साधारण सम्मेलन
सर्वोच्च परमेश्वरलाई होसन्ना
अप्रिल २०२३ को साधारण सम्मेलन


सर्वोच्च परमेश्वरलाई होसन्ना

येरूशलेममा येशू ख्रीष्टको विजयी प्रवेश र त्यसपछिको हप्ताका घटनाहरूले आज हामीले हाम्रो जीवनमा लागू गर्न सक्ने सिद्धान्तलाई उद्धृत गर्छन् ।

आज, जुन भनिएको छ, हामी यस पाम आइतबारमा येशू ख्रीष्टलाई सम्मान गर्न संसारभरका इसाईहरूसँग सहभागी हुँदै छौँ । लगभग २००० वर्ष पहिले पाम आइतबारले येशू ख्रीष्टको नश्वर जीवनमा उहाँको सेवाको अन्तिम सप्ताहको सुरुवातलाई सङ्केत गर्‍यो । यो मानव इतिहासको सबैभन्दा महत्त्वपूर्ण सप्ताह थियो ।

यरूशलेममा प्रतिज्ञाबद्ध मसीहका रूपमा येशूको हर्षोल्लासपूर्ण विजयी प्रवेश बाट प्रारम्भ भएको विषय उहाँको क्रूसारोहण र पुनरुत्थानसँगै समाप्त भयो । दैवी प्रकृतिद्वारा, उहाँको प्रायश्चितको बलिदानद्वारा उहाँको नश्वर जीवनको सेवा समाप्त भयो, जसले हामीलाई हाम्रा स्वर्गका पितासँग अनन्तकालका लागि जिउन सम्भव तुल्यायो ।

“गालीलको नासरतका अगमवक्ता येशूलाई” हेर्न सहरका ढोकाहरूमा उभिएका भीडहरूबाट सप्ताहको सुरुवात भएको धर्मशास्त्रले हामीलाई बताउँदछ । तिनीहरूले “खजुरका रूखका हाँगाहरू लिए र उहाँलाई भेट्न अगाडि बढे र चिच्याए: होसन्ना: धन्य इस्राएलका राजा जो परमप्रभुको नाममा आउनुहुन्छ ।”

धेरै पहिलेको त्यो बाइबलीय विवरणले मलाई घानाको ताकोराडीमा चर्च कार्यभारमा रहेको बेलाको सम्झना दिलाउँछ । उल्लेखनीय रूपमा, म त्यहाँ पाम आइतबारको दिनमा थिएँ ।

छवि
ताकोराडी, घाना मा मण्डली

मैले पिन्टसिन घाना किलाको स्थापना गर्न ताकोराडी घाना किला विभाजन गर्नु थियो । आज, घानामा चर्चका १००,००० भन्दा बढी सदस्यहरू छन् । (हामी गा मान्त्से, अक्रा, घानाका महामहिम राजा नि ट्याकी टेको त्सुरु II लाई स्वागत गर्दछौं, जो आज हामीसँग हुनुहुन्छ ।) यी सन्तहरूसँग भेटेर, मैले तिनीहरूको परमप्रभुप्रतिको गहिरो प्रेम र भक्ति महसुस गरेँ । मैले उनीहरूप्रति मेरो महान् प्रेम र चर्चका अध्यक्षले तिनीहरूलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा व्यक्त गरेँ । मैले यूहन्नाद्वारा लिपिबद्ध मुक्तिदाताका शब्दहरूलाई उल्लेख गरेँ: “तिमीहरूले एकअर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु ।” तिनीहरूले यसलाई “म तिमीहरूलाई प्रेम गर्छु सम्मेलन” महसुस गरे ।

छवि
एल्डर रसबेन्डले ताकोराडी, घानामा हात मिलाउँदै

जब मैले ती प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू र उहाँहरूका परिवारहरूका पङ्क्तिहरू सभागृहमा माथि र तल हेरेँ, मैले उहाँहरूको अनुहारमा येशू ख्रीष्टमा गवाही र आस्थाको चमक देख्न सक्थेँ । उहाँको संसारभर फैलिएको चर्चको अंशका रूपमा गनिने तिनीहरूको चाहना मैले महसुस गरेँ । अनि जब भजन मण्डलीले गाए, तिनीहरूले स्वर्गदूतहरू जस्तै गाए ।

