धर्मशास्त्रहरू
सिद्धान्त र करार १८


खण्ड १८

अगमवक्ता जोसेफ स्मिथ, ओलिवर काउड्री, र डेविड व्हिट्मरलाई फेएट, न्यू योर्कमा, जून १८२९ मा दिइएको प्रकाश । अगमवक्ताका अनुसार “यी अन्तिम दिनहरूमा बाह्र प्रेरितहरूका बोलावट, अनि चर्चको निर्माण सम्बन्धी निर्देशनहरू पनि” यो प्रकाशले थाहा दियो ।

१–५, चर्चको निर्माण कसरी गर्ने भनेर धर्मशास्त्रहरूले देखाउँछन्; ६–८, संसार दुष्टतामा पाक्दैछ; ९–१६, जीवात्माहरूको मूल्य महान् छ; १७–२५, मुक्ति पाउन मानिसहरूले आफूमा ख्रीष्टको नाम लिनु पर्छ; २६–३६, बाह्रहरूका बोलावट अनि प्रचारका काम खुलासा गरियो; ३७–३९, ओलिवर काउड्री र डेभिड व्हिट्मरले बाह्रहरूको खोजी गर्नु पर्छ; ४०–४७, मुक्ति पाउन, मानिसहरूले पश्चात्ताप गर्नु पर्छ, बप्तिस्मा लिनु पर्छ, अनि आज्ञाहरू पालना गर्नु पर्छ ।

अब, हेर, मेरा सेवक ओलिवर काउड्री, तिमीले मबाट जान्न चाहेका विचारका कारण, म तिमीलाई यी वचनहरू दिन्छु:

हेर, मैले तिमीसामु देखाएको छु, मेरो आत्माद्वारा धेरै विषयहरूमा, कि तिमीले लेखेका विषयहरू सत्य छन्; त्यसैले तिमीलाई थाहा छ कि ती सत्य छन् ।

अनि यदि तिमीलाई थाहा छ कि ती विषयहरू सत्य छन् भने, हेर, म तिमीलाई आज्ञा दिन्छु, कि तिमीले लेखिएका यी विचारहरूमा भरोसा गर;

किनकि मेरो चर्चको जग, मेरो सुसमाचार र मेरो चट्टानका सम्बन्धमा सबै विषयहरू त्यसैमा लेखिएका छन् ।

यसकारण, यदि तिमीले मेरो चर्चलाई, मेरो सुसमाचारको जग र मेरो चट्टानमा निर्माण गर्‍यो भने, नरकको ढोकाहरूले तिमी विरुद्ध विजय प्राप्त गर्ने छैनन् ।

हेर, संसार दुष्टतामा पाक्दैछ; अनि यो आवश्यकता छ कि मानिसहरूका छोराछोरीहरू दुबै गैह्र यहूदी र इस्राएलको घरानालाई पश्चात्तापतिर प्रोत्साहन गर्न आवश्यक छ ।

यसकारण, तिमीलाई मेरा सेवक जोसेफ स्मिथ जुनियरका हातबाट बप्तिस्मा दिएकोले, मैले उसलाई आज्ञा गरे अनुसार, मैले उसलाई आज्ञा गरेको विषय उसले पूरा गरेको छ ।

अनि अब, मैले उसलाई मेरो आफ्नो उद्देश्यका लागि बोलाएकोमा आश्चर्यचकित नहोऊ, जुन उद्देश्य मलाई थाहा छ; त्यसैले, यदि ऊ मेरा आज्ञाहरू पालना गर्न लगनशील भएमा उसलाई अनन्त जीवनको आशीर्वाद दिइने छ; अनि उसको नाम जोसेफ हो ।

अनि अब, ओलिवर काउड्री, म तिमीलाई भन्छु, अनि डेभिड व्हिट्मरलाई पनि, एक आज्ञाद्वारा; किनकि, हेर, म सबैतिरका सबै मानिसहरूलाई पश्चात्ताप गर्न आज्ञा दिन्छु, अनि म तिमीहरूलाई भन्छु, मेरा प्रेरित पावललाई झैं, किनकि तिमीहरूलाई त्यही बोलावटद्वारा बोलाइएको छ जुनबाट उसलाई बोलाइएको थियो ।

१० सम्झ जीवात्माहरूको मूल्य परमेश्वरको दृष्टिमा महान् छ;

११ किनकि, हेर, परमप्रभु तिम्रा मुक्तिदाताले नश्वर शरीरमा मृत्यु सहनुभयो; यसकारण उहाँले सबै मानिसहरूका पीडा सहनुभयो, ताकि सबै मानिसहरूले पश्चात्ताप गर्न सकून् र उहाँकहाँ आउन सकून् ।

१२ अनि उहाँ पुनः मृत्युबाट उठ्नुभयो, ताकि उहाँले सबै मानिसहरूलाई पश्चात्तापको शर्तमा उहाँकहाँ ल्याउन सक्नुहुन्छ ।

१३ अनि पश्चात्ताप गरेको जीवात्मामा उहाँको खुशी कति महान् हुन्छ!

