अध्याय ५२
अम्मोरोन अमिलिकीयाह पछि लमानीहरूका राजा हुन्छन्—मोरोनी, तेयान्कुम र लहीले नफीहरूलाई लमानीहरू विरुद्ध युद्धको विजयमा अगुवाइ गर्दछन्—मुलेकको सहरलाई फिर्ता लिइन्छ र जोरामी याकूबको बध गरिन्छ। लगभग ई.पू. ६६–६४।
१ अनि अब नफीका जनमाथि न्यायकर्ताहरूको शासनको छब्बिसौँ वर्षमा यस्तो हुन गयो, हेर, जब लमानीहरू पहिलो महिनाको पहिलो दिनमा उठे, हेर, उनीहरूले अमलिकीयाहलाई उसको आफ्नो पालमा मृतक फेला पारे; अनि उनीहरूले यो पनि देखे कि तेयान्कुम त्यस दिनमा उनीहरूलाई लड्न तयार थिए।
२ अनि अब, जब लमानीहरूले यो देखे उनीहरू डराए; अनि उनीहरूले उत्तर तर्फको भूमिमा अगाडि बढ्ने योजनालाई त्यागे र आफ्ना सबै सेना मुलेकको सहरतिर फर्काए र आफ्ना किल्लाहरूमा सुरक्षा खोजे।
३ अनि यस्तो हुन गयो कि अमलिकीयाहको भाइलाई जनमाथिको राजा नियुक्त गरियो; अनि उनको नाउँ अम्मोरोन थियो; यसरी अम्मोरोन राजा, अमलिकीयाह राजाको भाइ, उसको सट्टामा शासन गर्न नियुक्त भए।
४ अनि यस्तो हुन गयो कि उसले आज्ञा दियो कि उनका जनले ती सहरहरू कायम राख्नु पर्दछ, जुन उनीहरूले रगत बगाएर लिएका थिए; किनकि उनीहरूले लिएका कुनै पनि सहरहरू धेरै रगत नबगाई लिएका थिएनन्।
५ अनि अब, तेयान्कुमले देखे कि लमानीहरू उनीहरूले लिएका ती सहरहरू र उनीहरूले स्वामित्वमा लिएका भूमिका ती भागहरू कायम राख्न निश्चित थिए; अनि उनीहरूको सङ्ख्याको विशालता पनि देखेर, तेयान्कुमले सोचे यो उचित छैन कि उनले उनीहरूको किल्लामा उनीहरूलाई आक्रमण गर्ने प्रयास गर्नु पर्दछ।
६ तर उनले युद्धको तयारी गरे जस्तै आफ्ना मानिसहरूलाई वरिपरि राखे; हो, अनि साँचैनै उनले वरिपरि पर्खाल लगाउँदै र आश्रय स्थानको तयारी गर्दै उनीहरूका विरुद्ध आफैँ सुरक्षा गर्न तयार गरिरहेका थिए।
७ अनि यस्तो हुन गयो कि मोरोनीले उनको सेनालाई बलियो बनाउन एक ठुलो सङ्ख्यामा मानिसहरू नपठाइन्जेलसम्म यसरी युद्धको तयारी गर्न उनले कायम राखे।
८ अनि मोरोनीले उनलाई आदेशहरू पनि पठाए कि उनले उनका हातमा परेका कैदीहरूलाई राख्नु; किनकि जहाँसम्म लमानीहरूले धेरै कैदीहरू राखेका छन्, कि लमानीहरूले राखेकाहरूको मूल्यको रुपमा उनले लमानीहरूका सबै कैदीहरूलाई राख्नु पर्दछ।
९ अनि उनले तिनलाई यी आदेशहरू पनि पठाए कि उनले बाउन्टिफूल भूमिलाई बलियो बनाउनुपर्छ र उत्तर तर्फको भूमिमा जाने साँघुरो घाँटीलाई सुरक्षित पार्नुपर्छ, कथंकदाचित् लमानीहरूले त्यो स्थान प्राप्त गरून् र उनीहरूलाई प्रत्येक तिरबाट दु:ख दिन शक्ति होओस्।
