साधारण सम्मेलन
परमप्रभु येशू ख्रीष्ट पुनः आउनुहुने छ
अक्टोबर २०२४ को साधारण सम्मेलन


14:49

परमप्रभु येशू ख्रीष्ट पुनः आउनुहुने छ

अब तपाईंहरू र मेरा लागि हाम्रा परमप्रभु र मुक्तिदाता येशू ख्रीष्टको दोश्रो आगमनका लागि तयारी गर्ने समय हो ।

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, परमप्रभुले मलाई तपाईंहरू सँग बोल्ने आशीर्वाद दिनुभएको छ जसका लागि म कृतज्ञ छु ।

यस सम्मेलनमा, उहाँका सेवकहरूद्वारा परमप्रभुले हामीसँग बोल्नुभएको छ । म तपाईंहरूलाई उहाँहरूका सन्देशहरू अध्ययन गर्न आग्रह गर्छु । तिनीहरूलाई के सत्य हो र के होइन भनेर छुट्याउने परीक्षण विधिका रूपमा आगामी छ महिनासम्मका लागि प्रयोग गर्नुहोस् ।

करीब पाँच वर्ष देखि सल्ट लेक मन्दिर र टेम्पल स्क्वायरमा रहेका अन्य क्षेत्रको संरक्षण र मर्मतसम्भार चलिरहेको छ । हालको प्रक्षेपणले यो कार्य सन् २०२६ को अन्त्यसम्ममा सम्पन्न हुने सङ्केत गर्छ । यस विशाल परियोजनामा ​​कार्य गर्ने सबैप्रति हामी आभारी छौँ ।

पछिल्ला छ महिनामा, हामीहरूले पाँचवटा देशहरूमा नौवटा मन्दिरहरू समर्पण वा पुनः समर्पण गरेका छौँ । अहिले देखि वर्षान्तसम्ममा हामीहरूले थप पाँचवटा समर्पण गर्ने छौँ ।

थप १७ मन्दिरहरूको निर्माण गर्ने योजना घोषणा गर्न पाउँदा आज, हामी खुसी छौँ । मैले स्थानहरू घोषणा गर्दा कृपया सम्मानपूर्वक सुन्नुहोस् ।

  • जुचिटान डे जरागोजा, मेक्सिको

  • सान्टा आना, एल साल्भाडोर

  • मेडेलिन, कोलम्बिया

  • स्यान्टियागो, डोमिनिकन रिपब्लिक

  • पोर्टो मोन्ट, चिली

  • डब्लिन, आयरल्याण्ड

  • मिलान, इटाली

  • अबुजा, नाइजेरिया

  • कम्पाला, युगान्डा

  • मापुटो, मोजाम्बिक

  • कोयूर डी’एलेन, इडाहो

  • क्विन क्रीक, एरिजोना

  • एल पासो, टेक्सास

  • हन्ट्सभिल, अलाबामा

  • मिलवाउकी, विस्कन्सिन

  • सुमिट,न्यू जर्सी

  • प्राइस, यूटा

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, के तपाईंहरूले हाम्रा आँखा अगाडि के भइरहेको छ देख्नुहुन्छ? हामीले यस क्षणको महिमालाई छुटाउने छैनौँ भनेर म प्रार्थना गर्छु! वास्तवमा नै परमप्रभुले आफ्नो कार्य द्रूत गतिमा अगाडि बढाइरहनुभएको छ ।

हामी किन यति अभूतपूर्व गतिमा मन्दिरहरूको निर्माण गर्दै छौँ? किन? किनभने परमप्रभुले हामीलाई त्यसो गर्न निर्देशन दिनुभएको छ । मन्दिरका आशीर्वादले इस्राएललाई पर्दाको दुबैतर्फकालाई एकत्रित गर्न सहयोग गर्छ । परमप्रभुको दोस्रो आगमनका लागि संसारलाई तयार पार्न सहयोग गर्ने मानिसहरूलाई तयार पार्न समेत यी आशीर्वादहरूले सहयोग गर्छन्!

