येशू ख्रीष्ट र उहाँको सुसमाचारमा ध्यान केन्द्रित गर्नुहोस्
जब हामी संसारका अवरोधहरूलाई बेवास्ता गर्छौँ र ख्रीष्ट र उहाँको सुसमाचारमा ध्यान केन्द्रित गर्छौँ, हामीलाई सफलताको सुनिश्चितता दिइन्छ ।
१९९६ मा, नाइजेरियाको पुरुष फुटबल टोलीले संयुक्त राज्य अमेरिकाको एटलान्टामा आयोजित ओलम्पिक खेलमा स्वर्ण पदक जित्यो । समापन सकिए पछि, नाइजेरियाका हरेक सहर र सहरका सडकहरूमा हर्षित भीड सहितको २०० करोड जनताको यो देश बिहान दुई बजे तत्कालै ठूलो उत्सवमा परिणत भयो! त्यहाँ सङ्क्रामक प्रसन्नता, खुसी र उत्साह थियो जब मानिसहरूले खाए, गाए र नाँचे । त्यो क्षणमा, नाइजेरिया एकजुट भयो र हरेक नाइजेरियाली भएकोमा सन्तुष्ट थिए ।
प्रतियोगितापूर्व, यो टोलीले धेरै चुनौतीहरूको सामना गर्नु पर्यो । जब प्रतियोगिता प्रारम्भ भयो तिनीहरूको आर्थिक सहयोग रोकियो । टोली उचित सामानहरू, प्रशिक्षण स्थलहरू, खाना र लुगा धुने बन्दोबस्तका सेवाहरू बिना नै सहभागी भए ।
एक क्षणमा, तिनीहरू प्रतियोगिताबाट बाहिरिन केही मिनेट मात्रै टाढा थिए तर नाइजेरियाली टोलीले सबै बाधाहरू विरुद्ध विजय हासिल गरे । यो निर्णायक क्षणले गर्दा तिनीहरूमा आफू प्रतिको अवधारणामा परिवर्तन आयो । प्राप्त भएको यो नयाँ आत्मविश्वास सहित अनि व्यक्तिगत र टोलीको कडा परिश्रम र दृढ सङ्कल्प सहित, तिनीहरूले अवरोधहरूलाई बेवास्ता गरी विजयमा ध्यान केन्द्रित गरे । यसरी ध्यान केन्द्रित गर्नाले उनीहरूलाई स्वर्ण पदक जितायो र नाइजेरियालीहरूले तिनीहरूलाई “आदर्श टोली”को नाम दिए । आज १९९६ ओलम्पिकका आदर्श टोलीलाई नाइजेरियाली खेलकुदहरूमा सन्दर्भ गरिन्छ ।
नाइजेरियाको फुटबल टोलीले तिनीहरूले सामना गरेका धेरै अवरोधहरूलाई बेवास्ता गर्न सिके पछि, उनीहरूले सोचेको भन्दा बढी तिनीहरू सफल भए र महान् हर्षको अनुभव गरे । (नाइजेरियाले पनि महान् प्रसन्नता अनुभव गर्यो!)
