जराहरूलाई पोषण प्रदान गर्नुहोस् अनि हाँगाहरूको वृद्धि हुने छ
स्वर्गका पिता र उहाँका प्रिय पुत्रमा तपाईंको गहिरो आस्थाबाट तपाईंको गवाहीका शाखाहरू मजबुत हुने छन् ।
ज्विकाउमा पुरानो सभाकक्ष
सन् २०२४ मेरा लागि एक प्रकारको महत्वपूर्ण वर्ष हो । ज्विकाउ जर्मनीमा रहेको पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा मैले बप्तिस्मा लिएर प्रमाणीकरण प्राप्त गरेको ७५ वर्ष पुगेको छ ।
मेरा लागि येशू ख्रीष्टको चर्चमा मेरो सदस्यता अमूल्य छ । परमेश्वरको करारका जनहरूका माझमा गणना गरिनु, तपाईंहरु सँग , मेरा दाजुभाइ र दिदीबहिनीहरू, मेरो जीवनका महान् सम्मानहरू मध्येको एक हो ।
जब म शिष्यका रूपमा मेरो व्यक्तिगत यात्राका सम्बन्धमा सोच्छु, प्रायश: मेरो मस्तिष्क ज्विकाउमा रहेको पुरानो ठूलो घरमा पुग्छ, जहाँ एक बालकका रूपमा मैले पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका प्रभुभोज सभाहरूमा सहभागी भएका सम्झनाहरू स्मरण हुन्छन् । यो त्यहीँ थियो जहाँ मेरो गवाहीको बिरुवाले यसको प्रारम्भिक पोषण प्राप्त गरेको थियो ।
यो सभागृहमा हावाद्वारा सञ्चालन हुने पुरानो अरगन थियो । एयर ब्याग सञ्चालन गर्दै अरगनलाई काम गर्ने बनाउनका लागि मजबुत उत्तोलकलाई तल माथि धकेल्न हरेक आइतबार एक युवालाई नियुक्त गरिएको थियो। कहिलेकाहीँ मैले यो महत्त्वपूर्ण कार्यमा सहयोग गर्ने महान् सौभाग्य प्राप्त गरेको थिएँ ।
सभाले हाम्रा प्रिय भजनहरू गाइरहँदा, अरगनमा ध्वनि उत्पन्न गर्न हावा कम नहोस् भन्नका लागि मैले मेरो सम्पूर्ण शक्तिले पम्प गरेँ । एयर ब्याग सञ्चालन गर्ने सिटबाट मैले एउटा मुक्तिदाता येशू ख्रीष्टको चित्रण र अर्को पवित्र उद्यानमा जोसेफ स्मिथको चित्रण गरिएका केही रङ्गीन-काँचका सुन्दर झ्यालहरूको उत्कृष्ट दृश्य देखेँ ।
सन्तहरूको गवाही सुन्दै र सियोनका भजनहरू गाउँदै सूर्यको रोशनीयुक्त ती झ्यालहरूमा हेर्दा मैले प्राप्त गरेका पवित्र भावनाहरू म अझै सम्झन सक्छु ।
यो सत्य हो:येशू ख्रीष्ट संसारकामुक्तिदाता हुनुहुन्छ भनेर त्यो पवित्र स्थानमा, परमेश्वरको आत्माले मेरो मस्तिष्क र हृदयमा गवाही व्यक्त गर्यो । यो उहाँको चर्च हो | अगमवक्ता जोसेफ स्मिथले पिता परमेश्वर र येशू ख्रीष्टलाई देख्नुभयो र उहाँहरूको वाणी सुन्नुभयो ।
यस वर्षको प्रारम्भमा, युरोपको कार्यभारमा रहँदा मैले ज्विकाउ फर्कने सुअवसर प्राप्त गरेँ । दुर्भाग्यवश, त्यो पुरानो प्रिय सभाकक्ष अब त्यहाँ छैन । विशाल अपार्टमेन्ट भवनका लागि स्थान तयार पार्न धेरै वर्ष पहिले यसलाई भत्काइएको थियो ।
के अनन्त हो र के होइन?