१४ यसकारण, तिमीहरूलाई यी मानिसहरूसामु पश्चात्तापका सम्बन्धमा आवाज उठाउन बोलाइएको छ ।

१५ अनि यसो हो भने कि तिमीहरूले यी मानिसहरूसामु तिम्रा सबै दिनहरू पश्चात्तापका सम्बन्धमा आवाज उठाउन परिश्रम गर्नु पर्छ, अनि ममा कम्तिमा एक जीवात्मा ल्याएमा, मेरा पिताका अधिराज्यमा उससँग तिम्रा खुशी कति महान् होला!

१६ अनि अब, यदि तिमीहरूले मकहाँ ल्याएको एक जीवात्माले तिम्रो प्रसन्नता महान् हुन्छ भने, यदि तिमीहरूले मकहाँ धेरै जीवात्माहरू ल्याएमा तिमीहरूका प्रसन्नता अझै कति महान् हुने छ!

१७ हेर, तिमीहरू अगाडि मेरो सुसमाचार, अनि मेरो चट्टान अनि मेरो मुक्ति छ ।

१८ मेरो नाममा पितासँग आस्थाका साथ अनुरोध गर, विश्वास गर्दै कि तिमीहरूले प्राप्त गर्ने छौ, अनि तिमीहरूले पवित्र आत्मा प्राप्त गर्ने छौ, जसले मानिसहरूका छोराछोरीहरूलाई आवश्यक सबै विचारहरू प्रकट गर्नुहुने छन् ।

१९ अनि यदि तिमीहरूसँग आस्था, आशा र करुणा नभएमा, तिमीहरूले केही पनि गर्न सक्दैनौ ।

२० कुनै चर्च विरुद्ध झगडा नगर, केवल यो शैतानको चर्च भएमा मात्रै ।

२१ ख्रीष्टको नाम आफूमा लेऊ, अनि संयमताका साथ सत्य बोल ।

२२ अनि जति धेरैले पश्चात्ताप गर्छन् र मेरो नाममा बप्तिस्मा लिन्छन्, जुन येशू ख्रीष्ट हो, अनि अन्त्यसम्म सहन्छन्, उसैलाई मुक्त गरिने छ ।

२३ हेर, येशू ख्रीष्ट त्यो नाम हो जुन पिताद्वारा दिइएको हो, अनि त्यहाँ अन्य कुनै नाम दिइएको छैन जसद्वारा मानिसलाई बचाइन सक्छ;

२४ यसकारण, सबै मानिसहरूले पिताले दिनुभएका नामलाई आफूमा लिनु पर्छ, किनकि त्यही नाममा तिनीहरूलाई अन्तिम दिनमा बोलाइन्छ;

२५ यसकारण, यदि तिनीहरूलाई त्यो नाम थाहा छैन जुन नामबाट तिनीहरूलाई बोलाइन्छ भने, तिनीहरूले मेरा पिताका अधिराज्यमा स्थान प्राप्त गर्न सक्दैनन् ।

२६ अनि अब, हेर, त्यहाँ अरूहरूपनि छन् जसलाई मेरो सुसमाचार प्रचार गर्न बोलाइएको छ, दुबै गैह्र यहूदी र यहूदीहरू माझ;

२७ हो, बाह्र समेत; अनि ती बाह्रजना मेरा शिष्यहरू हुने छन्, अनि तिनीहरूले मेरो नाम आफूमा लिने छन्; अनि बाह्रहरू तिनीहरू हुन् जसले मेरो नामलाई हृदयको पूर्ण उद्देश्य सहित आफूमा लिने इच्छा गर्ने छन् ।

२८ अनि यदि तिनीहरूले मेरो नामलाई हृदयको पूर्ण उद्देश्य सहित आफूमा लिने चाहना गर्छन् भने, तिनीहरूलाई सारा संसारमा प्रत्येक प्राणीसामु मेरो सुसमाचार प्रचार गर्न जान बोलाइन्छ ।

२९ अनि तिनीहरू ती हुन् जसलाई म मेरो नाममा बप्तिस्मा दिन नियुक्त गर्दछु, त्यो अनुसार जुन लेखिएको छ;

