साधारण सम्मेलन
मेरो मस्तिष्कले येशू ख्रीष्टको यो विचारलाई आत्मसात गर्‍यो
अप्रिल २०२३ को साधारण सम्मेलन


मेरो मस्तिष्कले येशू ख्रीष्टको यो विचारलाई आत्मसात गर्‍यो

जब तपाईंहरूले ध्यानपूर्वक येशू ख्रीष्टको विचारलाई ग्रहण गर्न निरन्तरता दिनुहुन्छ, म तपाईंहरूलाई स्वर्गीय निर्देशन मात्र नभइकन स्वर्गीय शक्तिको पनि प्रतिज्ञा गर्छु ।

यस सुन्दर इस्टरको मौसममा, म यो शक्तिशाली भजनको प्रार्थनालाई प्रतिध्वनित गर्छु, “हे महान् यहोवा, हामीलाई मार्गनिर्देशन गर्नुहोस् ।”

मोर्मोनको पुस्तकमा एउटा उल्लेखनीय कथाले अल्मा नामक प्रख्यात परिवारका एक युवकका सम्बन्धमा बताउँछ जसलाई धर्मशास्त्रले मूर्तिपूजक अविश्वासीका रूपमा वर्णन गरेको छ । चापलूसी प्रयोग गरेर उसलाई पछ्याउनका लागि अरूलाई मनाउन ऊ स्पष्ट र आश्वस्थ थियो । आश्चर्यजनक रूपमा एक स्वर्गदूत अल्मा र तिनका साथीहरूसामु देखा परे । अल्मा जमीनमा लडे र यति कमजोर भए कि उनी असहाय भएर आफ्ना पिताको घरमा लगिए । उनी तीन दिनसम्म अचेत अवस्थामा रहे । पछि, उनले वर्णन गरे कि वरपरका मानिसहरूका लागि उनी अचेत अवस्थामा देखापरे तापनि, उनको मस्तिष्क अति नै सक्रिय थियो किनकि उनको आत्मा परमेश्वरका आज्ञाहरू पालना नगरेको आफ्नो जीवनका सम्बन्धमा सोच्दै शोकमा थियो । उनले आफ्नो मस्तिष्कलाई “[आफ्ना] धेरै पापहरूको सम्झनाले व्याकुल” र “अनन्त यातनाले भरिएको” भनी वर्णन गरे ।

आफ्नो गहिरो निराशामा, तिनले आफ्नो युवावस्थामा “संसारका पापहरूको प्रायश्चित गर्न, परमेश्वरका पुत्र, येशू ख्रीष्टको आगमन” का सम्बन्धमा सिकाइएको स्मरण गरे । त्यसपछि उनले यो अति नै मनमोहक कथन गरे: “जब मेरो मस्तिष्कले यो विचारलाई आत्मसात गर्‍यो, मैले मेरो हृदयमा आर्तनाद गरेँ: हे येशू, हे परमेश्वरका पुत्र, ममाथि दया गर्नुहोस् ।” उनले मुक्तिदाताको दैवी शक्तिका लागि अपील गर्दा, केही चमत्कार भयो: “जब मैले यो मनन गरेँ,” उनले भने, “म मेरो पीडाहरू सम्झन सक्दिन ।” अचानक उनले शान्ति र प्रकाश महसुस गरे । “मेरो प्रसन्नता जत्तिकै उत्कृष्ट र रोचक अरू केही थिएन,” उनले घोषणा गरे ।

अल्माले येशू ख्रीष्टको सत्यतालाई “आत्मसात गरे”। यदि हामीले भौतिक अर्थमा “समर्थनमा आत्मसात गरिएका” शब्दहरू प्रयोग गर्दै थियौँ भने, हामी भन्न सक्छौँ, “उनी लड्दै गर्दा उनले रेलिङमा समाते,” यसको अर्थ उनले अचानक हात फैलाए र सिमेन्ट गरिएको सुरक्षित आधारमा बलियोसँग समाहित भए ।