मेरो बाल्यकालको यो प्रिय भवन अब सम्झना मात्रै छ भनेर बुझ्नु दु:खको विषय हो भनेर म स्वीकार गर्छु । मेरा लागि यो एक पवित्र भवन थियो । परन्तु त्यो भवन मात्रै थियो ।
यसको विपरित, धेरै वर्षपूर्व मैले पवित्र आत्माबाट प्राप्त गरेको आत्मिक गवाही समाप्त भएको छैन । वास्तवमा, यो झन मजबुत भएको छ । येशू ख्रीष्टको सुसमाचारका आधारभूत सिद्धान्तहरूका सम्बन्धमा मैले मेरो युवावस्थामा सिकेका विषयहरू मेरो जीवनभरि मेरो मजबुत आधार बनेका छन् । ज्विकाउको सभाकक्ष भत्काइँदा र रङ्गीन-काँचका झ्यालहरू नरहेको लामो समय पछि पनि—मैले मेरा स्वर्गका पिता र उहाँका प्रिय पुत्रसँग निर्माण गरेका करारको सम्बन्ध म सँग नै रहिरहेको छ ।
“स्वर्ग र पृथ्वी बितेर जाने छन्,” येशूले भन्नुभयो, “तर मेरा वचनहरू बितेर जाने छैनन् ।”
“पर्वतहरू हल्लाइए र डाँडाहरू हटाइए तापनि तिम्रा लागि मेरो अटूट प्रेम हटाइने छैन, न त मेरो शान्तिको करार भङ्ग हुने छ,” परमप्रभु भन्नुहुन्छ ।”
के अनन्त हो र के होइन भन्ने बीचको भिन्नता नै हामीले यस जीवनमा सिक्न सक्ने एक सबैभन्दा महत्त्वपूर्ण विषय हो। हामीले एकपटक यो विषय बुझे पछि—हाम्रा सम्बन्धहरू, हामीले गर्ने छनोटहरू, हामीले मानिसहरूलाई व्यवहार गर्ने तरिका सबै परिवर्तन हुन्छ ।
के अनन्त हो र के होइन भनेर बुझ्नु येशू ख्रीष्ट र उहाँको चर्चको गवाही अभिवृद्धि गर्ने आधारभूत तत्व हो ।
जराहरूलाई शाखाहरूका रूपमा नलिनुहोस्
अगमवक्ता जोसेफ स्मिथले सिकाउनुभए जस्तै येशू ख्रीष्टको पुनर्स्थापित् सुसमाचारले “सत्यका सबै अनि हरेक विषयवस्तुहरूलाई स्वीकार गर्छ ।” परन्तु यसको अर्थ सबै सत्य समान मूल्यका छन् भन्ने होइन । केही सत्यहरू हाम्रो आस्थाको आधार हुनु आवश्यक छ । अरूहरू अनुबन्धित वा गौण हुन्—तर तिनीहरू आधारभूतहरूसँग जोडिएमा मात्रै महत्वपूर्ण छन् ।
अगमवक्ता जोसेफले यो पनि भन्नुभयो, “हाम्रो धर्मका आधारभूत सिद्धान्तहरू भनेका येशू ख्रीष्टका सम्बन्धमा प्रेरितहरू र अगमवक्ताहरूका गवाही हुन्, उहाँ बित्नुभयो, दफनाइनुभयो र तेस्रो दिनमा पुनरुत्थापित् हुनुभयो र स्वर्गमा जानुभयो; र हाम्रो धर्मसँग सम्बन्धित अन्य सबै विषयहरू गौण हुन् ।”
अर्को शब्दमा, येशू ख्रीष्ट र उहाँको प्रायश्चितको बलिदान हाम्रो गवाहीको जरा हो । अरू सबै विषयहरू शाखा हुन् ।
यसको अर्थ शाखाहरू महत्वहीन छन् भन्ने होइन । रूखलाई शाखाहरू आवश्यक छन् । परन्तु मुक्तिदाताले आफ्ना शिष्यहरूलाई भन्नुभए जस्तै, “शाखा दाखको बोटमा रहेन भने त्यसले आफैँ फल फलाउन सक्दैन ।” मुक्तिदाता सँगको सम्बन्ध, जराबाट पाइने पोषण बिना शाखा ओइलाउँछ र मरे जस्तै हो ।
जब येशू ख्रीष्टको हाम्रो गवाहीलाई पोषण गर्ने विषय आउँछ, हामीले यदाकदा जराहरूलाई शाखाहरूका रूपमा लिन्छौँ भनेर म चिन्तित हुन्छु । येशूले आफ्नो समयका यो गल्ती फरिसीहरूमा अवलोकन गर्नुभएको थियो । तिनीहरूले कानुनका अपेक्षाकृत साना विवरणहरूमा धेरै ध्यान केन्द्रित गरे अन्ततः उनीहरूले मुक्तिदाताले “व्यवस्थाका गहकिला विषयहरू, अर्थात् न्याय, दया र आस्थाका आधारभूत सिद्धान्तहरूलाई अवहेलना गरे” ।
