आफ्नो सम्पूर्ण हृदयले उहाँलाई अन्वेषण गर्नुहोस्
यदि येशू ख्रीष्टले परमेश्वरसँग वार्तालाप गर्न र उहाँबाट समार्थ्य प्राप्त गर्न शान्त समय अन्वेषण गर्नुभयो भने, हामीले पनि त्यसै गर्नु बुद्धिमानी हुने छ ।
धेरै वर्षअघि, मेरी श्रीमती र मैले टोकियो, जापानमा सुसमाचार प्रचार सेवाका अगुवाहरूका रूपमा सेवा गर्यौँ । कुनै व्यक्तिले उहाँहरूका वचनहरूलाई सुन्नका लागि धेरै व्यस्त हुनुहुन्छ भनेर बताएको अवस्थामा कस्तो प्रतिक्रिया दिन सकिन्छ भनेर त्यस समयका एल्डर रसल एम्. नेल्सनलाई हाम्रो सुसमाचार प्रचार क्षेत्रको उहाँको भ्रमणका क्रममा, एक जना सुसमाचार प्रचारकले उहाँलाई सोध्नुभयो । थोरै हिचकिचाउँदै, अध्यक्ष नेल्सनले भन्नुभयो, “दिउसोको खाना खानका लागि पनि उहाँहरू अति नै व्यस्त हुनुहुन्थ्यो होला होइन भनेर म सोध्ने छु; अनि त्यसपछि उहाँहरूको शरीर र आत्मा दुबै छ र जसरी पोषण नभएको खण्डमा उहाँहरूको शरीर नष्ट हुने छ, त्यसरी नै उहाँहरूको आत्मा पनि परमेश्वरका असल वचनद्वारा पोषित नभएमा नष्ट हुने छ भनेर उहाँहरूलाई सिकाउने छु ।
यो रोचक छ “व्यस्त,” isogashii भन्ने शब्द जापानी शब्दका यी अक्षरहरूले बनेको छ (忙) । बायाँ तर्फको अर्थ “हृदय” वा “आत्मा” र दायाँ तर्फको अर्थ “मृत्यु” हो—संभवतः, अध्यक्ष नेल्सनले सिकाउनुभए जस्तै, व्यस्तताका करण हाम्रो आत्मालाई पोषण गर्न सम्भव नभएमा हामीले आत्मिक मृत्यु वरण गर्न सक्छौँ ।
ध्यान भङ्ग पार्ने यस द्रुत-गतिको संसारमा, उहाँका लागि गुणस्तरीय समय छुट्याउनु हाम्रो समयका प्रमुख चुनौतीहरू मध्येको एक हुने छ—भनेर परमप्रभुलाई ज्ञान थियो । अगमवक्ता यशैयाका माध्यमद्वारा बोल्दा, उहाँले सल्लाह र सावधानीका यी शब्दहरू प्रदान गर्नुभयो जसलाई हामीले जिइरहेका उतार-चडावका समयहरूसँग तुलना गर्न सकिन्छ:
“फर्किँदा र विश्राम गर्दा तिमीहरूको उद्धार हुने छ; मौनता र आत्मविश्वासमा तिमीहरूलाई शक्ति मिल्ने छ: तर तिमीहरूले यी चाहन्नौ ।
“परन्तु तिमीहरूले भन्यौ, होइन; हामी त घोडामा चढेर भाग्ने छौँ; यसकारण तिमीहरूले भाग्नै पर्छ: र, हामी द्रुत गतिमा सवार हुने छौँ; यसकारण तिम्रो पछि खेद्नेहरू चाँडो हुने छन् ।”
अर्को शब्दमा भन्नुपर्दा, हाम्रो मुक्ति उहाँमा बारम्बार फर्किनु र संसारको चिन्ताबाट विश्राम लिनुमा निर्भर रहे तापनि, हामी त्यसो गर्दैनौँ । अनि यद्यपि हाम्रो आत्मविश्वास शान्त समयमा परमप्रभु सँग चिन्तनमा बसेर विकसित भएको शक्तिबाट आउने भएता पनि, हामी त्यसो गर्दैनौँ । किन गर्दैनौँ? किनभने हामी भन्छौँ, होइन, हामी अन्य कार्यहरूमा व्यस्त छौँ—हामी हाम्रो घोडसवारमा दौडिरहेका छौँ भन्न सकिन्छ । त्यसकारण, हामी परमेश्वरबाट धेरै टाढा जान्छौँ; हामी छिटो जानका लागि जोड दिने छौँ; र हामी जति छिटो जान्छौँ, शैतानले त्यत्ति नै छिटो पछ्याउने छ ।
