अपूर्ण फसल
मुक्तिदाता हाम्रा विनम्र भेटीहरू स्वीकार गर्न र उहाँको अनुग्रहद्वारा तिनीहरूलाई परिपूर्ण पार्न तत्पर हुनुहुन्छ । ख्रीष्टसँगै, त्यहाँ कुनै त्रुटिपूर्ण फसल हुँदैन ।
म जवान हुँदा, म हुर्केको स्थान दक्षिणपश्चिमी मोन्टानामा वर्षभरिको मौसममा उल्लेखनीय परिवर्तनहरू हुन्थ्यो जसलाई मैले अति नै प्रेम गर्न सिकेको छु । मेरो मनपर्ने मौसम शरद ऋतु थियो—फसलको समय । हाम्रो परिवारले आशा र प्रार्थना गर्यो कि हाम्रो महिनौँको कडा परिश्रमले प्रशस्त फसल प्राप्त हुने छ । मेरा अभिभावकहरूले मौसम, जनावर र बालीहरूको स्वास्थ्य र अन्य धेरै विषयहरूका सम्बन्धमा चिन्तित गर्नु हुन्थ्यो जसमा उहाँहरूको कम नियन्त्रण थियो ।
म हुर्कदै गर्दा, म यसमा संलग्न आवश्यकताका सम्बन्धमा अझै बढी सचेत भएँ । हाम्रो जीविकोपार्जन फसलमा निर्भर थियो । मेरा पिताले मलाई हामीले अन्न काट्न प्रयोग गर्ने उपकरणहरूका सम्बन्धमा सिकाउनुभयो । उहाँले मेसिनलाई खेतमा लैजानुहुँदा म हेरेँ, अनाजको सानो टुक्रा काट्नु हुन्थ्यो अनि मेसिनको पछाडि हेरेर अन्न भर्ने ट्यांकीमा धेरै अन्न छिरेको छ कि छैन वा भुससँगै फालिएको छ कि भनेर हेर्नुहुन्थ्यो । उहाँले प्रत्येक पटक मेसिनको समायोजन गर्दै यो प्रक्रिया धेरै पटक दोहोर्याउनु हुन्थ्यो । म छेउमा दौडिन्थेँ र उहाँसँगै हातले भुस चलाउँदै र मैले के गरिरहेको छु भनेर मलाई जानकारी छ भन्ने नाटक गर्थेँ ।
मेसिनको समायोजनबाट उहाँ सन्तुष्ट हुनु भएपछि, मैले भूइँको भुसमा केही दानाहरू पत्ता लगाएँ र तिनीहरूलाई ध्यानपूर्वक हेर्दै उहाँलाई दिएँ । मेमेरा पिताले मलाई भन्नुभएको म बिर्सने छैन “यो पर्याप्त छ र यो मेसिनले गर्न सक्ने सबै भन्दा उत्तम यही नै हो ।” उहाँको व्याख्याबाट वास्तवमा नै सन्तुष्ट नभएर, मैले यस फसलको त्रुटिहरूका सम्बन्धमा मनन गरेँ ।
केही समय पछि, जब साँझमा मौसम चिसो हुन थाल्यो, मैले हजारौँ प्रवासी हंस, पानी हाँस र हाँसहरू आफ्नो दक्षिणतिरको लामो यात्राका लागि आफूलाई पोषण गर्न खेतहरूमा ओर्लेको देखेँ । तिनीहरूले हाम्रो अपरिपूर्ण फसलबाट बचेको अन्न खाए । परमेश्वरले यसलाई परिपूर्ण पार्नुभएको थियो । अनि एक दाना पनि खेर गएन ।