यदि तपाईं वृक्षलाई पोषण दिन चाहनुहुन्छ भने, तपाईंहरूले शाखाहरूमा पानी छर्कनुहुन्न । तपाईंहरूले जरालाई पानी दिनुहुन्छ । त्यसै गरी, यदि तपाईं आफ्नो गवाहीका शाखाहरूलाई बढ्न दिन र फल फलाउन चाहनुहुन्छ भने, जरालाई पोषण गर्नुहोस् । यदि चर्चको इतिहासको कुनै विशेष सिद्धान्त वा अभ्यास वा तत्वका सम्बन्धमा तपाईं सँग सन्देह छ भने, येशू ख्रीष्टमा आफ्नो आस्थाद्वारा स्पष्टता खोज्नुहोस् । तपाईंका लागि उहाँको बलिदान, तपाईंका लागि उहाँको प्रेम, तपाईंका लागि उहाँको चाहना बुझ्न प्रयास गर्नुहोस् । विनम्रतामा उहाँलाई अनुशरण गर्नुहोस् । स्वर्गका पिता र उहाँका प्रिय पुत्रमा तपाईंको गहिरो आस्थाबाट तपाईंको गवाहीका शाखाहरू मजबुत हुने छन् ।
उदाहरणका लागि, यदि तपाईं मोर्मोनको पुस्तकको मजबुत गवाहीको अपेक्षा गर्नुहुन्छ भने, यसमा रहेको येशू ख्रीष्टको गवाहीमा ध्यान दिनुहोस् । मोर्मोनको पुस्तकले उहाँका सम्बन्धमा कसरी गवाही दिन्छ, उहाँका सम्बन्धमा के सिकाउँछ र यसले तपाईंलाई उहाँकहाँ आउन कसरी आमन्त्रण र प्रेरणा दिन्छ भनेर ध्यान दिनुहोस् ।
यदि तपाईं चर्चका सभाहरूमा वा मन्दिरमा थप अर्थपूर्ण अनुभव खोज्दै हुनुहुन्छ भने, हामीले त्यहाँ प्राप्त गर्ने पवित्र विधिहरूमा मुक्तिदातालाई अन्वेषण गर्ने प्रयास गर्नुहोस् । उहाँको पवित्र गृहमा परमप्रभुलाई अन्वेषण गर्नुहोस् ।
यदि तपाईंले कुनै पनि समयमा चर्चको आफ्नो बोलावद्वारा बोझयुक्त वा ब्याकुल भएको महसुस गर्नुहुन्छ भने, तपाईंको सेवालाई पुनः येशू ख्रीष्टमा केन्द्रित गर्ने प्रयास गर्नुहोस् । यसलाई उहाँप्रतिको तपाईंको प्रेमको अभिव्यक्ति बनाउनुहोस् ।
जराहरूलाई पोषण प्रदान गर्नुहोस् अनि शाखाहरूको वृद्धि हुने छ । अनि अन्तत: तिनीहरूले फल फलाउने छन् ।
उहाँमा जरा गाडिएका र निर्माण भएका
रातारात येशू ख्रीष्टमा मजबुत आस्था हुँदैन । होइन, यो नश्वर संसारमा, शङ्काका काँडाहरू र सिउँडीहरू सहजै बढ्छन् । आस्थाको स्वस्थ, फलदायी वृक्षलाई अभिप्राय सहितको प्रयास आवश्यक हुन्छ । अनि हामी ख्रीष्टमा दृढतापूर्वक जरा गाडेका छौँ भनेर सुनिश्चित गर्नु त्यो प्रयासको एक महत्त्वपूर्ण अंश हो ।
उदाहरणका लागि: प्रारम्भमा, हामी मुक्तिदाताको सुसमाचार र चर्चमा आकर्षित हुन सक्छौँ किनभने हामी मित्रवत् सदस्यहरू वा दयालु बिशप वा सभाकक्षको सफा दृश्यबाट प्रभावित भएका हुन्छौँ । चर्चको वृद्धिका लागि यी परिस्थितिहरू निश्चय नै महत्त्वपूर्ण छन्।
यद्यपि, यदि हाम्रो गवाहीको जरा त्यो भन्दा गहन कहिल्यै बनेन भने, हामी मिलनसार सदस्यहरू नभएको र हामीलाई अपमानित महसूस हुने गरी केही बोल्ने विशप भएको कम प्रभावोत्पादक भवनमा एकत्रित हुने वार्डमा सर्यौँ भने के हुन्छ?
