अध्याय ४३
अल्मा र उनका छोराहरूले वचनको प्रचार गर्छन्—जोरामीहरू र नफीहरूका भिन्न मतधारी लमानीहरू बन्दछन्—लमानीहरू नफीहरूका विरुद्ध युद्ध गर्न आउँछन्—मोरोनीले नफीहरूलाई सुरक्षित कवचले सजाउँछन्—परमप्रभुले अल्मालाई लमानीहरूको रणनीति प्रकट गर्नुहुन्छ—नफीहरूले आफ्ना घरहरू, स्वतन्त्रताहरू, परिवारहरू र धर्मको सुरक्षा गर्छन्—मोरोनीका र लहीका सेनाहरूले लमानीहरूलाई घेर्छन्। लगभग ई.पू. ७४।
१ अनि अब यस्तो हुन गयो कि अल्माका छोराहरू जनमाझ, उनीहरूसामु वचनको उद्घोष गर्न, अघि गए। अनि अल्मा, आफैँ पनि, विश्राम गर्न सकेनन् र उनी पनि अघि गए।
२ अब हामी उनीहरूको प्रवचनका बारेमा अरु भन्दैनौँ, यतिबाहेक कि उनीहरूले वचनको र सत्यताको, अगमवाणीको र प्रकाशको आत्माअनुसार प्रवचन दिए; र उनीहरूले आफूलाई बोलाउने परमेश्वरको पवित्र अनुक्रमअनुसार प्रवचन दिए।
३ अनि अब म न्यायकर्ताहरूको शासनको अठारौँ वर्षको नफीहरू र लमानीहरूका बीचका युद्धहरूको विवरणमा फर्कन्छु।
४ किनकि हेर, यस्तो हुन गयो कि जोरामीहरू लमानीहरू बने; त्यसकारण, अठारौँ वर्षको प्रारम्भमा नफीका जनले देखे कि लमानीहरू उनीहरूमाथि आइरहेको थिए; त्यसकारण उनीहरूले युद्धका निम्ति तयारीहरू गरे; हो, उनीहरूले आफ्ना सेनाहरूलाई येर्शोनको भूमिमा एक साथ भेला गराए।
५ अनि यस्तो हुन गयो कि लमानीहरू हजारौँका साथ आए; अनि उनीहरू जोरामीहरूको भूमि अन्टीओनुमको भूमिमा आए। अनि जेरहेम्नाह नामको एक मानिस उनीहरूको अगुवा थियो।
६ अनि अब, किनभने अमालेकीहरू, उनीहरू आफैँमा, लमानीहरूभन्दा बढी दुष्ट र हत्यारा प्रवृतिका थिए, त्यसकारण, जेरहेम्नाहले लमानीहरूमाथि मुख्य कप्तान नियुक्त गरे र उनीहरू सबै अमालेकीहरू र जोरामीहरू थिए।
७ अब यो उसले गऱ्यो कि उसले उनीहरूको नफीहरूप्रतिको घृणालाई संरक्षण गर्न सकोस्, कि उसले आफ्ना योजनाहरू पूरा गर्न उनीहरूलाई अधीनमा ल्याउन सकोस्।
८ किनकि हेर, उसका योजनाहरू लमानीहरूलाई नफीहरूका विरुद्धमा भड्काउनु थियो; उसले यो गऱ्यो कि उसले उनीहरूमाथि महान् शक्ति हत्याउन सकोस्, अनि यो पनि कि उसले नफीहरूलाई दासत्वमा ल्याएर उनीहरूमाथि शक्ति पाउन सकोस्।
९ अनि अब नफीहरूका योजना आफ्ना जमिनहरू र आफ्ना घरहरू र आफ्ना पत्नीहरू र आफ्ना छोराछोरीहरूलाई पाल्नु थियो, कि उनीहरूले आफ्ना शत्रुहरूका हातहरूबाट तिनीहरूको संरक्षण गर्न सकून्; र यो पनि कि उनीहरूले आफ्ना अधिकारहरू र आफ्ना सुबिधाहरू, हो र आफ्नो स्वतन्त्रता जोगाउन सकून्, कि उनीहरूले आफ्ना चाहानाहरूअनुसार परमेश्वरको आराधना गर्न सकून्।
१० किनकि उनीहरूलाई थाहा थियो कि यदि उनीहरू लमानीहरूका हातहरूमा परे भने, कि जसले आत्मामा र सत्यतामा, परमेश्वरको, सत्य र जिउँदो परमेश्वरको आराधना गर्दछ, लमानीहरूले विनाश गर्नेछन्।
