्मातालाई बिर्सियौ, जसले स्वर्गहरू फैलाउनु भएको छ र पृथ्वीको जग बसाल्नुभएको छ र शोषकका क्रोधले प्रत्येक दिन निरन्तर त्रशित भएका छौ, शोषकको उग्रताका कारण, लाग्दो हो ऊ नाश गर्न तयार छ? र त्यो अत्याचारीको क्रोध कहाँ छ?
१४ निर्वासित बन्दीले हतार गर्छन्, ताकि उसलाई छुटकारा दिइयोस् र ताकि उसले त्यस खोरमा मर्न नपरोस्, न त तिनीहरूलाई खानेकुराको कमी होओस्।
१५ तर म परमप्रभु तिम्रा परमेश्वर हुँ, जसका छालहरू गर्जन्छन्; सैन्यहरूका अधिपति म नै हुँ।
१६ मैले मेरो वचन तिम्रो मुखमा हालिदिएको छु र तिमीलाई मेरो हातको छाँयाले ढाकेको छु, ताकि मैले स्वर्गहरू निर्माण गरुँ र पृथ्वीको जग बसालूँ र सियोनलाई भनूँ: हेर, तिमीहरू मेरा जन हौ।
१७ जाग, जाग, उठ, हे यरुशलेम, जसले परमप्रभुको हातमा उहाँको क्रोधको कचौरा पिएका छौ—काँप्ने त्यो कचौराबाट तिमीले पिएका छौ—
१८ अनि तिनले जन्माएका सबै छोराहरूमध्ये तिनलाई डोऱ्याउने कोही थिएन; न त तिनले हुर्काएका सबै छोराहरूमध्ये, तिनलाई हात समातेर लैजाने कोही थिए।
१९ यी दुई छोराहरू तिमीकहाँ आएका छन्, को तिमीदेखि दुखी मान्नेछ—तिम्रा भग्नावशेष र विनाश र अनिकाल र तरबार—र तिमीलाई म कस द्वारा सान्त्वना दिऊँ?
२० तिम्रा छोराहरू मुर्छा परेका छन्, यी दुई बाहेक; तिनीहरू जालमा परेको जङ्गली साँढेझैँ सडकको दोबाटोमा लडिरहेका छन्; तिनीहरू परमप्रभुको पूर्ण क्रोध र तिम्रो परमेश्वरको हप्काइमा परेका छन्।
२१ त्यसकारण यो अब सुन, तिमी दुखित र मातिएको तर मदिराले होइन:
२२ तिम्रा परमप्रभु यसो भन्नुहुन्छ, परमप्रभु अनि तिम्रा परमेश्वर जसले आफ्ना जनका पक्षमा बोल्नुहुन्छ, हेर, मैले तिम्रा हातबाट काँपिरहेको त्यो कचौरा, त्यो क्रोधको कचौरा लिएको छु; तिमीले त्यो फेरि कहिल्यै पिउनेछैनौ।
२३ तर म त्यो तिमीलाई सताउनेहरूका हातमा दिनेछु; जसले तिमीलाई भनेका छन्: घोप्टो पर, ताकि हामीमाथिबाट जान सकौँ—र तिमीले आफ्नो शरीरमाथिबाट जानेहरूका लागि भुइँ र हिड्ने सडकझैँ तुल्याईदिएका छौ।
२४ जाग, जाग, तिम्रो शक्ति धारण गर, हे सियोन; तिम्रा सुन्दर वस्त्रहरू लगाऊ, हे यरुशलेम, त्यो पवित्र सहर; किनकि अब उपरान्त त्यहाँ कुनै बेखतना र अशुद्ध तिमीकहाँ आउनेछैनन्।
२५ आफ्नो धुलो टक्टक्याऊ; जाग, बस, हे यरुशलेम; आफ्नो घाँटीको साङ्ला फुकाल, हे सियोनकी बन्दी छोरी।