धर्मशास्त्रहरू
अल्मा ५९


अध्याय ५९

मोरोनीले पहोरानलाई हेलामानको फौजलाई बलियो बनाउन अनुरोध गर्छन्—लमानीहरूले नफीहाहको सहर लिन्छन्—मोरोनी सरकारसँग रिसाउँछन्। लगभग ई.पू. ६२।

अनि नफीका जनमाथि न्यायकर्ताहरूको शासनको तीसौँ वर्षमा यस्तो हुन गयो, मोरोनीले हेलामानको पत्र प्राप्त गरे र पढेपछि, गुमेका भूमिहरू प्राप्त गर्नमा हेलामानलाई मिलेको अत्यन्त सफलता, हो र कल्याणका कारण उनी अत्यन्त खुसी भए।

हो, अनि उनले आफू भएको भूमिको भागको वरिपरिका उनका सबै जनसमक्ष अवगत गराए कि उनीहरूले पनि खुसी मनाऊन्।

अनि यस्तो हुन गयो कि उनले पहोरानलाई तुरुन्त पत्र पठाए, चाहना गर्दै कि उनले हेलामानलाई अथवा हेलामानका सेनाहरूलाई बलियो बनाउन मानिसहरूलाई एक साथ भेला हुन अह्राउनुपर्छ, यतिसम्म कि त्यो भाग सजिलै कायम राख्न सकून् जुन प्राप्त गर्न उनी आश्चर्यपूर्वक सफल भएका थिए।

अनि यस्तो हुन गयो जब मोरोनीले जरहेम्लाको भूमिमा पत्र पठाए, लमानीहरूले उनीहरूबाट लिएका बाँकी ती भूमिहरूलाई र सहरहरूलाई अधीनमा प्राप्त गर्न उनले फेरि योजना बनाउन थाले।

अनि यस्तो हुन गयो कि जब कि मोरोनीले यसरी लमानीहरूविरुद्ध लड्न जान तयारी गरिरहेका थिए, हेर, नफीहाहका जन, जो मारोनीको सहरबाट, लहीको सहर र मोरियान्तोनको सहरबाट एक साथ भेला भएका थिए, उनीहरू लमानीहरूद्वारा आक्रमण गरिए।

हो, ती समेत जो मन्टीको भूमिबाट र वरिपरिको भूमिबाट भाग्न बाध्य भएका थिए, उनीहरू आएका थिए र भूमिको यो भागमा लमानीहरूसँग सम्मिलित भएका थिए।

अनि यसरी अनिगिन्ती भएकाले, हो, अनि दिनदिनै शक्ति प्राप्त गरेकाले, अम्मोरोनको आज्ञाअनुसार उनीहरू नफीहाहका जनविरुद्ध आए र उनीहरूले तिनीहरूको एक अत्यन्त ठूलो संहारका साथ बध गर्न थाले।

अनि उनीहरूका सेना यति अनगिन्ती थिए कि नफीहाहका बाँकी जनलाई उनीहरूअगाडि भाग्न बाध्य बनाए; र उनीहरू आए र मोरोनीको सेनामा सम्मिलित भए।

अनि अब किनभने मोरोनीले अनुमान गरेका थिए कि नफीहाहको सहरमा मानिसहरू पठाइनु पर्छ, त्यो सहर कायम राख्न जनलाई सहयोगका निम्ति, अनि यो जानेर कि लमानीहरूका हातहरूमा पर्नबाट जोगाउन त्यसलाई उनीहरूबाट फिर्ता लिनभन्दा सजिलो थियो, उनले अनुमान गरे कि उनीहरूले सजिलै त्यो सहर कायम राख्न सक्नेछन्।

१० त्यसकारण उनले आफूले फिर्ता लिएका ती स्थानहरू कायम राख्न उनका सबै फौजहरू राखे।

११ अनि अब, जब मोरोनीले देखे कि नफीहाहको सहर गुमाइयो उनी अत्यन्त दुखित भए र जनको दुष्टताका कारण, उनीहरू आफ्ना बन्धुहरूका हातहरूमा पर्नु हुँदैन कि भनी शङ्का गर्न थाले।

१२ अब उनका मुख्य कप्तानहरूको अवस्था यो थियो। उनीहरूले जनको दुष्टताका कारण र यो लमानीहरूको उनीहरूमाथिको सफलताका कारण शङ्का गरे र आश्चर्य पनि माने।

१३ अनि यस्तो हुन गयो कि मोरोनी, आफ्नो देशको स्वतन्त्रताका बारेमा उनीहरूको उदासीनताका कारण, सरकारसँग रिसाए।

प्रिन्ट गर्नुहोस्