अल्माको विषयमा, यो उनको मस्तिष्कमा थियो जसले येशू ख्रीष्टको प्रायश्चितको बलिदानको यो शक्तिशाली सत्यलाई पहुँचयोग्य र सुरक्षित गर्‍यो । त्यो सत्यमा आस्थाका साथ कार्य गर्दै र परमेश्वरको शक्ति र अनुग्रहले, उनी निराशाबाट मुक्त भए र आशाले भरिए ।

हाम्रा अनुभवहरू अल्माका जत्तिकै रोचक नहुन सक्छन् तर पनि तिनीहरू अनन्त रूपमा महत्त्वपूर्ण छन् । हाम्रो मस्तिष्कले पनि येशू ख्रीष्ट र उहाँको दयालु बलिदानको “यस विचारलाई आत्मसात गरेको छ” र हाम्रो आत्माले त्यस पछि आउने प्रकाश र प्रसन्नता महसुस गरेको छ ।

येशू ख्रीष्टको विचार सुरक्षित गर्दै

यो ईस्टरको समयमा हामीले हाम्रो आत्माका कक्षहरूमा येशू ख्रीष्टको यस प्रमुख विचारलाई अझै सचेत रूपमा आकार दिनेछौँ , मजबुत बनाउनेछौँ र सुरक्षित गर्ने छौँ,१० यसलाई उत्सुकताका साथ हाम्रो मस्तिष्कमा प्रवाह गर्न अनुमति दिँदै, हामीले के सोच्छौँ र के गर्छौँ भन्ने दिशामा त्यसमा मार्गदर्शन गर्न र मुक्तिदाताको प्रेमको रोचक प्रसन्नता निरन्तर ल्याउन दिनेछौ भनेर मेरो प्रार्थना छ ।११

हाम्रो मस्तिष्कलाई येशू ख्रीष्टको शक्तिले पूर्ण गर्नुको अर्थ यो होइन कि हाम्रो सोचमा केवल उहाँ मात्रै हुनुहुन्छ । परन्तु यसको अर्थ यो हो कि हाम्रा सबै विचारहरू उहाँको प्रेम, उहाँको जीवन र शिक्षाहरू र उहाँको प्रायश्चितको बलिदान र महिमित पुनरुत्थानमा सीमित गरिएका छन् । येशू कहिल्यै पनि बिर्सिएको कुनामा हुनुहुन्न, किनकि उहाँका सम्बन्धमा हाम्रा विचारहरू सदैव उपस्थित हुन्छन् र “[हामीमा भएका सबै विषयहरूले उहाँलाई आराधना गर्छन्!”१२ हामी प्रार्थना गर्छौँ र हाम्रो मनका अनुभवहरूमा अभ्यास गर्छौँ जसले हामीलाई उहाँको समीप ल्याएको छ । हामी दिव्य छविहरू, पवित्र धर्मशास्त्रहरू र प्रेरित भजनहरूलाई हाम्रो व्यस्त जीवनमा दौडिरहेका अनगिन्ती दैनिक विचारहरूलाई बिस्तारै आराम प्रदान गर्न यी विषयहरूलाई हाम्रो मस्तिष्कमा स्वागत् गर्छौँ । उहाँप्रतिको हाम्रो प्रेमले हामीलाई यस मरणशील जीवनमा यो उदासिनता र शोकबाट सुरक्षित गर्दैन, तर यसले हामीलाई हाम्रो आफ्नै सामर्थ्य भन्दा धेरै परको शक्तिका साथ चुनौतीहरूको सामना गर्न अनुमति दिन्छ ।

येशू, हजुरका सम्बन्धमा अधिक सोच

माधुर्यताले मेरो आत्मा भरिन्छ;

