धर्मशास्त्रहरू
अल्मा ४४


अध्याय ४४

मोरोनीले लमानीहरूलाई कि त शान्तिको करार गर्नु कि त नाश हुनु भन्ने आज्ञा दिन्छन्—जेरहेम्नाहले प्रस्तावको अस्वीकार गर्छ र लडाइँ जारी रहन्छ—मोरोनीको सेनाले लमानीहरूलाई हराउँछ। लगभग ई.पू. ७४–७३।

अनि यस्तो हुन गयो कि उनीहरूले रोके र उनीहरूबाट एक कदम पछि हटे। अनि मोरोनीले जेरहेम्नाहसामु भने: हेर्, जेरहेम्नाह, कि हामी रगत बगाउने मानिस हुन चाहान्नौँ। तँलाई थाहा छ कि तँ हाम्रा हातहरूमा छस् तैपनि हामी तेरो वध गर्न चाहान्नौँ।

हेर्, हामी तिमीहरूविरुद्ध लडाइँ गर्न आएका होइनौँ कि हामी शक्तिका निम्ति रगत बगाउन सकौँ, न त हामी तिमीहरूलाई दासत्वको जुवामा ल्याउन चाहान्छौँ। तर तिमीहरू यही कारणले हामी विरुद्ध आएका हौ; हो, अनि तिमीहरू हाम्रा धर्मका कारण हामीसँग क्रुद्ध छौ।

तर अब, तैँले देख्छस् कि परमप्रभु हामीसँग हुनुहुन्छ; अनि तैँले देख्छस् कि उहाँले तिमीहरूलाई हाम्रा हातमा दिनुभएको छ। अनि अब म चाहान्छु कि तिमीहरूले बुझ्नु पर्छ कि यो हाम्रो धर्म र ख्रीष्टमाथिको हाम्रो आस्थाका कारण गरिएको हो। अनि अब तैँले देख्छस् कि तैँले हाम्रो यो आस्थाको विनाश गर्न सक्दैनस्।

अब तँ देख्छस् कि यो परमेश्वरको साँचो आस्था हो; हो, तँ देख्छ्स कि परमेश्वरले हामीलाई सहयोग गर्नु हुनेछ र पाल्नु हुनेछ र जोगाउनु हुनेछ, जहाँसम्म हामी उहाँप्रति र हाम्रो आस्थाप्रति र हाम्रो धर्मप्रति आस्थावान् हुन्छौँ; अनि यदि हामी उल्लङ्घनमा पतन नभए र हाम्रो आस्थाको अस्वीकार नगरे परमप्रभुले कहिल्यै अनुमति दिनु हुनेछैन कि हामीलाई विनाश गरियोस्।

अनि अब, जेरहेम्नाह, म तँलाई आज्ञा दिन्छु, सर्वशक्तिमान परमेश्वरको नाउँमा, जसले हाम्रा बाहुहरूलाई बलिया बनाउनु भएको छ कि हामीले तँमाथि शक्ति पाएका छौँ र हाम्रो आस्थाद्वारा, हाम्रो धर्मद्वारा, हाम्रो आराधनाको विधिद्वारा र हाम्रो चर्चद्वारा र पवित्र सहयोगद्वारा जसका लागि हामी हाम्रा पत्नी र हाम्रा छोराछोरीप्रति ऋणी छौँ, त्यो स्वतन्त्रताद्वारा जसले हामीलाई हाम्रो भूमि र हाम्रो देशसँग बाँध्दछ, हो र परमेश्वरका पवित्र वचनहरू राखेर पनि, जसप्रति हाम्रा सबै खुसियालीका निम्ति हामी ऋणी छौँ; अनि हाम्रा लागि अत्याधिक प्यारो भएको सबैद्वारा—

हो, अनि यति मात्र होइन; म तँलाई तँसँग जीवनप्रति भएको चाहानाद्वारा आज्ञा दिन्छु, कि तैँले आफ्ना युद्धका हतियार हामीसामु हस्तान्तरण गर्नु, अनि हामी तेरो रगत खोज्नेछैनौँ, तर हामी तेरो ज्यान छाडिदिनेछौँ, यदि तँ तेरो आफ्नो बाटो गइस् र हामीसँग युद्ध गर्न फेरि आइनस् भने।

