साधारण सम्मेलन
के सबैभन्दा महत्त्वपूर्ण छ भनेर स्मरण रहोस्
अप्रिल २०२३ को साधारण सम्मेलन


के सबैभन्दा महत्त्वपूर्ण छ भनेर स्मरण रहोस्

सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको स्वर्गका पिता र उहाँका प्यारा पुत्र, हाम्रा परिवारहरू र हाम्रा छिमेकीहरूसँगको हाम्रो सम्बन्ध हो र आत्माले हामीलाई मार्गदर्शन गर्न अनुमति दिनु हो ।

यस सप्ताहन्तमा उहाँको प्रायश्चितको बलिदानको केही समय पूर्व यरूशलेममा भएको मुक्तिदाताको विजयी प्रवेशको सम्झनामा, म उहाँको आशा र सान्त्वनाका वचनहरू सम्झन्छु: “म पुनरुत्थान र जीवन हुँ: ऊ जसले ममाथि विश्वास गर्छ, मरेको भए तापनि जिउने छ ।”

म उहाँलाई प्रेम गर्छु । म उहाँलाई विश्वास गर्छु । म प्रमाणित गर्छु कि उहाँ पुनरुत्थान र जीवन हुनुहुन्छ ।

मेरी श्रीमती बारबराको निधन भएको यो साढे चार वर्षभरि यो गवाहीले मलाई सान्त्वना दिएको छ र मजबुत बनाएको छ । म उनलाई गुमाएको महसुस गर्छु ।

प्रायश:, मैले हाम्रो अनन्त विवाह र सँगै बितेको हाम्रो जीवनलाई प्रतिबिम्बित गर्दै आएको छु ।

मैले बारबरालाई कसरी भेटेँ र त्यो अनुभवले मेरो सुसमाचार प्रचारमा मैले सिकेको “वार्तालापलाई अगाडि बढाउने” सीपलाई प्रयोग गर्न मलाई कसरी सिकायो भनेर यसपूर्व पनि बताएको छु । हामीले पहिलो पटक भेटेपछि मैले उनीसँग छिट्टै पुन: वार्तालापलाई अगाडि बढाउनु परेको थियो किनभने उनी सुन्दर, लोकप्रिय र अति व्यस्त सामाजिक पात्र थिईन् । मलाई प्रारम्भ देखि नै मनोरम लाग्थ्यो किनभने उनी पहुँचयोग्य र मिलनसार थिईन् । मैले उनको असलपनाको प्रशंसा गरेँ । मलाई लाग्यो कि उनी र म सँगै हुनु पर्दछ । मेरो मस्तिष्कमा यो एकदम सरल देखियो ।

बारबरा र मैले भेट्न शुरू गर्‍यौँ र हाम्रो सम्बन्ध फस्टाउन सुरू भयो तर मसँग विवाह गर्नु उनका लागि सही थियो कि थिएन भनेर उनी अनिश्चित थिईन् ।

यो मेरा लागि जान्न पर्याप्त थिएन; बारबरा स्वयम्ले जानकारी प्राप्त गर्नु आवश्यक थियो । मलाई थाहा थियो कि यदि हामीले यस विषयमा उपवास र प्रार्थनामा समय बितायौँ भने बारबाराले स्वर्गबाट प्रमाणीकरण प्राप्त गर्न सक्थिन् ।

हामीले एकअर्कालाई नभेटीकन एक सप्ताहन्त बितायौँ ताकि हामी उपवास गर्न सकौँ र आफ्नो लागि जान्न व्यक्तिगत रूपमा प्रार्थना गर्न सकौँ । सौभाग्यवश मेरा लागि, उनले पनि त्यही प्रमाणीकरण प्राप्त गरे जुन मैले गरेँ । बाँकी, तिनीहरूले भने जस्तै, इतिहास हो ।

जब बारबराको मृत्यु भयो, हाम्रा छोराछोरीहरूले उनको समाधिमा विभिन्न पाठहरू लेखे जुन बारबराले तिनीहरूलाई सम्झून् भन्ने चाहन्थिन् । ती पाठहरू मध्ये एक हो “के सबैभन्दा महत्त्वपूर्ण छ त्यहि नै अनन्तसम्म रहन्छ ।”

आज, म के सबैभन्दा महत्त्वपूर्ण छ त्यस विषयहरूमा मेरो हृदयबाट केही भावनाहरू र विचारहरू बाँढ्ने छु।