परन्तु हजुरको मुहार हेर्न चाहन्छु

अनि हजुरको उपस्थितिमा आराम गर्न ।१३

स्मरण गर्नुहोस्, तपाईं स्वर्गका पिताको आत्मिक सन्तति हुनुहुन्छ । प्रेरित पावलले व्याख्या गरे जस्तै हामी “परमेश्वरका सन्तति” हौँ ।१४ तपाईं पृथ्वीमा आउनु भन्दा धेरै पहिले आफ्नो व्यक्तिगत पहिचान सँग जिउनु भएको थियो । हाम्रा पिताले हामीलाई पृथ्वीमा आउन, सिक्न र उहाँकहाँ फर्कने एउटा उत्तम योजना बनाउनुभयो । उहाँले आफ्ना प्रिय पुत्र पठाउनुभयो ताकि उहाँको असीम प्रायश्चित र पुनरुत्थानको शक्तिद्वारा, हामी चिहानभन्दा पनि परसम्म जिउन सकौँ र जब हामी उहाँमा आस्था राख्न र हाम्रा पापहरूबाट पश्चात्ताप गर्न इच्छुक हुन्छौँ१५ हामीलाई क्षमा गरिने छ र हामीले अनन्त जीवनको आशा प्राप्त गर्छौँ ।१६

हाम्रो मन र आत्मालाई असाधारण ध्यान दिँदै

यस मरणशील जीवनमा, हाम्रो मन र आत्मालाई असाधारण ध्यान चाहिन्छ ।१७ हाम्रो मस्तिष्कले हामीलाई जिउन, छनोट गर्न र असल र खराब छुट्याउन अनुमति दिन्छ ।१८ हाम्रो आत्माले प्रमाणित गवाही प्राप्त गर्दछ कि परमेश्वर हाम्रा पिता हुनुहुन्छ, कि येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ र उहाँहरूका शिक्षाहरू यहाँ खुशी र चिहानभन्दा बाहिरको अनन्त जीवनका लागि हाम्रो मार्गदर्शक हुन् ।

अल्माको मस्तिष्कले येशू ख्रीष्टको यो विचारलाई आत्मसात गर्‍यो । यसले उनको जीवन परिवर्तन गर्‍यो । साधारण सम्मेलन भनेको परमप्रभुले हामीलाई के गराउन र बनाउन चाहनुहुन्छ भनेर बुझ्ने समय हो । यो हाम्रो प्रगति प्रतिविम्वित गर्ने समय पनि हो । मेरो कार्यभारले मलाई संसारभरि लगेको छ, मैले चर्चका धर्मी, समर्पित सदस्यहरूमा बढ्दो आध्यात्मिक शक्ति देखेको छु ।

पाँच वर्ष पहिले, हामीलाई पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको सही नाम प्रयोग गरेर हामीले गर्ने सबै कार्यहरूमा मुक्तिदातालाई अझ प्रमुख रूपमा राख्न भनिएको थियो ।१९ हामी उहाँको नामलाई अझै गम्भीरताका साथ बोलिरहेका छौँ ।

चार वर्षअघि, हाम्रो प्रभुभोज सभाको समय घटाएर, हामीले परमप्रभुको प्रभुभोजमा सहभागी हुनमा हाम्रो ध्यान बढाएका थियौं । हामी येशू ख्रीष्टका सम्बन्धमा धेरै सोचिरहेका छौँ र उहाँलाई सदैव सम्झने हाम्रो प्रतिज्ञामा अझै गम्भीर छौँ ।२०

विश्वव्यापी महामारीको पृथकता र आऊ, मलाई अनुशरण गरको सहयोगले, साप्ताहिक रूपमा हाम्रो मुक्तिदाताको उपासनामा सहयोग गर्दै मुक्तिदाताका शिक्षाहरू हाम्रा घरहरूमा अझै प्रख्यात हुँदै गइरहेका छन् ।

अध्यक्ष रसल एम्. नेल्सनको “उहाँलाई सुन्नुहोस्” को सल्लाह पालना गरेर२१ हामीले पवित्र आत्माको सुक्ष्म आवाजलाई पहिचान गर्न र हाम्रो जीवनमा परमप्रभुका बाहु हेर्ने हाम्रो क्षमतालाई परिष्कृत गर्छौँ ।