अनि अब, यदि तँ यो गर्दैनस् भने, हेर्, तँ हाम्रा हातहरूमा छस्, अनि म मेरा मानिसहरूलाई आज्ञा दिन्छु कि उनीहरू तँमाथि जाइ लाग्नेछन् र तिमीहरूका शरीरहरूमा मृत्युका घाउहरूका कष्ट दिनेछन्, कि तिमीहरू लोप हुनेछौ; र तब हामी देख्नेछौ यी जनमाथि कसको अधिकार छ; हो, हामी देख्नेछौँ कसलाई दासत्वमा ल्याइनेछ।

अनि अब यस्तो हुन गयो कि जब जेरहेम्नाहले यी भनाइहरू सुन्यो ऊ अघि आयो र आफ्ना तरबारहरू र आफ्ना खुँडाहरू र आफ्ना धनुहरू मोरोनीका हातहरूमा हस्तान्तरण गऱ्यो र उनीसामु भन्यो: हेर, हाम्रा युद्धका हतियारहरू यहाँ छन्; हामी ती तिमीलाई हस्तान्तरण गर्नेछौँ, तर हामी आफैँ तिमीसामु शपथ लिन अनुमति दिने छैनौँ, जुन हामीलाई थाहा छ कि हामी र हाम्रा छोराछोरीहरूले पनि तोड्नेछन्; तर हाम्रा युद्धका हतियारहरू लैजाओ र अनुमति देओ कि हामी उजाड स्थानतिर प्रस्थान गर्न सकूँ; अन्यथा हामी हाम्रा तरबारहरू राख्नेछौँ र हामी या त नाशिनेछौँ या त विजयी हुनेछौँ।

हेर, हामी तिम्रो आस्थाका होइनौँ; हामी विश्वास गर्दैनौँ कि परमेश्वर हुनुहुन्छ जसले तिमीहरूलाई हाम्रा हातहरूबाट मुक्त गर्नुभएको हो तर हामी विश्वास गर्छौँ कि यो तिमीहरूको धुर्त्याईँ हो जसले तिमीहरूलाई हाम्रा तरबारबाट संरक्षण गरेको हो। हेर, यो तिमीहरूका कवच र ढाल हुन् जसले तिमीहरूको संरक्षण गरेका हुन्।

१० अनि अब जब जेरहेम्नाहले यी वचनहरूको अन्त्य गरेको थियो, मोरोनीले तरबारहरू र युद्धका हतियारहरू जेरहेम्नाहसामु फर्काए, जुन उनले प्राप्त गरेका थिए, यसो भन्दै: हेर्, हामी विवादको अन्त्य गर्नेछौँ।

११ अब म मैले बोलेका वचनहरू फिर्ता लिन सक्दिनँ, त्यसकारण जसरी परमप्रभु जीवित हुनुहुन्छ, यदि हामीविरुद्ध युद्ध गर्न नफर्कने शपथ गरेर प्रस्थान नगरे तिमीहरू त्यसै प्रस्थान गर्नेछैनौ। अब किनभने तिमीहरू हाम्रा हातहरूमा छौ, हामी तिमीहरूको रगत जमिनमा पोख्नेछौँ, या त मैले प्रस्ताव गरेको सर्तमा समर्पण गर्नेछौँ।

१२ अनि अब जब मोरोनीले यी वचनहरू भनेका थिए, जेरहेम्नाहले आफ्नो तरबार राख्यो र ऊ मोरोनीसँग क्रुद्ध भयो र ऊ अगाडि दौड्यो कि उसले मोरोनीको वध गर्न सकोस्; तर जब उसले आफ्नो तरबार उठायो, मोरोनीका सिपाहीहरूमध्ये एकले त्यसलाई जमिनमा गिर्ने गरी प्रहार गऱ्यो र त्यसले बिँड फुटायो; र उसले जेरहेम्नाहलाई पनि प्रहार गऱ्यो कि उसले उसको खोपडीको छाला निकाल्यो र त्यो जमिनमा ढल्यो। अनि जेरहेम्नाह उनीहरूअगाडि बाट आफ्ना सिपाहीहरूमाझ पछि हट्यो।

