धर्मशास्त्रहरू
२ नफी ४


अध्याय ४

लही आफ्नो वंशलाई सल्लाह र आशीष दिन्छन्—उनको मृत्यु हुन्छ र अन्तेष्टि गरिन्छ—नफी परमेश्वरको कृपामा महिमा गर्दछन्—नफी सदासर्वदा प्रभुमा आफ्नो भरोसा राख्दछन्। लगभग ई.पू. ५८८–५७०।

अनि अब, म, नफी, मेरा पिताले योसेफ, जसलाई मिश्र देशमा लगिएको थियो, उनका सम्बन्धमा बोल्नु भएको अगमवाणीहरूका सम्बन्धमा बोल्दछु।

किनकि हेर, उहाँले साँचै नै उहाँका सारा सन्ततिका सम्बन्धमा अगमवाणी गर्नुभयो। अनि जुन अगमवाणीहरू उहाँले लेख्नुभयो, ती भन्दा महान् धेरै अगमवाणीहरू छैनन्। अनि उहाँले हामीहरूका र हाम्रा भावी पुस्ताहरूका सम्बन्धमा अगमवाणी गर्नुभयो; र ती पित्तलका पाताहरूमाथि लेखिएका छन्।

यसकारण, मेरा पिताले योसेफका अगमवाणीहरूका बारेमा बोल्न अन्त्य गर्नुभएपछि, उहाँले लमानका सन्तानहरू, उसका छोराहरू र उसका छोरीहरूलाई बोलाउनुभयो र उनीहरूलाई भन्नुभयो: हेर, मेरा छोराहरू र मेरा छोरीहरू, जो मेरा ज्येष्ठ सन्तानका छोराहरू र छोरीहरू हौ, म इच्छा गर्दछु कि तिमीहरू मेरा वचनहरूलाई कान थाप।

किनभने परमप्रभु परमेश्वरले भन्नुभएको छ कि: जहाँसम्म तिमीहरूले मेरा आज्ञाहरूको पालना गर्नेछौ तिमीहरू भूमिमा उन्नति गर्नेछौ; र जहाँसम्म तिमीहरूले मेरा आज्ञाहरूको पालना गर्नेछैनौ तिमीहरूलाई मेरो उपस्थितिबाट अलग्याइनेछ।

तर हेर, मेरा छोराहरू र मेरा छोरीहरूहो, तिमीहरूमाथि आशीष नछोडेसम्म म मेरो समाधिस्थलसम्म जान सक्दिनँ; किनभने हेर, मलाई ज्ञान छ कि यदि तिमीहरूले जानुपर्ने बाटोमा तिमीहरूलाई हुर्काइयो भने तिमीहरू यसबाट टाढा हुनेछैनौ।

यसकारण, यदि तिमीहरूलाई श्राप लाग्यो भने, हेर, म तिमीहरूमाथि आशीष छोड्छु, कि त्यो श्राप तिमीहरूबाट हटाइयोस् र तिमीहरूका आमाबाबुका शिरहरूमा जिम्मा लगाइयोस्।

यसकारण, मेरो आशीषको कारणले परमप्रभु परमेश्वरले तिमीहरूको विनाश हुन दिनुहुनेछैन; यसकारण, उहाँ तिमीहरूमाथि र तिमीहरूका सन्ततिमाथि सदासर्वदा कृपालु हुनुहुनेछ।

अनि यस्तो हुन गयो कि मेरा पिताले लमानका छोराहरू र छोरीहरूसँग बोल्न अन्त्य गर्नु भएपछि, उहाँले लेमुएलका छोराहरू र छोरीहरूलाई आफ्नो अगाडि ल्याउन लगाउनुभयो।

अनि उहाँले तिनीहरूसँग यसो भन्दै बोल्नु भयो: हेर, मेरा छोराहरू र छोरीहरू, जो मेरो माहिलो पुत्रका छोराहरू र छोरीहरू हौ; हेर म तिमीहरूमाथि त्यही आशीष छोड्छु जुन मैले लमानका छोराहरू र छोरीहरूमाथि छोडेको छु; यसकारण, तिमीहरूको पूर्णरुपमा विनाश हुनेछैन; तर अन्त्यमा तिमीहरूका सन्तति आशीषित हुनेछन्।

१० अनि यस्तो हुन गयो कि जब मेरा पिताले उनीहरूसँग बोल्न अन्त्य गर्नुभयो, हेर, उहाँले इश्माएलका छोराहरूसँग बोल्नुभयो, हो, उनको पूरै गृहस्थसँग पनि।