त्यसरी नै, जब हामी संसारका अवरोधहरूलाई बेवास्ता गर्छौं र येशू ख्रीष्ट र उहाँको सुसमाचारमा ध्यान केन्द्रित गर्छौँ, हामीलाई हामीले सोच्न नसकिने भन्दा बढी सफलताको आश्वासन दिइन्छ र महान् प्रसन्नता महसुस गर्न सक्छौँ । अध्यक्ष रसल एम्. नेल्सनले सिकाउनुभयो, “जब हाम्रो जीवनको केन्द्रबिन्दु … येशू ख्रीष्ट र उहाँको सुसमाचारमा हुन्छ, हाम्रो जीवनमा के भइरहेको छ—वा भइरहेको छैन—भन्ने विषयलाई बेवास्ता गरी हामी प्रसन्नता महसुस गर्न सक्छौँ ।”
म पवित्र आत्माले हामी प्रत्येकलाई हाम्रो जीवन “येशू ख्रीष्ट र उहाँको सुसमाचार”मा केन्द्रित गर्नका लागि अध्यक्ष नेल्सनले दिनुभएको आमन्त्रणलाई ध्यान दिन सहयोग गर्ने छ ताकि हामीले हाम्रो जीवनमा “जे भए—वा नभए तापनि—ख्रीष्टमा प्रसन्नता अनुभव गर्न सक्छौँ” भनेर प्रार्थना गर्छु ।
मोर्मोनको पुस्तकमा भएका धेरै विवरणहरूले येशू ख्रीष्ट र उहाँको सुसमाचारमा ध्यान केन्द्रित गरेर आफ्नो जीवन परिवर्तन गर्ने व्यक्तिहरूको वर्णन गर्छ ।
कान्छो अल्मालाई विचार गर्नुहोस् । कान्छो अल्माले विद्रोह गर्नुभयो र चर्च विरुद्ध लड्नुभयो । उहाँका पिता अल्माले प्रार्थना गर्नुभयो र उपवास बस्नुभयो । एउटा स्वर्गदूत प्रकट भयो र कान्छो अल्मालाई पश्चात्ताप गर्न आग्रह गर्यो । त्यो क्षणमा, अल्माले “दोषी आत्माका वेदनाहरू” भोग्न प्रारम्भ गर्नुभयो । आफ्नो सबैभन्दा अन्धकारको समयहरूमा, उहाँले ख्रीष्ट संसारका पापहरूको प्रायश्चित गर्न आउनुहुने छ भनी आफ्ना पितालाई सम्झनुभयो । जब उहाँको मस्तिष्कमा यो विचार ग्रहण केन्द्रित भयो, उहाँले परमेश्वर सँग कृपाका लागि बिन्ती गर्नुभयो । परिणाम हर्ष थियो, त्यो हर्ष जुन उहाँले उत्कृष्ट भनेर वर्णन गर्नुभयो! अल्माले खोजेका कृपा र हर्ष उहाँमा आयो किनभने उहाँ ख्रीष्टमा केन्द्रित हुनुहुन्थ्यो ।
भटकेका सन्ततिहरू सँग मातापिताहरूका लागि, हृदयमा लिनुहोस्! तपाईंका छोराछोरीहरूलाई पश्चात्ताप गर्न सहयोग गर्न स्वर्गदूत किन आउँदैनन् भनेर सोच्नुको सट्टा, परमप्रभुले तिनका मार्गमा नश्वर स्वर्गदूत: बिशप वा अन्य चर्चका अगुवाहरू वा सेवा गर्ने दिदीबहिनी तथा दाजुभाइहरू पठाउनुभएको छ । यदि तपाईं उपवास बस्नुभएको र प्रार्थना गरिरहनुभएको छ, यदि तपाईं परमेश्वरका लागि समय तालिका वा समयसीमा बनाउने प्रयास गर्नुहुन्न भने र यदि तपाईं विश्वास गर्नुहुन्छ कि उहाँले सहयोग गर्न आफ्ना बाहु फैलाउँदै हुनुहुन्छ, त्यसोभए—छिटो होस् वा ढिलो—जब तपाईंका सन्ततिहरूले सुन्ने छनौट गर्छन् तपाईं परमेश्वरले तपाईंको सन्ततिको हृदय छुनुभएको पाउनुहुन्छ । यो यसकारण हो किनभने ख्रीष्ट हर्ष हुनुहुन्छ—ख्रीष्ट आशा हुनुहुन्छ; उहाँ “आउने असल विषयहरू”का प्रतिज्ञा हुनुहुन्छ । त्यसैले, येशू ख्रीष्टलाई आफ्ना सन्तति सहित भरोसा गर्नुहोस्, किनकि उहाँ हरेक अभिभावक र हरेक सन्ततिको शक्ति हुनुहुन्छ ।