१३ अनि यस्तो हुन गयो कि खडा भएको सिपाही, जसले जेरहेम्नाहको खोपडीको छाला काट्यो, उसले जमिनबाट कपालद्वारा खोपडीको छाला लियो र तरबारको टुप्पोमा राख्यो र उनीहरूसामु तन्क्यायो, ठूलो स्वरमा उनीहरूसामु यसो भन्दै:

१४ जसरी यो खोपडीको छाला जमिनमा ढलेको छ, जुन तिमीहरूका अगुवाको हो, यदि तिमीहरूले आफ्ना युद्धका हतियारहरू हस्तान्तरण नगरे र शान्तिको करारका साथ प्रस्थान नगरे तिमीहरू त्यसरी नै जमिनमा ढल्नेछौ।

१५ अब त्यहाँ धेरै थिए, जब उनीहरूले यी वचनहरू सुने र तरबारमाथि भएको खोपडीको छाला देखे, तिनीहरूलाई त्राशले विचलित गरायो; र धेरै अघि आए र मोरोनीका पाउमा आफ्ना युद्धका हतियारहरू फ्याँके र शान्तिको करारमा प्रवेश गरे। अनि जति कारारमा प्रवेश गरे उनीहरूलाई उजाड स्थानमा प्रवेश गर्न दिइयो।

१६ अनि यस्तो हुन गयो कि जेरहेम्नाह अत्यन्तै क्रोधित भयो र उसका बाँकी सिपाहीहरूलाई नफीहरूका विरुद्ध अझ बढी शक्तिका साथ लड्न रिसमा भड्कायो।

१७ अनि अब मोरोनी रिसाए, लमानीहरूको हठीपनाका कारणले; त्यसकारण उनले आफ्ना जनलाई आज्ञा दिए कि उनीहरू तिनीहरूमाथि जाइलाग्नु पर्छ र तिनीहरूको बध गर्नु पर्छ। अनि यस्तो हुन गयो कि उनीहरूले तिनीहरूको बध गर्न थाले; हो, अनि लमानीहरू आफ्नो तरबारहरू र आफ्नो शक्तिका साथ लडे।

१८ तर हेर, उनीहरूको नाङ्गो छालाहरू र उनीहरूको नाङ्गो टाउकाहरू नफीहरूका धारिला तरबारहरूमा रक्षारहित थिए; हो, हेर उनीहरू छेडिए र प्रहार गरिए; हो, नफीहरूका तरबार अगाडि अत्यन्तै छिटो ढले; अनि उनीहरू बढारिन थाले, जसरी मोरोनीको सिपाहीले अगमवाणी गरेको थियो।

१९ अब जेरहेम्नाह, जब उसले यो देख्यो कि उनीहरू सबै विनाश हुन लागेका थिए, मोरोनीसामु शक्तिका साथ कराउन थाल्यो, वाचा गर्दै कि ऊ र उसका जन पनि उनीहरूसँग करार गर्नेछन्, यदि उनीहरूले तिनीहरूका बाँकीको जीवन छाडिदिए भने, कि उनीहरू कहिल्यै तिनीहरूका विरुद्ध युद्ध गर्न आउनेछैनन्।

२० अनि यस्तो हुन गयो कि मोरोनीले अह्राए कि जनमाझ मृत्युको कार्य रोकिनु पर्छ। अनि उनले लमानीहरूबाट युद्धका हतियारहरू लिए; र तिनीहरूले उनीसँग शान्तिको करारमा प्रवेश गरेपछि उनीहरूलाई उजाड स्थानमा प्रवेश गर्न अनुमति दिइयो।

२१ अब ठूलो सङ्ख्या भएको कारणले मृतकहरूको सङ्ख्या गनिएन; हो, नफीहरू र लमानीहरू दुबैमा मृतकहरूको सङ्ख्या अत्यन्तै ठूलो थियो।

२२ अनि यस्तो हुन गयो कि उनीहरूले तिनीहरूका मृतकहरूलाई सिदोनका पानीमा फ्याँके र उनीहरू त्यहाँबाट अघि गएका छन् र समुन्द्रको गहिराइमा गाडिएका छन्।

२३ अनि नफीहरूका, अथवा मोरोनीका सेना, फर्के र आफ्ना घरमा र भूमिमा आए।

२४ अनि यसरी नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको अठारौँ वर्ष अन्त्य भयो। अनि यसरी नफीका पाताहरूमा लेखिएको अल्माको अभिलेख अन्त्य भयो।