११ हो, अनि उनीहरूलाई लमानीहरूको उनीहरूका बन्धुहरूप्रतिको अत्याधिक घृणा पनि थाहा थियो, जो अन्टी-नफी-लहीका जन थिए, जसलाई अम्मोनका जन भनिन्थ्यो—अनि उनीहरूले हतियारहरू उठाएनन्, हो, उनीहरू एक करारमा प्रवेश गरेका थिए र उनीहरूले त्यसलाई तोडेनन्—त्यसकारण, यदि उनीहरू लमानीहरूका हातमा परे भने उनीहरूको विनाश गरिने थियो।
१२ अनि नफीहरूले अनुमति दिएनन् कि उनीहरूको विनाश गरिनु पर्दछ; त्यसकारण उनीहरूले उनीहरूका रिक्थका निम्ति उनीहरूलाई भूमिहरू दिए।
१३ अनि अम्मोनका जनले आफ्ना सम्पत्तिको ठूलो भाग नफीहरूलाई उनीहरूका सेना पाल्न दिए; अनि यसरी नफीहरू लमानीहरूका विरुद्ध एक्लै सामना गर्न बाध्य थिए, जो लमान र लमुएल र इश्माएलका छोराहरू र नफीहरूबाट विमत भएकाहरू सबैबाट बनेका थिए, जो अमालेकी र जोरामी र नोआका पादरीहरूका सन्तति थिए।
१४ अब ती सन्तति त्यति धेरै सङ्ख्यामा थिए, जति नफीहरू थिए; र त्यसरी नफीहरू आफ्ना बन्धुहरूसँग रक्तपात हुने गरिसम्म समेत लड्न बाध्य थिए।
१५ अनि यस्तो हुन गयो किनभने लमानीहरूका सेनाहरू अन्टीओनुमको भूमिमा एक साथ भेला भएका थिए, हेर, नफीहरूका सेनाहरू येर्शोनको भूमिमा उनीहरूलाई भेट्न तयार थिए।
१६ अब, नफीहरूका अगुवा, अथवा त्यो मानिस जो नफीहरूमाथि मुख्य कप्तान हुन नियुक्त गरिएको थियो—अब मुख्य कप्तानले नफीहरूका सेनाहरू सबैको नेतृत्व लिए—अनि उनको नाउँ मोरोनी थियो।
१७ अनि मोरोनीले सबै नेतृत्व र उनीहरूका युद्धहरूको व्यवस्थापनको जिम्मा लिए। अनि उनी नफीहरूका सेनामाथिको मुख्य कप्तान नियुक्त हुँदा पच्चीस वर्षका मात्र थिए।
१८ अनि यस्तो हुन गयो कि उनले लमानीहरूलाई येर्शोनको भूमिमा भेटे र उनका जनलाई तरबारहरूका साथ र खुँडाहरूका साथ र युद्धका सबै प्रकारका हतियारहरूले तैनाथ गरिएको थियो।
१९ अनि जब लमानीहरूका सेनाहरूले देखे कि नफीका जनले, अथवा कि मोरोनीले उनका जनलाई कवचहरू र बाहु-ढालहरू, हो, उनीहरूको टाउकाहरूलाई सुरक्षा गर्न ढालहरू पनि तयार गरेका थिए र उनीहरूलाई बाक्ला पोसाकहरू पनि पहिराइएको थियो—
२० अब जेरहेम्नाहका सेना त्यस्ता कुनै कुराहरूमा तयार थिएनन्; उनीहरूसँग उनीहरूका तरबार र उनीहरूका खुँडा, उनीहरूका धनु र उनीहरूका बाण, उनीहरूका ढुङ्गा र उनीहरूका गुलेली मात्र थिए; र उनीहरूका कम्मरमा लगाइएको छालाबाहेक उनीहरू नाङ्गा थिए, हो, जोरामीहरू र अमालेकीहरूबाहेक सबै नाङ्गा थिए;
२१ तर उनीहरू न त कवचरूले, न त ढालले सज्जिएका थिए—त्यसकारण, आफ्नो सङ्ख्या नफीहरूको भन्दा धेरै हुँदाहुँदै पनि उनीहरू नफीका सेनाहरूदेखि उनीहरूका कवचका कारण अत्यन्तै डराए।
