खण्ड १३०
अगमवक्ता जोसेफ स्मिथद्वारा अप्रिल २, १८४३ मा रामस, इलिनोइमा दिइएका निर्देशनका विषयवस्तुहरू ।
१–३, पिता र पुत्र व्यक्तिगत रूपमा मानिसहरूमा प्रकट हुन सक्नुहुन्छ; ४–७, स्वर्गदूतहरू सेलेस्टियल क्षेत्रमा बस्छन्; ८–९, सेलेस्टियल पृथ्वी महान् ऊरीम र तुम्मिम हुने छ; १०–११, सेलेस्टियल संसारमा प्रवेश गर्ने सबैलाई सेतो पत्थर दिइन्छ; १२–१७, दोस्रो आगमनको समय अगमवक्ताबाट रोकिएको छ; १८–१९, यस जीवनमा प्राप्त गरिएको ज्ञान पुनरुत्थानमा हामीसँगै उठ्छ; २०–२१, सबै आशीर्वादहरू नियमको आज्ञाकारिताद्वारा आउँछन्; २२–२३, पिता र पुत्रको शरीरमा मासु र हड्डीहरू छन् ।
१ जब मुक्तिदाता प्रकट हुनुहुने छ हामीले उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्ने छौँ । हामीले देख्ने छौँ कि उहाँ हामीजस्तै मानिस हुनुहुन्छ ।
२ अनि यहाँ हामी बीचमा रहेको त्यही सम्बन्ध त्यहाँ पनि हामी बीचमा रहने छ, केवल यो अनन्त महिमासँग जोडिने छ, जुन महिमा हामीले अहिले अनुभव गर्दैनौँ ।
३ यूहन्ना १४:२३—त्यस पदमा पिता र पुत्रको प्रकट व्यक्तिगत प्रकट हो; र पिता र पुत्र मानिसका हृदयमा बस्नुहुन्छ भन्ने धारणा पुरानो साम्प्रदायिक धारणा हो र गलत छ ।
४ प्रश्नको उत्तरका रूपमा—के परमेश्वरको समय, स्वर्गदूतको समय, अगमवक्ताको समय र मानिसको समयको हिसाब तिनीहरू बसेको ग्रहअनुसार होइन?
५ म जवाफ दिन्छु, हो । परन्तु जो यसका हुन् वा यसका छन् ती बाहेक यस पृथ्वीमा सेवा गर्ने स्वर्गदूतहरू छैनन् ।
६ स्वर्गदूतहरू यो पृथ्वी जस्तो ग्रहमा बास गर्दैनन्;
७ परन्तु तिनीहरू परमेश्वरको उपस्थितिमा, काँच र आगोको समुद्र जस्तै संसारमा बस्छन्, जहाँ तिनीहरूको महिमाका लागि, भूत, वर्तमान र भविष्य र निरन्तर रूपमा परमप्रभुका अगाडि भएका सबै वस्तुहरू प्रकट हुन्छन् ।
८ परमेश्वर बास गर्ने स्थान महान् ऊरीम र तुम्मिम हो ।
९ यो पृथ्वी, यसको पवित्र र अमर अवस्थामा, स्फटिक जस्तै बनाइने छ र त्यहाँ बसोबास गर्ने बासिन्दाहरूका लागि ऊरीम र तुम्मिम हुने छ, जहाँ एक निम्न अधिराज्य वा तल्लो क्रमका सबै राज्यहरूसँग सम्बन्धित सबै विषयवस्तुहरू यसमा बस्नेहरूलाई प्रकट गरिने छन्; र यो पृथ्वी ख्रीष्टको हुने छ ।
१० त्यसपछि प्रकाश २:१७मा उल्लेख गरिएको सेतो पत्थर, प्राप्त गर्ने प्रत्येक व्यक्तिका लागि ऊरीम र तुम्मिम हुने छ, जसद्वारा उच्च दर्जाका अधिराज्यहरूसँग सम्बन्धित विषयहरूको जानकारी गराइने छ;
११ अनि सेलेस्टियल अधिराज्यमा आउने प्रत्येकलाई एउटा सेतो ढुङ्गा दिइन्छ, जसमा एउटा नयाँ नाम लेखिएको हुन्छ, जसलाई प्राप्त गर्नेले बाहेक अरू कसैले जानकारी प्राप्त गर्ने छैन । नयाँ नाम नै प्रमुख शब्द हो ।
१२ म अगमवाणी गर्छु, परमप्रभु परमेश्वरको नाममा, मानिसका पुत्रको आगमन भन्दा पहिले साउथ केरोलाइनामा धेरै रक्तपात निम्त्याउने सङ्कष्टहरूको सुरुवात हुने छ ।
१३ यो सम्भवतया दासत्वसँग सम्बन्धित प्रश्न मार्फत् उत्पन्न हुन सक्छ । डिसेम्बर २५, १८३२ मा म यस विषयमा दृढतापूर्वक प्रार्थना गरिरहेको समयमा यो वाणीले मलाई घोषणा गरियो ।
१४ म एक पटक मानिसका पुत्रको आगमनको समय बुझ्ने अत्यधिक उत्साहका साथ प्रार्थना गरिरहेको थिएँ, जब मैले निम्न विषय दोहोर्याइएको वाणी सुनेँ:
१५ जोसेफ, मेरा पुत्र, यदि तिमी पचासी वर्षको उमेरसम्म बाँच्यौ भने, तिमीले मानिसका पुत्रको मुहार देख्ने छौ; त्यसैले यसलाई नै पर्याप्त हुन देऊ र यस विषयमा मलाई थप कष्ट नदेऊ ।
१६ मलाई यस अवस्थामा छोडियो, यो निर्णय गर्न असक्षम कि के यो आगमनले सहस्राब्दीको सुरुवातलाई उल्लेख गर्छ वा यस पूर्वका केही प्रकटलाई वा म मर्नु पर्ने छ र तसर्थ उहाँको मुहार देख्ने छु ।
१७ म विश्वास गर्छु कि मानिसका पुत्रको आगमन त्यो समय भन्दापूर्व हुने छैन ।
१८ यस जीवनमा हामीले ज्ञानको जुनसुकै स्तर प्राप्त गर्छौं, यो पुनरुत्थानमा हामीसँगै उठ्ने छ ।
१९ अनि यदि कुनै व्यक्तिले यस जीवनमा आफ्नो लगनशीलता र आज्ञाकारिताले अरूको भन्दा बढी ज्ञान र बुद्धि प्राप्त गर्छ भने, उसले आगामी संसारमा धेरै लाभहरू प्राप्त गर्ने छ ।
२० यस संसारको सृष्टि भएको समयदेखि पूर्व त्यहाँ स्वर्गमा अपरिवर्तनीय उर्दी, एउटा नियम छ, जसमा सबै आशीर्वादहरू आधारित छन्—
२१ अनि जब हामीले परमेश्वरबाट कुनै आशीर्वाद प्राप्त गर्छौं, यो त्यस नियमको आज्ञाकारिताद्वारा प्राप्त हुन्छ, जसमा यो आधारित छ ।
२२ पिताको मानिसको जस्तै मासु र हड्डीको मूर्त शरीर छ; पुत्रको पनि; तर पवित्र आत्मामा मासु र हड्डीको शरीर छैन, तर आत्माको व्यक्तित्व हो । यदि त्यसो नभएको भए, पवित्र आत्मा हामीमा बास गर्न सक्दैन ।
२३ कुनै पनि व्यक्तिले पवित्र आत्मा प्राप्त गर्न सक्छ र यो उनीमाथि ओर्लन सक्छ र उनीसँग नरहन सक्छ ।