१० अनि मोरोनीले चाहना गर्दै उनलाई यो पनि पठाए कि भूमिको त्यो भागलाई कायम राख्न उनी आस्थावान् हुनेछन् र उनले त्यो भागमा रहेका लमानीहरूलाई कोर्रा हान्ने प्रत्येक अवसरहरू उनको शक्तिले भ्याएसम्म खोज्ने छन्, कि सम्भवत: उनले उनीहरूका हातहरूबाट खोसिएका भूमिहरू रणनीतिद्वारा अथवा कुनै अरु तरिकाहरूद्वारा फेरि लिन सकून्; र उनले वरिपरिका सहरहरूलाई बलियो र शक्तिशाली पनि बनाउने छन्, जुन लमानीहरूका हातहरूमा परेका छैनन्।
११ अनि उनले तिनलाई यो पनि भने, म तिमीसमक्ष आउने थिएँ, तर हेर, लमानीहरू पश्चिम समुन्द्र नजिकको भूमिका सिमानाहरूमा हामिमाथि छन्; अनि हेर, म उनीहरूविरुद्द जान्छु, त्यसकारण म तिमीसमक्ष आउन सक्दिन।
१२ अब, राजा (अम्मोरोन) जरहेम्लाको भूमिबाट प्रस्थान गरेका थिए र रानीलाई उनका दाजुको मृत्युका बारेमा अवगत गराएका थिए र मानिसहरूको ठूलो सङ्ख्या एक साथ जम्मा गरेका थिए र पश्चिम समुन्द्रको सिमानामा नफीहरूविरुद्ध अगाडि बढेका थिए।
१३ अनि यसरी उनले नफीहरूलाई दु:ख दिन र उनीहरूको फौजको एक भाग भूमिको त्यो भागतिर तान्न प्रयास गरिरहेका थिए, जब कि उनले लिएका सहरहरूलाई मातहतमा राख्न उनले छाडेकाहरूलाई उनले आज्ञा दिएका थिए, कि उनीहरूले पूर्व समुन्द्र नजिकका सिमानाहरूमा पनि नफीहरूलाई दु:ख दिनुपर्दछ र उनीहरूको शक्तिले भ्याएसम्म, उनीहरूका सेनाहरूको शक्तिअनुसार नफीहरूका भूमिलाई अधीनमा लिनुपर्छ।
१४ अनि नफीका जनमाथि न्यायकर्ताहरूको शासनको छब्बिसौँ वर्षको अन्त्यमा नफीहरू त्यो खतराजनक परिस्थितिमा थिए।
१५ तर हेर, न्यायकर्ताहरूको शासनको सत्ताइसौँ वर्षमा यस्तो हुन गयो, कि तेयान्कुम, मोरोनीको आदेशद्वारा—जसले भूमिको दक्षिण र पश्चिम सिमानाहरू सुरक्षा गर्न सेनाहरूको स्थापना गरेका थिए र बाउन्टिफुल भूमि तर्फ अघि बढ्न थालेका थिए, कि उनले तेयान्कुम र उनका मानिसहरूलाई उनीहरूले गुमाएका सहरहरू फिर्ता लिन सहयोग गर्न सकून्—
१६ अनि यस्तो हुन गयो कि तेयान्कुमले मुलेकको सहरमाथि आक्रमण गर्ने र यदि सम्भव भए फिर्ता लिने आदेश प्राप्त गरेका थिए।
१७ अनि यस्तो हुन गयो कि तेयान्कुमले मुलेकको सहरमाथि आक्रमण गर्न र लमानीहरूविरुद्ध आफ्ना सेनाहरूअगाडि बढाउन तयारीहरू गरे; तर उनले देखे कि उनीहरूका किल्लाहरूमा भएको समयमा उनले उनीहरूलाई जित्न असम्भव थियो; त्यसकारण उनले आफ्ना योजनाहरूलाई त्यागे र बाउन्टिफुल सहरमा फेरि फर्के, मोरोनीको आगमनको प्रतीक्षा गरे, कि उनले आफ्नो सेनाको शक्ति प्राप्त गर्न सकून्।
१८ अनि यस्तो हुन गयो कि मोरोनी आफ्ना सेनाका साथ, नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको सत्ताइसौँ वर्षको अन्त्यमा बाउन्टिफुलको भूमिमा आइपुगे।