हाम्रो संसारमा र चर्चको संस्कृति भित्र पनि परिपूर्णताका सम्बन्धमा सोच्ने प्रलोभन प्रायः छ । सामाजिक सञ्जाल, अवास्तविक अपेक्षाहरू र प्रायः हाम्रो आफ्नै आत्म-आलोचनाले अपर्याप्तताको भावना सिर्जना गर्छ—कि हामी पर्याप्त रूपमा असल छैनौँ र कहिल्यै हुने छैनौँ । कसै-कसैले मुक्तिदाताको “त्यसकारण तिमीहरू परिपूर्ण होऊ” भन्ने निमन्त्रणालाई समेत गलत बुझ्छन् ।१
सम्झनुहोस् कि पूर्णतावाद ख्रीष्टमा परिपूर्ण हुनु जस्तै होइन ।२ पूर्णतालाई असम्भव, आत्म-प्रेषित स्तर चाहिन्छ जसले हामीलाई अरूसँग तुलना गर्छ । यसले दोष र चिन्ता निम्त्याउँछ अनि हामीलाई फिर्ता लिने र आफूलाई अलग राख्ने चाहना गराउन सक्छ ।
ख्रीष्टमा परिपूर्ण हुनु भिन्न विषय हो । यो—प्रेमपूर्वक पवित्र आत्माद्वारा निर्देशित—मुक्तिदाता जस्तै बन्ने प्रक्रिया हो । मापदण्डहरू दयालु र सर्वज्ञ स्वर्गका पिताद्वारा तोकिएको छ र हामीलाई ग्रहण गर्न आमन्त्रण गरिएका करारहरूमा स्पष्ट रूपमा परिभाषित गरिएको छ । यसले हामीलाई दोष र अपर्याप्तताको बोझबाट मुक्त गराउँदछ, सधैं परमेश्वरको दृष्टिमा हामी को हौं भन्ने कुरामा जोड दिन्छ । यद्यपि यो प्रक्रियाले हामीलाई अझै असल बन्न प्रेरणा र उत्साह दिन्छ, हामीलाई परमेश्वरप्रतिको हाम्रो व्यक्तिगत भक्तिद्वारा मापन गरिन्छ जुन हामीले उहाँप्रति आस्थामा अनुशरण गर्ने हाम्रा प्रयासहरूमा प्रकट गर्छौँ । जब हामी मुक्तिदाताको उहाँकहाँ आउने निमन्त्रणालाई स्वीकार गर्छौँ, हामीले तत्कालै बुझ्छौँ कि हाम्रो सबैभन्दा उत्तम प्रयास पर्याप्त छ र मायालु मुक्तिदाताको अनुग्रहले हामीले कल्पना गर्न नसक्ने तरिकाहरूमा त्रुटिहरूको क्षतिपूर्ति गर्छ ।
हामी यो सिद्धान्त प्रभावकारी रहेको देख्न सक्छौँ जब मुक्तिदाताले पाँच हजारलाई खुवाउनुभयो ।
“जब येशूले आफ्ना आँखा उठाउनुभयो र एउटा ठूलो भीड आफूकहाँ आइरहेको देख्नुभयो, उनले फिलिपलाई भन्नुभयो, हामीहरूले कहाँबाट रोटी किन्ने ताकि तिनीहरूले खान पाऊन् ? …
“फिलिपले उहाँलाई जवाफ दिए, “प्रत्येकले अलि-अलि लिए तापनि दुई सय चाँदीका सिक्काको रोटीले तिनीहरूलाई पुग्ने छैन ।
उहाँका अनुयायीहरूमध्ये एक जना, सिमोन पत्रुसका भाइ अन्द्रियासले उहाँलाई भने,
“यहाँ एक जना जवान छन्, जोसँग जौका पाँचवटा रोटी र दुई माछा छन्: तर यति धेरैका लागि ती के पर्याप्त होलान् र?”३
मुक्तिदाताले यो जवान केटाका सम्बन्धमा कस्तो महसुस गर्नुभएको थियो भनेर के तपाईं कहिल्यै सोचमग्न बन्नुभएको छ जसले कुनै बालकको आस्था जस्तै अति नै अपर्याप्त भएको महसुस गरेर पनि हातमा रहेको त्यस कार्यलाई प्रस्ताव गर्यो ?
