धर्मशास्त्रहरू
सिद्धान्त र करार ८६


खण्ड ८६

अगमवक्ता जोसेफ स्मिथद्वारा, कर्टल्याण्ड, ओहायोमा, डिसेम्बर ६, १८३२ मा दिइएको प्रकाश । अगमवक्ताले बाइबलको अनुवादको पाण्डुलिपिको समीक्षा र सम्पादन गरिरहँदा यो प्रकाश प्राप्त गरिएको थियो ।

१–७, परमप्रभुले गहुँ र सामाको दृष्टान्तको अर्थ दिनुहुन्छ; ८–११, उहाँले शरीरअनुसार वैध उत्तराधिकारीहरूलाई पादरित्वको आशीर्वादको व्याख्या गर्नुहुन्छ ।

साच्चैँ नै, गहुँ र सामाको दृष्टान्तका सम्बन्धमा परमप्रभुले मेरा सेवकहरू तिमीहरूलाई यसो भन्नुहुन्छ:

हेर, साच्चैँ नै म भन्छु, खेत संसार थियो र प्रेरितहरू बीउ छर्नेहरू थिए;

अनि तिनीहरू सुतेपछि चर्चको महान् अत्याचारी, धर्मत्यागी, वेश्या, बेबिलोनसमेत, जसले सबै राष्ट्रहरूलाई आफ्नो प्यालाबाट पिउन लगाउँछ, जसको हृदयमा शत्रु, शैतान समेत शाषन गर्न बसेको छ—हेर उसले सामा छर्छ; यसकारण, सामाले गहुँ निसासिन्छ र चर्चलाई उजाडस्थानमा लैजान्छ ।

परन्तु हेर, अन्तिम दिनहरूमा, अहिले समेत जब परमप्रभुले वचन ल्याउन सुरु गरिरहनुभएको छ र पात पलाई रहेको छ र अझै कोमल छ—

हेर, साच्चैँ नै म तिमीहरूलाई भन्छु, स्वर्गदूतहरू दिनरात परमप्रभुलाई पुकारिरहेका छन्, जो तयार छन् र खेतहरू कटनी गर्न पठाइने प्रतीक्षामा छन्;

परन्तु परमप्रभुले तिनीहरूलाई भन्नुभयो, सामाका पात कोमल हुँदा सम्म सामालाई नटिप (किनकि साच्चैँ नै तिनीहरूको आस्था कमजोर छ), अन्यथा तिमीहरूले गहुँ पनि नष्ट गर्ने छौ ।

त्यसकारण, गहुँ र सामालाई सँगै बढ्न देऊ जबसम्म फसल पूरै पाकिसकेको हुँदैन; तब तिमीहरूले पहिले सामाहरूबाट गहुँ बटुल्ने छौ र गहुँ जम्मा गरेपछि, हेर र अवलोकन गर, सामाहरू बिटामा बाँधिन्छन् र खेत जलाउन बाँकी हुन्छ ।

त्यसकारण, परमप्रभुले तिमीहरूलाई यसो भन्नुहुन्छ, जससँग तिमीहरूका पिताहरूको वंशबाट पादरित्व निरन्तर रूपमा जारी छ—

किनकि शरीरअनुसार तिमीहरू वैध उत्तराधिकारी हौ र परमेश्वरमा ख्रीष्टसँग संसारबाट लुकाइएका छौ—

१० त्यसकारण तिमीहरूको जीवन र पादरित्व रहिरहेको छ र संसारको सुरुदेखि नै सबै पवित्र अगमवक्ताहरूको मुखबाट बोलिएका सबै विषयहरूको पुनर्स्थापना नभएसम्म तिमीहरू र तिमीहरूका वंशद्वारा निरन्तर रहनु आवश्यक छ ।

११ त्यसकारण, तिमीहरू आशीषित छौ यदि तिमीहरूले मेरो असलपना प्राप्त गर्न निरन्तरता दिन्छौ, गैह्र यहूदीहरूका लागि ज्योति र यस पादरित्वको माध्यमबाट मेरा जन इस्राएलका लागि मुक्तिदाता भएर । परमप्रभुले यसो भन्नुभएको छ । आमीन ।

प्रिन्ट गर्नुहोस्