छवि
ताकोराडी, घाना मा भजन मण्डली
छवि
एल्डर रसबेन्ड ताकोराडी, घानामा सदस्यहरूसँग

प्राचीन समयका पाम आइतबार जस्तै, यरूशलेमको द्वारमा एकत्रित भएका मानिसहरू जस्तै तिनीहरू येशू ख्रीष्टका शिष्यहरू हुन् जो उहाँलाई सम्मान अर्पण गर्न एकत्रित भएका थिए, जसले हातमा खजुरको पात देखाएर उद्घोष गरे, “होसन्ना …: धन्य हो उहाँ जो परमप्रभुको नाममा आउनुहुन्छ ।”

छवि
घानामा खजुरका पात हल्लाउँदै

नजिकैको चर्चमा पनि पारिशीहरू पाम आइतबारको सम्मान गर्दै थिए । जब म मञ्चबाट बोल्दै थिएँ, मैले झ्यालबाट बाहिर देखेँ कि यो तस्बिरमा भएकाहरू जस्तै तिनीह रू खुसीसाथ आफ्नो हातमा खजूरका पातहरू हल्लाउँदै सडकमा हिंडिरहेका थिए । त्यो दृश्य म कहिल्यै बिर्सने छैन, त्यो दिन हामी सबैले राजाहरूका राजाको आराधना गरिरहेका थियौं ।

अध्यक्ष रसल एम. नेल्सनले हामीलाई पाम आइतबारलाई “येशूको प्रवेशद्वारलाई सम्मान गर्नका लागि यरूशलेममा हल्लाइएका खजूरका पातहरू मात्र होइन, उहाँका हातका हत्केलाहरूलाई सम्झेर” वास्तवमा नै पवित्र बनाउन सल्लाह दिनुभएको छ । त्यसपछि अध्यक्ष नेल्सनले यशैयालाई उल्लेख गर्नुभयो, जसले “मुक्तिदाताको प्रतिज्ञाका सम्बन्धमा बोल्नुभएको थियो, “म तिमीहरूलाई कहिल्यै बिर्सने छैन,” यी शब्दहरूमा, ‘हेर, मैले तिमीहरूलाई मेरो हातको हत्केलामा खोपेको छु ।’”

परमप्रभुलाई प्रत्यक्ष जानकारी छ कि मरणशीलता कठिन छ । उहाँका घाउहरूले हामीलाई सम्झना गराउँछन् कि उहाँ “तल ओर्लनुभयो … सबैभन्दा तल” ताकि उहाँले हामीलाई सहयोग गर्न सक्नुहुन्छ जब हामीले दुःख पाउँछौँ र “तपाईंको मार्गलाई१० अनुशरण गरिरहन” उहाँको मार्ग हाम्रो उदाहरण बन्न सक्छ, कि “परमेश्वर सदैव [हामीसँग] हुनु हुने छ ।”११

पाम आइतबार मात्रै घटना थिएन, मिति, समय र स्थान सहितको इतिहासको अर्को पृष्ठ थियो । येरूशलेममा येशू ख्रीष्टको विजयी प्रवेश र त्यसपछिको हप्ताका घटनाहरूले आज हामीले हाम्रो जीवनमा लागू गर्न सक्ने सिद्धान्तलाई उद्धृत गर्छन् ।

यरूशलेममा समापन भएको उहाँको सेवाद्वारा निर्मित केहि अनन्त सिद्धान्तलाई हामीहरू हेरौँ ।

पहिलो, अगमवाणी । उदाहरणका लागि, पुरानो नियमका अगमवक्ता जकरियाले येशू ख्रीष्टको यरूशलेममा विजयी प्रवेशका सम्बन्धमा भविष्यवाणी गरे, उहाँ गधामा सवार हुनु हुने छ भनेर पनि वर्णन गरे ।१२ येशूले आफ्नो पुनरुत्थानको अगमवाणी गर्नुभयो जब उहाँ सहरमा प्रवेश गर्न तयार हुनुभयो, यसो भन्दै:

“हेर, हामी यरूशलेममा जान्छौँ; र मानिसका पुत्रलाई मुख्य पादरीहरू र शास्त्रीहरूसामु सुम्पिइने छ र तिनीहरूले उहाँलाई मृत्युको दण्ड दिने छन्,