“तब येशूले रोटी लिनुभयो; र परमेश्वरलाई धन्यवाद चढाउनुभएपछि बस्नेहरूलाई बाँढिदिनुभयो र त्यसैगरी माछा पनि बाँढिदिनुभयो । तिनीहरूले चाहेजति खाए ।
“अनि जब तिनीहरूले भरपेट खाए, उहाँले आफ्ना अनुयायीहरूलाई भन्नुभयो, “बाँकी रहेका टुक्राहरू बटुल र केही नष्ट नहोस् ।”४
मुक्तिदाताले बिनम्र भेटीलाई परिपूर्ण पार्नुभयो ।
यो अनुभवको केही समयपछि, येशूले आफ्नाअनुयायीहरूलाई डुङ्गामा पठाउनुभयो । त्यसको लगत्तै मध्यरातमा आँधीबेहरीको समुद्रमा तिनीहरूले आफूलाई भेट्टाए । तिनीहरूले भूतको आकृति आफूतिर पानीमा हिंडिरहेको देखेपछि तिनीहरू डराए ।
“परन्तु येशूले तत्कालै तिनीहरूलाई यसो भन्नुभयो, “साहस गर, म नै हुँ, नडराओ ।
“पत्रुसले उहाँलाई भने, “हे परमप्रभु, हजुर नै हुनुहुन्छ भने, मलाई हजुरकहाँ पानीमाथि आउने आज्ञा दिनुहोस् ।
“अनि उहाँले भन्नुभयो, आऊ । अनि जब पत्रुस डुङ्गाबाट ओर्ले, उनीयेशूकहाँ जानलाई पानीमाथि हिँडे ।
“परन्तु बतास जोडले चलेको देखेर तिनी डराए; र जब डुब्नै लागे तब तिनले चिच्याएर भने, हे परमप्रभु, मलाई बचाउनुहोस् ।
तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयो, र तिनलाई भन्नुभयो, “ए अल्पविश्वासी, किन शङ्का गर्यौ?५
दाजुभाइ र दिदीबहिनीहरू, यो वार्तालापको अन्त्य त्यहाँ भएको नहुन सक्छ । मलाई विश्वास छ कि जब पत्रुस र मुक्तिदाता हातमा हात मिलाएर जहाजमा फर्किनुभए, पत्रुस भिजेको र सायद मूर्ख महसुस गर्दै, मुक्तिदाताले यसो भन्नुभएको हुन सक्छ: “हे, पत्रुस, नडराऊ र चिन्ता नगर । यदि तिमीले आफूलाई मैले देखेको जस्तो देख्न सकेको भए, तिम्रो शङ्का हट्ने थियो र तिम्रो विश्वास बढ्ने थियो । म तिमीलाई प्रेम गर्छु, प्रिय पत्रुस; तिमी डुङ्गाबाट बाहिर आयौ । तिम्रो भेटी ग्रहणयोग्य छ र तिमीले शक्ति गुमाए पनि म तिमीलाई गहिराइबाट उठाउन सदैव त्यहाँ हुने छु र तिम्रो भेटी परिपूर्ण बनाइने छ ।”
एल्डर डिएटर एफ. उक्डोर्फले सिकाउनुभयो:
“मलाई विश्वास छ मुक्तिदाता येशू ख्रीष्टले तपाईंले देखेको, महसुस गरेको र उहाँ नै तपाईंको शक्ति हुनुहुन्छ भनी बुझेको चाहनुहुन्छ । ताकि उहाँको सहायताले, तपाईंले के प्राप्त गर्न सक्नुहुन्छ त्यसको कुनै सीमा छैन । ताकि तपाईंको क्षमता असीमित छ । उहाँले तपाईंलाई जसरी हेर्नुहुन्छ त्यसरी नै तपाईंले आफैँलाई हेरेको उहाँ चाहनुहुन्छ । अनि संसारले तपाईंलाई हेर्ने तरिका भन्दा त्यो धेरै फरक छ । …