३० अनि तिमीसँग त्यो छ जुन तिम्रासामु लेखिएको छ; यसकारण, तिमीहरूले त्यसलाई लेखिएका वचनअनुसार पूरा गर्नु पर्छ ।

३१ अनि अब म तिमीहरू, ती बाह्रजनालाई भन्दछु—हेर, मेरा अनुग्रह तिमीहरूका लागि पर्याप्त छ; मेरा अगाडि सीधा भएर हिंड अनि पाप नगर ।

३२ अनि, हेर, तिमीहरू तिनै हौ जसलाई मैले नियुक्त गरेको छु पादरी र शिक्षकहरूलाई नियुक्त गर्न; तिमीहरूमा भएका पवित्र आत्माको शक्तिअनुसार, अनि मानिसमा भएका परमेश्वरका बोलावट र उपहारहरूअनुसार मेरा सुसमाचार घोषणा गर्न;

३३ अनि म, येशू ख्रीष्ट, तिम्रा परमप्रभु अनि तिम्रा परमेश्वरले बोलेको छु ।

३४ यी वचनहरू न त मानिसहरूका न त मानिसका हुन्, तर मेरा हुन्; यसकारण, ती मेरा हुन् अनि मानिसका होइनन् भनेर तिमीहरूले गवाही दिनु पर्छ;

३५ किनकि यो मेरो वाणी हो जसले तिमीहरूलाई ती भनिरहेका छन्; किनकि तिमीहरूलाई ती मेरा आत्माद्वारा दिइएका छन्, अनि मेरा शक्तिद्वारा तिमीहरूले त्यसलाई एकअर्कासँग पढ्न सक्ने छौ; अनि मेरो शक्ति नभएको भए तिमीहरुले त्यसलाई प्राप्त गर्ने थिएनौ;

३६ यसकारण, तिमीहरूले गवाही दिन सक्छौ कि तिमीहरूले मेरो वाणी सुनेका छौ, अनि मेरा वचनहरूलाई जानेका छौ ।

३७ अनि अब, हेर, म तिमीहरूलाई दिन्छु, ओलिवर काउड्री, अनि डेभिड व्हिट्मर पनि, कि तिमीहरूले ती बाह्रजना खोज्नु पर्छ, जसमा मैले बोलेका इच्छाहरू हुनु पर्छ;

३८ अनि तिनीहरूका चाहनाहरू र तिनीहरूका कार्यहरूद्वारा तिमीहरूले तिनीहरूका सम्बन्धमा जान्ने छौ ।

३९ अनि जब तिमीहरूले तिनीहरूलाई भेट्टाउँछौ तिमीहरूले तिनीहरूलाई यी देखाउनु पर्छ ।

४० अनि तिमीहरू तल झुक्नु पर्छ र मेरो नाममा पिताको आराधना गर्नु पर्छ ।

४१ अनि तिमीहरूले संसारसामु प्रवचन दिनु पर्छ, यसो भन्दै: तिमीहरूले पश्चात्ताप गर्नु पर्छ अनि येशू ख्रीष्टको नाममा बप्तिस्मा लिनु पर्छ;

४२ किनकि सबै मानिसहरूले पश्चात्ताप गर्नु पर्छ र बप्तिस्मा लिनु पर्छ, र पुरुषहरूले मात्र होइन तर महिलाहरूले पनि र जवाफदेहिताको उमेरमा पुगेका बालबालिकाहरूले पनि ।

४३ अनि अब, तिमीहरूले यसलाई प्राप्त गरेपछि, तिमीहरूले सबै विषयहरूमा मेरा आज्ञाहरूको पालना गर्नु पर्छ;

४४ अनि तिम्रा हातहरूद्वारा म मानिसहरूका छोराछोरीहरू माझ एक विस्मयकारी कार्य गर्ने छु, धेरैलाई तिनीहरूका पापहरूको विश्वास दिलाउँदै, ताकि तिनीहरू पश्चात्तापमा आउने छन्, अनि तिनीहरू मेरा पिताका अधिराज्यमा आउने छन् ।

४५ त्यसैले, मैले तिमीहरूलाई दिने आशीर्वादहरू सबैभन्दा उच्च छन् ।

४६ अनि तिमीहरूले यसलाई प्राप्त गरेपछि, यदि तिमीहरूले मेरा आज्ञाहरू पालना गरेनौ भने तिमीहरूलाई मेरा पिताको अधिराज्यमा बचाउन सकिने छैन ।

४७ हेर म, येशू ख्रीष्ट, तिम्रा परमप्रभु र तिम्रा परमेश्वर र तिम्रा मुक्तिदाता, मेरो आत्माको शक्तिद्वारा यो बोलेको छु । आमीन ।