१९ अनि अठ्ठाइसौँ वर्षको प्रारम्भमा, मोरोनी र तेयान्कुम र धेरै मुख्य कप्तानहरूले युद्धको परिषद गरे—उनीहरूले लमानीहरूलाई उनीहरूका विरुद्ध लडाइँ गर्न आउन के गर्नुपर्छ; अथवा कि उनीहरूले कुनै माध्यमद्वारा तिनीहरूलाई उक्साएर उनीहरूका किल्लाहरूबाट बाहिर ल्याउन सकून्, कि उनीहरूले तिनीहरूमाथि लाभ प्राप्त गर्न सकून् र मुलेकको सहरलाई फेरि लिन सकून्।
२० अनि यस्तो हुन गयो उनीहरूले लमानीहरूका सेनालाई सन्देशवाहकहरू पठाए, जुनले मुलेक सहरको सुरक्षा गरे, उनीहरूको अगुवालाई, जसको नाउँ याकूब थियो, यो चाहाना गर्दै कि ऊ उसको सेनाहरूसहित दुई सहरको बीचको समतल स्थलमा तिनीहरूलाई भेट्न आओस्। तर हेर, याकूब, जो एक जोरामी थियो, उसको सेना सहित समतल स्थानमा तिनीहरूलाई भेट्न आएन।
२१ अनि यस्तो हुन गयो कि मोरोनी, उनीहरूलाई निष्पक्ष धरातलमा भेट्ने आशा नभएकोले, त्यसकारण, उनले एक योजना बनाए कि उनले लमानीहरूलाई उनीहरूका बलिया किल्लाबाट बाहिर लोभ्याउन सकून्।
२२ त्यसकारण उनले अह्राए कि तेयान्कुमले मानिसहरूको सानो सङ्ख्या लैजानुपर्छ र समुन्द्रको किनार नजिक अगाडि बढ्नु पर्दछ; अनि मोरोनी र उनका सेनाहरू, रातिमा, उजाड स्थानमा मुलेक सहरको पश्चिममा अगाडि बढे; अनि यसरी, भोलिपल्ट, जब लमानीहरूका रक्षकहरूले तेयान्कुमलाई फेला पारेका थिए, उनीहरू दौडे र त्यो उनीहरूको अगुवा याकूबलाई भने।
२३ अनि यस्तो हुन गयो कि लमानीहरूका सेनाहरू, उनको सङ्ख्या सानो भएको कारणले उनीहरूको सङ्ख्याले तेयान्कुमलाई जित्ने छौँ भन्ने अनुमान गरी, तेयान्कुमका विरुद्ध अगाडि बढे। अनि जब तेयान्कुमले लमानीहरूका सेनाहरू आफ्ना विरुद्ध आएको देखे उनी उत्तरतर्फ समुन्द्र किनार हुँदै पछाडि हट्न थाले।
२४ अनि यस्तो हुन गयो कि जब लमानीहरूले देखे कि उनी भाग्न थाले, उनीहरूले सहास लिए र जोडका साथ पछ्याए। अनि जब कि तेयान्कुमले यसरी उनीहरूलाई व्यर्थमा पछ्याइरहेका लमानीहरूलाई अगुवाइ गरिरहेका थिए, हेर, मोरोनीले आदेश दिए कि आफूसँग भएको आफ्नो सेनाको एक भाग सहरभित्र अगाडि बढ्नु पर्दछ र त्यसलाई मातहतमा लिनु पर्दछ।
२५ अनि उनीहरूले त्यसरी गरे र जसलाई सहरलाई सुरक्षा गर्न भनी छाडिएको थियो, हो, उनीहरू सबै जसले युद्धका हतियारहरू समर्पण गरेनन्, उनीहरू सबैलाई बध गरे।
२६ अनि यसरी मोरोनीले आफ्नो सेनाको एक भागद्वारा मुलेक सहरको स्वामित्व लिए, जब कि उनी बाँकीका साथ लमानीहरूलाई भेट्न अगाडि बढे जब उनीहरू तेयान्कुमलाई पछ्याएर फर्के।
२७ अनि यस्तो हुन गयो कि लमानीहरूले बाउन्टीफूल सहर नजिक नआइन्जेलसम्म तेयान्कुमलाई लखेटे र तब उनीहरूले लही र बाउन्टीफूल सहरलाई सुरक्षा गर्न छाडिएका सानो सेनालाई भेटे।
२८ अनि अब हेर, जब लमानीहरूका मुख्य कप्तानहरूले लहीलाई उनका सेनाहरूका साथ आफूविरुद्ध आइरहेको देखे, उनीहरू धेरै भ्रमित भई भागे, कथंकदाचित् उनीहरूले लहीले उनीहरूलाई उछिनेर मुलेक सहर प्राप्त गर्न नसकून्; किनकि उनीहरू उनीहरूको दौडका कारण धेरै थाकेका थिए र लहीका मानिसहरू नया शक्तिले भरिएका थिए।