दर्जनौँ मन्दिरहरूको घोषणा र समापनका साथ, हामी धेरै पटक परमप्रभुको गृहमा प्रवेश गर्दै छौँ र उहाँको प्रतिज्ञा गरिएको आशीर्वाद प्राप्त गर्दै छौँ । हामीले हाम्रा मुक्तिदाता र उद्धारकर्ताको उत्कृष्ट सुन्दरतालाई अझै शक्तिशाली रूपमा महसुस गरिरहेका छौँ ।

अध्यक्ष नेल्सनले भन्नुभयो: “[एक] प्रभावशाली [शिष्य] बन्नका लागि सहज वा स्वचालित केही छैन । हाम्रो ध्यान मुक्तिदाता र उहाँको सुसमाचारमा केन्द्रित हुनुपर्छ । हरेक विचारमा उहाँलाई हेर्ने प्रयास गर्नु मानसिक रूपमा कठोर छ ।”२२

येशू ख्रीष्टमा हाम्रो ध्यान केन्द्रित गरेर, हाम्रो वरपरका सबै विषयहरू—अझै पनि उपस्थित हुँदा—उहाँप्रतिको हाम्रो प्रेमद्वारा हेरिन्छ । कम महत्त्वपूर्ण विचलनहरू क्षीण हुन्छन् र हामी ती विषयहरू हटाउँछौँ जुन उहाँको प्रकाश र चरित्रसँग मेल खाँदैन । जब तपाईं येशू ख्रीष्टको यो विचारलाई ध्यानपूर्वक आत्मसात गर्नुहुन्छ, उहाँमा भरोसा गर्नुहुन्छ र उहाँका आज्ञाहरू पालना गर्नुहुन्छ, म तपाईंलाई स्वर्गीय निर्देशन मात्र नभइ स्वर्गीय शक्तिको प्रतिज्ञा गर्छु—त्यो शक्ति जसले तपाईंहरूका करारहरूलाई मजबुत बनाउँछ, तपाईंहरूका कठिनाइहरूमा शान्ति र तपाईंहरूका लागि आशीर्वादको प्रसन्नता दिन्छ ।

येशू ख्रीष्टको सम्झना

केही हप्ता अघि, क्याथी र म म्याट र सारा जोन्सनको घर गएका थियौँ । भित्तामा तिनीहरूको बहुमूल्य परिवारको तस्वीर, मुक्तिदाताको एक सुन्दर चित्र र मन्दिरको एक दृष्टान्त थियो ।

तिनीहरूका चार छोरीहरू, म्याडी, रुबी, क्लेयर र जुन, तिनीहरूले आफ्नी आमालाई कत्ति धेरै माया गर्छन् भनेर खुसीसाथ बताए ।

एक वर्ष भन्दा बढी समयदेखि साराले नियमित रूपमा परिवारका लागि मन्दिरमा सँगै उपस्थित हुन शनिबारका कार्यतालिकाहरू तय गरेकी थिइन् ताकि बालिकाहरूले यसपूर्व जीवित परिवारका सदस्यहरूको बप्तिस्मामा सहभागी हुन सकून् ।

गत वर्षको नोभेम्बरमा, साराले शनिबारको सट्टा बिहीबार डिसेम्बरको अन्तिम हप्ताका लागि पारिवारिक मन्दिर भेटका लागि समय तय गरीन् । “मलाई आशा छ कि तपाईंका लागि यो ठीक छ,” उनले म्याटलाई भनिन् ।