संभवतः यसैकारण अध्यक्ष नेल्सनले हाम्रो जीवनमा परमप्रभुका लागि— “प्रत्येक दिन” समय छुट्याउन हामीसँग बारम्बार आग्रह गर्नुभएको छ । “शान्त समय पवित्र समय हो—जसले व्यक्तिगत प्रकाश प्राप्त गर्न सहज बनाउँछ र शान्ति सिर्जना गर्छ भनेर उहाँले हामीलाई स्मरण गराउनुहुन्छ ।” परन्तु परमप्रभुको शान्त वाणी सुन्नका लागि, उहाँले सल्लाह दिनुभयो, “तिमी पनि स्थिर हुनु पर्छ ।”
यद्यपि, स्थिर रहनु भनेको परमप्रभुका लागि समय छुट्याउनु भन्दा पनि बढी हो—यसका लागि हाम्रा शङ्कास्पद र भयावह सोचहरूलाई त्याग्न र हाम्रा हृदय र मस्तिष्कहरू उहाँमा केन्द्रित गर्नु आवश्यक छ । एल्डर डेभिड ए बेड्नारले सिकाउनुभए जस्तै, परमप्रभुको उपदेशमा ‘स्थिर हुनु’ ले नबोल्नु वा नचल्नु मात्रै नभई त्यो भन्दा धेरै विषयवस्तुलाई समावेश गर्छ ।” स्थिर रहनु, “हामीलाई मुक्तिदातामा निरन्तर ध्यान केन्द्रित गर्न स्मरण गराउने तरिका बन्न सक्छ भनेर उहाँले सिकाउनुभयो ।”
स्थिर रहनु आस्थाको कार्य हो र यसका लागि अभ्यास गर्नु पर्छ । Lectures on Faithमा भनिएको छ, “आस्थाद्वारा कार्य गर्दा मानिसले मानसिक परिश्रमद्वारा कार्य गर्छ ।” अध्यक्ष नेल्सनले घोषणा गर्नुभयो: “हाम्रो ध्यान मुक्तिदाता र उहाँको सुसमाचारमा केन्द्रित हुनु पर्छ । हरेक विचारमा उहाँलाई हेर्ने प्रयास गर्नु मानसिक रूपमा कठीन छ । परन्तु जब हामी गर्छौँ, हाम्रा शङ्का र त्रासहरू दूर हुन्छन् ।” हाम्रा मस्तिष्कहरूमा ध्यान केन्द्रित गर्ने सम्बन्धमा बोल्दै, अध्यक्ष डेभिड ओ. मकेले भन्नुभयो: “समर्पणको सिद्धान्त, चिन्तनको मूल्यमा हामीले अति नै थोरै ध्यान दिन्छौँ भन्ने मलाई महसुस हुन्छ । … चिन्तन भनेको … सबैभन्दा पवित्र द्वारहरू मध्येको एक हो जसद्वारा हामी परमप्रभुको उपस्थितिमा पुग्छौँ ।”
त्यहाँ जापानी भाषामा एउटा शब्द छ, मुइ, जुन मेरा लागि, आस्थाले भरिपूर्ण छ, यसले स्थिर रहनुको अर्थ के हो भन्ने चिन्तनशील भावलाई समाहित गर्छ । यो दुई वर्ण मिलेर बनेको छ (無為) । बायाँको अक्षरको अर्थ “केही होइन” वा “केही छैन” भन्ने हो र दायाँको अक्षरको अर्थ “गर्नका लागि” भन्ने हो । “केही नगर्नु” तिनीहरू दुबैको अर्थ हो । “स्थिर रहनु” लाई “नबोल्नु वा नचल्नु” भनेर गलत व्याख्या गरिए जस्तै यस शब्दलाई “केही नगर्नु” भनेर गलत व्याख्या गर्न सकिन्छ । यद्यपि, “स्थिर रहनु,” भन्ने वाक्यांश जस्तै, यसको उच्च अर्थ छ; मेरा लागि यो सुस्त जाने र महान् आत्मिक सचेततामा जिउनका लागि स्मरण हो ।