पहिलो, हाम्रा स्वर्गका पिता र उहाँका पुत्र, परमप्रभु येशू ख्रीष्टसँगको सम्बन्ध सबैभन्दा महत्त्वपूर्ण छ । यो सम्बन्ध हाल र अनन्तकालमा सबैभन्दा महत्त्वपूर्ण छ ।

दोस्रो, पारिवारिक सम्बन्धहरू सबैभन्दा महत्त्वपूर्ण विषयहरू मध्ये एक हुन् ।

मेरो सेवा अवधिभर मैले विनाशकारी प्राकृतिक प्रकोपबाट प्रभावित धेरै व्यक्ति र परिवारलाई भेटेको छु । धेरैजना विस्थापित, भोका र त्रसित भएका थिए । तिनीहरूलाई चिकित्सा सम्बन्धित सहयोग, खाना र आश्रयको आवश्यकता थियो ।

तिनीहरूलाई पनि आफ्नो परिवारको आवश्यकता थियो ।

म बुझ्छु कि कसैलाई नजिकको परिवारको आशीर्वाद नमिल्न सक्छ, त्यसैले म विस्तारित परिवार, मित्रहरू र वार्डका परिवारहरूलाई पनि “परिवार” का रूपमा समावेश गर्छु । यी सम्बन्धहरू भावनात्मक र शारीरिक स्वास्थ्यका लागि आवश्यक छन् ।

यी सम्बन्धहरूले पनि प्रेम, प्रसन्नता, खुशी र समाविष्टको भावना प्रदान गर्न सक्छन् ।

यी महत्त्वपूर्ण सम्बन्धहरूको पालनपोषण गर्नु एक छनोट हो । परिवारको एक अंश बन्नका लागि प्रतिबद्धता, प्रेम, धीरता, वार्तालाप र क्षमाको आवश्यक पर्दछ । त्यहाँ कहिलेकाहीँ त्यस्ता समय आउन सक्दछ जब हामी अर्को व्यक्तिसँग असहमत हुन्छौँ तर हामी असहमती नदेखाई त्यसो गर्न सक्छौँ । प्रेम सम्बन्ध र विवाहमा, हामी प्रेममा डुबेका छौँ वा हाम्रो प्रेम हरायो भन्दैनौं जस्तै कि चेसबोर्डमा सारिदै गरिएका ती वस्तुहरू जस्तै । हामी एकअर्कालाई प्रेम गर्न र समर्थन गर्न छनोट गर्छौँ । हामी अन्य पारिवारिक सम्बन्धहरूमा र हाम्रा लागि परिवार जस्तै मित्रहरूसँग पनि त्यस्तै गर्छौं ।

परिवारको घोषणामा भनिएको छ कि “खुशीको दैवी योजनाले पारिवारिक सम्बन्धलाई चिहानभन्दा पर पनि कायम राख्न सक्षम बनाउँछ । पवित्र मन्दिरहरूमा उपलब्ध पवित्र विधिहरू र करारहरूले व्यक्तिहरूलाई परमेश्वरको उपस्थितिमा फर्कन र परिवारहरूलाई अनन्त रूपमा एकताबद्ध हुन सम्भव बनाउँछन् ।

अर्को विषय जुन सबैभन्दा महत्त्वपूर्ण छ, हाम्रा सबैभन्दा महत्त्वपूर्ण सम्बन्धहरूमा र हाम्रा निजी र सार्वजनिक सेवाहरूमा लगायत हाम्रा छिमेकीहरूलाई आफूलाई जस्तै प्रेम गर्ने हाम्रा प्रयासहरूमा आत्माको प्रोत्साहनलाई अनुशरण गर्नु हो । मैले यो शिक्षा मेरो जीवनको सुरूमा बिशपका रूपमा सेवा गर्दा सिकेँ ।

हिउँ परेको जाडोको एक चिसो साँझ उत्तरार्धमा म मेरो विशपको कार्यालयबाट निस्कदै थिएँ त्यतिबेला मलाई मेरो वार्डकी एक वृद्ध विधवालाई भेट्नु पर्ने एक मजबुत प्रभाव प्राप्त भयो । मैले घडीमा हेरेँ—रातको १० बजिसकेको थियो । मैले तर्क गरेँ कि यस्तो भेटका लागि अति नै ढिला भइसकेको थियो । साथै, हिउँ परिरहेको थियो । मैले यति ढिला गएर उनलाई विचलित बनाउनुको सट्टा बिहान सबेरै यी प्रिय दिदीलाई भेट्ने निर्णय गरेँ । म घरमा गएँ र ओछ्यानमा पल्टें तर मनोविनोदित भएँ र रातभर विच्छिप्ट बनेँ किनभने आत्माले मलाई हलचल पारिरहेको थियो ।

