अध्याय १३
उनीहरूले स्वर्गमा आफ्नो सम्पत्ति थुपार्नु पर्दछ—बाह्र प्रेरितहरूलाई उनीहरूको सेवामा लौकिक कुराहरूका निम्ति कुनै चिन्ता नगर्न आदेश दिइन्छ—मत्ती ६ सँग तुलना गर्नुहोस्। लगभग ई.सं. ३४।
१ साँचै नै, साँचै नै, म भन्दछु कि म चाहन्छु कि तिमीहरूले गरिबलाई दान दिनु पर्दछ; तर ध्यान दिनु कि तिमीहरूले आफ्नो दान मानिसहरूअगाडि उनीहरूले देख्ने गरी नदिनू; अन्यथा तिमीहरूले स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट कुनै पुरस्कार पाउने छैनौ।
२ त्यसकारण, जब तिमीहरूले दान दिन्छौ आफ्ना अगाडि विगुल नफुक्नू, जसरी ढोँगीहरूले सभाघरहरूमा र सडकहरूमा गर्दछन्, कि उनीहरूले मानिसहरूबाट महिमा पाऊन्। साँचै नै म तिमीहरूसामु भन्दछु, उनीहरूले आफ्नो पुरस्कार पाएका छन्।
३ तर जब तिमीहरूले दान दिन्छौ तिम्रो दाहिने हातले के गर्दैछ भनी तिम्रो देब्रे हातले थाहा नपाओस्;
४ कि तिम्रा दानहरू गोप्यमा होऊन् र गोप्यमा देख्नु हुने तिम्रा पिता, आफैँले तिमीलाई खुल्ला रुपमा पुरस्कार दिनुहुनेछ।
५ अनि जब तिमीले प्रार्थना गर्दछौ तिमीहरूले ढोँगीहरूले जस्तो नगर्नू, किनकि उनीहरूले सभाघरहरूमा र सडकहरूका कुनाहरूमा खडा भएर प्रार्थना गर्न मन पराउँछन्, कि उनीहरूलाई मानिसहरूद्वारा देखियोस्। साँचै नै म तिमीहरूसामु भन्दछु, उनीहरूले आफ्नो इनाम पाएका छन्।
६ तर तिमी, जब तिमीले प्रार्थना गर्दछौ, आफ्नो गोप्य कोठामा प्रवेश गर र जब तिमीले आफ्नो ढोका बन्द गरेका छौ, गोप्यमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर; र तिम्रा पिता, जसले गोप्यमा देख्नुहुन्छ; उहाँले तिमीलाई खुल्ला रुपमा इनाम दिनुहुनेछ।
७ तर जब तिमीहरूले प्रार्थना गर्दछौ, अन्य जातिले जस्तो व्यर्थ नदोहोऱ्याउनू, किनकि उनीहरूले सोच्दछन् कि उनीहरूले धेरै बोल्दा उनीहरूलाई सुनिनेछ।
८ त्यसकारण तिमीहरू उनीहरू जस्तो नहुनू, किनकि तिम्रा पितालाई तिमीहरूले अनुरोध गर्नु भन्दा पहिले नै तिमीहरूलाई के को आवश्यकता छ भनी थाहा छ।
९ त्यसकारण तिमीहरूले यस प्रकारले प्रार्थना गर्नू: हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाउँ पवित्र होस्।
१० हजुरको इच्छा स्वर्गमा जस्तै पृथ्वीमा पनि पूरा होओस्।
११ अनि जसरी हामी हाम्रा ऋणीहरूलाई क्षमा दिन्छौँ, हाम्रा ऋणहरूलाई पनि क्षमा दिनुहोस्।
१२ अनि हामीलाई प्रलोभनमा पर्न नदिनुहोस्, तर दुष्टबाट मुक्त गर्नुहोस्।
१३ किनकि अधिराज्य र शक्ति र महिमा सदासर्वदा तपाईँकै हुन्। आमिन।
१४ किनकि, यदि तिमीहरूले मानिसहरूलाई उनीहरूका उल्लङ्घनहरूको क्षमा दियौ भने स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ;
१५ तर यदि तिमीहरूले मानिसहरूलाई उनीहरूका उल्लङ्घनहरूको क्षमा गरेनौ भने तिम्रा पिताले पनि तिमीहरूलाई तिमीहरूका उल्लङ्घनहरूको क्षमा गर्नुहुनेछैन।
१६ अझ, जब तिमीहरूले उपवास बस्दछौ ढोँगीले झैँ, उदासी मुहारमा नहुनू, किनकी उनीहरूले आफ्नो अनुहार अध्याँरो बनाउँछन् ताकि उनीहरू मानिसहरूसामु उपवास बसेको देखिन सकून्। साँचै नै म तिमीसामु भन्दछु, उनीहरूले आफ्नो इनाम पाइसकेका छन्।