“अनि उहाँलाई खिल्ली उँडाउने, कोर्रा लगाउने र क्रूसमा टाँग्नलाई गैह्रयहूदीहरूकहाँ सुम्पिइने छ र तेस्रो दिनमा उहाँ पुन: बौरी उठ्नुहुने छ।”१३

दोस्रो, पवित्र आत्माको साथ । जोसेफ स्मिथले सिकाउनुभयो, “कसैले येशू परमप्रभु हुनुहुन्छ भनेर जान्न सक्दैन, तर पवित्र आत्माद्वारा मात्रै ।”१४ मुक्तिदाताले आफ्ना शिष्यहरूलाई१५ माथिल्लो कोठामा अन्तिम भोजमा१६ प्रतिज्ञा गर्नुभयो,१७ “म तिमीहरूलाई टुहुरा छोड्ने छैन ।”१८ सुसमाचारका सत्यहरूलाई अगाडि बढाउन तिनीहरू एक्लै हुने छैनन् तर तिनीहरूका निर्देशनका लागि पवित्र आत्माको पूर्ण उपहार हुने छ । “शान्ति म तिमीहरूसँग छोड्छु, मेरो शान्ति म तिमीहरूलाई दिन्छु,” उहाँले प्रतिज्ञा गर्नुभयो, “संसारले दिए जस्तै होइन, म तिमीहरूलाई दिन्छु ।”१९ पवित्र आत्माको वरदानका साथ हामीले सोही आश्वासन पाउँछौं; कि हामीसँग “उहाँको आत्मा सदैव [हामीसँग] हुन सक्छ”२० र “पवित्र आत्माको शक्तिले [हामीले] सबै विषयहरूको सत्यता जान्न सक्छौँ ।”२१

तेश्रो, शिष्यत्व । सत्य शिष्यत्व भनेको अटुट प्रतिबद्धता, अनन्त नियमहरूको आज्ञाकारिता र परमेश्वरको प्रेम, पहिलो र प्रमुख हो । केही पनि नडग्मगाउने । खजूरको पातले श्रद्धाञ्जली अर्पण गर्ने भीडले उहाँलाई मसीहको रूपमा स्वागत् गरे । वास्तवमा नै उहाँ त्यस्तो हुनुहुन्थ्यो । तिनीहरू उहाँ, उहाँका चमत्कारहरू र उहाँका शिक्षाहरूतर्फ आकर्षित भए । तर धेरैको प्रशंसा टिक्न सकेन । कोही-कोहीले पहिले “होसन्ना”२२ भनेर चिच्याएकाहरू छिट्टै परिवर्तन भए र कराए, “उहाँलाई क्रूसमा टाँग ।”२३

चौथो, येशू ख्रीष्टको प्रायश्चित ।२४ आफ्नो अन्तिम दिनहरूमा, पाम आइतबार पछि, उहाँले आफ्नो उल्लेखनीय प्रायश्चित गर्नुभयो, गेतसेमनेको पीडादेखि उहाँको परीक्षणको उपहाससम्म, क्रूसमा उहाँको यातना र उधार लिएको चिहानमा उहाँलाई गाड्नुसम्म । परन्तु यो त्यहाँ रोकिएन । आफ्ना पिताका सबै सन्ततिहरूको उद्धारकर्ताका रूपमा उहाँको आह्वानको महिमाका साथ, तीन दिनपछि उहाँ त्यो चिहानबाट बाहिर निस्कनुभयो,२५ उहाँले भविष्यवाणी गर्नुभए जस्तै पुनरुत्थित भएर ।

के हामी येशू ख्रीष्टको अतुलनीय प्रायश्चितका लागि निरन्तर रूपमा कृतज्ञ छौँ? के हामी अहिले यसको शुद्ध पार्ने शक्ति महसुस गर्छौं? यसैले मुक्तिका लेखक र अन्त्यकर्ता येशू ख्रीष्ट हामी सबैलाई रक्षा गर्न यरूशलेममा जानुभयो । के अल्माका यी शब्दहरूले विशेष महत्त्व दिन्छ : “यदि तपाईंले हृदयको परिवर्तन अनुभव गर्नुभएको छ अनि यदि तपाईंले मुक्तिको प्रेमको गीत गायन महसुस गर्नुभएको छ भने, म सोध्छु, के तपाईं अहिले त्यस्तो महसुस गर्न सक्नुहुन्छ?”२६ म साच्चैँ भन्न सक्छु, त्यस पाम आइतबारको दिन टकोराडीका भजन मण्डलीले “उद्धार गर्ने प्रेमको गीत” गाए ।