भोलिपल्ट बिहानै म सिधै ती विधवाको घरमा गएँ । उनको छोरीले ढोकाबाट जवाफ दिईन् र अश्रुपूर्ण नयन सहित भनिन्, “ओहो, बिशप, आउनु भएकोमा धन्यवाद । दुई घन्टाअघि आमा बित्नुभयो”—म स्तब्ध भएँ । म मेरो मनको भावनालाई कहिल्यै भुल्ने छैन । म रोएँ । यो प्रिय विधवा भन्दा अन्य को आफ्नो विशपको हात समात्न, सान्त्वना पाउन र सम्भवतया अन्तिम आशीर्वाद पाउन योग्य थियो होला? मैले त्यो अवसर गुमाएँ किनभने मैले आत्माको यो मजबुत प्रोत्साहनलाई तर्क गरेँ ।

दाजुभाइ तथा दिदीबहिनीहरू, युवाहरू र युवतीहरू र प्राथमिक बालबालिकाहरू, म गवाही दिन्छु कि आत्माका प्रोत्साहनहरू अनुशरण गर्नु हाम्रा सबै सम्बन्धहरूमा सबैभन्दा महत्त्वपूर्ण विषयहरू मध्ये एक हो ।

अन्तमा, यो पाम आइतबारको सप्ताहन्तमा, म गवाही दिन्छु कि परमप्रभुमा परिवर्तन हुनु, उहाँको गवाही दिनु र उहाँको सेवा गर्नु पनि सबैभन्दा महत्त्वपूर्ण विषयहरू मध्ये एक हो ।

येशू ख्रीष्टमा आस्था हाम्रा गवाहीहरूको आधार हो । गवाही भनेको पवित्र आत्माद्वारा व्यक्तिगत हृदय र अन्तस्करणहरूमा छापिएको अनन्त सत्यको साक्षी वा प्रमाणीकरण हो । आत्माद्वारा जन्मिएको र मजबुत पारिएको येशू ख्रीष्टको गवाहीले जीवन परिवर्तन गर्दछ—यसले हाम्रो सोच्ने तरिका र हाम्रो जीवनलाई परिवर्तन गर्दछ । गवाहीले हामीलाई हाम्रो स्वर्गका पिता र उहाँको दैवी पुत्रतर्फ फर्काउँछ ।

अल्माले सिकाए:

हेर, म तिमीहरूसामु गवाही दिन्छु कि मलाई थाहा छ कि मैले बोलेका यी विषयहरू सत्य छन् । अनि मैले तिनको निश्चितता कसरी थाहा पाएँ भन्ने ठान्दछौ?

“हेर, म तिमीहरूलाई भन्दछु ती परमेश्वरको पवित्र आत्माद्वारा मेरासामु अवगत गराइयो । हेर, मैले धेरै दिन उपवास बसेको छु र प्रार्थना गरेको छु कि मैले आफैँले यी विषयहरू थाहा पाउन सकूँ । अनि अब मलाई आफैं थाहा छ कि तिनीहरू सत्य छन्; किनकि परमप्रभु परमेश्वरले तिनीहरूलाई उहाँको पवित्र आत्माद्वारा मसामु प्रकट गर्नुभएको छ ।”

गवाही हुनु मात्र पर्याप्त छैन । जब येशू ख्रीष्टमा हाम्रो परिवर्तनको वृद्धि हुँदै जान्छ, हामी स्वाभाविक रूपमा उहाँको भलाइ, प्रेम र दयाको गवाही दिन चाहन्छौँ ।

प्रायः उपवासका आइतबारहरूमा हाम्रा गवाही सभाहरूमा, हामी “मलाई थाहा छ” र “म विश्वास गर्छु” भन्ने वाक्यांशहरू भन्दा बढी “म आभारी छु” र “म प्रेम गर्छु” भन्ने वाक्यांशहरू सुन्छौँ ।