अर्को उदाहरण: यदि हामीले आज्ञाहरूको पालना गर्यौँ र मन्दिरमा बाँधियौँ भने, हामीहरूले विशाल, खुसी परिवार, चर्चमा सक्रिय रहने, सुसमाचार प्रचार सेवाहरू गर्ने, वार्डको गायन मण्डलीमा गाउने र प्रत्येक शनिबार बिहान सभागृह सफा गर्न सहयोग गर्ने स्वयम्सेवा गर्ने सबै बुद्धिमान् आज्ञाकारी सन्ततिहरू सहितको आशीर्वाद प्राप्त गर्ने छौँ भनेर आशा गर्नु उचित देखिँदैन?
हामी सबैले हाम्रो जीवनमा यो देख्ने छौँ भनेर म निश्चय नै आशा गर्छु । परन्तु यदि यो भएन भने के हुन्छ? परिस्थिति जस्तोसुकै भए तापनि उहाँ र उहाँको समयमा भरोसा राख्दै—के हामी मुक्तिदातामा समाहित भइरहन्छौँ?
हामीले आफूस्वयम् लाई सोध्नु पर्छ: के मेरो गवाही मैले मेरो जीवनमा के आशा गर्छु भन्ने विषयमा आधारित छ? के यो अरूहरूका कार्यहरू वा मनोवृत्तिहरूमा आधारित छ? अथवा जीवनका परिवर्तनशील परिस्थितिहरूको बेवास्ता गर्दै के यो दृढतापूर्वक येशू ख्रीष्टमा आधारित छ, “उहाँमा जरा गाडिएको र निर्माण गरिएको छ,”?
परम्पराहरू, अभ्यासहरू र आस्था
मोर्मोनको पुस्तकले “परमेश्वरका विधिहरू पालन गर्न दृढ” मानिसहरूका सम्बन्धमा बताउँछ । परन्तु त्यसपछि मुक्तिदाताको सुसमाचारलाई खिल्ली उँडाउँदै, यसलाई “मूर्ख” र “तिनीहरूका पुर्खाहरूको मूर्ख परम्पराहरू” भन्दै कोरिहोर नामक एक नास्तिक आए । कोरिहोरले “धेरैको हृदयलाई अगुवाइ गरेर लगे, जसले गर्दा तिनीहरूले आफ्नो दुष्टतामा आफ्नो शिर ठाडो पारे ।” परन्तु अरूहरूलाई उसले छल गर्न सकेन, किनभने तिनीहरूका लागि, येशू ख्रीष्टको सुसमाचार परम्परा भन्दा धेरै थियो ।
व्यक्तिगत अनुभव, येशू ख्रीष्ट प्रतिको व्यक्तिगत प्रतिबद्धतामा गहन रूपमा यसको जरा गाडिंदा, हाम्रा परम्पराहरू के हुन् वा अरूहरूले के भन्न वा गर्न सक्छन् भन्ने विषयबाट भिन्न भएमा हाम्रो आस्था मजबुत हुन्छ ।
हाम्रो गवाही परीक्षण गरिने छ र परीक्षाको विषय बन्ने छ । कहिल्यै परीक्षण गरिएन भने आस्था आस्था नै होइन । कहिल्यै प्रतिरोध नगरिएमा आस्था मजबुत बन्दैन । त्यसैले यदि तपाईंसँग आस्थाका परीक्षाहरू वा अनुत्तरित प्रश्नहरू छन् भने निराश नबन्नुहोस् ।
हामीले कार्य गर्नुपूर्व सबै विषयहरू बुझ्ने अपेक्षा गर्नु हुँदैन । त्यो आस्था होइन । अल्माले सिकाउनुभए जस्तै, “आस्था विषयवस्तुहरूको पूर्ण ज्ञान हुनु होइन ।” यदि हामीले हाम्रा सबै प्रश्नहरूको उत्तर नआउँदासम्म कार्य गर्न प्रतिक्षा गर्यौँ भने, हामीले प्राप्त हासिल गर्न सक्ने असलपना र हाम्रो आस्थाको शक्तिलाई हामीले गहन रूपमा सीमित गर्छौँ ।
