खण्ड १२७
मृतकहरूका लागि बप्तिस्मा गर्ने निर्देशनहरू समावेश गर्दै अगमवक्ता जोसेफ स्मिथद्वारा नाभू, इलिनोइमा पछिल्ला दिनका सन्तहरूलाई एक पत्र, मिति १ सेप्टेम्बर, १८४२, नाभूमा ।
१–४, जोसेफ स्मिथ सतावट र महासङ्कष्टमा रमाउँछन्; ५–१२, मृतकहरूका लागि बप्तिस्मा सम्बन्धित अभिलेखहरू राखिनु पर्छ ।
१ किनकि परमप्रभुले मलाई प्रकट गर्नुभएको छ कि मेरा शत्रुहरू, दुबै मिजोरी र यस राज्यमा, पुनः मेरा पछि लागेकाले; र तिनीहरूले बिना कारण मलाई पछ्याउँदै गरेकाले र मेरा विरुद्ध तिनीहरूका अभियोगहरू उठाउँदा न्यायको न्यूनतम छाया वा रङ्ग वा तिनीहरूको पक्षमा अधिकार छैन; र तिनीहरूका आरोपहरू अति कालो झूटमा आधारित भए तापनि, मेरो आफ्नै सुरक्षा र यी जनहरूको सुरक्षाका लागि छोटो समयका लागि यो स्थान छोड्नु उपयुक्त र बुद्धिमानी हुन्छ भन्ने मैले सोचेको छु । मसँग व्यवसाय गर्ने ती सबैलाई म भन्न चाहन्छु कि मैले मेरो कार्य प्रतिनिधिहरू र कारिन्दाहरूमा छोडेको छु जसले सबै व्यवसायलाई छिट्टै र उचित ढङ्गले सञ्चालन गर्ने छन् र सम्पत्तिको निपटान वा अन्यथा, मामलामा आवश्यकता परेअनुसार वा परिस्थितिले स्वीकार गरेअनुसार मेरा सबै ऋणहरू निर्धारित समयमा खारेज भएको सुनिश्चित गर्ने छन् । जब मलाई जानकारी हुन्छ कि आँधीबेहरी पूर्ण रूपमा उडेर गएको छ, तब म पुनः तपाईंहरूकहाँ फर्कने छु ।
२ अनि सहन गर्न मलाई नियुक्त गरिएका खतराहरूका सम्बन्धमा, ती मलाई साना विषय मात्र लाग्छ किनकि मानिसको ईर्ष्या र क्रोध मेरो जीवनभरि मेरो दिनचर्या भएको छ; र कुन कारणका लागि हो यो रहस्यमय देखिन्छ, यो बाहेक कि मलाई संसारको सृष्टि हुनुभन्दापूर्व नै कुनै असल वा खराब अन्त्यका लागि नियुक्त गरिएको थियो, जसरी तपाईंहरू यसलाई बोलाउन चाहनुहुन्छ । आफूस्वयम् का लागि न्याय गर्नुहोस् । परमेश्वरले यी सबै विषय जान्नुहुन्छ, चाहे त्यो असल होस् वा खराब । परन्तु यद्यपि, गहिरो पानीमा पौडनु मेरा लागि सामान्य हो । यो सबै मेरा लागि अभ्यस्त विषय भएको छ; र मलाई पावल जस्तै महसुस हुन्छ, महासङ्कष्टमा गर्व गर्नु; किनकि आजका दिनसम्म मेरा पिता-पुर्खाहरूका परमेश्वरले मलाई ती सबैबाट उद्दार गर्नुभएको छ र यस उपरान्त मलाई उद्दार गर्नुहुने छ; किनकि हेर र अवलोकन गर, म मेरा सबै शत्रुहरूमाथि विजयी हुने छु, किनकि परमप्रभु परमेश्वरले यसो भन्नुभएको छ ।
३ त्यसकारण, सबै सन्तहरू रमाउनु पर्छ र अत्यन्तै आनन्दित हुनु पर्छ; किनकि इस्राएलका परमेश्वर तिनीहरूका परमेश्वर हुनुहुन्छ र उहाँले तिनीहरूका सबै दमन गर्नेहरूको शिरमा पुरस्कारको उचित प्रतिफल दिनुहुने छ ।