२२ हेर, अब यस्तो हुन गयो कि उनीहरू येर्शोनका सिमानाहरूमा नफीहरूका विरुद्ध आउन आँटे गरेनन्; त्यसकारण उनीहरू अन्टीओनुमको भूमिबाट उजाड स्थानतिर प्रस्थान गरे र उजाड स्थानमा वरिपरि, सिदोन नदीको शिर हुँदै आफ्नो यात्रा गरे, कि उनीहरू मन्टीको भूमिमा आउन सकून् र भूमि अधीनमा लिन सकून्; किनकि उनीहरूले सोचेनन् कि मोरोनीका सेनाहरूले उनीहरू कहाँ गएका थिए भनेर थाहा पाउँछन्।
२३ तर यस्तो हुन गयो, उनीहरूले उजाड स्थानतिर प्रस्थान गर्ने बित्तिकै मोरोनीले उनीहरूको शिविरलाई हेर्न उजाड स्थानतिर जासुसहरू पठाए, यो पनि, अल्माका अगमवाणीहरूबाट थाहा भएर, उनीसामु निश्चित मानिस पठाए, उनीबाट चाहाना गर्दै कि उनले परमप्रभुसँग सोधून् नफीहरूका सेनाहरू लमानीहरूका विरुद्ध तिनीहरूलाई सुरक्षा गर्न कहाँ जानुपर्छ।
२४ अनि यस्तो हुन गयो कि परमप्रभुको वचन अल्मासामु आयो र अल्माले मोरोनीका सन्देशवाहकहरूलाई सूचना दिए, कि लमानीहरूका सेनाहरू उजाड स्थान वरिपरि जाँदै थिए, कि उनीहरू मन्टीको भूमितिर आऊन्, कि उनीहरूले जनको कमजोर भागमाथि आक्रमण आरम्भ गरून्। अनि ती सन्देशवाहकहरू गएर मोरोनीसामु सन्देश दिए।
२५ अब मोरोनी, कथंकदाचित् कुनै माध्यमले लमानीहरूको एक भाग येर्शोनको भूमिमा आउँछन् र सहरलाई अधीनमा लिन्छन् कि भनी आफ्नो सेनाको एक अंश त्यस भूमिमा छाडे, आफ्ना सेनाको बाँकी अंश लिएर मन्टीको भूमितिर लागे।
२६ अनि उनले अह्राए कि त्यो भागका सबै जन लमानीहरूका विरुद्ध लडाइँ गर्न, आफ्ना भूमिहरूको र आफ्नो देशको, आफ्ना अधिकारहरूको र आफ्ना स्वतन्त्रताको सुरक्षा गर्न एक साथ भेला हुनु पर्दछ; त्यसकारण, उनीहरू लमानीहरूको आगमनको समयलागि तयार थिए।
२७ अनि यस्तो हुन गयो कि मोरोनीले अह्राए कि आफ्ना सेनाहरू सिदोन नदीको किनारा नजिक भएको उपत्यकामा लुक्नु पर्छ, जुन उजाड स्थानमा सिदोन नदीको पश्चिममा थियो।
२८ अनि मोरोनीले वरिपरि जासुसहरू राखे कि उनले लमानीहरूका शिविर कहिले आउँछन भनी थाहा पाउन सकून्।
२९ अनि अब, किनभने मोरोनीलाई लमानीहरूको लक्ष्य थाहा थियो, कि यो आफ्ना बन्धुहरूको विनाश गर्नु, अथवा अधीनमा लिएर उनीहरूलाई दासत्वमा ल्याउनु थियो कि उनीहरूले सबै भूमिभरि आफ्नो आधिराज्य स्थापना गर्न सकून्;
३० अनि उनलाई यो पनि थाहा भएर कि नफीहरूको एक मात्र चाहाना आफ्नो भूमि र आफ्नो स्वतन्त्रता र आफ्नो चर्चको संरक्षण गर्नु थियो, त्यसकारण उनीहरूले यसलाई पाप सोचेनन् कि उनीहरूले रणनीतिद्वारा तिनको सुरक्षा गर्नुपर्छ; त्यसकारण उनले आफ्ना जासुसहरूद्वारा पत्ता लगाए लमानीहरूले कुन बाटो लिँदैछन्।
३१ त्यसकारण, उनले आफ्ना सेनाहरूलाई छुट्याए र एक भागलाई उपत्याकातिर ल्याए र उनीहरूलाई पूर्वमा र रिप्लाह डाँडाको दक्षिणमा लुकाए;
