अध्याय २९
मोर्मोनको पुस्तकको आगमन एक चिन्ह हो कि परमप्रभुले इस्राएलको भेला गर्न र आफ्नो करार पूरा गर्न आरम्भ गर्नुभएको छ—जसले पछिल्ला दिनहरूका प्रकाशहरूलाई र उपहारहरूलाई अस्वीकार गर्छ ती श्रापित हुनेछन्। लगभग ई.सं. ३४–३५।
१ अनि अब हेर, म तिमीहरूलाई भन्दछु कि जब परमप्रभुले आफ्नो विद्धत्तामा योग्य देख्नुहुनेछ कि यी भनाइहरू उहाँका वचनहरूअनुसार गैह्र-यहूदीहरूसामु आउनेछन्, तब तिमीहरूले थाहा पाउनेछौ कि त्यो करार जुन पिताले उनीहरूको रिक्थका भूमिहरूमा हुने पुनर्स्थापनाका बारेमा इस्राएलका छोराछोरीहरूसँग गर्नु भएको छ, त्यो पूरा हुन थालिसकेको छ।
२ अनि तिमीहरूले थाहा पाउने छौ कि परमप्रभुका वचनहरू, जुन पवित्र अगमवक्ताहरूद्वारा बोलिएका छन्, सबै पूरा हुनेछन्; र तिमीहरूले भन्न आवश्यक छैन कि परमप्रभु इस्राएलका छोराछोरीहरूसामुको आफ्नो आगमन ढिला गर्नुहुन्छ।
३ अनि तिमीहरूले आफ्ना हृदयहरूमा कल्पना गर्न आवश्यक छैन कि ती वचनहरू जुन बोलिएका छन् व्यर्थ छन्, किनकि हेर, परमप्रभुले आफ्नो करारलाई सम्झनुहुनेछ जुन उहाँले इस्राएलका घरानाका आफ्ना जनसँग गर्नुभएको छ।
४ अनि जब तिमीहरूले यी कुराहरू तिमीहरूमाझ आएको देख्नेछौ, तब तिमीहरूले परमप्रभुका कामहरूको उपेक्षा गर्नु आवश्यक छैन, किनकि उहाँको न्यायको तरबार उहाँको दाहिने हातमा छ; र हेर, त्यो दिनमा, यदि तिमीहरूले उहाँका कामहरूको उपेक्षा गऱ्यौ भने उहाँले अह्राउनुहुनेछ कि त्यसले तिमीहरूलाई तुरुन्त जित्नेछ।
५ धिक्कार छ उसलाई जसले परमप्रभुका कार्यहरूको उपेक्षा गर्नेछ, हो, धिक्कार छ उसलाई जसले ख्रीष्टलाई र उहाँका कार्यहरूलाई अस्वीकार गर्नेछ!
६ हो, धिक्कार छ उसलाई जसले परमप्रभुका प्रकाशहरूलाई अस्वीकार गर्नेछ र जसले परमप्रभुले प्रकाशद्वारा, अथवा अगमवाणीद्वारा, अथवा उपहारहरूद्वारा, अथवा भाषाहरूद्वारा, अथवा चङ्गाइहरूद्वारा, अथवा पवित्र आत्माको शक्तिद्वारा अरु काम गर्नुहुन्न् भनी भन्नेछ!
७ हो, अनि धिक्कार छ उसलाई जसले त्यस दिनमा फाइदा लिन भन्नेछ कि येशूद्वारा ल्याइएका आश्चर्य कर्महरू हुन सक्दैनन्; किनकि जसले यो गर्छ ऊ विध्वंशको पुत्र जस्तै हुनेछ, जसका निम्ति कुनै कृपा थिएन, ख्रीष्टका वचनअनुसार!
८ हो, अनि तिमीहरूले न त निन्दा गर्न, न त उपेक्षा गर्न, न त यहूदीहरूको, न त इस्राएलका घरानाका अवशेषमध्ये कसैको खेल बनाउन अरु आवश्यक छ; किनकि हेर, परमप्रभुले उनीहरूसँगको आफ्नो करारलाई सम्झनुहुन्छ र उहाँले त्यसअनुसार उनीहरूलाई गर्नुहुनेछ जुन उहाँले कसम खानुभएको छ।
९ त्यसकारण तिमीहरूले अनुमान गर्न आवश्यक छैन कि तिमीहरूले परमप्रभुको दाहिने हात देब्रेमा बदल्न सक्छौ, ताकि उहाँले त्यो करार पूरा गर्नु न्यायको अभ्यास नगर्नुहोस् जुन उहाँले इस्राएलका घरानासँग गर्नुभएको छ।