उहाँको नश्वर जीवनको सेवाको त्यो अन्तिम भाग्यशाली हप्ता, येशू ख्रीष्टले दस कन्याहरूको दृष्टान्त दिनुभयो ।२७ उहाँले आफूलाई ग्रहण गर्न तयार भएकाहरूलाई उहाँको पुनरागमनका सम्बन्धमा सिकाउँदै हुनुहुन्थ्यो, हातमा खजूरको पात लिएर होइन तर तिनीहरू भित्र सुसमाचारको ज्योति मार्फत् । उहाँले आफ्नो मार्ग, उहाँको सत्यता र उहाँको ज्योति बाँड्न तत्परताको वर्णनका रूपमा, ज्वालालाई इन्धनका लागि अतिरिक्त तेलका साथमा दियो बालेको र जलेको चित्र प्रयोग गर्नुभयो ।

तपाईंलाई कथा थाहा छ । दस कन्याहरूले चर्चका सदस्यहरूलाई प्रतिनिधित्व गर्छ र दुलहाले येशू ख्रीष्टको प्रतिनिधित्व गर्छ ।

दस कन्याहरू आफ्ना दियाहरू लिएर “दुलहालाई भेट्न निस्के ।”२८ पाँच जना बुद्धिमान्‌ थिए, तिनीहरूका दियोमा तेल राखेर तयार पारिएका थिए र केही अतिरिक्त राखेका थिए र पाँच जना मूर्ख थिए, तेल नभएका अतिरिक्त तेल नराखेका दियाहरू अँध्यारा थिए । जब बोलावट आयो, “हेर, दुलहा आउँदै हुनुहुन्छ; उहाँलाई भेट्न बाहिर जाओ,”२९ “ती पाँच जो बुद्धिमान् थिए र सत्य प्राप्त [गरेका] थिए र आफ्नो मार्गदर्शनका लागि पवित्र आत्मा [लिएका] थिए”,३० “आफ्ना राजा र नियमदाता”३१ का लागि तयार थिए ताकि उहाँको महिमा तिनीहरूमाथि हुने छ ।”३२ अन्य पाँच जनाले उन्मादपूर्वक तेल खोज्ने प्रयास गरिरहेका थिए । परन्तु धेरै ढिलो भइसकेको थियो । उनीहरू बिना नै हुल अगाडि बढ्यो । जब तिनीहरूले ढकढक्याए र प्रवेशका लागि बिन्ती गरे, परमप्रभुले जवाफ दिनुभयो, “म तिमीलाई चिन्दिन ।”३३

यदि उहाँले हामीलाई “म तिमीलाई चिन्दिन!” भन्नुभयो भने हामी कस्तो महसुस गर्ने छौँ,

हामीसँग, दस कन्याहरू जस्तै, दियाहरू छन्; तर के हामीसँग तेल छ? मलाई त्रास छ कि त्यहाँ कोही छन् जो तेलको थोरै मात्रा लिएर बसिरहेका छन्, सांसारिक बाध्यतामा व्यस्त भएर राम्रोसँग तयारी गर्न पाएका छैनन् । तेल अगमवाणी र जीवित अगमवक्ताहरू, विशेष गरी अध्यक्ष नेल्सन, उहाँका सल्लाहकारहरू र बाह्र प्रेरितहरूका शब्दहरूमा विश्वास र कार्यबाट आउँछ । जब हामीले पवित्र आत्मालाई सुन्छौँ र महसुस गर्छौं र त्यो दैवी निर्देशनमा कार्य गर्छौँ तब तेलले हाम्रो आत्मा भरिन्छ । तेल हाम्रो हृदयमा खनिन्छ जब हाम्रा छनोटहरूले देखाउँछ कि हामी परमप्रभुलाई प्रेम गर्‍छौँ र हामी उहाँले प्रेम गर्नेलाई प्रेम गर्‍छौँ । तेल पश्चात्ताप गरेर र येशू ख्रीष्टको प्रायश्चितको चङ्गाइ दिने खोजबाट आउँछ ।