३२ अनि बाँकीलाई उनले पश्चिमी उपत्यकामा, सिदोन नदीको पश्चिममा र तल मन्टी भूमिको सिमानातिर लुकाए।
३३ अनि यसरी आफ्ना चाहानाअनुसार आफ्ना सेना तैनाथ गरेकाले, उनी तिनीहरूलाई भेट्न तयार थिए।
३४ अनि यस्तो हुन गयो कि लमानीहरू डाँडाको दक्षिणमा आए, जहाँ मोरोनीको सेनाको एक भाग लुकेको थियो।
३५ अनि जब लमानीहरूले रिप्लाह डाँडालाई काटेका थिए र उपत्यकामा आएका थिए र सिदोन नदी तर्न थालेका थिए, डाँडाको दक्षिणमा लुकेको सेना, जुन लही नाम गरेको मानिसद्वारा अगुवाइ गरिएको थिए र उनले आफ्ना सेनालाई अगुवाइ गरे र उनीहरूको पछाडि पूर्वमा लमानीहरूलाई घेरे।
३६ अनि यस्तो हुन गयो कि लमानीहरूले जब नफीहरू उनीहरूको पछाडि आइरहेको देखे, उनीहरू पछाडि फर्के र लहीका सेनासँग लड्न थाले।
३७ अनि दुबै पक्षहरूमा मृत्युको कार्य आरम्भ भयो, तर, यो लमानीहरूका तर्फ बढी भयावह थियो, किनकि उनीहरूको नग्नताले नफीहरूका तरबार र उनीहरूका खुँडाको बलियो मुक्काप्रति रक्षा रहित बनायो, जुनले प्राय प्रत्येक प्रहारमा मृत्यु ल्यायो।
३८ जब कि अर्कोतर्फ, कहिलेकाहीँ नफीहरूमाझ एउटा मान्छे ढल्थ्यो, उनीहरूका तरबारहरूबाट र रगत गुमेर, उनीहरू शरीरका अझ बढी महत्वपूर्ण भागहरूलाई, अथवा उनीहरूका कवचहरूले र उनीहरूका बाहु-कवचहरूले र उनीहरूका शिर-कवचहरूले लमानीहरूका प्रहारबाट उनीहरूका अझ महत्वपूर्ण भागहरू ढाकिएकोले, अनि यसरी नफीहरूले लमानीहरूमाझ मृत्युको कार्य चलाए।
३९ अनि यस्तो हुन गयो कि लमानीहरू उनीहरूका माझको भयङ्कर विनाशका कारण त्रसित भए, यत्तिसम्म कि उनीहरू सिदोन नदीतिर भाग्न थाले।
४० अनि उनीहरूलाई लही र उनका मानिसहरूद्वारा लखेटियो; अनि उनीहरूलाई लहीद्वारा सिदोनको पानीमा धपाइयो र उनीहरूले सिदोनका पानी तरे। अनि लहीले आफ्ना सेनाहरूलाई सिदोनको किनारामा राखे कि उनीहरूले नतरून्।
४१ अनि यस्तो हुन गयो कि मोरोनी र उनका सेनाले लमानीहरूलाई उपत्यकामा, सिदोन नदीको अर्कोतिर भेटे र उनीहरूमाथि आइलाग्न र उनीहरूको बध गर्न थाले।
४२ अनि लमानीहरू फेरि उनीहरू अगाडिबाट मन्टीको भूमितिर भागे; र फेरि उनीहरूलाई मोरोनीको सेनाहरूद्वारा भेटियो।
४३ अब यो परस्थितिमा लमानीहरू अत्याधिक लडे, हो, लमानीहरूले त्यस्तो अत्यन्तै शक्ति र साहासले लडेको, प्रारम्भदेखिसमेत, कहिल्यै जानिएको थिएन।
४४ अनि उनीहरू जोरामीहरू र अमालेकीहरूद्वारा प्रेरित गराइएका थिए, जो उनीहरूका मुख्य कप्तान र अगुवाहरू थिए र जेरहेम्नाहद्वारा जो उनीहरूका मुख्य कप्तान, अथवा उनीहरूका अगुवा र सेनानी थियो; हो, उनीहरू अजिङ्गरजस्तै लडे र नफीहरूमध्ये धेरैलाई उनीहरूका हातहरूद्वारा बध गरियो, हो, किनकि उनीहरूले आफ्ना शिर-कवचहरूलाई प्रहार गरेर दुइटा बनाए र उनीहरूमध्ये धेरैले तिनीहरूका कवचहरूलाई छेडे र उनीहरूले तिनीहरूमध्ये धेरैका बाहुहरू काटे; अनि यसरी लमानीहरूले उनीहरूको तीव्र क्रोधका साथ प्रहार गरे।