मुक्तिदाताको दोस्रो आगमन

अगमवक्ता यशैयाले अगमवाणी गर्नुभएको जस्तै र जर्ज फ्रेडरिक ह्यान्डेलको मसीहमा तुलाना गारिएको जस्तै येशू ख्रीष्टको पुनरागमन हुँदा “परमप्रभुको महिमा प्रकट हुने छ र सबै प्राणीहरूले यसलाई एकसाथ देख्ने छन् ।”

त्यस दिन, “सरकार उहाँको काँधमा हुने छ: र उहाँको नाम अद्भुत, सल्लाहकार, शक्तिशाली परमेश्वर, चिरस्थायी पिता, शान्तिका राजकुमार हुने छ ।”

येशू ख्रीष्टले पुरानो र “अमेरिकी महाद्वीपमा निर्मित नयाँ यरूशलेम” दुबैबाट प्रशासन गर्नुहुने छ । यी दुई केन्द्रहरूबाट, उहाँले आफ्नो चर्चका विषयहरूमा निर्देशन प्रदान गर्नुहुने छ ।

त्यस दिन, परमप्रभुलाई “राजाहरूका राजा र परमप्रभुहरूका परमप्रभु” भनेर पहिचान गरिने छ । उहाँसँग भएकाहरूलाई “बोलावट गरिएका, छनोट गरिएका र आस्थावान्” हुने छन् ।

दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईंहरू र मेरा लागि यो परमप्रभु र मुक्तिदाता येशू ख्रीष्टको दोस्रो आगमनका लागि तयारी गर्ने समय यही हो । यो हाम्रो शिष्यत्वलाई सर्वोच्च प्राथमिकता दिने समय हो । सुसमाचारबाट विचलित गराउन सक्ने सांसारिक विषयहरू भएको संसारमा हामी यो कसरी गर्न सक्छौँ?

रोमको इटालिया मन्दिर

मन्दिरमा गरिने नियमित आराधनाले हामीलाई सहयोग गर्छ । परमप्रभुको गृहमा, हामी येशू ख्रीष्टमा ध्यान केन्द्रित गर्छौँ । हामी उहाँका सम्बन्धमा सिक्छौँ । हामीले उहाँलाई अनुशरण गर्ने प्रतिज्ञा गर्छौँ । हामी उहाँसँग परिचित हुन आउछौँ । हाम्रा मन्दिरका करारहरू पालना गर्दा हामीले परमप्रभुको सामर्थ्ययुक्त शक्तिमा पहुँच प्राप्त गर्छौँ । मन्दिरमा हामी संसारका यातनाहरूबाट सुरक्षा प्राप्त गर्छौँ । हामी येशू ख्रीष्ट र हाम्रा स्वर्गका पिताको विशुद्ध प्रेमलाई पर्याप्त मात्रामा अनुभव गर्छौं! संसारको कोलाहलका बिपरीत हामी शान्ति र आध्यात्मिक आश्वासन महसुस गर्छौँ ।

तपाईंहरूका लागि यो मेरो प्रतिज्ञा हो: इमानदारितापूर्वक येशू ख्रीष्टलाई अन्वेषण गर्नेले प्रत्येकले उहाँलाई मन्दिरमा भेट्टाउने छन् । तपाईंहरूले उहाँको कृपा महसुस गर्नुहुने छ । तपाईंहरूले आफ्नो सबैभन्दा अप्रिय प्रश्नहरूको उत्तर प्राप्त गर्नुहुने छ । तपाईंहरूले उहाँको सुसमाचारको प्रसन्नतालाई अझै राम्ररी बुझ्नुहुने छ ।

कसलाई वा केलाई म मेरो जीवन दिने छु? भन्ने विषय हामी प्रत्येकले उत्तर दिनै पर्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो भनेर मैले सिकेको छु:

अध्यक्ष नेल्सन एक सर्जनका रूपमा ।

येशू ख्रीष्टलाई अनुशरण गर्ने मेरो निर्णय हालसम्म मैले गरेका सबै निर्णयभन्दा महत्त्वपूर्ण निर्णय हो । मेडिकल अध्ययनका क्रममा मैले परमेश्वर पिता र उहाँका पुत्र येशू ख्रीष्टको देवत्वको गवाही प्राप्त गरेँ । त्यस समय देखि, हाम्रा मुक्तिदाता त्यो चट्टान हुनुहुन्छ जसमाथि मैले मेरो जीवन निर्माण गरेको छु । त्यो छनोटले सबै चीज बदलिएको छ! त्यो निर्णयले अन्य धेरै निर्णयहरूलाई सहज बनाएको छ । त्यो निर्णयले मलाई उद्देश्य र दिशा प्रदान गरेको छ । यसले मलाई जीवनका परीक्षाहरूको सामना गर्न पनि सहयोग गरेको छ । मलाई दुई उदाहरण बाँढ्न दिनुहोस्:

पहिलो, जब अप्रत्याशित रूपमा मेरी श्रीमती डेन्जेलको मृत्यु भयो, मैले हाम्रा कुनै पनि सन्ततिहरूलाई सम्पर्क गर्न सकिन । त्यहाँ म एक्लै थिएँ, तहसनहस भएको थिएँ, र सहयोगका लागि याचना गर्दै थिएँ । मेरी प्यारी डेन्जेलललाई किन येशू ख्रीष्टकहाँ लगियो भनेर उहाँको आत्माद्वारा, परमप्रभुले मलाई कृतज्ञतापूर्वक, सिकाउनुभयो । त्यो बुझाइका कारण मलाई सान्त्वना मिल्यो । समय बित्दै जाँदा, म आफ्नो पीडालाई अझै राम्ररी सामना गर्न सक्षम भएँ । पछि, मैले मेरी प्यारी पत्नी विण्डी सँग विवाह गरेँ । उनी मेरो दोस्रो उदाहरणको महत्वपूर्ण अंश थिईन् ।

विण्डी र मैले टाढाको भूमिमा कार्यभारमा रहँदा सशस्त्र लुटेराहरूले मेरो टाउकोमा बन्दुक राखेर ट्रिगर ताने । तर बन्दुक चलेन । त्यो पूरै अनुभवका क्रममा, हामी दुबैको जीवन खतरामा थियो । तैपनि विण्डी र मैले एक अविश्वसनीय शान्तिको अनुभव गर्‍यौँ । यो त्यो शान्ति थियो “जसले सबै बुझाइलाई पार गर्छ ।”

दाजुभाइ तथा दिदीबहिनीहरू, परमप्रभुले तपाईंहरूलाई पनि सान्त्वना दिनुहुने छ! उहाँले तपाईंहरूलाई मजबुत बनाउनुहुने छ । अराजकताका बीचमा पनि उहाँले तपाईंहरूलाई शान्तिको आशीष दिनुहुने छ ।

परमप्रभु येशू ख्रीष्ट ।

कृपया तपाईंहरूका लागि येशू ख्रीष्टको यो प्रतिज्ञा सुन्नुहोस्: “म तिमीहरूको दाहिने हाततर्फ र देब्रे हाततर्फ हुने छु र र मेरो आत्मा तिमीहरूको हृदयमा हुने छ र मेरा स्वर्गदूतहरू तिमीहरूलाई समर्थन गर्न तिमीहरूको वरिपरि हुने छन् ।”

तपाईंहरूलाई सहयोग गर्ने मुक्तिदाताको क्षमताको कुनै सीमा छैन । गेतसेमने र खप्परेमा उहाँको अकल्पनीय पीडा तपाईंहरूका लागि थियो! उहाँको असीम प्रायश्चित तपाईंहरूका लागि हो!

म तपाईंहरूलाई— येशू ख्रीष्टको प्रायश्चितको आफ्नो बुझाइलाई अभिवृद्धि गर्न—बाँकी जीवनभरि प्रत्येक हप्ता समय दिन आग्रह गर्छु । पापको पासोमा पर्नुभएकाहरू र कसरी पापको पश्चात्ताप गर्ने भनेर जानकारी नहुनेहरू प्रति मैले गहन सहानुभूति महसुस गर्छु । म उहाँहरूका लागि रून्छु जो आध्यात्मिक रूपमा सङ्घर्ष गर्नुहुन्छ वा एक्लै भारयुक्त बोझहरू बहन गर्नुहुन्छ किनभने उहाँहरूले येशू ख्रीष्टले उहाँहरूका लागि के गर्नुभयो भनेर बुझ्नुहुन्न ।

