खण्ड १००
अगमवक्ता जोसेफ स्मिथ र सिड्नी रिग्डनलाई पेरिसबर्ग, न्यू योर्कमा, अक्टोबर १२, १८३३ मा दिइएको प्रकाश । दुई बन्धुहरू, धेरै दिनसम्म आफ्नो परिवारबाट टाढा रहँदा, तिनीहरूका सम्बन्धमा केही चिन्ता महसुस गरे ।
१–४, जोसेफ र सिड्नीले आत्माहरूको मुक्तिका लागि सुसमाचार प्रवचन गर्नु पर्छ; ५–८, तिनीहरूले के भन्नु पर्छ त्यो समयमा तिनीहरूलाई दिइने छ; ९–१२, सिड्नी एक प्रवक्ता र जोसेफ एक प्रकाशक र गवाहीमा शक्तिशाली हुनु पर्छ; १३–१७, परमप्रभुले एक विशुद्ध मानिस खडा गर्नुहुने छ र आज्ञाकारीहरूले मुक्ति प्राप्त गर्ने छन् ।
१ साच्चैँ नै, परमप्रभुले तिमीहरूलाई यसो भन्नुहुन्छ, मेरा मित्रहरू सिड्नी र जोसेफ, तिमीहरूका परिवारहरू स्वस्थ छन्; तिनीहरू मेरा बाहुमा छन् र म तिनीहरूलाई मलाई असल लाग्ने कार्य गर्ने छु; किनकि ममा सबै शक्ति छ ।
२ त्यसकारण, मलाई अनुशरण गर र मैले तिमीहरूलाई दिने सल्लाह सुन ।
३ हेर, र अवलोकन गर, मसँग यस स्थानमा, वरपरका क्षेत्रहरूमा धेरै मानिसहरू छन्; र यस पूर्वी भूमिको वरपरका क्षेत्रहरूमा प्रभावकारी ढोका खोलिने छ ।
४ त्यसकारण, म, परमप्रभुले तिमीहरूलाई यस स्थानमा आउन अनुमति दिएको छु; किनकि आत्माहरूको मुक्तिका लागि ममा यो आवश्यक थियो ।
५ त्यसकारण, साच्चैँ नै म तिमीहरूलाई भन्छु, यी मानिसहरूसामु आफ्नो आवाज उठाओ; तिनै विचारहरू बोल जुन म तिमीहरूका हृदयहरूमा राख्ने छु र मानिसहरूसामु तिमीहरू लज्जित हुने छैनौ;
६ किनकि यो तिमीहरूलाई त्यही समयमा दिइने छ, हो, त्यही क्षणमा, तिमीहरूले जे भन्ने छौ ।
७ परन्तु म तिमीहरूलाई एक आज्ञा दिन्छु, ताकि सबै विषयहरूमा तिमीहरूले जे घोषणा गर्छौ त्यो सबै मेरो नाममा, हृदयको गम्भीरतामा, विनम्रताको आत्मामा, गर्ने छौ ।
८ अनि म तिमीहरूलाई यो प्रतिज्ञा दिन्छु, ताकि जति जति तिमीहरूले यो गर्छौ तिमीहरूले भन्ने सबै वचनहरूको अभिलेख राख्न पवित्र आत्मा पठाइने छ ।
९ अनि यो ममा उचित छ कि तिमी, मेरा सेवक सिड्नी, यी मानिसहरूको प्रवक्ता हुनु पर्छ; हो, साच्चैँ नै, म तिमीलाई यो बोलावटमा नियुक्त गर्ने छु, मेरा सेवक जोसेफको प्रवक्ता हुन समेत ।
१० अनि म उनलाई गवाहीमा शक्तिशाली हुने शक्ति दिने छु ।
११ अनि म तिमीहरूलाई सबै धर्मशास्त्रहरू व्याख्या गर्ने शक्तिशाली शक्ति दिने छु, ताकि तिमीहरू उनका लागि प्रवक्ता बन्न सक्षम हुन्छौ र उनी तिमीहरूका प्रकाशक हुने छन्, ताकि तिमीहरूले पृथ्वीमा मेरो अधिराज्यका विषयहरूसँग सम्बन्धित सबै विषयहरूको निश्चितता जान्न सक्षम हुन्छौ ।
१२ त्यसकारण, आफ्नो यात्रालाई निरन्तरता देऊ र तिमीहरूका हृदयहरूलाई आनन्दित बनाओ; किनकि हेर र अवलोकन गर, म अन्त्यसम्म समेत तिमीहरूका साथमा छु ।
१३ अनि अब म तिमीहरूलाई सियोनका सम्बन्धमा वचन दिन्छु । सियोनलाई छुट्कारा दिइने छ, यद्यपि थोरै समयका लागि उनलाई हप्काइन्छ ।
१४ तिमीहरूका बन्धुहरू, मेरा सेवकहरू ओर्सन हाइड र जोन गोल्ड, मेरा बाहुमा छन्; अनि तिनीहरूले मेरा आज्ञाहरू पालना गरेमा तिनीहरूलाई मुक्ति प्रदान गरिने छ ।
१५ त्यसकारण, तिमीहरूका हृदयहरूलाई सान्त्वना देओ; किनकि सबै विषयवस्तुहरूले तिनीहरूका लाभका लागि र चर्चको पवित्रीकरणका लागि कार्य गर्ने छन् ।
१६ किनकि म मेरा लागि एकजना विशुद्ध मानिस खडा गर्ने छु, जसले मलाई धार्मिकतामा सेवा गर्ने छ;
१७ अनि परमप्रभुको नाम पुकार्ने र उहाँका आज्ञाहरू पालना गर्ने सबैलाई मुक्ति प्रदान गरिने छ । तसर्थ यस्तै हुने छ । आमीन ।