खण्ड ३१
अगमवक्ता जोसेफ स्मिथद्वारा थोमस बी. मार्सलाई सेप्टेम्वर १८३० मा दिइएको प्रकाश । यो चर्चको सम्मेलनको लगत्तै पछाडिको समय थियो (हेर्नुहोस् खण्ड ३० को शीर्षक) । थोमस बी. मार्सलाई त्यस महिनाको प्रारम्भमा बप्तिस्मा दिइएको थियो अनि यो प्रकाश प्रदान गरिनुपूर्व चर्चमा एल्डर नियुक्त गरिएको थियो ।
१–६, थोमस बी. मार्सलाई सुसमाचार प्रचार गर्न बोलाइएको छ र उनको परिवारको कल्याणको आश्वासन दिइएको छ; ७–१३, उनलाई धैर्य रहन, सदैव प्रार्थना गर्न र आश्वासीलाई अनुशरण गर्न सल्लाह दिइएको छ ।
१ थोमस, मेरा पुत्र, मेरो कार्यमा तिम्रो आस्थाका कारणले तिमी आशीषित छौ ।
२ हेर, तिम्रो परिवारका कारण तिमीले धेरै कष्टहरू भोगेका छौ; यद्यपि, म तिमी र तिम्रो परिवारलाई आशीर्वाद दिने छु, हो, तिम्रा साना नानीहरू; र त्यो दिन आउँछ कि तिनीहरूले विश्वास गर्ने छन् र सत्यलाई बुझ्ने छन् र मेरो चर्चमा तिमीसँगै एक हुने छन् ।
३ आफ्नो हृदय उचाल र प्रसन्न होऊ, किनकि तिम्रो सुसमाचार प्रचारको समय आएको छ; अनि बोल्ने क्षमता दिइने छ र तिमीले यस सन्ततिलाई खुशीका महान् सन्देशहरू घोषणा गर्ने छौ ।
४ तिमीले मेरा सेवक, जोसेफ स्मिथ, जुनियरलाई प्रकट गरिएका विषयहरू घोषणा गर्ने छौ । हो, फसल काट्न सेतो भएको खेतमा कटनी गर्न तिमीले यस समयदेखि प्रचार गर्न सुरू गर्ने छौ ।
५ त्यसकारण, आफ्नो सारा आत्माले आफ्नो हँसियाले जोडले हान र तिम्रा पापहरूको क्षमा गरिएको छ र तिमीलाई तिम्रो पीठमा बिटाहरू बोकाइएको हुने छ, किनकि मजदुर आफ्नो ज्यालाको योग्य छ । यसकारण, तिम्रो परिवार जीवित रहने छ ।
६ हेर, साच्चैँ नै म तिमीलाई भन्छु, केही समयका लागि मात्र तिनीहरूबाट पर जाऊ र मेरो वचन घोषणा गर र म तिनीहरूका लागि स्थान तयार पार्ने छु ।
७ हो, म मानिसहरूका हृदय खोल्ने छु र तिनीहरूले तिमीलाई ग्रहण गर्ने छन् । अनि म तिम्रा हातहरूद्वारा एउटा चर्चको स्थापना गर्ने छु;
८ अनि तिमीले तिनीहरूलाई मजबुत बनाउनु पर्दछ र तिनीहरूलाई एकत्रित हुने समयका लागि तयार पार्नु पर्छ ।
९ कष्टहरूमा धैर्य गर, आलोचना गर्नेहरूलाई आलोचना नगर । आफ्नो घर विनम्रतामा प्रशासन गर र अडिग होऊ ।
१० हेर म तिमीलाई भन्छु कि तिमी चर्चका लागि एक चिकित्सक बन्नु पर्दछ, तर संसारका लागि होइन, किनकि तिनीहरूले तिमीलाई ग्रहण गर्ने छैनन् ।
११ म जहाँ चाहान्छु आफ्नो बाटो जाऊ र तिमीले के गर्ने र तिमी कहाँ जाने भनेर त्यो आश्वासीद्वारा तिमीलाई दिइने छ ।
१२ सदैव प्रार्थना गर, अन्यथा तिमी प्रलोभनमा प्रवेश गर्छौ र आफ्नो पुरस्कार गुमाउछौ ।
१३ अन्त्य सम्म आस्थावान् बन र हेर, म तिम्रो साथमा छु । यी शब्दहरू मानिस वा मानिसहरूका होइनन्, तर मेरा हुन्, पिताका चाहनाद्वारा यहाँसम्म कि येशू ख्रीष्ट तिम्रा उद्धारकर्ताका हुन् । आमीन ।