४ अनि पुनः, साच्चैँ नै परमप्रभु यसो भन्नुहुन्छ: मेरो मन्दिरको कार्य र मैले तिमीहरूलाई नियुक्त गरेका सबै कार्यहरू जारी रहनु पर्छ र रोकिनु हुँदैन; र तिमीहरूको लगनशीलता र तिमीहरूको दृढता र धीरता र तिमीहरूका कार्यहरू दोब्बर हुनु पर्छ र तिमीहरूले कुनै पनि स्थितिमा आफ्नो पुरस्कार गुमाउने छैनौ, सैन्यहरूका अधिपति भन्नुहुन्छ । अनि यदि तिनीहरूले तिमीहरूलाई सताउँछन्, तिनीहरूले तिमीहरूपूर्वका अगमवक्ताहरू र धर्मी मानिसहरूलाई पनि सताए । किनकि यी सबैका लागि स्वर्गमा पुरस्कार छ ।
५ अनि पुनः, म तिमीहरूलाई तिमीहरूका मृतकहरूको बप्तिस्माका सम्बन्धमा एउटा सन्देश दिन्छु ।
६ साच्चैँ नै, परमप्रभुले मृत्यु भएका तिमीहरूका आफन्तहरूका सम्बन्धमा तिमीहरूलाई यसो भन्नुहुन्छ: जब तिमीहरूमध्ये कसैले मृत्यु भएका आफ्ना आफन्तहरूका लागि बप्तिस्माहरू लिन्छौ, त्यहाँ एक अभिलेखाकर्ता हुनु पर्छ र उनले तिमीहरूले लिएका बप्तिस्माहरूको प्रत्यक्ष साक्षी बन्नु पर्छ; उनले आफ्नो कानले सुन्नु पर्छ ताकि उनले सत्यतामा प्रमाणित गर्न सक्छ, परमप्रभु भन्नुहुन्छ;
७ ताकि तिमीहरूका सबै अभिलेखहरू स्वर्गमा अभिलेख राखिन सकिने छ; तिमीहरूले पृथ्वीमा जे-जति बाँध्ने छौ, त्यो स्वर्गमा बाँधिने छ; र तिमीहरूले पृथ्वीमा जे-जति फुकाउने छौ त्यो स्वर्गमा फुकाइने छ;
८ किनकि म पादरित्वका सम्बन्धमा पृथ्वीमा धेरै विषयहरू पुनर्स्थापना गर्न छिट्टै प्रारम्भ गर्ने छु, सैन्यहरूका अधिपति भन्नुहुन्छ ।
९ अनि पुनः, सबै अभिलेखहरू क्रमबद्ध हुनु पर्छ, ताकि तिनीहरू मेरो पवित्र मन्दिरका अभिलेखालयहरूमा राखिनु पर्छ, एउटा पिंढी देखि अर्को पिंढीसम्म सम्झनामा राखिनु पर्छ, सैन्यहरूका अधिपति भन्नुहुन्छ ।
१० म सबै सन्तहरूलाई भन्ने छु, कि आउँदो शबाथमा उनीहरूलाई मृतकहरूका लागि बप्तिस्माको विषयमा मञ्चबाट सम्बोधन गर्न अत्यन्तै ठूलो चाहनाका साथ, मैले अपेक्षा गरेँ । परन्तु त्यसो गर्न मेरो शक्ति नभएको हुनाले, म समय-समयमा त्यस विषयमा परमप्रभुको वचन लेख्ने छु र तपाईंहरूलाई पत्रद्वारा साथै अन्य धेरै तरिकाहरू मार्फत् पठाउने छु ।
११ म अब मेरो पत्र अहिलेका लागि बन्द गर्छु, अधिक समय नभएकाले; किनकि शत्रु सतर्क छ र मुक्तिदाताले भन्नुभए जस्तै, यस संसारको राजकुमार आउँछ तर त्यसको ममाथि केही शक्ति छैन ।
१२ हेर्नुहोस्, परमेश्वरसँग मेरो प्रार्थना छ कि तपाईंहरू सबैले मुक्ति प्राप्त गर्न सक्नुहुन्छ । अनि म स्वयम् लाई परमप्रभुमा तपाईंहरूका सेवक, पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका अगमवक्ता र द्रष्टाका रूपमा सहीछाप गर्छु ।
जोसेफ स्मिथ ।