यदि तपाईंहरू मध्ये कसैले “बाल्टी सूची” भर्ने भन्न खोज्दै हुनुहुन्छ भने, यो यहि हो: येशू ख्रीष्टको जीवित पानीको रूपमा आफ्नो बाल्टीमा तेल भर्नुहोस्,३४ जुन उहाँको जीवन र शिक्षाहरूको प्रतिनिधित्व हो । यसको विपरित, टाढाको स्थान वा एक प्रभावशाली घटनाले तपाईंको आत्मालाई कहिल्यै पूर्णता वा सन्तुष्टि दिने छैन; येशू ख्रीष्टले सिकाउनुभएको सिद्धान्त जिउँदा त्यसो हुने छ । मैले तिनीहरूलाई यसपूर्व उल्लेख गरेको छु: अगमवाणी र भविष्यसूचक शिक्षाहरू अँगाल्नुहोस्, पवित्र आत्माको प्रोत्साहनमा कार्य गर्नुहोस्, सत्य शिष्य बन्नुहोस् र हाम्रा परमप्रभुको प्रायश्चितको चङ्गाइ प्रदान गर्ने शक्ति खोज्नुहोस् । त्यो बाल्टी सूचीले तपाईंलाई कतै लैजान्छ—स्वर्गमा तपाईंका पिताकहाँ जहाँ तपाईं जान चाहनुहुन्छ ।

टकोराडीको त्यो पाम आइतबार मेरा लागि अति नै विशेष अनुभव थियो किनभने मैले यसलाई आस्थावान् दाजुभाइ तथा दिदीबहिनीहरूको सभामा बाँढें । त्यस्तै यो विश्वभरका महादेश र टापुहरूमा भएका छन् । मेरो हृदय र आत्मा, तपाईं जस्तै, “सर्वोच्च परमेश्वरको होसन्ना” भनेर चिच्याउन चाहन्छ ।३५

यद्यपि हामी आज यरूशलेमको द्वारमा हातमा खजूरको पात लिएर उभिदैनौ, समय आउने छ, जसरी प्रकाशमा अगमवाणी गरिएको छ “कुनै मानिसले गन्न नसक्ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्ने बाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्ने उभिने छन् ।”३६

म येशू ख्रीष्टको प्रेरितका रूपमा मेरा आशीर्वाद तपाईंहरूसँग छोड्छु ताकि तपाईंहरूले लगनशीलताका साथ धार्मिक रूपमा जिउन प्रयास गर्नुहुने छ र हातमा खजूरका पात लिएर, हामी सबैका महान् उद्धारकर्ता, परमेश्वरका पुत्रको घोषणा गर्नु हुने छ । येशू ख्रीष्टको नाममा, आमीन ।

सूचीहरू:

  1. सबै चारैवटा सुसमाचारहरूलेमत्ती २१-२८, मर्कूस ११-१६, लुका १९-24, र यूहन्ना १२-२१नश्वर जीवनमा येशू ख्रीष्टको सेवाका अन्तिम दिनहरू वर्णन गर्दछन्, जुन परमेश्वरका सबै सन्ततिहरूलाई मुक्ति र उत्कर्षको आशीर्वाद उपलब्ध गराउन दैवी रूपमा निर्धारण गरिएको थियो । कहिलेकाहीँ लेखकहरू तिनीहरूले समावेश गरेको विषयहरूमा भिन्न हुन्छन् तर मुक्तिदाताको शिक्षा र कार्यहरूमा होइन ।

  2. हेर्नुहोस् मत्ती २१:१०-११

  3. यूहन्ना १२:१३

  4. प्रति सदस्यता र साङ्ख्यिकीय अभिलेख अनुसार, घानामा १०२,५९२ सदस्यहरू छन् ।

  5. यूहन्ना १५:१२

  6. प्रत्येक पटक जब म सदस्यहरूसँग बोल्दथें, उहाँहरूले मलाई भन्नुहुन्थ्यो, “एल्डर रासबेन्ड, हाम्रा प्रिय प्रेरित, म तपाईंलाई प्रेम गर्छु ।” यी मानिसहरू आत्मा र परमेश्वरको प्रेमले यति भरिएका छन् कि तिनीहरूले त्यो प्रेम सजिलै बाँड्छन् ।