११ अनि उहाँले तिनीहरूसँग बोल्न अन्त्य गर्नु भएपछि, उहाँले सामसँग यसो भन्दै बोल्नुभयो: तिमी आशीषित छौ र तिम्रा सन्तति पनि; किनभने तिमीले तिम्रा भाइ नफीले जस्तै भूमिमा उत्तराधिकार पाउनेछौ। अनि तिम्रा सन्ततिलाई उसकै सन्ततिसँग गणना गरिनेछ; र तिमी पनि तिम्रा भाइजस्तै हुनेछौ र तिम्रा सन्तति उसका सन्ततिजस्तै हुनेछन्; र तिम्रा सारा दिनहरूमा तिमी आशीषित हुनेछौ।

१२ अनि यस्तो हुन गयो कि मेरा पिता लहीले आफ्नो हृदयको भावना र प्रभुको आत्मा, (जुन ऊहाँसँग थियो), बमोजिम आफ्ना सबै गृहस्थसँग बोलिसक्नुभएपछि, उहाँ बृद्ध हुनुभयो। अनि यस्तो हुन गयो कि उहाँको मृत्यु भयो र उहाँको अन्तेष्टि गरियो।

१३ अनि यस्तो हुन गयो कि उहाँको मृत्युपछि धेरै दिन नहुँदै लमान र लमुएल र इश्माएलका छोराहरू प्रभुको सदुपदेशका कारणले मसँग क्रोधित भए।

१४ किनभने म, नफी, उहाँको वचनबमोजिम उनीहरूसामु बोल्न बाध्य थिएँ; किनभने मैले र मेरा पिताले पनि उहाँको मृत्यु हुनुअघि उनीहरूसामु धेरै कुराहरू बोलिसकेका थियौँ; जुन भनाइहरूमध्ये धेरै मेरा अन्य पाताहरूमाथि लेखिएका छन्; किनभने इतिहासका अरू खण्ड चाहिँ मेरा अन्य पाताहरूमाथि लेखिएका छन्।

१५ अनि यिनीहरूमाथि म मेरो जीवात्माका कुराहरू र पित्तलका पाताहरूमाथि कुँदिएका धर्मशास्त्रहरू मध्ये धेरै लेख्दछु। किनभने मेरो जीवात्मा धर्मशास्त्रहरूमा रमाउँछ र मेरो हृदय तिनीहरूमाथि मनन गर्दछ र मेरा छोरा छोरीहरूको शिक्षा र फाइदाको लागि तिनीहरूलाई लेख्दछ।

१६ हेर, मेरो जीवात्मा प्रभुका कुराहरूमा रमाउँछ; अनि मेरो हृदय निरन्तर ती कुराहरूमाथि मनन गर्दछ जुन मैले देखेको र सुनेको छु।

१७ तथापि, मलाई उहाँको महान् र अद्भूत कार्यहरू देखाउनमा प्रभुको महान् असलपना पाए तापनि, मेरो हृदय घोषणा गर्दछ: हे निकृष्ट मानिस, जो म हुँ! हो, मेरो हृदय बिलौना गर्दछ मेरो शरीरका कारणले; मेरो जीवात्मा शोक मान्दछ मेरा दुष्टताहरूका कारणले।

१८ म घेरिएको छु, मलाई सजिलै सताउने प्रलोभनहरू र पापहरूका कारणले।

१९ अनि जब म खुशी मनाउन इच्छा गर्दछु, मेरो हृदय मेरा पापहरूका कारणले पीडामा कराउँदछ; तथापि म जान्दछु मैले कसमा भरोसा गरेको छु भनेर।

२० मेरा परमेश्वर मेरो सहारा हुनुभएको छ; उजाड स्थानमा मैले पाएका कष्टहरूबीच उहाँले मेरो अगुवाइ गर्नुभएको छ; र अधिक गहिराइको पानीमाथि उहाँले मलाई जोगाउनुभएको छ।

२१ उहाँले आफ्नो प्रेमले मलाई भर्नुभएको छ, मेरो शरीरसमेत विलीन हुने गरेर।

२२ उहाँले मेरा शत्रुहरूको सेखी तोड्नुभएको छ, उनीहरूलाई मेरासामु काँप्न लगाउने गरी।

२३ हेर, उहाँले दिनमा मेरो पुकार सुन्नुभएको छ, अनि रातको समयमा उहाँले मलाई दर्शनबाट ज्ञान दिनुभएको छ।

२४ अनि दिनमा उहाँसामुन्ने शक्तिशाली प्रार्थनामा म निडर बनेको छु; हो, मेरो आवाज मैले माथिसम्म पठाएको छु; र स्वर्गदूतहरूले अवतरण गरे र मेरो सेवा गरे।

२५ अनि उहाँको आत्माको पखेटामाथि मेरो शरीरलाई अति उच्च पर्वतमाथि लगिएको छ। र मेरा आँखाहरूले महान् कुराहरू देखेका छन्, हो, मानिसका लागि अझ अति महान्; तसर्थ मलाई आदेश दिइएको थियो कि मैले तिनीहरूलाई लेख्नुहुँदैन।