म तपाईंलाई येशू ख्रीष्टका सम्बन्धमा आफ्नो गवाही निरन्तर रूपमा दिन आमन्त्रण गर्छु । तपाईं केका लागि आभारी हुनुहुन्छ भनेर मात्र नभई तपाईंले बुझ्नुभएकोविश्वास गर्नुभएको र तपाईंले महसुस गर्नुभएकोगवाही दिनुहोस् । मुक्तिदातालाई चिन्ने र प्रेम गर्ने, उहाँका शिक्षाहरू अनुरूप जिउने र उहाँको उद्दार र तपाईंको जीवनमा सक्षम पार्ने शक्तिका सम्बन्धमा तपाईंको आफ्नै अनुभवहरूको गवाही दिनुहोस् । जब तपाईंले बुझ्नुभएको, विश्वास गर्नुभएकोमहसुस गर्नुभएकोगवाही व्यक्त गर्नुहुन्छ पवित्र आत्माले तपाईंको गवाही सुन्नेहरूलाई सत्यता प्रमाणित गर्ने छ । तिनीहरूले तपाईंलाई येशू ख्रीष्टको शान्त अनुयायी भएको देखेका कारण तिनीहरूले त्यसो गर्ने छन् । तिनीहरूले उहाँको शिष्य हुनुको अर्थ के हो भनेर देख्ने छन् । तिनीहरूले पनि केही महसुस गर्ने छन् जुन तिनीहरूले यसपूर्व कहिल्यै महसुस नगरेका हुन सक्छन् । एक विशुद्ध गवाही परिवर्तित हृदयबाट आउँछ र यसलाई प्राप्त गर्न खुला भएका अरूहरूको हृदयमा पवित्र आत्माको शक्तिद्वारा यसलाई लैजान सकिन्छ ।

तपाईंको गवाहीको परिणाम स्वरूप केही महसुस गर्नेहरूले तपाईंको गवाहीको सत्यता प्रमाणित गर्न प्रार्थनामा परमप्रभुलाई सोध्न सक्छन् । त्यसपछि तिनीहरू आफैँले थाहा पाउन सक्छन् ।

दाजुभाइहरू तथा दिदीबहिनीहरू, म तपाईंहरूलाई साक्षी दिन्छु र गवाही व्यक्त गर्दछु कि मलाई थाहा छ कि येशू ख्रीष्ट संसारको मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ । उहाँ जीवित हुनुहुन्छ । उहाँ परमेश्वरको पुनरुत्थापित पुत्र हुनुहुन्छ र यो उहाँको अगमवक्ता र प्रेरितहरूले नेतृत्व गरेको उहाँको चर्च हो । म प्रार्थना गर्छु कि एक दिन जब म अर्को संसारमा जान्छु, म मेरो गवाही चम्किलो रूपमा जलाएर जान सकूँ ।

मेरो सेवामा, मैले स्वर्गका पिता र उहाँको प्रिय पुत्र, हाम्रा परिवारहरू र हाम्रा छिमेकीहरूसँगको हाम्रो सम्बन्ध सबैभन्दा महत्त्वपूर्ण विषय हो र परमप्रभुको आत्मालाई हामीलाई ती सम्बन्धहरूमा निर्देशन गर्न अनुमति दिनु ताकि हामी सबैभन्दा महत्त्वपूर्ण र अनन्तसम्म रहने विषयहरूको गवाही दिन सक्छौँ । येशू ख्रीष्टका नाममा, आमीन ।

सूचीहरू:

  1. यूहन्ना ११:२५

  2. यस विषयमा धर्मशास्त्रहरू र अगमवक्ताहरू, प्रेरितहरू र चर्चका अन्य अगुवाहरूबाट वक्तव्यहरू पढ्नका लागि सुसमाचार पुस्तकालयमा (ChurchofJesusChrist.org वा मोबाइल एपमा) “परिवार” “एकता,” र “प्रेम” सुसमाचार शीर्षकहरूमा लेखहरू हेर्नुहोस्।

  3. परिवार: संसारका लागि एक घोषणा,” ChurchofJesusChrist.org.

  4. यस अनुभवको विवरण सुजेन इस्टन ब्लेक र जोसेफ वकर , Anxiously Engaged: A Biography of M. Russell Ballard (२०२१), ९०-९१ मा छ।

  5. अल्मा ५:४५-४६

प्रिन्ट गर्नुहोस्