  7. मत्ती २१:९

  8. हेर्नुहोस् रसल एम्. नेल्सन, “The Peace and Hope of Easter,” (भिडियो), अप्रिल २०२१, ChurchofJesusChrist.org/media; यशैया ४९:१६

  9. सिद्धान्त र करार १२२:८। डिसेम्बर १८३८ मा अगमवक्ता जोसेफ र एक दर्जन अन्य चर्च अगुवाहरूलाई लिबर्टी जेलमा अन्यायपूर्वक कैद गरियो । अवस्था भयावह थियो । महिनौँको निर्जल्ल परिस्थितिपछि, उनले सदस्यहरूलाई १८३९ को मार्चमा पत्र लेखे, जसमा उनले आफ्नो अवस्था र “पीडित सन्तहरू” मा दया देखाउन परमप्रभुलाई बिन्ती समावेश गरेका थिए । सिद्धान्त र करार १२१-२३)मा अभिलेख गरिएअनुसार उनले ती प्रार्थनाहरूका परमप्रभुको प्रतिक्रिया पनि त्यसमा बाँढे ।

  10. सिद्धान्त र करार १२२:९। लिबर्टी जेलमा जोसेफ स्मिथलाई परमप्रभुको प्रोत्साहनले उनलाई सान्त्वना र आध्यात्मिक समझ दियो कि कठिनाइ र परीक्षाहरूले हामीलाई मजबुत बनाउन सक्छन्, धीरता सिकाउँछ र आत्म-निपुणताको पालनपोषण गर्दछ । परमप्रभुले उहाँलाई “तपाईंहरूलाई मार्गमा अनुशरण गरिरहन” आह्वान गर्नुभयो, जुन परमप्रभुको मार्ग थियो, अन्यायपूर्ण व्यवहार सहेर “[परमेश्वरका पुत्र] जो तिनीहरू सबै भन्दा तल ओर्लेर आउनुभएको थियो । के तिमी उहाँ भन्दा महान् हौ र? सिद्धान्त र करार १२२:८

  11. सिद्धान्त र करार १२२:९। परमेश्वर “तपाईंहरूसँगै हुनुहुने छ” भनी प्रतिज्ञा गर्नु भनेको आफ्नो आस्था र विश्वासलाई दृढतापूर्वक पालना गर्नेहरूका लागि दृढ़ प्रतिज्ञा हो ।

  12. हेर्नुहोस् जकरिया ९:९

  13. मत्ती २०:१८-१९। जेम्स ई. टाल्मेजले Jesus the Christ: मा लेख्नुभएको छ कि “बाह्रले उहाँको अर्थ बुझ्न असफल हुनु अचम्मको तथ्य हो। … तिनीहरूका लागि आफ्ना प्रिय गुरूका भनाइहरूमा केही डरलाग्दो अङ्गगति, केही गम्भीर अङ्गगति वा अकल्पनीय विरोधाभास थियो । तिनीहरूले उहाँलाई जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ भनी चिने; र उहाँ जस्तोलाई कसरी अधीनमा ल्याइन र मारिन सकिन्छ?” ([१९१६], ५०२-३)।

  14. जोसेफ स्मिथले नभूको महिला राहत समाजमा यो घोषणा गर्नुभयो, अप्रिल २८, १८४२मा, “जोसेफ स्मिथको इतिहासमा उद्धृत गरेझैँ,” डेसेरेट समाचार, सेप्टेम्बर १९, १८५५, २१८। १ कोरिन्थीको बाह्रौं अध्यायलाई उल्लेख गर्दै, उहाँले तेस्रो पदलाई स्पष्ट गर्नुभयो, “येशू परमप्रभु हुनुहुन्छ भनेर कसैले भन्न सक्दैन, तर पवित्र आत्माद्वारा,” यसलाई परिमार्जन गर्दै, “येशू परमप्रभु हुनुहुन्छ भनी कसैले जान्न सक्दैन तर पवित्र आत्माद्वारा जान्न सक्छ ।” हेर्नुहोस् The First Fifty Years of Relief Society: Key Documents in Latter-day Saint Women’s History (२०१६), २.२, churchhistorianspress.org.)

