धर्मशास्त्रहरू
सिद्धान्त र करार १०६


खण्ड १०६

अगमवक्ता जोसेफ स्मिथद्वारा, कर्टल्याण्ड, ओहायोमा, नोभेम्बर २५, १८३४ मा दिइएको प्रकाश । यो प्रकाश ओलिभर काउड्रीका जेठा दाजु वारेन ए. काउड्रीलाई निर्देशित गरिएको छ ।

१–३, वारेन ए. काउड्रीलाई अध्यक्षता गर्ने स्थानीय अधिकारीका रूपमा बोलावट गरिन्छ; ४–५, दोस्रो आगमन आध्यात्मिक सन्ततिहरूमाथि चोरजस्तै अप्रत्याशित रूपमा आउने छैन; ६–८, चर्चमा आस्थावान् सेवा पश्चात् महान् आशीर्वादहरू आउँछन् ।

यो मेरो चाहना हो कि मेरा सेवक वारेन ए. काउड्रीलाई मेरो चर्चमा, फ्रिडमको भूमि र वरपरका क्षेत्रहरूमा अध्यक्षता गर्ने उच्च पादरीका रूपमा मनोनयन र नियुक्त गरिनु पर्छ;

अनि मेरो अनन्त सुसमाचार प्रचार गर्नु पर्छ र उनको आवाज उठाउनु पर्छ र मानिसहरूलाई चेतावनी दिनु पर्छ, आफ्नो स्थानमा मात्रै होइन तर वरपरका प्रदेशहरूमा पनि;

अनि उनको सम्पूर्ण समय यो उच्च र पवित्र बोलावटमा समर्पण गर्नु पर्छ, जुन म अब उनलाई दिन्छु, लगनशीलतापूर्वक स्वर्गको अधिराज्य र यसको धार्मिकता खोज्दै र आवश्यक सबै विषयहरू यसमा थपिने छन्; किनभने मजदुर आफ्नो ज्यालाको योग्य छ ।

अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्छु, परमप्रभुको आगमन नजिक आइपुगेको छ र यसले रातमा चोरलेजस्तै संसारलाई अप्रत्याशित पक्रन्छ—

त्यसकारण, आफ्नो कम्मर कस ताकि तिमीहरू धार्मिक सन्ततिहरू हुने छौ र त्यो दिनले तिमीहरूलाई चोरका रूपमा अप्रत्याशित पक्रने छैन ।

अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्छु, त्यहाँ स्वर्गमा आनन्द थियो जब मेरा सेवक वारेन मेरो राजदण्डमा झुके र आफूलाई मानिसहरूका छलपूर्ण क्रियाकलापहरूबाट भिन्न राखे;

त्यसकारण, मेरा सेवक वारेन अशीषित छन्, किनकि म उनलाई दया गर्ने छु; र उनको हृदयको व्यर्थताका बाबजुद, उनी जति जति मेरा अगाडि विनम्र हुने छन् म उनलाई उचाल्ने छु ।

अनि म उनलाई अनुग्रह र आश्वासन दिने छु जसमा उनी खडा हुन सक्छन्; र यदि उनी चर्चका लागि आस्थावान् साक्षी र ज्योति बनिरहन्छन् भने मैले मेरा पिताका महलहरूमा उनका लागि एउटा मुकुट तयार पारेको छु । तसर्थ यस्तै हुने छ । आमीन ।

प्रिन्ट गर्नुहोस्