“उहाँले थकितहरूलाई शक्ति दिनुहुन्छ; र शक्तिहीन महसुस गर्नेहरूलाई उहाँले बल बढाउनुहुन्छ ।”६
हामीले सम्झनु पर्दछ कि हाम्रो सबैभन्दा राम्रो तर अपूर्ण भेटी जे भए पनि, मुक्तिदाताले यसलाई परिपूर्ण बनाउन सक्नुहुन्छ । हाम्रा प्रयासहरू जतिसुकै नगण्य देखिए तापनि, हामीले मुक्तिदाताको शक्तिलाई कहिल्यै पनि कम सम्झनु हुँदैन । दयाको सरल शब्द, संक्षिप्त तर निष्कपट सेवाको भेटघाट अथवा प्रेमपूर्वक सिकाइएको प्राथमिक कक्षाको पाठले मुक्तिदाताको सहयोगका साथ सान्त्वना प्रदान गर्न, हृदयलाई कोमल पार्न र अनन्त जीवनलाई परिवर्तन गर्न सक्छ । हाम्रो भद्दा प्रयासहरूले चमत्कारहरू ल्याउन सक्छ र त्यो प्रक्रियामा, हामी परिपूर्ण फसलमा सहभागी हुन सक्छौँ ।
प्रायः, हामीलाई त्यस्ता परिस्थितिहरूको सामना गर्छौँ जसले हामीलाई तन्किन बाध्य बनाउँछ । हुन सक्छ हामीलाई त्यो कार्य गर्ने चाहना नहुन सक्छ । हामीले आफूसँग सेवा गर्नेहरूलाई हेर्दछौँ र महसुस गर्न सक्दछौँ कि हामी कहिल्यै तुलना गर्न सक्दैनौँ । दाजुभाइ तथा दिदीबहिनीहरू, यदि तपाईंहरूलाई यस्तै महसुस हुन्छ भने, मेरापछाडिका असाधारण पुरुष र महिलाहरूलाई हेर्नुहोस् जोसँग म सेवारत छु ।
म तपाईंको पीडा महसुस गर्छु ।
यद्यपि, मैले सिकेको छु कि जसरी पूर्णतावाद ख्रीष्टमा परिपूर्ण हुनु जस्तै होइन, आत्म-तुलना अनुकरण जस्तै होइन । जब हामी आफूलाई अरूसँग तुलना गर्छौँ, त्यहाँ केवल दुई परिणामहरू हुन सक्छन् । या त हामी आफूलाई अरूभन्दा राम्रो देख्ने छौँ र तिनीहरूको निर्णय र आलोचना गर्ने छौँ वा हामी आफूलाई अरूभन्दा कम देख्ने छौँ र चिन्तित, आत्म-आलोचनात्मक र निरुत्साहित हुने छौँ । आफूलाई अरूसँग तुलना गर्नु विरलै फलदायी हुन्छ, प्रेरणादायी हुँदैन र कहिलेकाहीँ पूर्ण रूपमा निराशाजनक हुन्छ । वास्तवमा, यी तुलनाहरू आत्मिक रूपमा विनाशकारी हुन सक्छन्, जसले हामीलाई आवश्यक पर्ने आत्मिक सहयोग प्राप्त गर्नबाट रोक्न प्रतिवन्धित गर्न सक्छ । अर्कोतर्फ, हामीले आदर गर्नेहरूको अनुकरण गरेर जसले ख्रीष्टजस्ता गुणहरू देखाउँछन्, उपदेशात्मक,र प्रेरणादायी हुन सक्छ र हामीलाई येशू ख्रीष्टका असल शिष्यहरू बन्न सहयोग गर्न सक्छ ।
मुक्तिदाताले हामीलाई अनुसरण गर्नका लागि एउटा नमुना दिनुभयो जसरी उहाँले पिताको अनुकरण गर्नुभयो । उहाँले आफ्ना शिष्य फिलिपलाई निर्देशन दिनुभयो: “यति समयसम्म म तिमीहरूसँगै छु, तैपनि तिमीले मलाई चिन्दैनौ, फिलिप? जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ; अनि तिमी कसरी भन्न सक्छौ हामीलाई पिता देखाइदिनुहोस्?”७