  15. येशूले आफ्ना शिष्यहरूसँग अन्तिम भोज साझा गर्नुभयो मर्कूस १४:१२-१८हेर्नुहोस्)। बाह्र जनामा पत्रुस, अन्द्रियास, याकूब, यूहन्ना, मत्ती, फिलिप, थोमा, बार्थोलोम्यू, याकूब (अल्फियसका छोरा), यहूदा इस्कारियत, यहूदा (यूहन्नाका भाइ),र सिमोन थिए (हेर्नुहोस् लूका ६:१३-१६)।

  16. येशूले अन्तिम भोजमा आफ्ना चेलाहरूसँग प्रभुभोज स्थापना गर्नुभयो (हेर्नुहोस् मत्ती २६: २६– २९; मर्कूस १४:२२–२५; लूका २२:१९–२०

  17. विशेष दिन/रात जसमा येशूले “माथिल्लो कोठा” मा प्रभुभोज स्थापना गर्नुभयो वास्तवमा मत्ती, मर्कूस, लूका र यूहन्ना बीचको विसङ्गतिका कारणले विवादित छ । मत्ती, मर्कूस र लूकाले अन्तिम भोज “अखमिरी रोटीको चाडको पहिलो दिन” वा निस्तार-चाडको भोज (हेर्नुहोस् मत्ती २६:१७; मर्कूस १४:१२; लूका २२:१, ७) मा भएको सुझाव दिन्छ । तथापि, यूहन्नाले उल्लेख गर्छन् कि येशूलाई निस्तार-चाडको भोज भन्दा पहिले गिरफ्तार गरिएको थियो (हेर्नुहोस् यूहन्ना १८:२८), जसको अर्थ अन्तिम भोज निस्तार चाडको भोज भन्दा एक दिन अघि भएको थियो । चर्चको पाठ्यक्रम सामग्री र पछिल्ला दिनका सन्तहरूको विद्वताले उहाँलाई क्रूसमा टाँगिनु पूर्वको साँझमा माथिल्लो कोठामा आफ्ना शिष्यहरूसँग अन्तिम भोजको आयोजना गरेको विषयसँग सहमत देखिन्छ । ग्रेगोरियन क्यालेन्डर अनुसार पवित्र हप्ता मनाउने ईसाइहरूले बिहीबारलाई अन्तिम भोजको दिन, शुक्रबारलाई क्रुसारोहनको दिन र आइतबारलाई पुनरुत्थानको दिनका रूपमा मान्यता दिन्छन् ।

  18. यूहन्ना १४:१८

  19. यूहन्ना १४:२७

  20. सिद्धान्त र करार २०:७७

  21. मोरोनी १०:५

  22. बाइबल शब्दकोशले बताउँछ, होसन्ना को अर्थ “अहिले बचाऊ।” यो शब्द भजनसंग्रह ११८:२५बाट लिइएको हो । “यस भजनको गुणगान टेबर्नेकलहरूको उत्सवमा खजूरका हाँगाहरू हल्लाउनेहरूसँग जोडिएको थियो; त्यसैले यरूशलेममा हाम्रा परमप्रभुको विजयी प्रवेशमा भीडद्वारा शब्दको प्रयोग” (बाइबल शब्दकोश, “होसान्ना”)। हेर्नुहोस् मत्ती २१:९, १५; मर्कूस ११:९–१०; यूहन्ना १२:१३