आस्था सुन्दर छ किनभने आपेक्षित आशीर्वादहरू नआउँदा पनि यो रहिरहन्छ । हामी भविष्य देख्न सक्दैनौँ, हामीलाई सबै उत्तरहरू जानकारी छैन, तर हामी अगाडि बढ्दै गर्दा येशू ख्रीष्टमा भरोसा राख्न सक्छौँ किनभने उहाँ हाम्रा मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ ।
आस्थाले परीक्षाहरू र जीवनका अनिश्चितताहरू सहन्छ किनभने ख्रीष्ट र उहाँको सिद्धान्तमा दृढतापूर्वक यसको जरा गाडिएको छ । येशू ख्रीष्ट र उहाँलाई पठाउनुहुने स्वर्गमा रहनुहुने हाम्रा पिता, सँगै हाम्रो भरोसाको एक अपरिवर्तनीय, पूर्ण रूपमा निर्भर रहने विषय हुनुहुन्छ ।
गवाही तपाईंले एक पटक निर्माण गरेर सदाका लागि रहिरहने विषय होइन । यो एक वृक्ष जस्तै हो जसलाई तपाईं निरन्तर पोषण गर्नुहुन्छ । तपाईंको हृदयमा परमेश्वरको वचन रोप्नु पहिलो चरण मात्रै हो । तपाईंहरूको गवाही वृद्धि हुन प्रारम्भ गरे पछि मात्रै वास्तविक कार्य प्रारम्भ हुन्छ! त्यही समयमा तपाईंले “यसलाई धेरै ध्यान दिएर पोषण गर्नुहुन्छ, ताकि यसको जरा पलाउन सकोस , ताकि यो बढ्न सक्छ र फल दिन सक्छ ।” यसका लागि “महान् लगनशीलता” र “शब्दसँगै धीरता” आवश्यक छ । परन्तु परमप्रभुका प्रतिज्ञाहरू सुनिश्चित छन्: “तिमीहरूसामु त्यो वृक्षको फल ल्याउने प्रतीक्षा गर्दाको तिमीहरूको आस्थाको र तिमीहरूको लगनशीलताको र धीरताको र सहनशीलताको तिमीहरूले पुरस्कार प्राप्त गर्ने छौ ।”
मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, मेरा प्रिय साथीहरू, ममा एक अंश छ जसले ज्विकाउको पुरानो सभाकक्ष र यसका रङ्गीन-काँचका झ्यालहरू गुमाएको महसुस गर्छ । परन्तु विगतका ७५ वर्षहरूमा, मैले परिकल्पना गरेको भन्दा धेरै रोमाञ्चक रूपमा येशू ख्रीष्टले मलाई जीवनको यात्रामा अगुवाइ गर्नुभएको छ । उहाँले मलाई मेरा कष्टहरूमा सान्त्वना दिनुभएको छ, मेरा कमजोरीहरू पहिचान गर्न, मेरा आध्यात्मिक चोटहरूमा चङ्गाइ प्रदान गर्न र वृद्धि हुँदै गरेको मेरो आस्थामा पोषण प्रदान मलाई सहयोग गर्नुभएको छ ।
हामीहरूले निरन्तर रूपमा मुक्तिदाता, उहाँका सिद्धान्त र उहाँको चर्चमा हाम्रो आस्थाको जरालाई पोषण प्रदान गर्ने छौँ भन्ने मेरो विनम्र प्रार्थना र आशीर्वाद छ । यसका सम्बन्धमा म हाम्रा मुक्तिदाता, हाम्रा उद्धारकर्ता, हाम्रा मालिकको पवित्र नाममा गवाही दिन्छु—येशू ख्रीष्टको नाममा, आमीन ।