उत्तरी एसिया क्षेत्रीय अध्यक्षतामा एल्डर ताकाशी वाडासँग सेवा गर्दा मैले उहाँकी पत्नी दिदी नेओमी वाडा कुशल जापानी हस्तलिपि विज्ञ भएको जानकारी प्राप्त गरेँ । मैले दिदी वाडालाई मेरा लागि जापानीमा मुइ शब्दको अर्थ लेखिदिन आग्रह गरेँ । म शान्त रहन र मुक्तिदातामा ध्यान केन्द्रित गर्नका लागि स्मरण गराउन ती हस्तलिपिलाई मेरो भित्तामा झुण्ड्याउन चाहन्थे । उहाँले यो सामान्य जस्तो देखिने अनुरोधलाई सहजै स्वीकार नगर्नुभएकोमा म छक्क परेँ ।
मैले उहाँको हिचकिचाहटलाई गलत बुझेको जस्तो महसुस गरेर, भोलिपल्ट एल्डर वाडाले ती अक्षरहरूलाई लेख्न महत्त्वपूर्ण प्रयासको आवश्यकता पर्ने बताउनुभयो । उहाँलाई अवधारणा र पात्रमा तब सम्म चिन्तन र मनन गर्नुपर्ने हुन्छ जब सम्म उहाँ आफ्नो आत्माको गहिराइबाट त्यसको अर्थ बुझ्नुहुन्नथ्यो र आफ्नो ब्रसको प्रत्येक धर्का सहित यसका प्रभावहरूलाई अभिव्यक्ति गर्न सक्नुहुँदैनथ्यो । मैले उहाँसँग अनायासै उच्च सीप लाग्ने वस्तुको माग गरेकोमा मलाई लाज्जाबोध भयो । उहाँलाई मैले मेरो अज्ञानताका लागि माफी माग्न र मैले मेरो अनुरोध फिर्ता लिएको छु भनेर उहाँलाई बताउन आग्रह गरेँ ।
तपाईंहरूले मेरो आश्चर्य र कृतज्ञताको कल्पना गर्न सक्नुहुन्छ, जब जापानबाट फर्कने क्रममा दिदी वाडाले नमागीकन हस्तलिपिको यो सुन्दर कृति उपहारमा दिनुभयो जसमा मुई शब्दको जापानी अक्षरहरू अङ्कित थिए । यो अब स्थायी रूपमा मेरो कार्यालयको भित्तामा झुण्याइएको छ, यसले मलाई शान्त रहन र हरेक दिन मेरो सम्पूर्ण हृदय, क्षमता, मस्तिष्क र सामर्थ्यले परमप्रभुलाई खोज्न स्मरण गराउँछ । यस नि:स्वार्थ कार्यमा, उहाँले मुइ वा स्थिरताको अर्थ कुनै पनि शब्दहरूले व्यक्त गर्ने भन्दा राम्ररी व्यक्त गर्नुभएको छ । सोच समझ बिना र कर्तव्यनिष्ठा सहित पात्रहरूको चित्रण गर्नुको सट्टा, उहाँले सच्चा अभिप्राय सहित हृदयको पूरा प्रयोजनमा आफ्नो हस्तलिपि प्राप्त गर्ने अभिलाषा राख्नुभयो ।
त्यसैगरी, परमेश्वरले हामीले उहाँ सँगको हाम्रो समय उस्तै प्रकारको हृदयको भक्ति सहित बिताऔँ भनेर चाहनुहुन्छ । जब हामी त्यसो गर्छौँ, हाम्रो आराधना उहाँप्रतिको हाम्रो प्रेमको अभिव्यक्ति बन्छ ।