४५ तैपनि, नफीहरू एक अझ राम्रो कारणले प्रेरित थिए, किनकि उनीहरू न त राजसंस्थाका निम्ति न त शक्तिका निम्ति लडिरहेका थिए तर उनीहरू आफ्ना घरहरूका निम्ति र आफ्ना स्वतन्त्रताका निम्ति, आफ्ना पत्नीहरू र आफ्ना छोराछोरीहरूका निम्ति र आफ्ना सबैका निम्ति, हो, आफ्ना आराधना गर्ने विधिहरूका र आफ्नो चर्चका निम्ति लडिरहेका थिए।
४६ अनि उनीहरूले त्यसो गरिरहेका थिए जुन उनीहरूले आफ्ना परमेश्वरप्रति आफू ऋणी भएको कर्तव्य ठानेका थिए; किनकि परमप्रभुले उनीहरूसामु र उनीहरूका पितापुर्खाहरुसामु पनि भन्नुभएको थियो, कि: जहाँसम्म तिमीहरू पहिलो प्रहारको दोषी छैनौ न त दोस्रो, तिमीहरूले आफ्ना शत्रुहरूको हातबाट आफ्नो बध गरिएको सहनु पर्दैन।
४७ अनि फेरि, परमप्रभुले भन्नुभएको छ कि: तिमीहरूले आफ्ना परिवारहरूको सुरक्षा रक्तपात गरेर समेत गर्नू। त्यसकारण यो कारणका निम्ति नफीहरू आफ्नो र आफ्ना परिवारको र आफ्ना भूमिको, आफ्नो देशको र आफ्ना अधिकारको र आफ्नो धर्मको सुरक्षा गर्न लमानीहरूसँग लडिरहेका थिए।
४८ अनि यस्तो हुन गयो कि जब मोरोनीका मानिसहरूले लमानीहरूको तिब्रता र क्रोधलाई देखे, उनीहरू डरले तर्सिएर भाग्न तयार थिए। अनि मोरोनीले, उनीहरूको लक्ष्यको महसुस गरेर, यी विचारहरू पठाएर उनीहरूका हृदयलाई प्रेरित गरे—हो, आफ्ना भूमिहरूको, आफ्नो स्वतन्त्रताको, हो, दासत्वबाट उनीहरूको मुक्तिका विचारहरू।
४९ अनि यस्तो हुन गयो कि उनीहरू लमानीहरूमाथि फर्किए र उनीहरूले एक स्वरमा परमप्रभु उनीहरूका परमेश्वरसामु, उनीहरूको स्वतन्त्रताको र दासत्वबाट उनीहरूको मुक्तिका निम्ति पुकारे।
५० अनि उनीहरूले लमानीहरूविरुद्ध शक्तिका साथ खडा हुन थाले; र उनीहरूले परमप्रभुसामु आफ्नो स्वतन्त्रताका निम्ति कराएको त्यही घण्टामा, लमानीहरू उनीहरूका अगाडिबाट भाग्न थाले; र उनीहरू सिदोनका पानीसम्म समेत भागे।
५१ अब, लमानीहरू धेरै सङ्ख्यामा थिए, हो, नफीहरूको सङ्ख्याको दोब्बर; तैपनि, उनीहरूलाई यतिसम्म लखेटियो कि उनीहरू उपत्यकामा, सिदोन नदीको किनारामा एक समूहमा एक साथ भेला भएका थिए।
५२ त्यसकारण मोरोनीका सेनाहरूले उनीहरूलाई वरिपरि घेरे, हो, नदीका दुबै तिरमा समेत, किनकि हेर, पूर्वमा लहीका मानिसहरू थिए।
५३ त्यसकारण जब जेरहेम्नाहले लहीका मानिसहरूलाई सिदोन नदीको पूर्वमा देख्यो र मोरोनीका सेनाहरूलाई सिदोनको पश्चिममा, कि उनीहरू नफीहरूद्वारा घेरिएका थिए, उनीहरू डरले विचलित भए।
५४ जब मोरोनीले उनीहरूको डरलाई देखे, उनले आफ्ना मानिसहरूलाई आज्ञा दिए कि उनीहरूले तिनीहरूको रगत बगाउन रोक्नुपर्छ।