१७ तर तिमी, जब तिमी उपवास बस्दछौ, आफ्नो शिर अभिषेक गर्नू र आफ्नो अनुहार धुनू;
१८ कि तिमी मानिसहरूसामु होइन, गोप्यमा हुनुहुने तिम्रो पितासामु उपवास बसेको जस्तो देखिय; अनि तिम्रो पिता जसले गोप्यमा देख्नुहुन्छ, तिमीलाई खुल्ला रुपमा पुरस्कार दिनुहुनेछ।
१९ आफ्ना निम्ति पृथ्वीमा सम्पत्ति जम्मा नगर, जहाँ कीराले र खियाले भष्म गर्दछ र चोरहरूले घर फोर्छन् र चोर्छन्;
२० तर आफ्ना निम्ति स्वर्गमा सम्पत्ति जम्मा गर, जहाँ न त कीराले न त खियाले नष्ट गर्दछ र जहाँ चोरहरूले घर फोर्दैनन् र चोर्न सक्दैनन्।
२१ किनकि जहाँ तिम्रो सम्पत्ति छ, तिम्रो हृदय पनि त्यहाँ नै हुनेछ।
२२ आँखा शरीरको ज्योति हो; यदि, त्यसकारण, तिम्रो आँखा एकाग्र छ भने, तिम्रो सम्पूर्ण शरीर नै ज्योतिले भरिनेछ।
२३ तर यदि तिम्रो आँखा खराब छ भने, तिम्रो सम्पूर्ण शरीर अन्धकारले भरिनेछ। यदि, त्यसकारण, तिमीमा भएको त्यो ज्योति अन्धकार छ भने, त्यो अन्धकार कति भयङ्कर हुन्छ!
२४ कुनै पनि मानिसले दुई मालिकहरूलाई सेवा गर्न सक्दैन; किनकि या त उसले एकलाई घृणा गर्नेछ र अर्कोलाई माया गर्नेछ, अथवा उसले एकको भक्ति गर्नेछ र अर्कोलाई अपमान गर्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ।
२५ अनि अब यस्तो हुन गयो कि जब येशूले यी वचनहरू बोल्नुभएको थियो उहाँले आफूले चुनेका बाह्रलाई हेर्नुभयो र उनीहरूसामु भन्नुभयो: यी वचनहरूलाई सम्झ जुन मैले बोलेको छु। किनकि हेर, तिमीहरू ती हौ जसलाई मैले यी जनको सेवा गर्न चुनेको छु। त्यसकारण म तिमीहरूसामु भन्छु, आफ्नो जीवनका बारेमा, तिमीहरूले के खाउँला, अथवा तिमीहरूले के पियौँला; न त आफ्नो शरीरको निम्ति पनि, के लगाउँला केही नसोच्नू। के जीवन मासुभन्दा बढी र शरीर पहिरनभन्दा बढी होइन र?
२६ आकाशका चराहरूलाई हेर; किनकि न त तिनले बीउ छर्छन्, न त वाली काट्छन् न त भकारीहरूमा जम्मा गर्छन्; तैपनि तिम्रा स्वर्गीय पिताले तिनलाई खुवाउनु हुन्छ। के तिमीहरू तीभन्दा उच्च छैनौ र?
२७ तिमीहरू मध्ये कुनले चिन्ता गरेर आफ्नो कदमा एक हात थप्न सक्छ?
२८ अनि तिमीहरू पहिरनका निम्ति किन चिन्ता लिन्छौ? मैदानका लिलीहरूलाई सोच ती कसरी हुर्कन्छन्; उनीहरूले न त परिश्रम गर्छन न त धागो कात्छन्;
२९ अनि तैपनि म तिमीहरूसामु भन्दछु, कि सोलोमन समेत, आफ्नो सम्पूर्ण महिमामा, यिनीहरूमध्ये एउटा जत्ति पनि विभूषित थिएनन्।
३० यसकारण, यदि परमेश्वरले खेतको घाँसलाई जसरी पहिराइदिनुहुन्छ, जुन आज छ र भोलि आगोमा फ्याँकिन्छ, त्यसरी नै उहाँले तिमीहरूलाई पहिराउनुहुनेछ, यदि तिमीहरू अल्प विश्वासी भएनौ भने।
३१ त्यसकारण चिन्ता नगर, यसो भन्दै: हामीले के खाऔँला? अथवा, हामी के पिऔँला? अथवा, हामी के पहिरौँला?
३२ किनकि स्वर्गीय पितालाई थाहा छ कि तिमीहरूलाई यी सबै कुराहरूको आवश्यकता छ।
३३ तर पहिले तिमीहरूले परमेश्वरको अधिराज्य र उहाँको धार्मिकताको खोजि गर, अनि यी सबै कुराहरू तिमीहरूलाई थपिनेछ।
३४ त्यसकारण भोलिका निम्ति चिन्ता नगर, किनकि भोलिले आफ्नो चिन्ता आफैँ लिनेछ। आजका निम्ति आजकै दु:ख पर्याप्त छ।