उहाँले हामीले उहाँ सँग वार्तालाप गरौँ भन्ने चाहनु हुन्छ । एक अवसरमा, प्रथम अध्यक्षताको सभामा प्रारम्भको प्रार्थना गरे पछि, अध्यक्ष नेल्सन मतर्फ फर्किनुभयो र भन्नुभयो, “तपाईंले प्रार्थना गरिरहँदा, परमेश्वरलाई सम्मान गर्न हामीले हाम्रो व्यस्त तालिकाबाट समय निकालेर उहाँलाई प्रार्थना गर्दा उहाँले कत्तिको सराहना गर्नु हुन्छ भनेर मैले पहिचान गरेँ ।” हामीले उहाँ सँग वार्तालाप गर्न विश्राम लिँदा परमप्रभुका लागि यसको अर्थ त्यही हुन्छ भन्नका लागि यो साधारण तर शक्तिशाली स्मरण थियो ।
जति मात्रामा उहाँले हाम्रो ध्यानाकर्षण चाहनुहुन्छ, उहाँले हामीलाई उहाँकहाँ आउन विवश पार्नुहुने छैन । पुनरुत्थान हुनुभएका परमप्रभुले नफीहरूलाई भन्नुभयो, “हो, पोथीले आफ्ना चल्लाहरूलाई बटुलेजस्तै म तिमीहरूलाई कति पटक बटुल्थेँ होला र तिमीहरूले मानेनौ ।” उहाँले यो आशापूर्ण आमन्त्रण सहित अनुशरण गर्नुभयो जुन आज हामीलाई पनि लागू हुन्छ: “पोथीले आफ्ना चल्लाहरूलाई आफ्ना पखेँटाहरू मुनि बटुले जस्तै म तिमीहरूलाई कति पटक बटुल्ने छु, यदि तिमीहरूले आफ्नो हृदयको पूरा प्रयोजन सहितपश्चात्ताप गऱ्यौ र ममा फर्कियौ भने ।”
येशू ख्रीष्टको सुसमाचारले हामीलाई बारम्बार उहाँमा फर्कने अवसरहरू प्रदान गर्छ । दैनिक प्रार्थना, धर्मशास्त्र अध्ययन, प्रभुभोजको विधि, शबाथको दिन र मन्दिरमा आराधना गर्ने विषयहरू यी अवसरहरूले समावेश गर्छन् । यदि हामीले यी पवित्र अवसरहरूलाई हाम्रो “गर्नुपर्ने” सूचीहरूबाट हटायौँ र तिनीहरूलाई हाम्रो “केही गर्नु नपर्न” सूचीमा राख्यौँ भने के हुन्छ ; अर्थात् दिदी वाडाले हस्तलिपिलाई हेर्ने सचेतना र एकाग्रतामा तिनीहरूलाई हेर्यौँ भने के हुन्छ?
तपाईं सोच्दै हुन सक्नुहुन्छ, “मसँग यसका लागि समय छैन ।” मैले प्रायः यस्तै महसुस गरेको छु । परन्तु जे आवश्यक भएको हुन सक्छ त्यो बढी समय नहुन सक्छ तर हामीले उहाँका लागि छुट्याएको समयमा परमेश्वरको सम्बन्धमा बढी जागरूकता र ध्यान केन्द्रित गर्नु हो भनेर म सुझाव दिन्छु ।
उदाहरणका लागि, प्रार्थना गर्दा, यदि हामीले कम समय वार्तालाप गरेर र धेरै समय केवल परमेश्वर सँगै बसेर बिताउने हो भने; र जब हामीले बोल्ने छौँ, कृतज्ञता र प्रेमका थप हृदयस्पर्शी र विशिष्ट अभिव्यक्ति दिने छौँ?
हामीले धर्मशास्त्र पढेर मात्रै नभइ त्यसको स्वाद लिनु पर्छ भनेर अध्यक्ष नेल्सनले सल्लाह दिनुभएको छ । हामीले कम पढ्ने र धेरै रसस्वादन लिने हो भने यसले के भिन्नता ल्याउँछ?
यदि हामीले यस पवित्र विधिको समयमा येशू ख्रीष्टको प्रायश्चितको आशीर्वादलाई रोचक रूपमा मनन गरी प्रभुभोजमा समाहित हुनका लागि हाम्रो मस्तिष्कलाई तयार पार्न अझै धेरै गर्न चाहन्छौँ भने के हुन्छ?