येशू ख्रीष्टले तपाईंहरूका पापहरू, तपाईंहरूका पीडाहरू, तपाईंहरूका हृदयका पीडाहरू, र तपाईंहरूका कमजोरीहरू आफूस्वयम् मा लिनुभयो । तिनीहरूलाई तपाईंहरूले एक्लै बहन गर्नु पर्दैन! तपाईंहरूले पश्चात्ताप गर्दा उहाँले तपाईंहरूलाई क्षमा दिनुहुने छ । उहाँले तपाईंहरूलाई आवश्यक आशीष दिनुहुने छ । उहाँले तपाईंहरूका घाइते आत्मालाई चङ्गाइ दिनुहुने छ । जब तपाईंहरूले आफूस्वयम् लाई उहाँमा जोड्नुहुन्छ, तपाईंहरूका बोझहरू हल्का महसुस हुने छन् । यदि तपाईंले येशू ख्रीष्टलाई अनुशरण गर्ने करारहरू निर्माण गर्नुहुन्छ र पालना गर्नुहुन्छ भने, तपाईंको जीवनका पीडादायी क्षणहरू अस्थायी छन् भनेर तपाईंहरूले पत्ता लगाउनुहुने छ । तपाईंहरूका कष्टहरू “ख्रीष्टको प्रसन्नतामा निलिएका हुने छन् ।”

तपाईंहरूलाई येशू ख्रीष्टको समर्पित शिष्य बन्नका लागि न यो धेरै छिटो न त धेरै ढिला भएको छ । तब तपाईंहरूले उहाँको प्रायश्चितका आशीर्वादहरू पूर्ण रूपमा अनुभव गर्नुहुने छ । इस्राएलको एकीकरणमा सहयोग गर्न तपाईंहरू पनि थप प्रभावकारी बन्नुहुने छ ।

येशू ख्रीष्टको दोश्रो आगमन

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, भविष्यमा, येशू ख्रीष्ट सहस्राब्दी मसीहका रूपमा पृथ्वीमा पुनः आउनुहुने छ । त्यसैले आज म तपाईंहरूलाई येशू ख्रीष्टमा आफ्नो जीवन पुनः समर्पण गर्न आह्वान गर्छु । तितरबितर पारिएका इस्राएललाई एकत्रित गर्न र संसारलाई परमप्रभुको दोस्रो आगमनका लागि तयार पार्न म तपाईंहरूलाई आह्वान गर्छु । म तपाईंलाई ख्रीष्टका सम्बन्धमा बोल्न, ख्रीष्टको गवाही दिन, ख्रीष्टमा आस्था राख्न र ख्रीष्टमा खुसी हुन आह्वान गर्छु!

ख्रीष्टकहाँ आउनुहोस् र उहाँलाई “आफ्नो सम्पूर्ण [आत्मा] अर्पण गर्नुहोस्”। जीवनको प्रसन्नताको रहस्य यही हो!

मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, सबै भन्दा उत्कृष्ट अझै आउन बाँकी नै छ, किनकि मुक्तिदाता पुनः आउँदै हुनुहुन्छ! सबै भन्दा उत्कृष्ट अझै आउन बाँकी नै छ किनभने परमप्रभुले आफ्नो कार्यलाई द्रूत गतिमा गरिरहनुभएको छ । हामीले येशू ख्रीष्टले चाहना गर्नुभएको गर्यौँ भने सबै भन्दा उत्कृष्ट अझै आउन बाँकी नै छ ।

येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनेर म विनम्र गवाही दिन्छु । म उहाँको शिष्य हुँ । उहाँको सेवक हुन पाउँदा म गौरवान्वित भएको छु । उहाँको दोस्रो आगमनमा, “परमप्रभुको महिमा प्रकट हुने छ र सबै प्राणीहरूले यसलाई सँगै देख्ने छन् ।” धर्मीहरूका लागि त्यो दिन प्रसन्नताले भरिपूर्ण हुने छ!

मैले धारण गरेका पवित्र पादरित्वका साँचाहरूको शक्तिद्वारा, म यो सत्यता तपाईंहरू र सारा संसारलाई घोषणा गर्छु! येशू ख्रीष्टको नाममा, आमीन ।