धर्मशास्त्रहरू
मोसीयाह ८


अध्याय ८

अम्मोनले लिम्हीका जनलाई सिकाउँछन्—उनले चौबीस येरेदी पाताहरूका बारेमा थाहा पाउँछन्—द्रष्टाद्वारा प्राचीन अभिलेखहरू अनुबाद गर्न सकिन्छ—द्रष्टा भन्दा ठूलो उपहार केही छैन। लगभग ई.पू. १२१।

अनि यस्तो हुन गयो कि लिम्ही राजाले उनीहरूका जनसामु बोल्न अन्त्य गरेपछि, किनकि उनले उनीहरूसामु धेरै कुराहरू बोले र तिनीहरूमध्ये थोरै मात्र मैले यो पुस्तकमा लेखेको छु, उनले उनका जनलाई जरहेम्लाको भूमिमा भएका उनीहरूका बन्धुहरूका बारेमा सबै कुराहरू भने।

अनि उनले अह्राए कि अम्मोन भीड अगाडिखडा हुनुपर्दछ र जेनिफ भूमिबाट बाहिर गएको समयदेखि उनी आफैँ भूमिबाट बाहिर आएको समयसम्म उनीहरूका बन्धुहरूबीचमा भएका सबै कुराहरुको उनीहरूसामु वर्णन गर्नुपर्छ।

अनि उनले उनीहरूसामु बेन्यामिन राजाले उनीहरूलाई सिकाएका अन्तिम वचनहरूको वर्णन गरे, अनि तिनलाई लिम्ही राजाका जनलाई स्पष्ट पारे, ताकि उनीहरूले उनले बोलेका सबै वचनहरू बुझ्न सकून्।

अनि यस्तो हुन गयो कि उनले यी सबै गरेपछि, कि लिम्ही राजाले भीडलाई तितर-वितर गरे र अह्राए कि उनीहरू प्रत्येक उनीहरूको आफ्नो घरमा फर्कनुपर्छ।

अनि यस्तो हुन गयो कि उनले अह्राए कि उनीहरूले जरहेम्लाको भूमि छाडेदेखिको उनीहरूको अभिलेख समेटिएका ती पाताहरू अम्मोन अगाडि ल्याइनुपर्छ ताकि उनले ती पढ्न सकून्।

अब, अम्मोनले त्यी अभिलेख पढ्नेबित्तिकै, उनले भाषाहरूको भाषान्तरण गर्न सक्छन् कि भनी जान्न राजाले उनीबाट सोधखोज गरे, अनि अम्मोनले उनलाई भने कि उनले सक्दैनन्।

अनि राजाले उनीसामु भने: मेरा जनको कष्टहरूका निम्ति शोकाकुल भएकाले, मैले अह्राएँ कि मेरा जनमध्ये त्रिचालिस जनाले उजाड स्थानतिरको यात्रा लिनुपर्छ, कि जसबाट उनीहरूले जरहेम्लाको भूमि पत्ता लगाउन सकून्, कि हामीहरू हाम्रा बन्धुहरूसामु हामीलाई दासत्वबाट मुक्ति गराउन आवेदन गर्न सकूँ।

अनि उनीहरू उजाड-स्थानमा धेरै दिनहरूको अन्तरालसम्म हराएका थिए, तैपनि उनीहरू लगनशील थिए, अनि जरहेम्लाको भूमि पत्ता लगाएनन् तर यो भूमितिर फर्के, अथाह पानीमाझ भएको जमिनमा यात्रा गरेर, एउटा भूमि फेला पारेर जुन मानिसहरूका र पशुहरूका हड्डीहरूले भरिएको थियो र प्रत्येक प्रकारका भवनहरूका भाग्नावेशेषहरूले भरिएको थियो, एउटा भूमि फेला पारेर जुन इस्राएलका सैन्यहरू जत्तिकै अनगिन्ति मानिसहरूद्वारा बसोबास गरिएको थियो।

अनि एक गवाहीका निम्ति कि उनीहरूले भनेका कुराहरू सत्य हुन् उनीहरूले चौबीस पाताहरू ल्याएका छन् जुन कुँदईंहरूले भरिएका छन् र ती विशुद्ध सुनका छन्।

१० अनि हेर, उनीहरूले कवचहरू पनि ल्याएका छन्, जुन ठूला छन्, अनि त्यी काँसका र तामाका हुन् र पूर्णरुपमा असल छन्।

११ अनि फेरि, उनीहरूले तरबारहरू ल्याएका छन्, तिनका बिँडहरू नासिएका छन् र तिनीहरूका धारहरू खियाले खिइएका थिए; अनि त्यहाँ भूमिमा कोही छैन जसले भाषा, अथवा पाताहरूमा भएका कुदाइहरूको भाषान्तरण गर्न सक्छ। त्यसकारण मैले तिमीलाई भने: के तिमी अनुवाद गर्न सक्छौ?