सारालाई क्यान्सर भएको पत्ता लागेको थियो तर डाक्टरहरूले उनी अझै दुई वा तीन वर्ष बाँच्ने अनुमान गरेका थिए । एक प्रभुभोज सभाका क्रममा, साराले आफ्नो दह्रिलो गवाही बाँढेकी थिईन्, यसो भन्दै कि उनका लागि नतिजा जस्तोसुकै होस्, उनले मुक्तिदातालाई आफ्नो सम्पूर्ण हृदयले प्रेम गर्छिन् र उहाँद्वारा “विजय पहिले नै प्राप्त भइसकेको थियो” । डिसेम्बर नजिकिँदै गर्दा, अप्रत्याशित रूपमा साराको स्वास्थ्य द्रुत रूपमा खस्कियो र उनलाई अस्पतालमा भर्ना गरियो । बिहीबार, डिसेम्बर २९ को बिहान, उनले चुपचाप आफ्नो नश्वर जीवनको अन्त्य गरीन् । म्याट रातभरि साराको छेउमा थिए ।

आफ्नो विच्छिप्त हृदय र शारीरिक अनि सम्वेगात्मक रूपमा पूर्ण रूपमा थकित उनी, छोरीहरूसँग शोक गर्दै घर आइपुगे । म्याटले आफ्नो फोनमा हेरेपछि, साराले त्यस दिनको अपह्रान्नका लागि निर्धारित गरेको बिहीबारको असामान्य मन्दिर भेटघाटको कार्यतालिकालाई स्मरण गरे । म्याटले भने, “जब मैले पहिलो पटक यो देखेँ, मैले महसुस गरेँ, यो काम गर्न सकिँदैन ।”

परन्तु त्यसपछि म्याटको मस्तिष्कले यो विचारलाई आत्मसात गर्‍यो: “मुक्तिदाता जीवित हुनुहुन्छ । उहाँको पवित्र आलयमा बाहेक परिवारका रूपमा हामी रहन चाहने त्यहाँ अन्य कुनै स्थान छैन ।”

छवि
जन्सन परिवार

म्याट, म्याडी, रुबी, क्लेयर र जून साराले उनीहरूका लागि तय गरेको कार्यतालिकाका लागि मन्दिरमा आइपुगे । आफ्ना आँखाबाट आँसु बगाउँदै, म्याटले आफ्ना छोरीहरूसँगसँगै बप्तिस्माहरू पूरा गरे । तिनीहरूले सारासँगको आफ्नो प्रेम र अनन्त बन्धनलाई गहिरो रूपमा महसुस गरे र तिनीहरूले मुक्तिदाताको अपार प्रेम र सान्त्वनादायी शान्ति महसुस गरे । म्याटले विनम्रतापूर्वक व्यक्त गरे, “जब म गहिरो सन्ताप र शोक महसुस गर्छु, म मेरा पिताको मुक्तिको अद्भुत योजनालाई बुझ्न पाउँदा खुशीले चिच्याइरहेको छु ।”

यस इस्टरको समयमा, म मुक्तिदाताको अतुलनीय प्रायश्चितको बलिदान र उहाँको महिमित पुनरुत्थानको परिपूर्ण र विशुद्ध सत्यको गवाही दिन्छु । तपाईंको मस्तिष्कले यस विचारमा दृढतापूर्वक र सदासर्वदाका लागि येशू ख्रीष्टको विचारमा रहँदा र तपाईंले आफ्नो जीवनलाई मुक्तिदातामा पूर्ण रूपमा केन्द्रित गरिरहँदा, म तपाईंलाई वचन दिन्छु कि तपाईंले उहाँको आशा, उहाँको शान्ति र उहाँको प्रेम महसुस गर्नुहुने छ । येशू ख्रीष्टका नाममा, आमीन ।

सूचीहरू:

  1. “Guide Us, O Thou Great Jehovah,” भजनहरू, नं ८३।

  2. हेर्नुहोस् मोसीयाह २७:८

  3. हेर्नुहोस् अल्मा ३६:१०

  4. अल्मा ३६:१७

  5. अल्मा ३६:१२

  6. अल्मा ३६:१७

  7. अल्मा ३६:१८ । अर्को पटक मोर्मोनको पुस्तकमा “पक्रिएको” प्रयोग गरिएको छ जसले “फलामको छडको छेउमा आत्मसात गर्‍यो” (१ नफी ८:२४, ३०) का सम्बन्धमा बताइरहेको छ ।