  23. मर्कूस१५:१४; लूका २३:२१

  24. हाम्रा स्वर्गका पिताको मुक्तिको योजनाको केन्द्रबिन्दु एक असीम प्रायश्चित थियो जसले उहाँका सबै सन्ततिहरूका लागि अमरत्व र त्यो आशीर्वाद प्राप्त गर्न योग्यहरूका लागि उत्कर्ष सुनिश्चित गर्ने छ । जब पिताले भन्नुभयो, “म कसलाई पठाऊँ ?” येशू ख्रीष्ट अगाडि बढ्नुभयो: “म यहाँ छु, मलाई पठाउनुहोस्”(आब्राहम ३:२७)। अध्यक्ष रसल एम्. नेल्सनले सिकाउनुभएको छ: “[येशू ख्रीष्टको] उद्देश्य प्रायश्चित थियो । त्यो उद्देश्य अद्वितीय रूपमा उहाँको थियो । एक मरणशील आमा र अमर पिताबाट जन्मनुभएका, उहाँ मात्र एक हुनुहुन्थ्यो जसले स्वेच्छाले आफ्नो जीवन अर्पण गर्न र यसलाई पुन: प्राप्त गर्न सक्नुहुन्थ्यो (हेर्नुहोस् यूहन्ना १०:१४-१८)। उहाँको प्रायश्चितको महिमापूर्ण परिणामहरू अपरिमित र अनन्त थिए । उहाँले मृत्युको तीव्र पीडालाई निकाल्नुभयो र चिहानको शोकलाई अस्थायी बनाउनुभयो (हेर्नुहोस् १ कोरिन्थी १५:५४-५५) । प्रायश्चितका लागि उहाँको उत्तरदायित्व सृष्टि र पतन पूर्व नै जानकारी थियो । यो सबै मानवजातिको पुनरुत्थान र अमरत्वका लागि मात्रै नभई यसले हामीलाई हाम्रा पापहरूबाट क्षमा प्राप्त गर्न पनि थियो —उहाँद्वारा स्थापित सर्तहरूमा । तथापी उहाँको प्रायश्चितले बाटो खोल्यो जसका कारण हामी उहाँसँग र हाम्रा परिवारहरूसँग अनन्त रूपमा एकताबद्ध हुन सक्छौं” (“The Mission and Ministry of Jesus Christ,” लियाहोनाएप्रिल २०१३,२०)।

  25. पुनरुत्थानले अविनाशी अवस्थामा शरीर र आत्मालाई पुनर्मिलन गर्ने विषय समावेश गर्दछ, शरीर र आत्मा अविभाज्य छ र अब मरणशीलता वा मृत्युका विकृतिहरूसँग बाँधिएको छैन (हेर्नुहोस् अल्मा ११:४५; ४०:२३)।

  26. अल्मा ५:२६; पनि हेर्नुहोस अल्मा ५:१४|

  27. दश कन्याको दृष्टान्त मत्ती २५:१-१२; मा पाइन्छ; सिद्धान्त र करार ४५: ५६-५९) । मत्ती २५ को वरपरका अध्यायहरूले सुझाव दिन्छन् कि येशूले मत्ती २१ मा यरूशलेममा प्रवेश गरेपछि र अन्तिम भोज र मत्ती २६मा उहाँको गिरफ्तारी भन्दा ठीक पूर्व आफ्नो अन्तिम हप्तामा यो दृष्टान्त सिकाउनुभयो । त्यो गत हप्ता दिइएको दस कन्याहरूको दृष्टान्तका अतिरिक्त, येशूले नेभाराको रूखको दृष्टान्त दिनुभयो (हेर्नुहोस् मत्ती २१:१७-२१; २४:३२-३३), दुई छोराहरूको दृष्टान्त (हेर्नुहोस् मत्ती २१:२८– ३२), र दुष्ट किसानको दृष्टान्त ( मत्ती २१:३३-४६हेर्नुहोस्) ।

  28. मत्ती २५:१

  29. मत्ती २५:६

  30. सिद्धान्त र करार ४५:५७

  31. सिद्धान्त र करार ४५:५९

  32. सिद्धान्त र करार ४५:५९

  33. मत्ती २५:१२। पहाडको उपदेशमा, परमप्रभुले “धेरै अचम्मका कार्यहरू” गरेको अनुमान गर्नेहरूलाई बुझाउनुहुन्छ, जसरी मूर्ख पाँच कन्याहरूको विवरणमा सुझाव दिइएको छ, “म तिमीहरूलाई चिन्दिन” (हेर्नुहोस् मत्ती ७:२२-२३) ।

  34. जसरी नश्वर जीवनका लागि पानी महत्त्वपूर्ण छ, त्यसरी नै येशू ख्रीष्ट र उहाँका शिक्षाहरू (जीवित पानी) अनन्त जीवनका लागि महत्त्वपूर्ण छन् (हेर्नुहोस् धर्मशास्त्रका लागि मार्गदर्शन, “Living Water,” scriptures.ChurchofJesusChrist.org; पनि हेर्नुहोस् यशैया १२:३; यर्मिया २:१३; यूहन्ना ४ :६ –१५; ७:३७; १ नफी ११:२५; सिद्धान्त र करार १०:६६; ६३:२३)।

  35. ३ नफी ४:३२

  36. प्रकाश ७:९

प्रिन्ट गर्नुहोस्