अनि त्यसपछि उहाँले सिकाउनुभयो, “साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्दछु, जसले मलाई विश्वास गर्छ, त्यसले मैले गरेका कार्यहरू पनि गर्ने छ ।”८
हाम्रा प्रयासहरू जतिसुकै नगण्य देखिए तापनि, यदि हामी इमानदार छौँ भने, मुक्तिदाताले हामीलाई उहाँको कार्य पूरा गर्न प्रयोग गर्नुहुने छ । यदि हामीले सम्भव भएसम्म उत्तम गर्छौँ र भिन्न बनाउन उहाँमा भरोसा गर्छौँ भने, हामी हाम्रो वरिपरि भएका चमत्कारहरूको हिस्सा बन्न सक्छौँ ।
एल्डर डेल जी. रेनलन्डले भन्नुभयो, “तपाई परिपूर्ण हुनु पर्दैन तर हामीलाई तपाइँको आवश्यकता छ, किनकि जो कोही इच्छुक छ उसले केही गर्न सक्छ ।”९
अनि अध्यक्ष नेल्सनले हामीलाई सिकाउनुहुन्छ, “परमप्रभुले प्रयासलाई मन पराउनुहुन्छ ।”१०
मुक्तिदाता हाम्रा विनम्र भेटीहरू स्वीकार गर्न र उहाँको अनुग्रहद्वारा तिनीहरूलाई परिपूर्ण गर्न तयार खडा हुनुहुन्छ । ख्रीष्टको साथमा, त्यहाँ कुनै त्रुटिपूर्ण फसल हुँदैन । हामीमा विश्वास गर्ने साहस हुनुपर्छ ताकि उहाँको अनुग्रह हाम्रा लागि हो—कि उहाँले हामीलाई सहयोग गर्नुहुने छ, हामी कमजोर हुँदा हामीलाई गहिराइबाट बचाउनुहुने छ र हाम्रा अपूर्ण प्रयासहरूलाई परिपूर्ण गर्नुहुने छ ।
बीउ छर्नेको दृष्टान्तमा, मुक्तिदाताले राम्रो जमीनमा रोपिएका बीउहरूको वर्णन गर्नुहुन्छ । कसैले सय गुणा, कसैले साठी गुणा र कसैले तीस गुणा उत्पादन गर्छन् । सबै उहाँको परिपूर्ण फसलका अंशहुन् ।११
अगमवक्ता मोरोनीले सबैलाई आमन्त्रण गरे, “हो, ख्रीष्टकहाँ आओ र उहाँमा परिपूर्ण होओ, … र यदि तिमीहरूले सम्पूर्ण भक्तिहीनतालाई अस्वीकार गर्छौ र परमेश्वरलाई आफ्नो सम्पूर्ण शक्ति, मस्तिष्क र क्षमताका साथ प्रेम गर्छौ भने, तब उहाँको अनुग्रह तिम्रा लागि पर्याप्त हुने छ, कि उहाँको अनुग्रहद्वारा तिमी ख्रीष्टमा परिपूर्ण हुन सक्छौ ।”१२
दाजुभाइ र दिदीबहिनीहरू, म ख्रीष्टको गवाही दिन्छु, जोसँग हाम्रो सबैभन्दा बिनम्र भेटीलाई पनि परिपूर्ण गर्ने शक्ति छ । हामीले उत्तम प्रयास गरौँ, हामी जे सक्छौँ त्यो ल्याऔँ र विश्वासका साथ, उहाँको चरणमा हाम्रो अपूर्ण भेटी अर्पण गरौँ । उहाँको नाममा जो परिपूर्ण फसलको मालिक हुनुहुन्छ, येशू ख्रीष्ट समेत, आमीन ।