  8. अल्मा ३६:१९

  9. अल्मा ३६:२१

  10. “जीवनका सबैभन्दा महान् लडाइँ तपाईंको आफ्नै आत्माका मौन कक्षहरूमा लडिन्छ” (डेभिड ओ. मके, सम्मेलन प्रतिवेदनमा, अप्रिल १९६७, ८४) ।

  11. “[विचार]ले सबै कार्यलाई प्रयोजन गर्दछ । हाम्रा विचारहरू स्विचबोर्ड हुन्, हाम्रा कार्यहरू नियन्त्रण गर्ने नियन्त्रण प्यानल” (बोइड के. प्याकर, That All May Be Edified [१९८२], ३३) ।

    अध्यक्ष ड्यालिन एच्. ओक्सले सिकाउनुभयो: “हामी दुष्ट चाहनाहरूलाई दबाउन सक्छौँ र धर्मीहरूलाई प्रतिस्थापन गर्न सक्छौँ । यसले शिक्षा र अभ्यासलाई समावेश गर्छ । अध्यक्ष जोसेफ एफ्. स्मिथले सिकाउनुभयो कि “शिक्षा … हाम्रा चाहनाहरूको एक दूरगामी महत्व हो’” (Pure in Heart [१९८८], १४९) ।

  12. “Praise to the Lord, the Almighty,” भजनहरूनं. ७२ ।

  13. “Jesus, the Very Thought of Thee,” भजनहरूनं. १४१ ।

  14. प्रेरित १७:२९

  15. हेर्नुहोस् सिद्धान्त र करार ५८:४२-४३

  16. हेर्नुहोस् सिद्धान्त र करार १४:७

  17. “तपाईंका विचारहरू र तपाईंको हृदयको अभिप्राय बुझ्ने परमेश्वर बाहेक अरू कोही छैन” (सिद्धान्त र करार ६:१६) ।

  18. “असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्छ र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्ट थोक नै निकाल्छ: किनकि जुन विषयले हृदय भरिएको हुन्छ, मानिसको मुखबाट त्यही निस्कन्छ ।” (लूका ६:४५) ।

  19. हेर्नुहोस् रसल एम्. नेल्सन, “The Correct Name of the Church,” लियाहोना,नोभ. २०१८, ८७–८९ ।

  20. प्रत्येक हप्ता प्रभुभोज प्रार्थनामा हाम्रो करार यो हो कि हामी “उहाँलाई सदैव सम्झिरहने छौँ” (मोरोनी ४:३; सिद्धान्त र करार २०:७७) । मोर्मोनको पुस्तकले हामीलाई एकपछि अर्को गरी दुई पटक शब्द प्रयोग गर्न प्रोत्साहन गर्छ: “सम्झ, सम्झ” (मोसियाह २:४१; अल्मा ३७:१३; हेलामान ५:९) । पवित्र आत्माको शक्तिद्वारा आध्यात्मिक स्मरण आउँछ: “उसले तिमीहरूलाई सबै विषयहरू सिकाउने छ र सबै विषयहरू तिमीहरूको स्मरणमा ल्याउने छ” (यूहन्ना १४:२६) ।

  21. रसल एम्. नेल्सन, “Hear Him,” लियाहोना, मे २०२०, ९० ।

  22. रसल एम्. नेल्सन, “Drawing the Power of Jesus Christ into Our Lives,” लियाहोना, मे २०१७, ४१ । अध्यक्ष नेल्सनले यो पनि भन्नुभयो, “[पछिल्ला दिनका सन्तहरूले] महसुस गर्ने प्रसन्नता हाम्रो जीवनका परिस्थितिहरू र हाम्रो जीवनको ध्यान केन्द्रित गरी गरिने सबै विषयहरूसँग थोरै सम्बन्धित छ” (“Joy and Spiritual Survival,” लियाहोना, नोभेम्बर २०१६, ८२) ।

प्रिन्ट गर्नुहोस्