धर्मशास्त्रहरू
सिद्धान्त र करार ११०


खण्ड ११०

अगमवक्ता जोसेफ स्मिथ र ओलिभर काउड्रीलाई कर्टल्याण्ड, ओहायो मन्दिरमा, अप्रिल ३, १८३६ मा दर्शनहरू प्रकट गरियो । त्यो शबाथ दिनको सभाको अवसर थियो । जोसेफ स्मिथको इतिहासले बताउँछ: “मध्यान्नमा मैले यो बाह्रबाट प्राप्त गरेर चर्चलाई प्रभुभोज वितरण गर्न अन्य अध्यक्षहरूलाई सहयोग गरेँ जसको विशेषाधिकार यस दिन पवित्र टेबुलमा दायित्व वहन गर्नु थियो । मेरा बन्धुहरूलाई यो सेवा गरिसकेपछि, म मञ्चमा गएर बसेँ, पर्दाहरू तल झारिए र मैले ओलिभर काउड्रीसँगै गम्भीर र मौन प्रार्थनामा आफू स्वयम् लाई झुकाएँ । प्रार्थनाबाट उठेपछि, हामी दुबैका लागि निम्न दर्शन प्रकट गरियो ।”

१–१०, परमप्रभु यहोवा महिमामा प्रकट हुनुहुन्छ र कर्टल्याण्ड मन्दिरलाई आफ्नो आलयका रूपमा स्वीकार गर्नुहुन्छ; ११–१२, एक एक गर्दै मोशा र एलियास् प्रकट हुन्छन् र तिनीहरूका साँचाहरू र युग प्रदान गर्छन्; १३–१६, एलिया फर्केर आउँछन् र मलाकीद्वारा गरिएको प्रतिज्ञाअनुसार आफ्नो युगका साँचाहरू प्रदान गर्छन् ।

हाम्रो मस्तिष्कबाट पर्दा हटाइयो र हाम्रो समझका आँखाहरू खोलिए ।

हामीले परमप्रभुलाई मञ्चको पर्खालमा उभिनुभएको देख्यौँ, हाम्रा अगाडि; र उहाँका पाउमुनि नीर जस्तै रङको शुद्ध सुनको पक्की पेटी थियो ।

उहाँका नयनहरू आगोको ज्वाला जस्तै थिए; उहाँको शिरको केश शुद्ध हिउँ जस्तै सेतो थियो; उहाँको मुहार सूर्यको चमक भन्दा माथि चम्किलो; अनि उहाँको वाणी अथाह पानीको आवाज जस्तै थियो, परमप्रभुको वाणीले समेत, यसो भन्नुहुँदै:

म पहिलो र अन्तिम हुँ; म त्यो हुँ जो जीवित छु, म नै हुँ जो मारिएको थिएँ; म पितासँग तिमीहरूको अधिवक्ता हुँ ।

हेर, तिमीहरूका पापहरू तिमीहरूमा क्षमा गरिएका छन्; तिमीहरू मेरा सामु शुद्ध छौ; त्यसकारण, आफ्ना शिरहरू उठाओ र आनन्दित होओ ।

तिमीहरूका बन्धुहरूका हृदयहरू आनन्दित होऊन् र मेरा सबै जनहरूका हृदयहरू आनन्दित होऊन्, जसले आफ्नो शक्तिले मेरो नाममा यो आलय निर्माण गरेका छन् ।

किनकि हेर, मैले यो आलयलाई स्वीकार गरेको छु र मेरो नाम यहाँ रहने छ; र म यस आलयमा आफ्ना जनहरूलाई कृपा गरेर आफूस्वयंलाई प्रकट गर्ने छु ।

हो, म मेरा सेवकहरूसामु प्रकट हुने छु र मेरो आफ्नै वाणीले उनीहरूसामु बोल्ने छु, यदि मेरा जनहरूले मेरा आज्ञाहरू पालना गर्ने छन् र यस पवित्र आलयलाई अपवित्र पार्दैनन् ।

हो हजारौँ र दशौँ हजारौँका हृदयहरूमा खन्याइने आशीर्वादरू र यस आलयमा मेरा सेवकहरूलाई प्रदान गरिएका अभिदानको परिणाममा धेरै आनन्दित हुने छन् ।

१० अनि यस आलयको कीर्ति अन्य भूमिहरूमा फैलिने छ; र यो आशीर्वादको सुरूवात हो जुन मेरा जनहरूका शिरमा खन्याइने छ । तसर्थ यस्तै हुने छ । आमीन ।

११ यो दर्शन बन्द भएपछि, स्वर्ग पुनः हाम्रा लागि खोलिएका थिए; र मोशा हाम्रासामु प्रकट भए र पृथ्वीको चार भागबाट इस्राएलको एकीकरणका साँचाहरू र उत्तरको भूमिबाट दश कुलहरूको अगुवाइ हामीलाई सुम्पिए ।

१२ यस पछि, एलियास प्रकट भए र अब्राहामको सुसमाचारको युग सुम्पिए, यसो भन्दै कि हामी र हाम्रा सन्ततिहरूद्वारा हामी पछिका सबै सन्ततिहरूले आशीर्वाद प्राप्त गर्ने छन् ।

१३ यो दर्शन बन्द भएपछि, अर्को महान् र महिमित दर्शन हामीमाथि प्रकट भयो; किनकि मृत्युको स्वाद अनुभव नगरी स्वर्गमा लगिएका, एलिया अगमवक्ताले, हाम्रासामु उभिए र भने:

१४ हेर, समय पूर्ण रूपमा आइपुगेको छ, जसका सम्बन्धमा मलाकीको मुखबाट भनिएको थियो—परमप्रभुको विशाल र भयङ्कर दिन आउनुपूर्व उनी [एलिया]लाई पठाइनु पर्छ भनी प्रमाणित गर्दै—

१५ पिताहरूको हृदय छोराछोरीमा र छोराछोरीहरूलाई पितामा फर्काउन, अन्यथा सारा पृथ्वीलाई श्रापले प्रहार गरिने छ—

१६ त्यसकारण, यस युगका साँचाहरू तिमीहरूका हातहरूमा सुम्पिएका छन्; र यसद्वारा तिमीहरूले जानकारी प्राप्त गर्ने छौ कि परमप्रभुको विशाल र भयङ्कर दिन नजिकै छ, ढोकाहरूमा समेत ।