२९ अब लमानीहरूलाई थाहा थिएन कि मोरोनी उनीहरूका पछाडि आफ्नो सेनासहित आएका थिए; र उनीहरू केवल लही र उनका मानिसहरूसँग डराए।
३० अब उनीहरूले मोरोनी र उनका सेनाहरूलाई नभेटिन्जेलसम्म लही उनीहरूलाई उछिन्न इच्छुक थिएनन्।
३१ अनि यस्तो हुन गयो कि लमानीहरूले धेरै पछाडि हट्नु पहिले उनीहरू नफीहरूद्वारा घेरीएका थिए, एक तर्फ मोरोनीका मानिसहरूद्वारा र अर्को तर्फ लहीका मानिसहरूद्वारा, जसका सबैजना भरखरै आराम गरेका र शक्तिले भरिएका थिए; तर लमानीहरू उनीहरूको लामो दौडका कारण थाकेका थिए।
३२ अनि मोरोनीले उनका मानिसहरूलाई आज्ञा दिए कि तिनीहरूले आफ्ना युद्धका हतियारहरू नत्यागेसम्म उनीहरू तिनीहरूमाथि जाइलाग्नु पर्दछ।
३३ अनि यस्तो हुन गयो कि याकूब, उनीहरूको अगुवा भएकाले, एक जोरामी पनि भएकाले र एक अपराजित आत्मा भएकाले, उसले लमानीहरूलाई मोरोनीविरुद्ध अत्यन्तै क्रोधका साथ लड्न अगुवाइ गऱ्यो।
३४ मोरोनी उनीहरूको अगाडि बढ्ने बाटोमा भएकाले, त्यसकारण याकूब उनीहरूको बध गर्न र मुलेकको सहरतर्फको आफ्नो बाटो बनाउन निश्चित थिए। तर हेर, मोरोनी र उनका मानिसहरू बढी शक्तिशाली थिए; त्यसकारण उनीहरूले लमानीहरूलाई अगाडि बाटो दिएनन्।
३५ अनि यस्तो हुन गयो कि उनीहरू दुबै पक्ष अत्यन्त क्रोधका साथ लडे; अनि दुबै पक्षहरूमा धेरैको बध गरियो; हो र मोरोनी घाइते भए र याकूबलाई मारियो।
३६ अनि लहीले उनीहरूको पछाडिबाट यस्तो क्रोधका साथ उनका बलिया मानिसहरूका साथ आक्रमण गरे, कि पछाडिका लमानीहरूले आफ्ना युद्धका हतियारहरू हस्तान्तरण गरे; अनि उनीहरूका बाँकीलाई, धेरै भ्रमित भएकाले, भाग्ने कि हमला गर्ने थाहा भएन।
३७ अब मोरोनीले उनीहरूको भ्रमलाई देखेर, उनले उनीहरूसामु भने: यदि तिमीहरूले आफ्ना युद्धका हतियारहरू ल्याउने छौ र ती हस्तान्तरण गर्ने छौ भने, हेर हामी तिमीहरूको रगत बगाउन रोक्ने छौँ।
३८ अनि यस्तो हुन गयो कि जब लमानीहरूले यी वचनहरू सुनेका थिए, उनीहरूका मुख्य कप्तानहरू, बध नगरिएका ती सबै, अघि आए र मोरोनीका खुट्टामा आफ्ना युद्धका हतियारहरू फ्याँके र उनका मानिसहरूलाई आज्ञा पनि दिए कि उनीहरूले त्यसै गर्नु पर्दछ।
३९ तर हेर, त्यहाँ नगर्ने धेरै थिए; अनि जसले आफ्ना तरबारहरूको हस्तान्तरण गरेनन् उनीहरूलाई लगियो र बाँधियो र उनीहरूका युद्धका हतियारहरू उनीहरूबाट खोसियो, अनि उनीहरूलाई उनीहरूका बन्धुहरूका साथ बाउन्टीफूल भूमितिर अघि बढ्न बाध्य गराइयो।
४० अनि अब कैदीहरूको सङ्ख्या बध गरिएकाहरूको सङ्ख्या भन्दा बढी, हो, दुबै पक्षहरूमा मारिएकाहरू भन्दा बढी थियो।