एकपटक उहाँले ख्रीष्टमा हर्षको अनुभव गरिसकेपछि, कान्छो अल्माले त्यो हर्ष सँगै जिउनुभयो । अनि कठिनाइ र परीक्षामा पनि उहाँले यस्तो प्रसन्नता कसरी निरन्तरता दिनुभयो? उहाँ भन्नुहुन्छ:
“त्यस समयदेखि अहिलेसम्म समेत, मैले निरन्तर परिश्रम गरेको छु, कि मैले जीवात्माहरूलाई पश्चात्तापमा ल्याउन सक्छु; ताकि मैले आफूले स्वाद लिएको अत्यन्त प्रसन्नता तिनीहरूलाई स्वाद दिलाउन सक्छु । …
“… अनि … परमप्रभुले मलाई मेरो परिश्रमको फलमा असाध्यै महान् प्रसन्नता दिनुहुन्छ ।…
“अनि मलाई प्रत्येक प्रकारका परीक्षाहरू र समस्याहरूमा सहयोग गरिएको छ”
ख्रीष्टमा हर्ष अल्माको लागि तब सुरु भयो जब उहाँले उहाँमा विश्वासको अभ्यास गर्नुभयो र कृपाका लागि बिन्ती गर्नुभयो । त्यसपछि अल्माले ख्रीष्टमा आफ्नो आस्थाको प्रयोग गरेर अरूहरूलाई पनि त्यस्तै प्रसन्नताको अनुभव लिन सहयोग गर्नुभयो । यी निरन्तर परिश्रमहरूले सबै प्रकारका परीक्षा र समस्याहरूमा पनि अल्मामा महान् प्रसन्नता उत्पन्न गर्यो । तपाईंले देख्नुहुन्छ, “परमप्रभुले प्रयासलाई मन पराउनुहुन्छ,” र उहाँमा केन्द्रित प्रयासले आशीषहरू ल्याउँछन् । गम्भीर परीक्षाहरू पनि “ख्रीष्टको प्रसन्नतामा निलिन” सकिन्छ ।”
मोर्मोनको पुस्तकका मानिसहरूको अर्को समूह जसले येशू ख्रीष्ट र उहाँको सुसमाचारलाई आफ्नो जीवनको केन्द्रबिन्दु बनाएका थिए र प्रसन्नता प्राप्त गरेका थिए ती तिनीहरू हुन् जसले हेलाम सहरको स्थापना गरेका थिए—जहाँ उनीहरूले आफ्ना छोराछोरी हुर्काउन र आफ्नो धर्मको स्वतन्त्र अभ्यासको आनन्द लिन सक्थे । राम्रो जीवन बिताउने यी धर्मी मानिसहरूलाई लुटेरा समूहले दास बनाएर धर्म अभ्यास गर्ने मौलिक मानवअधिकार खोस्यो । कहिलेकाहीँ असल मानिसहरूका साथ नराम्रा विषयहरू हुन्छन्:
“परमप्रभुले उहाँका जनहरूलाई ताडना दिन योग्य ठहऱ्याउनुहुन्छ; हो उहाँले उनीहरूको धीरता र उनीहरूको आस्थाको परीक्षा गर्नुहुन्छ ।
“यद्यपि—जसले आफ्नो भरोसा उहाँमा राख्छ उसैलाई अन्तिम दिनमा उत्थान गरिने छ । हो, अनि यी जनहरूसँग यस्तै भयो ।”
यी मानिसहरूले तिनीहरूका परीक्षा र कष्टहरू कसरी सहे? ख्रीष्ट र उहाँको सुसमाचारमा ध्यान केन्द्रित गरेर । उनीहरूका समस्याहरूले तिनीहरूलाई परिभाषित गरेनन्; बरु, तिनीहरूमध्ये प्रत्येक परमेश्वरतर्फ फर्के किनभने तिनीहरूले आफूलाई परमेश्वरको सन्तति, करारको सन्तति र येशू ख्रीष्टको शिष्य भनेर परिभाषित गरेका थिए । जब तिनीहरूले उनीहरू को थिए भनेर स्मरण गरे र परमेश्वरलाई पुकारे, तिनीहरूले शान्ति, शक्ति र अन्ततः ख्रीष्टमा प्रसन्नता प्राप्त गरे:
“अल्मा र उनका जनहरूले … आफ्ना हृदयहरू [परमेश्वर]लाई पोखे; र उहाँले तिनीहरूका हृदयका विचारहरू जान्नुभयो ।
“अनि यस्तो हुन गयो कि उनीहरूका कष्टहरूमा परमप्रभुको आवाज उनीहरूकहाँ आयो, यसो भन्दै: तिमीहरूका शिर उठाओ र सान्त्वना लेओ, किनकि मलाई तिमीहरूले मसँग गरेको करारको ज्ञान छ; र म मेरा जनहरूसँग करार गर्ने छु र उनीहरूलाई दासत्वबाट मुक्त गर्ने छु ।”
जवाफमा, परमप्रभुले “[तिनीहरूको] काँधमा बोझ … हलुका पार्नुभयो । हो, परमप्रभुले तिनीहरूलाई बलियो बनाउनुभयो ताकि उनीहरूले आफ्ना बोझहरू सजिलोसँग बोक्न सकून् र उनीहरू खुसी र धीरताका साथ परमप्रभुका सबै इच्छाहरूमा समर्पित भए ।” यी सन्तहरूले आफ्ना समस्याहरू, पीडाहरू र परीक्षाहरूलाई ख्रीष्टको हर्षमा निल्न दिनुभयो भनेर ध्यान दिनुहोस्! त्यसपछि, निर्धारित समयमा, उहाँले अल्मालाई उहाँहरूको भाग्ने मार्ग देखाउनुभयो र अल्मा—परमेश्वरका अगमवक्ता—ले उहाँहरूलाई सुरक्षातर्फ अगुवाइ गर्नुभयो ।
जब हामी ख्रीष्टमा ध्यान केन्द्रित गर्छौँ र उहाँका अगमवक्ताको अनुशरण गर्छौँ, हामीलाई पनि ख्रीष्ट र उहाँको सुसमाचारको आनन्दतर्फ अगुवाइ गरिने छ । अध्यक्ष नेल्सनले सिकाउनुभएको छ: “हर्ष शक्तिशाली छ र हर्षमा ध्यान केन्द्रित गर्नाले हाम्रो जीवनमा परमेश्वरको शक्ति ल्याउँछ । जसरी सबै सन्दर्भहरूमा जस्तै, येशू ख्रीष्ट हाम्रो अन्तिम उदाहरण हुनुहुन्छ ‘जसले आफ्नो अगाडि राखिएको प्रसन्नताका लागि क्रूसमा सहनुभयो’ । [हिब्रू १२:२].”।
मेरी आमा हालै बित्नुभयो; यसले मलाई स्तब्ध बनायो । म मेरी आमालाई माया गर्छु र यति कलिलै उमेरमा उहाँलाई गुमाउने कल्पना पनि गरेको थिइन । परन्तु उहाँको निधनको अनुभवबाट, मेरो परिवार र मैले दुःख र प्रसन्नताको अनुभव दुबै अनुभव गरेका छौँ । मलाई ज्ञान छ, ख्रीष्टको कारण, उहाँको मृत्युवरण भएको छैन—उहाँ जीवित हुनुहुन्छ । अनि ख्रीष्ट र अगमवक्ता जोसेफ स्मिथद्वारा यस चर्चमा पुनर्स्थापित् पादरित्वका साँचाहरूका कारण, म एक दिन पुनः उहाँसँग हुने छु भनेर मलाई ज्ञान छ । मेरी आमालाई गुमाउनुको शोक ख्रीष्टको हर्षमा निलिएको छ! “सेलेस्टियल सोच राख्नु” र “परमेश्वरलाई विजयी हुन दिनु” मा ख्रीष्टमा उपलब्ध हर्षमा केन्द्रित हुनु समावेश छ भनेर मैले सिकिरहेको छु ।
उहाँ प्रेमपूर्वक आमन्त्रण गर्नुहुन्छ: “हे सबै श्रमिक र भारीले दबिएका हो, मकहाँ आओ, र म तिमीहरूलाई विश्राम दिने छु ।” येशू ख्रीष्टको नाममा, आमीन ।