शबाथमा, जसको हिब्रूमा अर्थ “विश्राम” हो, यदि हामीले अन्य चिन्ताहरूबाट विश्राम लिएर उहाँप्रति हाम्रो भक्ति प्रदर्शन गर्न परमप्रभु सँग मौनतामा बस्न समय निकाल्ने हो भने के हुन्छ?
हाम्रो मन्दिरको आराधनाका क्रममा, यदि, निर्देशनअनुसार, हामीले ध्यान दिनका लागि थप अनुशासित हुन र ध्यान केन्द्रित गर्न प्रयास गर्यौँ भने वा शान्त प्रतिबिम्बमा सेलेस्टियल कक्षमा अझै लामो समयसम्म बस्यौँ भने के हुन्छ?
जब हाम्रो ध्यान स्वर्गका पिता र येशू ख्रीष्टसँगको हाम्रो करारको सम्बन्धलाई मजबुत बनाउनमा बढी केन्द्रित हुन्छ, यी प्रत्येक पवित्र क्षणहरू समृद्ध हुने छन् र हामीले हाम्रो व्यक्तिगत जीवनमा आवश्यक निर्देशन प्राप्त गर्ने छौँ भनेर म गवाही दिन्छु । हामी, प्रायः लूकाको विवरणमा मार्था जस्तै, “धेरै विषयहरूमा सावधान र चिन्तित हुन्छौँ” । यद्यपि, जब हामी प्रत्येक दिन परमप्रभुसँग वार्तालाप गर्छौँ, उहाँले हामीलाई सबैभन्दा आवश्यक कुन छ भनेर बुझ्न सहयोग गर्नुहुने छ ।
आफ्नो सेवाको कार्यलाई थाती राखेर मुक्तिदाताले समेत समय लिनुभयो । धर्मशास्त्रहरू—एकान्त स्थान, पहाड, उजाडस्थान, परमप्रभु मरुभूमिमा फर्किनुभएको वा पितालाई प्रार्थना गर्न “अलि टाढा” जानुभएको उदाहरणहरूले भरिपूर्ण छन् । यदि येशू ख्रीष्टले परमेश्वरसँग वार्तालाप गर्न र उहाँबाट समार्थ्य प्राप्त गर्न शान्त समय अन्वेषण गर्नुभयो भने, हामीले पनि त्यसै गर्नु बुद्धिमानी हुने छ ।
जब हामी हाम्रो हृदय र मस्तिष्क स्वर्गका पिता र येशू ख्रीष्टमा केन्द्रित गर्छौं र पवित्र आत्माको स्थिर, सानो आवाज सुन्छौँ, हामीलाई के आवश्यक छ भन्ने सम्बन्धमा अझै स्पष्टता हुने छ, गहिरो करुणा विकास गर्ने छौँ र उहाँमा विश्राम र शक्ति प्राप्त गर्ने छौँ । विरोधाभासपूर्ण रूपमा, परमेश्वरलाई उहाँको मुक्ति र उत्कर्षको कार्य छिटो सम्पादन गर्नका लागि सहयोग गर्न हामीले बिस्तारै गर्नु आवश्यक हुन सक्छ । सदैव “गतिमा” हुनुले हाम्रो जीवनमा उतार चढाव थपिरहेको हुन सक्छ र हामीले अन्वेषण गरेको शान्ति प्राप्त गर्नबाट हामीहरूलाई रोकिरहेको हुन सक्छ ।
हामी मौनता र आत्मविश्वासमा हुँदा उहाँलाई पहिचान गर्ने छौँ र हामीहरू प्रतिको उहाँको असीम प्रेम महसुस गर्ने छौँ र हामीले प्रायः हृदयको पूर्ण उद्देश्य सहित परमप्रभुमा फर्कन्छौँ, भनेर म गवाही दिन्छु ।
परमप्रभुले प्रतिज्ञा गर्नुहुन्छ:
“मेरो नजिक आऊ र म तिमीहरूको नजिक आउने छु; लगनशील भई मलाई खोज र तिमीहरूले मलाई भेट्टाउने छौ ।”
“अनि जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई अन्वेषण गर्ने छौ, तब तिमीहरूले मलाई अन्वेषण गरेर प्राप्त गर्ने छौ ।”
यो प्रतिज्ञा सत्य छ भनेर म गवाही दिन्छु । येशू ख्रीष्टको नाममा, आमीन ।