१२ अनि म तिमीसामु पुन: भन्दछु: के तिमी कसैलाई चिन्दछौ जसले अनुवाद गर्न सक्छ? किनकि म इच्छुक छु कि यी पाताहरूको हाम्रो भाषामा भाषान्तरण गरिनुपर्छ, किनकि, सम्भवत:, तिनले हामीलाई यी विनाश भएका जनका अवशेषको ज्ञान दिन्छ, जहाँबाट यी अभिलेखहरू आए; अथवा, सम्भवत:, तिनीहरूले नाश भएका यिनै जनको ज्ञान हामीलाई दिनेछन्; र म उनीहरूको नाशको कारण जान्न इच्छुक छु।

१३ अब अम्मोनले उनीसामु भने: म निश्चितताका साथ तिमीलाई भन्न सक्छु, हे राजन्, अभिलेखहरू अनुवाद गर्न सक्ने एक मानिसका बारेमा; किनकि उनीसँग माध्यम छ कि उनले हेर्न सक्छन् र प्राचीन मितिका सबै अभिलेखहरू अनुवाद गर्न सक्छन्; अनि यो एक परमेश्वरबाटको उपहार हो। अनि यी कुराहरूलाई भाषान्तरकारहरू भनिन्छ, अनि आज्ञा पाएका बाहेक कसैले तिनीहरूमा हेर्न सक्दैनन् अन्यथा हेर्न नहुनेको निम्ति उसले हेरेमा उसको विनाश हुनेछ। अनि जसलाई तिनीहरूमा हेर्न आज्ञा दिइएको छ, उसलाई द्रष्टा भनिन्छ।

१४ अनि हेर्नुहोस्, जरहेम्लाको भूमिमा भएका जनका राजा ती मानिस हुन् जसले यी कुराहरू गर्ने आज्ञा पाएका छन्, अनि जससँग परमेश्वरबाट यो उच्च उपहार छ।

१५ अनि राजाले भने कि एक द्रष्टा एक अगमवक्ता भन्दा महान् हुन्छ।

१६ अनि अम्मोनले भने कि द्रष्टा एक प्रकाशक र अगमवक्ता पनि हुन्; अनि एउटा यस्तो उपहार जुनभन्दा यहूलो मानिसले पाउन सक्दैन, परमेश्वरको शक्ति स्वामित्वमा भएबाहेक, जुन कुनै मानिसले सक्दैन, तैपनि मानिससँग परमेश्वरबाट दिइएको महान् शक्ति हुन सक्छ।

१७ तर द्रष्टाले विगतका कुराहरूका बारेमा र आउने कुराहरूका बारेमा पनि जान्न सक्छ, अनि तीद्वारा सबै कुराहरू प्रकट गरिनेछ, अथवा, वस्तुत:, गोप्य कुराहरू प्रकट गरिनेछ र लुकेका कुराहरू प्रकाशमा ल्याइनेछ, अनि अझै अवगत नभएका कुराहरू तिनीहरूद्वारा अवगत गराइनेछ, अनि अन्यथा अवगत हुन नसक्ने कुराहरू पनि तिनीहरूद्वारा अवगत गराइनेछ।

१८ यसरी परमेश्वरले एक माध्यम उपलब्ध गराउनुभएको छ कि मानिस, आस्थाद्वारा, शक्तिशाली आश्चर्यकर्महरू गर्न सकोस्; त्यसकारण, उ उसका सह-प्राणीहरूका निम्ति एक महान् लाभ बन्दछ।

१९ अनि अब, जब अम्मोनले यी वचनहरू बोल्न अन्त्य गरेका थिए राजा अत्यन्त खुसी भए र परमेश्वरलाई धन्यवाद दिए, यसो भन्दै: नि:शङ्क एक महान् रहस्य यी पाताहरूभित्र समेटिएको छ, अनि यी भाषान्तरकारहरू नि:शङ्क मानिसका छोराछोरीहरूसामु यस्ता सबै रहस्यहरू खुलाउने प्रयोजनका निम्ति तयार गरिएको हो।

२० हे कति विस्मयकारी छन् परमेश्वरका कार्यहरू, अनि कति सहनुहुन्छ उहाँले यी जनसँग; हो र मानिसका छोरछोरीहरूका सुझबुझहरू कति अन्धा र अछेद्य छन्; किनकि उनीहरूले विद्धता खोज्दैनन्, न त उनीहरू चहान्छन् कि उनले उनीहरूमाथि शासन गरून्।

२१ हो, उनीहरू एक जङ्गली बथान जस्तै छन् जुन गोठालोबाट भाग्छन् र यत्र-त्यत्र छरिन्छन्, अनि धपाइन्छन्, जङ्गलका जङ्गली जनावारहरूद्वारा भष्म पारिन्छन्।

प्रिन्ट गर्नुहोस्