२६ अहो! उसो भए, मैले यस्ता महान् कुराहरू देखेको छु भने, यदि प्रभुले मानिसका छोराछोरीहरूप्रतिको अनुग्रहमा धेरै कृपाका साथ मानिसहरूकहाँ भ्रमण गर्नुभएको छ भने किन मेरो हृदयले रुनु परोस् र मेरो जीवात्माले कष्टको उपत्यकामा बरालिनु परोस्, अनि मेरा कष्टहरूका कारणले किन मेरो शरीर सडेर जानु परोस् र मेरो शक्ति कमजोर भएर जानु परोस्?

२७ अनि म पापका सामु किन समर्पण गरूँ, मेरो शरीरको कारणले? हो, प्रलोभनकासामु किन म घुँडा टेकूँ, ताकि सैतानले मेरो शान्ति भङ्ग गर्न र मेरो जीवात्मालाई कष्ट दिन मेरो हृदयमा स्थान पाओस्? मेरा शत्रुहरूका कारणले किन म क्रोधित छु?

२८ ब्यूँझ, मेरो जीवात्मा! पापमा अरू बढी उत्साहित नहोऊ। खुशी मना, हे मेरो हृदय र मेरो जीवात्माको शत्रुलाई अरु बढी ठाउँ नदे।

२९ मेरा शत्रुहरूका कारणले फेरि नरिसा। मेरा कष्टहरूका कारणले मेरो शक्तिलाई कमजोर नबना।

३० खुशी मना, हे मेरो हृदय र परमप्रभुलाई पुकार र भन: हे प्रभु, म सदासर्वदा तपाईँको प्रशंसा गर्नेछु; हो, मेरो जीवात्माले तपाईमा खुशी मनाउनेछ, मेरा परमेश्वर र मेरो मुक्तिका चट्टान।

३१ हे प्रभु, के तपाईँले मेरो जीवात्माको उद्धार गर्नुहुनेछ? के तपाईँले मलाई मेरा शत्रुहरूको हातहरूबाट पार लगाउनु हुनेछ? के तपाईले मलाई त्यस्तो बनाउनुहुनेछ ताकि पाप देखा पर्दा म कामूँ?

३२ नरकका द्वारहरू मेरा सामुन्ने निरन्तर बन्द रहून्, किनभने मेरो हृदय टुक्रिएको छ र मेरो आत्मा पछुताएको छ! हे प्रभु, मेरोसामुन्ने तपाईको धार्मिकताका द्वारहरू बन्द नगरिदिनुहोस्, ताकि म विनम्रताको गहिराइका मार्गमा हिँड्न सकूँ, ताकि म सरल बाटोमा दृढ रहूँ।

३३ हे प्रभु, मलाई तपाईको धार्मिकताको पहिरनमा घेरेर राख्नुहोस्! हे प्रभु, मेरा शत्रुहरू अघि मेरो उम्कने बाटो बनाइदिनुहोस्! मेरो अगाडिको मेरो बाटो सिधा बनाइदिनुहोस्! मेरो बाटोमा ठेस लगाउने ढुङ्गाहरू नराखिदिनुहोस्—तर तपाईले मेरो अगाडिको बाटो खुला गरिदिनुहोस् र मेरो बाटोमा बार नबारिदिनुहोस्, तर मेरो शत्रुको बाटो चाहिँ बारिदिनुहोस।

३४ हे प्रभु, मैले तपाईमा भरोसा गरेको छु र म सदासर्वदा तपाईँमा भर गर्नेछु। म आफ्नो भरोसा शरीरको पाखुरामा राख्ने छैनँ; किनभने मलाई थाहा छ कि ऊ अभिशप्त छ जो शरीरको पाखुरामा आफ्नो भरोसा राख्दछ। हो, ऊ अभिशप्त छ जसले मानिसमा भरोसा राख्छ वा शरीरलाई आफ्नो पाखुरा बनाउँछ।

३५ हो, मलाई थाहा छ कि जसले माग्दछ त्यसलाई परमेश्वरले उदारका साथ दिनुहुनेछ। हो, मेरो परमेश्वरले मलाई दिनुहुनेछ यदि मैले अनुचित ढङ्गले मागिनँ भने; त्यसकारण म मेरो स्वर हजुरसमक्ष उठाउनेछु; हो, म हजुरसमक्ष पुकार्नेछु, मेरा परमेश्वर, मेरो धार्मिकताका चट्टान। हेर्नुहोस्, मेरो आवाज सदासर्वदा तपाईँसमक्ष उक्लनेछ, मेरा चट्टान र मेरा सर्वकालीन परमेश्वर। आमिन।